न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७५

काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएका छन् । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी छन् । 

अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २९ उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको पाँच, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी/लेनदेनको दुई उजुरी दर्ता भएका छन् । यस अवधिमा १८ वटा मुद्दा किनारा लगाइएको छ । दुई उजुरी अदालतमा पठाएको, एउटा कार्यार्थ मालपोत कार्यालयलाई पत्राचार गरेको छ । तीन उजुरी मुलतवीमा राखिएको र बाँकी छ उजुरी प्रक्रियामा रहेको उपप्रमुख डंगोलले बताउनुभयो । 

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर/जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी/लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा १३ वटा उजुरी दर्ता भएकामा पाँच घर/जग्गा विवादसम्बन्धी उजुरी परेको छ । त्यस्तै तीन पारिवारिक विवादका उजुरी दर्ता भएका छन् । सम्बन्धविच्छेदका दुई वटा उजुरी परेका छन् भने एउटा घर निर्माण विवाद र बाँकी एउटा ठगी/लेनदेनसम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । 

नगरपालिकामा आउने उजुरी सबै लिखितरुपमा आउने गरेका छन् । उपप्रमुख डंगोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको खबर राससमा छ ।