बहसमा आख्यान : उपन्यास लेखनमा शिल्प र भाषा अनि बजार

बहसमा आख्यान : उपन्यास लेखनमा शिल्प र भाषा अनि बजार

घनेन्द्र ओझा  |  लोकसंवाद  |  कार्तिक १४, २०७६

लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । 

पछिल्लो समय नेपाली साहित्यमा आख्यान र त्यसमा पनि उपन्यासलेखनमा स्रष्टाहरूको उपस्थिति बाक्लिँदो छ । उपन्यास नलेखी साहित्यकार नै भइँदैन कि क्या हो भन्ने मानसिकताबाट स्रष्टाहरू पीडित भइरहेका छन् । अर्कातिर प्रकाशकहरू भने नेपाली साहित्यिक कृतिहरूको बजार घट्दै गएको चिन्ता जाहेर गरिरहेका छन् ।

 यस पटककाे लोकसंवादमा  हामीले   'नेपाली उपन्यासको दिशा, दशा, शक्ति र सीमा' बारेमा आ-आफ्नाे धारणा व्यक्त गर्न नेपाली आख्यान, विशेषगरी उपन्यासमा सशक्त हस्तक्षेप गरिरहनुभएका नयनराज पाण्डे, अमर न्यौपाने र भर्खरै 'निर्वेद' उपन्यास बजारमा ल्याउनुभएका समालोचकसमेत रहनुभएका शैलेन्द्र अधिकारीकाे सहभागी हुनुहुन्छ । अब सुरु गरौँ आजको लोकसंवाद :

घनेन्द्र ‌ओझा

फरक ढंगले भन्ने कला पछिल्ला उपन्यासकारहरूमा कतिको देख्नुभएको छ, नयनराज पाण्डे ?

नयनराज पाण्डे

आइरहेको नै छ । धेरै उपन्यासहरू आइरहेका छन् । सबै उपन्यासलाई पाठकले स्वीकार गर्ने वा नगर्ने, त्यो आफ्नो ठाउँमा छँदै छ । कमजोर उपन्यास छन् भने ती विस्तारै दृश्यबाट हराउँदै जान्छन् । तर, जुन प्रभाव राख्न सक्ने उपन्यास, बलिया उपन्यास छन्, त्यसलाई पाठकले विस्तारै स्वीकार गर्छन् र पछिसम्म त्यसको चर्चा भइरहन्छ ।

शैलीगत रूपमा भन्दा पहिलाका अर्थात् २०३० को दशकका उपन्यासहरू पढ्दाखेरि जुन सामाजिक यथार्थवाद या आलोचनात्मक यथार्थवाद भेटिन्थ्यो । त्यही केन्द्रमा, धुरीमा रहेर त्यसमा पनि थोरै प्रयोग गर्ने ध्रुव दाइ हुनुहुन्थ्यो । उहाँले व्यापक स्वैरकल्पनाको प्रयोग गरिरहनुभएको थियो । तर, त्यसभन्दा अगाडि धेरैजसोचाहिँ सामाजिक यथार्थवादकै वरिवरि रुमल्लिइरहेको थियो नेपाली उपन्यास । अलिकति क्रान्तिकारिता देखाउने, पात्रहरूमा विद्रोही चेतना देखाउने खालको एउटा लेखन थियो, प्रगतिशीलता नामको । तर, त्यतिखेरको लेखनमा बरु शैलीगत पक्षमा चाहिँ एकरूपता थियो ।

अहिले पछिल्लो समयमा आएर मैलेचाहिँ विविधता देखिरहेको छु  । कतिपय कमजोर भनिएका उपन्यासहरूमा पनि विषयवस्तु कमजोर भएर हुन सक्छ, शिल्पले धान्न सकेन । त्यो बेग्लै कुरा हो । तर, भर्खर आएको एउटा लेखकले पनि मैले त फरक ढंगले कथा भन्नुपर्छ है भन्ने बुझेको छ । त्यसले गर्दाखेरि कहिलेकाहीँ शिल्पचाहिँ बलियो भएर आएको छ तर विषयवस्तु कमजोर भइदिन्छ ।

अहिले नयाँ र फरक शिल्पको प्रयोग गर्ने चेतचाहिँ धेरैमा आएको जस्तो मलाई लाग्छ । पछिल्लो समयमा जब मैले पान्डुलिपि पनि पढिसकेको थिएँ, रवीन्द्र समीरजीले उपन्यास लेख्नु भएको छ, ‘मृत्युको आयु ।’ उहाँको त्यस उपन्यासलाई हेर्दा लघुकथाहरूको संयुक्त रूप जस्तो लाग्छ । लघुकथा जस्तै ससाना प्रसंगहरू जोड्दैजोड्दै कुनै एउटा बलियो कथामा नलागेर सानासाना प्रसंगहरूलाई  राखेर एउटा सिंगो उपन्यासको अनुहार निर्माण भएको छ । त्यो पनि एउटा शैली आइरहेको छ ।

सूत्रात्मक शैलीका उपन्यासहरू आइरहेका छन् । कुमार नगरकोटीले आफ्नो पाराले धुमधाम प्रयास गरिरहनुभएको छ । एउटा ठूलो पाठक वर्गले उहाँलाई पनि पछ्याइरहेको छ । मैले आफ्नो पाराले लेखिरहेको छु । उहाँले आफ्नो पाराले लेखिरहनुहुन्छ । शैलेन्द्रजी आफ्नो किसिमले लेखिरहनुभएको छ । सबैलाई आफ्नो पहिचान होस्, मेरो लेखनमा मेरोपन आओस् भन्ने त्यो चेतना छ । त्यो चेतना पहिला हुँदैथ्यो बरु ।

मैले एउटा बलियो विषय पाएको छु । त्यसलाई सहज ढंगले मैले लेख्नुपर्छ भन्ने एउटा धारणाचाहिँ हुन्थ्यो लेखकहरूमा । २०२० का दशकका, २०३० का दशकका बहुसंख्याक उपन्यासहरू विषयवस्तुलेस्थापित भएका छन् । कालजयी भएका छन् । तर, शिल्पको प्रयोगचाहिँ पछिल्ला उपन्यासहरूमा पछिल्लो कालखण्डमा हुन थालेको छ । यसको परिणामचाहिँ मलाई लाग्छ, पछि सुखद रूपमा देखिनेछ ।

कुनै पनि कुराको तत्काल समालोचना, समीक्षा या त्यसको पहिचानचाहिँ तुरुन्त निर्माण हुन्छ जस्तो मलाई लाग्दैन । म आफ्नै उदाहरण दिन्छु, मैले ‘उलार’ लेखेपछि त्यसको बजारमा पाठकहरूले चर्चा गर्नै १० वर्ष कुर्नुपर्‍यो । भनेपछि समय लाग्छ । तपाईंले कुनै एउटा उपन्यासले आफ्नो व्यक्तित्व निर्माण गर्न, त्यसको चर्चा हुन अहिले चर्चा नहोला अचानक फेरि कहिलेकाहीँ त्यसको शैली, शिल्प र विषयवस्तुको चर्चा हुन थाल्छ । त्यस कारण समयचाहिँ लिन्छ । यो समयमा मलाई लाग्छ, एउटा पृथक शिल्पका साथ विविध खालका विषयवस्तुहरू, विविध खालका चरित्रहरू, विविध खालका परिवेशहरू उपन्यासमा भित्रिइरहेका छन् ।

अस्ति भर्खर ‘हंस’ आयो । हाँसको कथाबाट संजीव उप्रेतीले मान्छेलाई, मान्छेको चरित्रलाई, स्वभावलाई र एउटा सृष्टिलाई व्याख्या गर्नुभएको छ । सरुभक्तको ‘प्रतिगन्ध’ अलिक फरक ढंगले आएको होला जस्तो लाग्छ । सरस्वती प्रतीक्षाको ‘नथिया’मा फरक पात्रहरू आउन थालेका छन् । नयाँनयाँ पात्र आएका छन् । भनेपछि चरित्रहरू पनि नयाँनयाँ आइरहेका छन् नेपाली उपन्यासमा । शिल्पहरू नयाँ आएका छन्, विषयहरू नयाँ आएका छन् । मचाहिँ स्थिति राम्रो देख्छु ।

प्रयोगको रूपमा कुरा गर्दा नेपाली उपन्यासमा विषय, शिल्पमा प्रयोग त छ तर कतिसम्म प्रयोग छ भने स्वैरकल्पनामा पनि रमाउने एउटा पक्ष छ । फेरि के छ भने भाषालाई यति विकृत बनाउँदै प्रयोग गरिएको छ, त्यसलाई पनि प्रयोग भनिएको छ । यस्ता प्रयोगहरू, भाषामा गरिएका अराजकतापूर्ण प्रयोगहरू कतिको क्षम्य अथवा कतिको स्वीकार्य होलान् ?

त्यही भएर त अहिले धेरैजसोको उपन्यास लेखनप्रति आकर्षण बढेको छ । त्यो आर्कषण बढेकै कारण मसँग पनि कथा छ, म यसलाई नयाँ ढंगले भन्न सक्छु भन्ने कुरा धेरैजसोको दिमागमा स्थापित भएको छ । अहिलेको समयले स्थापित गरेकै कुरा के हो भने, उपन्यासलाई फरक ढंगले भन्नुपर्छ । र, त्यो शिल्प मसँग छ, मसँग त्यो क्षमता छ भनेर हरेक व्यक्ति नयाँ शिल्पका साथ आइरहेको छ ।

प्रोल्लास सिन्धुलीयजीको एउटा उपन्यास पढिरहेको छु । उहाँले एउटा लेखक साहित्यकारलाई उपन्यासको पात्र बनाएर ल्याउनुभएको छ । मलाई त राम्रो लाग्यो त्यो । नेपालमा कम छ, एउटा लेखक नै पात्र भएर आएको । यी विविध चिजहरू भइरहेका छन् तर यसको समग्र मूल्यांकन हुन समय लाग्छ ।

प्रयोगको रूपमा कुरा गर्दा नेपाली उपन्यासमा विषय, शिल्पमा प्रयोग त छ तर कतिसम्म प्रयोग छ भने स्वैरकल्पनामा पनि रमाउने एउटा पक्ष छ । फेरि के छ भने भाषालाई यति विकृत बनाउँदै प्रयोग गरिएको छ, त्यसलाई पनि प्रयोग भनिएको छ । यस्ता प्रयोगहरू, भाषामा गरिएका अराजकतापूर्ण प्रयोगहरू कतिको क्षम्य अथवा कतिको स्वीकार्य होलान् ? प्रयोगकै रूपमा हेर्दा ।

भाषालाई बिगार्न त पाइँदैन । पात्रहरूले बोल्ने एउटा भाषा हुन्छ, एउटा कथा वाचकले बोल्ने भाषा हुन्छ । पात्रले बोल्ने भाषामा त्यसको आञ्चलिकता आउने भयो तर कथा वाचकले जुन कथा भनिरहेको छ, त्योचाहिँ मानक नेपाली नै हुनुपर्‍यो । एउटा भाषालाई बिगार्नचाहिँ पाइएन । भन्ने तरिका नयाँ हुन सक्छ । उसले भाषालाई नयाँ काव्यात्मक रूप अथवा नयाँ शैलीमा अथवा नयाँ तरिकामा भन्न सक्छ तर भाषालाई नै बिगार्न, त्यसको व्याकरणलाई बिगार्नचाहिँ पाइँदैन । त्यसको भाषाको अस्तित्वलाई चाहिँ जोगाइराख्नुपर्छ भन्ने मलाई लाग्छ ।

घनेन्द्र ‌ओझा

नेपाली उपन्यासमा आइरहेको भाषाको जुन प्रयोग छ नि, धेरैले विकृत भयो भनिरहेका छन । त्यो के क्षम्य छ अथवा स्वीकार्य छ, ठीक छ अथवा बेठीक छ, शैलेन्द्रजी ?

शैलेन्द्र अधिकारी

सबैभन्दा पहिलो कुरा त के भने भाषा परिवर्तनशील हो । हामीले अहिले जुन भाषा बोलिरहेका छौँ, एक सय वर्षपछि यही किसिमको नेपाली भाषा नरहला । नेपाली भाषामा सबैभन्दा धेरै प्रभाव भनेको आगन्तुक भाषाको आक्रमण छ । यो आक्रमणचाहिँ साहित्यमा र संचारमा अलिक बढी देखिन्छ । हाम्रोचाहिँ अंग्रेजी भाषाप्रतिको मोह के छ भने, हामीलाई पनि र हाम्रो देशलाई पनि हामी सबै नेपालीहरू साँच्चै भन्ने हो वा सुन्ने हो भने देश पनि माग्ने हामी पनि माग्ने ।

पेरिसमा अंग्रेजीमा कसैले ठाउँ सोध्यो भने ठाउँ भनिदिँदैन कसैले । जापान, कोरिया, चाइना यी सबैमा अंग्रेजीलाई उति महत्त्व दिइएको छैन, नेपालमा चाहिँ किन यति धेरै महत्त्व दिइएको छ ? हामीचाहिँ उपन्यासमा सकेसम्म अंग्रेजी शब्द प्रयोग गर्दाखेरि पढ्ने पाठकहरूलाई अरे यो विद्वान् रहेछ भन्ने लागोस् भन्ने सोच्छौँ । अंग्रेजी शब्द बोलेपछि विद्वान् हुन्छ भन्ने जुन यो नेपाली मानसिकता छ, यो नहट्दासम्म संचारको क्षेत्रमा तथा साहित्यको क्षेत्रमा नेपाली भाषामाथिको अतिक्रमण जारी रहन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि भाषाको ज्ञान र प्रयोगले विद्वताको मापन गर्दैन ।

हामी मान्छे भाषा र कपडाले आधुनिकताको निर्माण गरिरहेका छौँ । विचारले मान्छे आधुनिक हुनुपर्ने हो तर हामी विचारले त्यस्तो भइरहेका छैनौँ । खास आधुनिक त युनिभर्सिटी पढाउने प्रोफेसर होला नि पढाइका हिसाबले हेर्ने हो भने त । हामीचाहिँ १२ कक्षा फेल भएर बरालिएर हिँडिरहेका छौँ, कपाल खैरो बनाउँछौ, घुँडामा च्यातिएको पाइन्ट लगाउँछौ, कम्मर तल पाइन्ट लगाउँछौ अनि हामी त्यसलाई आधुनिक ठानिरहेका छौँ ।

भाषालाई सधैँ यही रूपमा रहिरहन सक्छ भनेर त्यसलाई रोक्न सकिँदैन । अनावश्यक ठाउँमा तपाईंले कम्प्युटरको ठाउँमा सुसांख्य राखेर लेख्न सक्नुहुन्न । नेपाली भाषा प्रयोग हुन सक्ने ठाउँ छन् भने त्यसमा अंग्रेजीमा प्रयोग गर्नुचाहिँ त्यो विकृत रूप हो । त्योचाहिँ मान्छेको गलत मानसिकता हो मेरो बुझाइमा ।

घनेन्द्र ‌ओझा

अब अमरजीसँग, नेपाली साहित्यमा विशेषगरी आख्यान, कथा अनि नाटकमा पनि दुःख बिक्छ, आँसु बिक्छ । पछिल्लो समय यौन बिक्छ । यीभन्दा बाहेक अरू विषय दिन सक्दैन नेपाली साहित्यले ?

अमर न्यौपाने

धेरै दिएको छ नि, योभन्दा फरक विषय दिएका छौँ । नयन दाइको उपन्यासमा सबैथोक हुन्छ । जीवनमा जेजे हुन्छ, त्यहीत्यही कुरा पस्किने त हो नि साहित्यमा ! जीवनमा आँसु पनि छ, हाँसो पनि छ, यौन पनि छ । यौन त हामी सबैको सृष्टि हो । यो फूल कसरी फूल्छ, यी फलहरू कसरी फल्छन्, हामी मान्छे कसरी भयौँ ? त्यो सृष्टि प्रक्रिया त आउने भयो नि त ! यो त यौन आएको होइन सृष्टि आएको हो । उपन्यास पनि त सृष्टि हो नि ! त्यस कारण हामीले सृष्टिलाई त सम्मान गर्नुपर्‍यो । हामीले लेखेको सृष्टिको कथा हो ।

घनेन्द्र ‌ओझा

यही जिज्ञासा नयनराज पाण्डेलाई ।

नयनराज पाण्डे

म एकदमै सहमत छु त्यसमा । म यौन बिक्छ भन्ने कुरामा चाहिँ सहमत छैन । किनभने यौन बिक्ने भए पोर्न सिनेमा विश्वमा एकदमै ठूलो सुपरहिट हुने विधा हुन्थ्यो जस्तो लाग्छ तर पोर्नकै बडो सानो बजार छ । हाम्रो साहित्यमा त यौनको प्रयोग बडा कमजोर किसिमले भएको छ भन्छु म त । जुन प्रखर रूपले यौनका जटिलताहरूलाई हामीले ल्याउनुपर्ने कुराहरू थिए, ती अझै ल्याउन सकेको छैन होला ।

कुनैबेला सीता पाण्डे जस्ता महिला लेखक हुनुहुन्थ्यो । उहाँले यौनका कुराहरू यति ‘बोल्डली’ उठाउनुभएको छ । मलाई लाग्छ, अहिलेको पुस्ताले त्यसलाई बुझ्छ । कथाहरू पनि उहाँले लेख्नुभएको छ । त्यसलाई बुझ्न जरुरी छ । हामी छिमेकमै जाँदाखेरि आजभन्दा ७०–८० वर्षअघि मन्टो जस्ता लेखक हुनुहुन्थ्यो । नसरिन जस्ता लेखकहरू, उहाँहरूले यौनका कुराहरूलाई यति बोल्ड रूपले उठाउनुभएको छ नि, हामी त अहिले पनि कल्पना गर्न सक्दैनौँ त्यसको । महिला भएर त्यतिसम्म लेख्न सके भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौँ ।

एउटा उपन्यासमा सानो माया प्रेमको सन्दर्भ आएको छ भने यौनका प्रसंगप्रति हामी ‘बायस्ड’ भइरहेका छौँ । पात्रको कुनै चरित्र, नायक या नायिका दुई प्रमुख पात्र छन् प्रेमी–प्रेमिका छन् भने स्वाभाविक रूपले कुनै न कुनै प्रसंगमा यौनका कुराहरू आउन सक्छन् । तर, त्यसमा लेखकको नियत के हो ? उसले कुन तहसम्म यौनका कुराहरू ल्याउँछ भन्ने कुरा हुन्छ । अब हामीले यो धेरै चिन्ता गर्नुपर्ने विषय हो जस्तो नै लाग्दैन किनभने तपाईंले एउटा सामान्य विषयमा अथवा जुन जिम्मेवारीसाथ यौनको प्रयोग हुन्छ, त्यो गर्नुहुन्न भने तपाईंलाई पाठकले ‘रिजेक्ट’ गर्छन् ।

यो त लोकतान्त्रिक समाज हो । पाठक जति लोकतान्त्रिक त कोही हुँदै हुँदैन जस्तो लाग्छ मलाई । उसले रिजेक्ट गर्छ । उसले त्यो आख्यानलाई कहाँ फाल्दिन्छ फाल्दिन्छ । टिक्ने त ती आख्यान हुन्, जसमा विषय, शिल्पका कुराहरू विश्वसनीय ढंगबाट प्रयोग भएका छन् । ती कुराहरू टिक्ने हुन् । त्यस कारण म यसबारे एकदम धेरै चिन्ता गरेर साहित्यमा यस्तो भयो, भाषामा हस्तक्षेप भयो, अंग्रेजीको प्रयोग भयो भनेर चिन्ता गर्नु पर्ने विषय नै होइन भन्छु ।

तपाईंले नाम लिन सक्नुभएन, कुमार नगरकोटीको कुरा गरेको होला हामीले । उहाँले चाहिँ अंग्रेजी भाषाको प्रयोग गर्नुहुन्छ । तपाईंलाई म कुमार नगरकोटीको पक्षबाट के भन्छु भने, कहिलेकाहीँ हाम्रो लेखनको सन्दर्भमा हाम्रै भाषा यति सीमित भइदिन्छ कि हामीलाई आफ्नो ‘एक्सप्रेसन’को लागि आफ्नै भाषा पुग्दैन । कुमार नगरकोटीले जुन कुराहरू लेख्नुहुन्छ, उहाँको छट्पटी म बुझ्छु । उहाँले हिन्दी पनि घुसाउनुहुन्छ । उहाँले त्यो शब्दबाट एउटा नयाँ प्रभाव उत्पन्न गर्न जुन प्रयास गर्नुहुन्छ, उहाँको समग्र लेखन नै त्यही हो । त्यसमा चाहिँ हामीले अहिले एकदमै हस्तक्षेप भयो भनेर चिन्ता गर्ने कुरा छैन ।

कुमार नगरकोटीजीको त कडा सुन्दर नेपाली छ उहाँले लेख्नै पर्‍यो भने तर उहाँको एक्सप्रेसनलाई आफ्नै भाषा पर्याप्त हुँदैन । त्यो नहुँदाखेरि उहाँले अंग्रेजी प्रयोग गर्नुहुन्छ । अरू भाषाको प्रयोग गर्नुहुन्छ, उर्दू प्रयोग गर्नुहुन्छ, हिन्दी प्रयोग गर्नुहुन्छ । मलाई लाग्छ, उहाँको उपन्यास त्यस कारणले कमजोर भएको छैन । एउटा ठूलो पाठक वर्गले त्यसलाई त स्वीकार गरिआएको छ । तर, कुरो के भने, समस्या हामीभित्र छ ।

मैले जुन कुरा लेख्न सक्दिनँ, कुमार नगरकोटीले लेख्यो भने मलाई त्यसमा रिस उठ्ने जस्तो भएको छ । भाषाको चिन्ता भाषाविद्हरूले गर्नुपर्छ । मचाहिँ आख्यानमा एकदमै भाषाप्रति कठोर भएर बस्नुपर्छ भन्ने पक्षमा छैन । कहिलेकाहीँ म आधा हिन्दी, आधा नेपाली प्रयोग गरेर लेखौँला अरे तर मेरो लेखन विश्वसनीय भए टिक्छ, पाठकलाई मनपरे टिक्छ, नभए टिक्दैन ।

मेरो ‘उलार’मै पनि मैले नेपाली मानक भाषा मात्र चलाएको छैन । मलाई के लाग्यो भने, मैले त्यहाँ नेपाली गर्नेवित्तिकै मैले उठाउन खोजेका कुराहरूप्रति, मैले एक्सप्रेस गर्ने जुन भावहरू छन्, तीप्रति अन्यायहुनेछ । मैले अभिव्यक्त गर्ने कुरा मानक नेपाली भाषाबाट मात्र संभव छैन, त्यहाँ नेपाली भाषाले काम गर्दैन । त्यहाँ त्यही जनजीवनमा उठेका कुराहरूले, भाषाहरूले, त्यहाँकै समाजले बोलिरहने भाषाले मात्र त्यसलाई राम्ररी प्रस्तुत गर्छ भन्ने लाग्यो । मेरो लेखनमा पनि कहिलेकाहीँ त्यो प्रयोग गर्छु ।

बजार कसलाई चाहिएको छैन ? तपाईंलाई चाहिएको छ, मलाई चाहिएको छ । बजार त सबैलाई चाहिएको छ नि ! बजारमा जान्न भन्ने एउटा आदर्शवादी कुरा गरेर त चल्दैन । रोयल्टीचाहिँ त सबैलाई चाहिएको छ ।

घनेन्द्र ‌ओझा

मन्टोको लेखन यौन भए पनि सूक्ष्म र शालीन र प्रतीकात्मक छ । त्यसरी गरिएको छैन होला नेपालीमा यौनको प्रयोग । वीपी जस्ता केहीले गरे तर पछिल्लो समयचाहिँ खुलै र नाङ्गो यौनकोे प्रस्तुतिचाहिँ कस्तोे लाग्छ, शैलेन्द्रजी ?

घनेन्द्र ‌ओझा

सबैभन्दा सुरुमा नेपाली उपन्यासमा हेर्दाखेरि वीपी कोइराला र तारणीप्रसाद कोइराला, यी दुई जनाले चाहिँ सूक्ष्म यौन मनोविज्ञान प्रयोग गरे । अझ मलाई त तीनघुम्ती पढ्दाखेरि र अग्निज्वाला पढ्दा भन्दा मस्तिष्क नै हल्लाइदिएको थियो सर्पदंशले । नेपालमा यस्तो बच्चाको यौन मानोविज्ञानलाई त्यस्तो शालीन, सभ्य किसिमले र त्यसरी आममान्छेहरूले बुझ्नेगरी पनि साहित्यमा प्रस्तुत गरिएको थियो ।

मनोविज्ञानलाई केन्द्र बनाएर लेख्थे, वीपी कोइराला, र तारणीप्रसाद कोइराला । पछि भवानी भिक्षु पनि मनोविज्ञानमा आधारित कथा लेख्ने कथाकार हुन् । उनले त्यो यौन मनोविज्ञानलाई भन्दा मनोविज्ञान र परिवेश चित्रणलाई अलिकति बढी फोकस गरिदिए । जब प्रयोगवादी धारा सुरु भयो र अलिकति अंग्रेजी साहित्य पढ्ने लेखकहरूको मात्रा पनि बढी भयो । त्यसपछि एक–दुई जनाले प्रयोग गरे । जसले शालीन प्रयोग गरेका थिए, बिक्यो । त्यसपछि केही मान्छेलाई नामभन्दा पनि किताबको चर्चाको कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

त्यस कारणले मान्छेले जसरी पनि यौनलाई घुसाउने भए । त्योचाहिँ ठ्याक्कै कहाँनिर आएर सिथिल भयो भने, स्वागत नेपालको मातृ–सम्भोग उपन्यासमा । त्यहाँ आएपछि त्यो सिथिल भयो ।

‘मेरो किताब मातृ–सम्भोगमा चाहिँ सन्तानले आमालाई सम्भोग गरेको कुरा आएपछि जलाइन्छ, सबले जलाउँछन् । बंगलादेशबाट त्यो लज्जापछि चर्चामा आएकी थिइन् । म पनि त्यसरी आउने हो’ भन्ने उच्च महत्त्वाकांक्षाबाट निर्देशित थियो त्यो । हामी लेखकहरू पनि सय जनामा एक जनाले नराम्रो गरिदियो भने पनि त्यो अपजसचाहिँ सबैतिर जान्छ ।

घनेन्द्र ‌ओझा

राम्रो लेखक बजारको पछि दौडिने, प्रकाशकले कति बेच्न सक्छ भनेर लेखिदिने कि लेखनको स्तरीयतातिर जाने, अमरजी ?

अमर न्यौपाने

त्यो प्रश्नमै उत्तर छ खासमा । मैले लेखनको स्तर नै भनिहाल्छु नि त ! त्यो भन्छु पनि र त्यो नै हो पनि ।

बजार कसलाई चाहिएको छैन ? तपाईंलाई चाहिएको छ, मलाई चाहिएको छ । बजार त सबैलाई चाहिएको छ नि ! बजारमा जान्न भन्ने एउटा आदर्शवादी कुरा गरेर त चल्दैन । रोयल्टीचाहिँ त सबैलाई चाहिएको छ ।

बजार भनेको सबै खराब कुरा होइन नि त ! बजार सबैलाई चाहिएको छ । असन सबैलाई चाहिएको छ । असन एउटा उदाहरण पनि हो । त्यहाँ त हरेक कुरा पाइन्छ । युगौँदेखि स्थापित भएको छ । बजारको आफ्नो सौन्दर्यशास्त्र छ । समस्या कहाँ हुन्छ भने, कहिलेकाहीँ भ्रम लेखकलाई हुन्छ, प्रकाशकलाई पनि भ्रम हुन्छ । बजारले यस्तो खोजेको हो कि भनेर उसले त्यो ‘एक्सपेरिमेन्ट’ गर्न खोज्छ । बजारमा प्रेम बढी बिक्छ भन्ने भ्रम भइदिन्छ ।

कहिलेकाहीँ कुनैले भन्न सक्ला, कुनै प्रकाशकले प्रेमसम्बन्धी केही लेख्नुहोस् भन्ला तर मलाई त कुनै प्रकाशकले प्रेम उपन्यास लेख भनेर आएको छैन । मैले कम्तीमा विषयचाहिँ बजारबाट लिन्थेँ । उसले निर्देशित गरेको विषय लिन्नँ । म त्यो विषय उठाउँछु, जसले म बजारमा हस्तक्षेप गर्न सक्छु ।

कहिले सफल हुन्छु, कहिले असफल हुन्छु, त्यो बेग्लै कुरा हो । मैले बजारलाई हस्तक्षेप गर्ने मैले लेखेका कुरा त पढ र यसमा आफ्ना राय देऊ भनेर बजारलाई हस्तक्षेप गर्ने हो । बजारले तपाईं यस्तो लेख्नु अथवा यस्तो लेख भनेर उसले विषय दिएर लेख्ने होइन । समास्या त्यहाँ आउँछ, जब लेखक के भ्रममा हुन्छ भने बजारमा यो कुरा पढिरहेका छन्, मैले यो लेख्नुपर्छ भन्ने कुरा आयो भनेचाहिँ त्यो हुन्छ तर बहुसंख्यक लेखक, जो सिर्जनामा रमाउँछन्, जसले सिर्जनालाई आफ्नो धर्म ठान्छन्, ती बजारको त्यति समस्यामा रहन्नन् ।

आफ्नो सर्कलमा ५ जना, ५० जनामा बाँडेर पढ्ने भए । त्यस कारणले यो २१औँ शताब्दी भनेर हामीले भनिरहेका छौँ, यो समय प्रविधिको युग हो । पुस्तक प्रकाशन र बजार व्यवस्थापन, वितरणमा पाठकको, प्रकाशकको र लेखकको त्रिवेणी राम्रो हुन जरुरी छ भन्ने मलाई लाग्छ ।

तर, फेरि पनि कुरा के हो भने हरेक लेखकभित्र एउटा सानो मनोविज्ञान के हुन्छ भने मेरो किताब धेरैले पढिदिऊन् । त्यसपछि मलाई पनि केही रोयल्टी हुन्छ, अब उपन्यास लेख्न सक्छु भनेर त्यो बजारले पनि त उत्प्रेरणा दिन्छ नि ! बजारबाट लेखनलाई अनुसन्धान गर्न अलिकति  पैसा आयो भने त उसले नयाँ विषय खोज्न थाल्छ । केही हुँदै भएन भने त उसले जहाँ छ, त्यहाँ कोठामा कल्पना गरेर मात्रै लेख्ने हो । अलिकति पैसा भयो भने त ऊ रिसर्च गर्न पनि जान्छ ।

अहिले कोही लेखकले मलाई एड्भान्स दिनुहोस्, म हिमाली क्षेत्रमा गएर दुई–तिन महिना बस्नुपर्‍यो भनेमा दिन्छ प्रकाशकले । त्यो किताब बिक्री भएकाले त संभव भएको हो नि ! त्यो बजारकै कारणले पनि त हो नि ! त्यस कारण बजारले राम्रो लेख्न उत्प्रेरणा पनि दिन्छ, लेखकलाई उत्साह दिन्छ, मिहिनेत गर्ने वातावरण सिर्जना गर्छ । त्यस्ता बजारचाहिँ सबैलाई चाहिन्छ नै भन्ने मलाई लाग्छ ।

घनेन्द्र ‌ओझा

शैलेन्द्रजी, बजार मात्र आख्यानको अथवा साहित्यको स्तरीयता मापक हो ?

शैलेन्द्र अधिकारी

पेपरको कभर, क्वालिटी एउटा कुरा भयो । योचाहिँ सिधा गएर जोडिन्छ प्रकाशकसँग र पाठकसँग । पाठकले आफूले किनेको किताब त पछिसम्म रहिरहोस्, आफ्नो व्यक्तिगत लाइब्रेरीमा रहोस् भन्ने चाहन्छ । अब प्रकाशकचाहिँ लेखकले ‘कन्टेन्ट’ देओस् भन्ने खोज्छ । सबैभन्दा पहिला त जस्तोसुकै होस् कन्टेन्ट चाहियो ।

एउटा महत्त्वपूर्ण कुरा के हो भने लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेख्दाखेरि कति प्रकाशक थिए ? कस्तो थियो त्यो बजार ? तर, देवकोटाको मुनामदन चल्यो । बजार त त्यसबेला के थियो ? पुस्तकको कन्टेन्ट नै राम्रो भएर चलिरहेको छ नि ! भनेर अहिले भन्ने अवस्था छैन । समयअनुसार हिँड्न सकेन भने डाइनोसर त लोप भयो भनिन्छ । लेखकलाई प्रकाशक पनि चाहिएको छ किनभने मैले राम्रो प्रकाशक पाएँ भने पुस्तक सबैतिर पुग्ने हो ।

म आफू राम्रो लेख्छु, मलाई चर्चा पनि चाहिँदैन, मिडिया पनि चाहिँदैन, प्रकाशक पनि जस्तो भए नि हुन्छ भनेर हुन्छ र अहिले ? कि आफ्नो सर्कलमा ५ जना, ५० जनामा बाँडेर पढ्ने भए । त्यस कारणले यो २१औँ शताब्दी भनेर हामीले भनिरहेका छौँ, यो समय प्रविधिको युग हो । पुस्तक प्रकाशन र बजार व्यवस्थापन, वितरणमा पाठकको, प्रकाशकको र लेखकको त्रिवेणी राम्रो हुन जरुरी छ भन्ने मलाई लाग्छ ।

यो पनि : बहसमा आख्यान: नेपाली उपन्यासको दिशा र दशा