चक्रवात
कार्तिक १६, २०७६

हाम्रो छानामाथिको आकाश च्यातिएर 
हजारौँ नदी हामफालेका छन् घरैभित्र
हामी नागरिकता च्यापेर सीमान्त छातीमा 
दु:खको पल्लो फालबाट सरकार कल्पिरहेका छौँ । 

सोच्दै छौँ-
देशको मानचित्रबाट कहिले हरायो हाम्रो नाम ?
किन अस्तायो हाम्रो किनाराको सार्वभौम घाम- यति चाँडै ?

पोहोर परार जस्तै डुब्छ घर यसपालि पनि
लैजान्छ बाढीले सिरानीमुनिको सपना
भत्किन्छ आँखामा बाँधेको पसिनाको दुवाली 
तैरिन्छन् बाआमाहरू लाससहित यही चक्रवातमा ।

खबर यो राजधानी पुगेपछि 
आउँछ  हाम्रो आकाशमा हेलिकोप्टर 
खसालिदिन्छ म्याद गुज्रिएका सिटामोल  
केही बिस्कुट र रारा चाउचाउका प्याकेट
बगेर जान्छन् ती पनि हाम्रै सीमान्त मृत्युमा ।

हामी कामना गरिरहेका छौँ-
यो विपत्तिमा सकुशल फर्कियोस् हेलिकोप्टर
हाम्रो नियतिमा नखसोस् हेलिकोप्टरभित्रको देश ।

राहत बाँडेको खुसीमा सरकारले बनाउँछ विज्ञप्ति
छापिन्छन्  ठूला अखबारहरूमा  समाचार पनि ।

हेलिकोप्टरबाट चाउचाउ फाल्नेहरूले
देश फ्याँकिदिए 
हामी अञ्जुलीमा संकट बोकेर चिच्याइरहँदा
सीमान्त आँसुसँगै देश रोयो ।

यता, हामी साँच्चै आँसु नै पिइरहेका हुन्छौँ
साँच्चै छोराछोरी बगाइरहेका हुन्छौँ
देशको समाजशास्त्र बगाउँदै गरेको पानी हेरेर
पहिचानको मृत्यु मरिरहेका हुन्छौँ ।

परार ठूलो छोरो बग्यो, पोहोर ठूली छोरी बगी 
यो साल सानी छोरी कसरी सकिएला बचाउन ?

छातीमा च्यापेको नागरिकताको प्रतिलिपि
जब खोसेर बगायो पानीले 
तब नुनिलो आँसुको थोपाले 
कोर्‍यौँ एउटा देशको नक्सा ।

बुढिया र म भाग्दै छौँ  च्यापेर सानी छोरी
अज्ञात अँध्यारोतिर 
खेदिरहेका छन्- जमिनका सप्तकोसीहरूले
कुटिरहेको छ- शिरमाथिको सगरले ।

हामी यसरी छोड्दै छौँ घर 
जसरी मरेको जीव छाडेर भाग्छन् उपियाँ र जुम्राहरू ।

हामी भाग्दा भाग्दै सोच्दै छौँ 
सरकार बस्ने महलमा  बर्खाको पीडा 
किन हामफाल्दैन हाम्रो धुरीबाट हामफालेजस्तै ?


नेपाली विषयमा विद्यावारिधि गरिरहनुभएका क्षितिज कविता, आख्यान र समालोचना लेखनमा सक्रिय हुनुहुन्छ ।