शब्द–राजनीति: शासकले जगाइदिएको ‘तपाईं’त्व
कार्तिक १४, २०७६

पछिल्लो समय, विशेषगरी गणतन्त्र घोषणापछि नेपालमा शब्द–राजनीतिले अत्यन्तै प्रश्रय पाइरहेको छ । शब्द–शब्दका अर्थ आफूअनुकूल लगाउँदै शासकदेखि आमनागरिकसम्म असन्तुष्टि, गुनासा र विवाद अभिव्यक्त गरिरहेका छन् । आखिर के छ शब्दमा त्यस्तो ? मूल कुरा त शब्दले अभिव्यक्त गर्ने आशयचाहिँ होइन र ? यही विषयमा चर्चा गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

खासमा केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आमसंचारका माध्यमहरू र पत्रकारहरूप्रति लक्षित गर्दै अभिव्यक्त गर्नुभएको धारणापछि शब्द–राजनीतिले निकै ठूलो चर्चा पायो । उहाँले भन्नुभएको आशय थियो, ‘पत्रकारले आफ्ना आमाबुबालाई पनि तिमी भन्छन् ।’

हो, यो ‘तिमी’ शब्द नै पछिल्लो शब्द राजनीतिलाई उठाउने शब्द बनेको छ । प्रधानमन्त्रीको आशय नेपाली मिडिया र पत्रकारले सबैलाई एकै थरी सम्बोधन गर्नुहुँदैन, शासक र उच्चओहोदाका व्यक्ति, सम्पन्न र समाजका, देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्बोधन गर्दा उच्चआदरार्थी शब्दको प्रयोग गर्नुपर्छ भन्ने थियो र छ ।

प्रधानमन्त्रीज्यू सही हुनुहुन्छ कि गणतन्त्रमा सबैलाई समान मानिन्छ, सिद्धान्ततः र सबैलाई एकनासको एक रूपको सम्बोधन गर्नु उत्तम हुन्छ । राष्ट्रपतिदेखि साधारण नागरिकसम्मलाई समान शब्दले सम्बोधन गर्नु उत्तम मात्र होइन, अतिउत्तम हो । तर, शब्द–सम्बोधनलाई नै प्रधान विषय ठान्नु पनि आत्मरति मात्र हो भन्ने बुझेमा भने यस्ता विषय–सन्दर्भको पछि लागेर देश र जनताको हित र विकासका लागि दिनुपर्ने समय, सोच्नुपर्ने विषय बर्बाद हुँदैनथ्यो प्रधानमन्त्रीज्यूको ।

हरेक शब्दको आशय हुन्छ । आशय गलत छ भने जतिसुकै उच्च त के अतिउच्च आदरार्थी शब्दकै प्रयोग गरिए पनि त्यसको सन्देश सही जाँदैन । तर, सामान्य आदरार्थी शब्दकै प्रयोग गरिए पनि त्यसको आशय उच्चआदरार्थीले अभिव्यक्त गर्नेभन्दा महान् र उच्च हुन सक्छ ।

जस्तो : ‘प्रधानमन्त्रीज्यूका बोली र व्यवहार हेर्दा हजुर तुच्छ र क्षुद्र जस्तै लागिसिन्छ’ भन्दा के ‘हजुर’ र ‘लागिसिन्छ’ शब्दले प्रधानमन्त्रीले खोज्नुभएको मर्यादा र आदर प्राप्त हुन्छ ?

बरु, ‘प्रधानमन्त्री त तिमी जस्तो होस्, जसले सदैव देश, जनता र आमसरोकारका विषयबारे मात्र सोचोस्, जनता र देशको हितलाई सर्वोपरि ठानोस् । सपना बाँड्ने मात्र होइन, तिम्रा हरसपनाले सफलता प्राप्त गर्न सकून् । तिमीले अझ लामो समय बाँचेर देश र जनताका लागि धेरै काम गर्नु छ, तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना !’ भन्नुमा चाहिँ हार्दिकता, सम्मान र प्रेम होला ।

‘तिमी’ शब्द अनादरार्थी वा तल्लोस्तरको शब्द होइन । हाम्रो नेपाली समाजमा विगतमा यही तिमी शब्द नै बढी प्रचलनमा थियो, सम्बोधनका लागि । अहिले पनि कतिपय परिवारमा बुबाआमा, काकाकाकी, दाजुदिदीलगायतलाई सम्बोधन गर्दा यही तिमी शब्दकै प्रयोग हुन्छ । यद्यपि, यो शब्द प्रयोगले उनीहरूको अनादर भएको ठान्दैनन् । र, शब्दको प्रयोग मात्रले आदर र अनादरको निक्र्योल हुन सक्दैन पनि, जुन माथि भनिएको छ ।

‘तिमी’ शब्दप्रति प्रधानमन्त्रीज्यूले जब गुनासो वा असन्तुष्टि जाहेर गर्नुभयो, तब निकै ‘विद्वान्’, ‘वरिष्ठ’, ‘संचारविद्’, ‘भाषाविद्’हरूका घैँटामा घाम लागिहाल्यो । उनीहरू तत्कालै भन्न थाले, ‘राष्ट्रपतिलाई र चोरलाई एकै शब्दले सम्बोधन गर्ने ? प्रधानमन्त्री र जुत्ता सिउने मोचीको स्तर मिल्छ र दुवैलाई एकै शब्दको सम्बोधन सुहाउँछ ?’ आदिआदि ।

यस्ता तर्कले प्रधानमन्त्रीज्यूलगायतको यति लामो राजनीतिक ‘संघर्ष’ र यति वृहत् ‘राजनीतिक चेत’को खिल्ली उडाउँदैन र ? कारण, उहाँको दशकौँ लामो ‘राजनीतिक संघर्ष’ ‘सामन्तवाद’को विरोधमा थियो, राजनीतिक, आर्थिक, सामाजिक सम्मान र समानताका लागि थियो । अनि के उहाँको त्यो संघर्ष आफ्नो वा शासक र उच्चपदस्थ अनि सम्पन्न र गण्यमाण्यका लागि मात्र थियो ? त्यसो हो भने त उहाँको आसय ठीक छ कि समाजमा अनेक वर्ग छन्, जात छन्, सामाजिक, जातीय हिसाबले उच्च र नीच छन् अझै पनि । र, उनीहरूसँग शासक, धनी, उच्चओहोदाधारीको स्तर पक्कै मिल्दैन र उनीहरूले विगतमा जसरी नै आफ्नो नीच हुनुको, गरिब र विपन्न हुनुको, कमजोर हुनुको सजाय भोगिरहनुपर्छ । उनीहरूचाहिँ ‘तिमी’ र ‘तँ’बाट सम्बोधित हुनुपर्छ र उच्चजात र शासकलाई भने सके ‘हजुर’, ‘मौसुफ’ नभए पनि कम्तीमा ‘तपाईं’ भन्नै पर्छ ।

नेपालका राज्य मातहतका वा राज्यले संचालन गरेका मिडियामा विगतदेखि नै ‘तपाईं’ सम्बोधन गरिँदै आएको छ । विक्रमको २०५० को दशकसँगै खुलेका ‘सामुदायिक’ भनिएका एफएम रेडियोहरूले पनि आफ्नो सम्बोधन–शैलीमा तपाईं नै प्रयोग गर्दै आएका छन् । तर, २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् खुलेका निजी क्षेत्रका मिडियाले भने आआफ्नै शैली निर्माण गरेर प्रयोग गर्दै आएका छन् ।

मिडियाका लागि आआफ्नै शैली–पुस्तिका निर्माण गरेर लागू गर्न, प्रयोग गर्न मिडिया स्वतन्त्र हुन्छन् । सबैले एकै प्रकारको बनाएर प्रयोगमा ल्याए त झनै राम्रो हो तर सबैलाई ‘आफ्नोपन’को लोभ हुन्छ र आफ्नो छुट्टै र भिन्न पहिचानका लागि पनि आआफ्नै खालका ‘स्टाइल’ प्रयोग गर्न चाहन्छन् मिडिया ।

यो विश्व पत्रकारितामै प्रचलनमा रहेको विषय हो । सबैले आफ्नै प्रकारका सम्बोधन–शैली, आफ्नै प्रकारका भाषिक–व्याकरणिक प्रयोग, आफ्नै प्रकारका वर्णविन्यासको प्रयोग गर्ने गरेका छन् । हाम्रैमा पनि एउटै शब्दलाई फरक फरक वर्णविन्यासमा प्रयोग गरिन्छ । जस्तो कि कसैले ‘शहीद’ त कसैले ‘सहिद’ प्रयोग गरिरहेका छन् । यसरी नै कसैले ‘शहर’ प्रयोग गर्छन् भने कसैले ‘सहर ।’

वर्णविन्यासमा फरकपन जसरी नै सम्बोधनमा पनि फरकपन देखिन्छ । अंग्रेजी शब्द ‘यु’को अर्थ ‘तिमी’, ‘तपाईं’ र ‘तँ’समेत हुने गर्छ । यसर्थ अंग्रेजीमा सम्बोधनको विवाद हुने कुरै भएन । व्यक्तिलाई सम्बोधन गरिएको सन्दर्भअनुसार सामान्य आदरार्थी, उच्चआदरार्थी वा अतिउच्चआदरार्थी शब्दका रूपमा ‘यु’लाई बुझ्न सकिने भयो ।

यस्ता बेकामे शब्द–उल्झनमा मुलुकलाई फसाएर रत्यौली खेल्न उद्यत केही ‘भक्त’ तथा ‘रैती’हरू अझै पनि प्रधानमन्त्रीलाई उत्तेजित पार्न प्रयासरत छन् । भक्तहरूको मनोविज्ञान शासकको चाकडीबाट लाभ लिने हुन्छ भने रैतीहरूको मनोविज्ञान शासित भएरै बाँच्ने र शासकको गुणगानमै आनन्द लिने हुन्छ ।

तर, हिन्दी भाषामा जाने हो भने पनि नेपालीमा जस्तै तीनवटा आदरार्थी शब्द छन्– तू, तुम र आप । ‘तू’को प्रयोग नेपालीमा ‘तँ’को समानार्थी रूपमा प्रयोग हुने गर्छ । यो शब्द आफू समानका वा आफूभन्दा कम उमेरकालाई प्रयोग गरिन्छ भने ‘तुम’ शब्द आफू समान वा आफूले सामान्य आदर गर्दा हुने व्यक्तिका लागि प्रयोग हुने गर्छ– नेपालीमा ‘तिमी’को समानार्थी रूपमा । र, ‘आप’ शब्द भने उच्चआदरार्थी सम्बोधनका रूपमा प्रयोग हुने गर्छ हिन्दीमा, नेपालीमा ‘तपाईं’को समानार्थी रूपमा ।

यद्यपि, भारतीय मिडिया, जो हिन्दी भाषामा प्रकाशन हुन्छन्, तिनले पनि धेरैजसोले व्यक्तिलाई सम्बोधनका क्रममा ‘आप’को भन्दा ‘तुम’को प्रयोगलाई नै बढी प्राथमिकता दिएका पाइन्छ । सामान्य आदरार्थी शब्दको रूपमै भारतीय मिडियाले ‘तुम’ सम्बोधन प्रयोग गरेको बुझ्न सकिन्छ । यसले त्यहाँका शासक, उच्चपदस्थ वा सम्पन्नहरूको मानमर्दन भएको, इज्जत गएको वा हेला गरिएको भनेर कतै कसैका गुनासा र असन्तुष्टि प्रकट भएका देखिएको छैन । भारतमा मिडियाको इतिहास हाम्रो भन्दा निकै लामो छ । सन् १७८० को दशकमा भारतमा बेलायती उपनिवेशकै क्रममा मिडियाको सुरुवात भएको हो । त्यसको धेरै पछि (झण्डै १२० वर्षपछि) मात्र नेपालमा मिडियाको सुरुवात भएको हो । भारतका मिडियामा आआफ्नै आचारसंहिता र शैली विकसित भई सफलतापूर्वक प्रयोगसमेत हुँदै आएका छन् ।

यहीँ अर्को प्रसंग पनि जोडौँ, शब्द–राजनीतिको । गणतन्त्रपछि सबैलाई आआफ्ना अधिकार र पहिचान चाहियो । यो स्वाभाविक पनि हो र पाउनु पनि पर्दथ्याे, पर्छ । तर, हुँदाहुँदा केसम्म भयो भने, शारीरिक रूपमा अशक्त व्यक्तिहरू, जसलाई ‘अपांग’ भनिँदै आयो, भनिँदै आएको छ, उनीहरूलाई अपांग भन्न नहुने रे ! अपमान हुन्छ रे ! (माफ गर्नुहोला लेखकको आशय अपांगप्रति हेयभाव राख्नु वा अपमानित गर्नु होइन, आशय त यो हो कि शब्दभन्दा आशय मूल कुरा हो भन्नु हो ।) शारीरिक रूपमा अशक्तलाई जनाउने शब्द नै आखिरमा त्यही हो– अपांग । अनि कसरी अपमान हुन्छ अपांगहरूको यो शब्द प्रयोग गर्दा ? उनीहरूलाई ‘सम्मानपूर्वक’ ‘फरक क्षमता भएका’ भन्नुपर्ने रे !

तर, देशको मूल कानुन नेपालको संविधान, २०७२ मा यही शब्द राखेर ‘आरक्षण’का लागि विशेषाधिकारको प्रावधान राख्न हुने, लोकसेवाले विज्ञापन गर्दा दलित, महिला, जनजाति, मधेसी, पिछडिएको वर्गसँगै ‘अपांग’ भनेरै आरक्षण दिँदा हुने, अपांगहरूकै संस्था अपांग संघ/महासंघमा अपांग शब्द राख्दा हुने तर अन्य अवस्थामा, स्थानमा अपांग शब्दको प्रयोग आपत्तिजनक हुने ?

यस्तै, ‘आईमाई’ शब्दप्रति पनि निकै विवाद र बखेडा जारी छन् । आईमाई भन्नु स्त्री जाति, महिला, नारी वा मान्छेको पोथी जात हो । यो शब्द पनि ‘अपमानजनक’ भयो रे ! अनि आईमाईका ठाउँमा नारी, स्त्री वा महिला प्रयोग गर्नुपर्ने भयो । जबकि, यी सबै शब्द समानार्थी हुन्– आईमाईकै समान । आईमाई जस्तै ‘लोग्ने’ वा ‘पुरुष’ पनि त छन् शब्द । के यी शब्दप्रयोगमा पुरुषहरूले पनि आपत्ति जनाएर वैकल्पिक शब्द खोज्नतिर लाग्नु ? (यहाँ पनि महिलाप्रतिको द्वेष वा अपमान गर्न खोजिएको होइन, खालि यस्ता शब्दका अर्थलाई अतिरंजित गरेर आफूअनुकूल अर्थ लगाउनुले हित गर्दैन भन्ने नै हो ।)

अँ, वर्तमानमा नेपाली मिडियामा शब्द–राजनीतिको रमाइलो पक्ष छ । शासक (प्रधानमन्त्री)ले ‘तिमी’ शब्दमा आपत्ति प्रकट गरेपछि यो राजनीति निकै जुर्मुराएको छ । सामाजिक संजालमा र अनलाइन मिडियामा चर्का स्टाटस र लेख लेख्न थालिएको छ । र, यस्ता स्टाटस र लेख लेख्नेहरूमा केही ‘वरिष्ठ’ पत्रकार र ‘भाषाविद्’हरूसमेत छन् । उनीहरूका तर्क आफ्ना विगतका ‘कुण्ठा’ र ‘असन्तुष्टि’लाई ओकल्नुसँगै प्रधानमन्त्रीसँग निकटता (चाकडी) देखाउनु पनि रहेको देखिन्छ, स्टाटस र लेखहरू पढ्दा । यो सन्दर्भ रमाइलो किन भने, विगतमा यी व्यक्तिमध्ये केही आफैँ सरकारले गठन गरेका मिडियासम्बद्ध नीति निर्माणका विभिन्न कार्यदल, आयोग र समितिमा बसेर काम गरेकाहरू पनि छन् । उनीहरूको सोचमा त्यसबेला यो विषय किन आउन सकेन ? किन उनीहरूले आफैँले निर्माण गरेका ‘मिडिया पोलिसी’ र आयोगका प्रतिवेदनहरूमा यस विषयलाई जोडदार रूपमा उठाउन सकेनन् ? र, आज प्रधानमन्त्रीको टाउको दुख्नेवित्तिकै कसरी यी व्यक्तिहरूमा एक्कासि ‘दिव्य–ज्ञान’ प्राप्त भयो ?

वास्तवमा गणतन्त्रको स्थापनासँगै सुरु भएको शब्द–राजनीतिलाई त्यसबेलै व्यवस्थित गरिएको भए सहज हुने थियो । मिडियामा शब्दप्रयोगको शैलीलाई व्यवस्थित गर्न पनि त्यसबेलै सजिलो किन हुन्थ्यो भने त्यसबेला मिडिया थोरै थिए र सबै मिडियालाई भेला गराएर शैलीमा एकरूपताका लागि अनिवार्य गर्न सकिन्थ्यो । तर, त्यसो हुन सकेन । त्यसबेला यतातिर कसैको ध्यान गएन । बरु, अहिलेकै शासक वर्ग र तिनका अनुयायीहरू अनि अहिले तिमी शब्दप्रति असन्तुष्टि जनाएर प्रधानमन्त्रीको बोलीमा लोली मिलाउनेहरू पनि कान्तिपुरलगायतले सबैका लागि समान सम्बोधन ‘तिमी’ गर्ने भन्ने कुरामा मौन रहे ।

विगतमा जब राजाको प्रत्यक्ष शासन थियो, त्यसबेला राजा र दरबारका सदस्यलाई सम्बोधन गर्ने शब्द अतिउच्चआदरार्थी थिए– मौसुफ, बक्सिन्छ, बक्सियो आदि । अन्यलाई सम्बोधन गर्दा तपाईं वा तिमी नै प्रयोग हुने गर्दथ्याे । यसरी नै प्रधानमन्त्रीलगायत केही उच्चपदस्थलाई सम्बोधन गर्दा पनि उच्चआदरार्थीको प्रयोग गरिन्थ्यो । तर, गणतन्त्रप्राप्तिपछि राष्ट्रपतिदेखि आमनागरिकसम्मलाई समान सम्बोधन गर्ने भनेर तिमी सम्बोधन गरिएको हो । यसको आशय उनीहरूप्रति अनादर हुँदै होइन । ‘तिमी’ सम्बोधन गर्दैमा व्यक्तिको मर्यादा गुम्ने र अपमानित हुने हुँदैन ।

नेपाली मिडियाको सन्दर्भमा हरेक मिडिया आफ्नै शैली प्रयोग गर्न स्वतन्त्र छन् । शासकले मिडियाको शैली, विषय र नीति निर्धारण गरिदिने होइन । तर, हामीकहाँ यस्तो ‘खतरनाक’ (खतरनाक किनभने यही रूपले शासक मिडियामाथि हावी हुँदै जाने हो भने संविधानमा राखिएका मौलिक हकहरूको कुनै माने रहँदैन र ‘पंचायती प्रजातन्त्र’कै अभ्यासमा हामी फर्किनेछौँ ।) अभ्यास हुँदै गएमा हामीकहाँ न त लोकतन्त्र रहन्छ, न गणतन्त्रको सौन्दर्य नै स्थापित हुन सक्छ ।

यस्ता बेकामे शब्द–उल्झनमा मुलुकलाई फसाएर रत्यौली खेल्न उद्यत केही ‘भक्त’ तथा ‘रैती’हरू अझै पनि प्रधानमन्त्रीलाई उत्तेजित पार्न प्रयासरत छन् । भक्तहरूको मनोविज्ञान शासकको चाकडीबाट लाभ लिने हुन्छ भने रैतीहरूको मनोविज्ञान शासित भएरै बाँच्ने र शासकको गुणगानमै आनन्द लिने हुन्छ । यही मनोविज्ञानबाट ग्रस्त केही व्यक्तिको बहकाउमा प्रधानमन्त्री लाग्नुभएको देखिन्छ, जुन ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ जस्तो भएको छ । अर्थात्, देश विकासका यति धेरै सवालहरूलाई छाडेर जाबो एउटा शब्दका पछि देशका कार्यकारी लाग्नुले देश र जनताका हितका सवालमा ठेस पुगेको छ ।

अर्को रमाइलो पनि छ– एकातिर प्रधानमन्त्री मिडिया र पत्रकारले प्रयोग गरेको सम्बोधन–शैलीप्रति असन्तुष्टि जनाउनुहुन्छ, अर्कातिर आफ्नै मातहतका मन्त्रालय र निकायले भने आमनागरिकलाई सहजै ‘तिमी’ प्रयोग गरिरहेकामा उहाँको ध्यानाकृष्ट हुनसकेको छैन । भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी एउटा विज्ञप्तिमा एक पर्वतारोहीलाई ‘तिमी’ सम्बोधन गरिएको छ । यसको सामाजिक संजालमा व्यापक विरोध पनि भएको छ । २०७६/०७/१३ मा मन्त्रालयद्वारा जारी सबैभन्दा छोटो अवधिमा विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्ने निर्मल पुर्जालाई बधाई दिइएको विज्ञप्तिमा भनिएको छ, ‘म्याग्दी जिल्लाका निर्मल पुर्जाले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालहरू सबैभन्दा छोटो अवधिमा आरोहण गरी पर्वतारोहणका क्षेत्रमा निकै साहसिक, उत्साहजनक तथा सम्मानित कार्य गरेका छन् ।’ यहाँ ‘गरेका छन्’ शब्दावली प्रधानमन्त्रीज्यूले भनेजस्तै ‘अपमानजनक’ शब्द हो, जुन उहाँकै मातहतको मन्त्रालयले जारी गरेको विज्ञप्तिम उल्लेख छ ।

र, निर्मल पुर्जा सामान्य व्यक्ति पनि हुनुहुँदोरहेनछ, चोर, फटाहा, अपराधी पनि हुनुहुँदोरहेनछ उहाँ । उहाँ त देशकै शिर उच्च राख्ने साहसी पर्वतारोहीसमेत हुनुहुँदेरहेछ, जसले विश्व कीर्तिमान राख्नुभएको रहेछ । यस्ता व्यक्तित्वलाई राज्यको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तल्लो वा निम्नस्तरको सम्बोधन गर्ने ? आफूतिर फर्किएर हेर्ने फुर्सद कतिको छ प्रधानमन्त्रीज्यू ? अनि मिडिया र पत्रकारका पछि लागेर सरकारको ‘परफर्मेन्स’ र मिडियाको गतिमा सुधार होला ?

अँ, मिडिया र पत्रकारले सुधार गर्नुपर्ने, सुध्रिनुपर्ने ठाउँ नभएका होइनन् । नेपाली मिडिया विशेषगरी गणतन्त्रपछि निकै अराजक, बेतालका र अमर्यादित/अव्यावसायिक बनिरहेका भने पक्कै हुन् । नेपाली मिडियामा बढ्दो अव्यावसायिकता र अमर्यादित शैली अनि अराजकता रोक्न राज्यस्तरबाट सरकारले आवश्यक नियमनका विधि र उपायहरू गर्नु उपयुक्त हुनेछ । संविधान र लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्दै सरकारले मिडिया र पत्रकार नियमनका उपायहरू ल्याउनु र लागू गर्नु भने आवश्यक छ । तर, मिडिया र पत्रकारले प्रयोग गर्ने सामान्य शब्द–शैलीलाई लिएर शासक, त्यसमा पनि देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीले रोइलो गर्नु हास्यास्पद मात्र हो, समयको बर्बादी हो ।

साहित्यमा त ईश्वरलाई समेत ‘तँ’ भनिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले चर्चित कृति ‘मुनामदन’मा भन्नुभएको छ, ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस/सृष्टिको फूल रचेर फेरि कसरी लतारिस् ।’ यसरी नै नाट्यसम्राट बालकृष्ण समले लेख्नुभएको छ, ‘दुखीको घरमा मात्र तेरो वास हुने भए/हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’

यी पद्यमा ईश्वरका निम्ति प्रयोग गरिएका सम्बोधन ईश्वरप्रतिको अपमान र अनादरका लागि होइन, बरु ईश्वरप्रति अतिआस्था र विश्वास रहेको र सर्वकल्याण गर्ने भनिएका ईश्वरबाटै आफू पीडित हुनुपरेको अवस्थालाई चित्रण गर्न ईश्वरप्रतिको सम्मानपूर्वकको असन्तुष्टि हो ।

पंचायतकालमै क्षेत्रप्रताप अधिकारीले लेख्नुभयो, ‘चौतारीमा राजा भेटियो ।’ के यहाँ ‘भेटिइबक्सियो’ प्रयोग गर्नुपर्ने थियो ? राजालाई ‘तँ’ भन्ने ? भनेर दरबार/राजाले त्यसबेला यस गीतप्रति आपत्ति जनाए कि धेरै पटक आनन्द मानेर यो गीत सुने होलान् ? के गीतका रचनाकारलाई थुनियो राजालाई अपमान गरेकामा ? कि कुनै धम्की र सजाय भयो ?

प्रयोग गरिएका शब्दले के आशय व्यक्त गरेका छन् र के प्रयोजनका निम्ति शब्दको प्रयोग भएको छ भन्ने कुरामा नै त्यसको माने रहन्छ भन्ने यसबाट बुझ्न सकिन्छ ।

हामीले शब्दलाई जसरी प्रयोग गरे पनि वा जुन शब्दको प्रयोग गरे पनि त्यसको आशय र अर्थ भने सही हुनुपर्छ । शब्दप्रयोगको नियतमा तलमाथि हुनुहुँदैन भन्ने कुरा प्रमुख हो । नेपाली मिडियाको सन्दर्भमा हरेक मिडिया आफ्नै शैली प्रयोग गर्न स्वतन्त्र छन् । शासकले मिडियाको शैली, विषय र आचरसंहिता निर्धारण गरिदिने होइन । तर, हामीकहाँ यस्तो ‘खतरनाक’ (खतरनाक किनभने यही रूपले शासक मिडियामाथि हावी हुँदै जाने हो भने संविधानमा राखिएका मौलिक हकहरूको कुनै माने रहँदैन र ‘पंचायती प्रजातन्त्र’कै अभ्यासमा हामी फर्किनेछौँ ।) अभ्यास हुँदै गएमा हामीकहाँ न त लोकतन्त्र रहन्छ, न गणतन्त्रको सौन्दर्य नै स्थापित हुन सक्छ ।