रूपक श्रेष्ठ | साहित्य | कार्तिक १६, २०७६
तिम्रो अभावमा म त आधा भएछु
मेरो जिन्दगीको म नै बाधा भएछु
रंगिएथेँ अंगअंगमा रङहरूमा तिम्रै
उडेछन् सब रङ अब त साधा भएछु
चलाएँ तीर अनि फेरि पिलाएँ पानी
म आफै शिकार आफैँ ब्याधा भएछु
म खोक्रो बाँसुरी हुँ तिमी धून मेरो
म धून-प्यासी विरही राधा भएछु
कवि, प्रेमी र पागल उस्तै हुन् भन्छन्
म प्रेममा पागल अलिक ज्यादा भएछु ।