सरकारी बैंकहरू पुरानै ढंगमा चलेका छन् भन्नु गलत हुन्छ : वासुदेव अधिकारी, अध्यक्ष नेबै‌ंलि

सरकारी बैंकहरू पुरानै ढंगमा चलेका छन् भन्नु गलत हुन्छ : वासुदेव अधिकारी, अध्यक्ष नेबै‌ंलि

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  कार्तिक १७, २०७६

वासुदेव अधिकारी, नेपाल नेपाल बैँक लिमिटेड सञ्चालक समितिकाे अध्यक्ष हुनुहुन्छ । सार्वजनिक रूपमा बैंकर कम साहित्यक पहिचान बढी बनाउनुभएका अधिकारीकाे नियुक्तिकाे विषयलाई असान्दर्भिक भन्दै टिप्पणी गरेर सरकारको आलाेचना हुने गरेको छ । यी र यस्तै आलाेचना भइरहेकाे सन्दर्भ, नेपाल बैंक लिमिटेडकाे वर्तमान अवस्था र सेवामा केन्द्रित रहेर लोकसंवाद डटकमले अध्यक्ष वासुदेव अधिकारीसँग अन्तर्मन्थन गरेकाे थियाे । प्रस्तुत छ, उक्त अन्तर्मन्थनकाे मूलअंशः

तपाईंको नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्तिलाई असान्दर्भिक भनिरहेका छन् अथवा असम्बन्धित मान्छेलाई नियुक्ति गर्‍यो भनेर आलोचना गर्छन् नि, के हो खास कुरा ?

बुझ्नेले यस्तो आलोचना गर्दैन, यो सत्य होइन ।

असत्य के कारणले हो ?

म नेपाल राष्ट्र बैंकमा ३० वर्ष जागिर अवधि व्यतीत गरेर निवृत्त भएको व्यक्ति हुँ । त्यहाँ जागिर त अरूले पनि खाएका छन् तर म त्यहाँ जागिरमा रहँदाखेरी मैले प्रत्येक पदमा आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह पनि गरेको व्यक्ति भएका करणले एउटा बैंकिङ सिस्टम बुझेको मान्छेलाई सरकारले आफ्नो शेयरको प्रतिनिधित्व गरेर पठायो । त्यहाँको सञ्चालक समितिले तिमी बैंक बुझेको मान्छे, तिमी नै अध्यक्ष हौ भनेर मलाई अध्यक्षको जिम्मेवारी दियो भनेपछि अब यसलाई कसरी असान्दर्भिक भन्ने ? मैले बुझेको छैन ।

तपाईंको व्यक्तित्वचाहिँ बैंकरभन्दा पनि साहित्यिक बढी भएको हुनाले पनि यस्तो भनिएको हो कि ? 

साहित्यमा चाहिँ के हुन्छ ? उमेर र पदको कुरा हुँदैन । राम्रो लेख्नुभयो भने जुनियर मान्छे पनि चर्चित हुन सक्छ साहित्यमा । जुनियर मान्छे पनि पठित हुन सक्छ । उलाई धेरैले पढ्न सक्छन् । तर, बैंकिङ सेक्टरमा, फर्मल सेक्टरमा के हुन्छ भने कुनै सामान्य पदमा धेरै महत्त्वपूर्ण मान्छे छ भने पनि उसको चर्चा हुँदैन । अहिले राष्ट्र बैंकमा अफिसरमा वा सहायकमा धेरै मान्छे राम्रो छिरेका होलान् । को राम्रो छ ? आमजनतालाई थाहा हुँदैन । गभर्नर कस्तो छ ? गभर्नरले कस्तो नीति लिन्छ ? गभर्नरले कुनै विषयमा कसरी व्याख्या विश्लेषण गर्छ ? भन्ने मात्र सबैलाई थाहा हुन्छ । गभर्नरको व्यक्तित्व सामु अरूको व्यक्तित्व ओझेलमा पर्छ ।

बिग्रेको बैंक सुधार भइहाल्नका निम्ति समय लाग्दोरहेछ । पर्याप्त समय पनि लाग्यो तर अहिले यो मजबुत बैंकको रूपमा, सशक्त बैंकको रूपमा अगाडि आइरहेको छ ।

नेपाल राष्ट्र बैंकमा रहँदा म त गभर्नर भएको व्यक्ति होइन । सामान्य तहबाट छिरेको व्यक्ति हो । आआफ्नो पदमा दिइएको जिम्मेवारी निर्वाह गर्दैगर्दै जागिरे हिसाबमा आफ्नो भूमिका निर्वाह गरेकाले त्यो व्यक्तित्व पब्लिकमा आउन नसकेको हो । किनभने राष्ट्र बैंकको मानिसको व्यक्तित्व त्यतिखेर आउँछ, जतिखेर ऊ शीर्ष पदमा हुन्छ । कि विभागीय प्रमुख हुनुपर्‍यो, कि प्रवक्ता हुनुपर्‍यो, कि गभर्नर हुनुपर्‍यो व्यक्तित्व बाहिर आउन । कि भनेदेखि कुनै सान्दर्भिक विश्लेषण, लेख, रचनाका माध्यमबाट आउनुपर्‍यो । त्यसो भएर र हामी कामबाट आएको भएर हामी त्यसरी बाहिर आउन नसकेका हौँ ।

अध्यक्षको जिम्मेवारी लिएर काम गर्दा जटिलता कतिको हुँदोरहेछ ? बैंकको व्यवस्थापन कतिको जटिल हुँदोरहेछ ?

सिधै व्यवस्थापन त हामी पनि हेर्दैनौँ । हामीले पनि त्यहाँ पोलिसी हेर्ने हो । बोर्डलाई चाहिँ व्यवस्थापनले पेस गरेको एजेण्डाहरूमा छलफल गरेर व्यवस्थापनलाई गाइड गर्ने, त्यसरी होइन, यसरी जानुस्, यो स्पिरिटमा होइन, यो स्पिरिटमा जानुस् भनेर व्यवस्थापनलाई गाइड गर्ने, व्यवस्थापनको कामको मूल्यांकन गर्ने कुरा हो । तर, साहित्यिक हुँदाखेरि भने मनगढन्ते पनि हुन सक्छ । चिताएको कुरा गर्ने भन्ने हुन्छ । पोलिसीमा आधारित भएर, कन्टेन्टमा आधारित भएर काम गर्दा धेरै लिमिटेसनहरू हुन्छन् । विजनेस ग्रोथचाहिँ ५० प्रतिशतले गर्न मन लाग्छ तर ५० प्रतिशत विजनेस ग्रोथ त हुन सक्दैन ठूलो संस्थाको । कर्मचारीहरूले दिएअनुसारको त लाउन सक्दैन । यस्तो खालको लिमिटेसनमा काम गर्नुपर्छ ।

निजी बैंकहरूले हरेक वर्ष हामीले यति मुनाफा कमायौँ, हाम्रा शेयरधनीहरूलाई यति शेयर पनि नाफा दियौँ भन्छन् तर सरकारी शेयर भएकाले अडिट हरेक वर्ष गर्न पनि नसक्ने र हामीले यति नाफा कमायौँ भनेर पनि के कारणले भन्न सक्दैनन् ?

राष्ट्र बैंक नीति तर्जुमा गर्ने र यो तपाईंहरूले लागू गर्नुपर्छ है भनेर गाइड गर्ने संस्था हो । त्यो नीतिलाई कार्यान्वयन गर्ने संस्था बैंक र वित्तीय संस्थाहरू हुन् । म नेपाल बैंकमा गइसकेपछि यहाँ अडिट नियमित भइरहेको छ । पोहोरको पनि हामीले गरिसक्यौँ । यसपालि पनि हामी अडिटको अन्तिम चरणमा छौँ । मैले पोहोर हामीले कानुनले भनेको अवधिभित्रै अर्थात् मंसिरभित्र अडिट सकेर पुसभित्र फाइनल गरिसक्छौँ भनेर घोषणा गरेको थिएँ । यसपालि पनि हामी त्यही लाइनमा छौँ ।

अडिटै भएन, समयमा वार्षिक साधारणसभा भएन भन्ने कुरा होइन, त्यो भइरहेको छ । नाफाको कुराचाहिँ के रहेछ भने केही समय नेपाल बैंकचाहिँ बिग्रेको बैंकको रूपमा पनि आएको थियो । त्यही भएर राष्ट्रले बैंकले व्यवस्थापन पनि आफ्नो हातमा लियो । विदेशी व्यवस्थापनलाई केही समय जिम्मा पनि दियो । र, अहिलेचाहिँ सुधारको क्रममा छ ।

बिग्रेको बैंक सुधार भइहाल्नका निम्ति समय लाग्दोरहेछ । पर्याप्त समय पनि लाग्यो तर अहिले यो मजबुत बैंकको रूपमा, सशक्त बैंकको रूपमा अगाडि आइरहेको छ ।

अब व्यवस्थापनको कामलाई रिभ्यू गरेर त्यहाँ गलत ट्र्याकमा गएको छ भने यो भएन भनेर त बोर्डले पनि भन्नुपर्‍यो । हिजोको संचालक समितिले त्यो भूमिकामा आफूलाई खरो उतारेनछ भन्ने जास्तो पनि लाग्छ ।

हिजो त्यो के कारणले बिग्रेको रहेछ र ती कमजोरीहरू नहुन अहिले खासगरी बोर्डले के काम गरिरहेको छ ?

हिजो बिग्रेको चाहिँ आन्तरिक अव्यवस्थाका कारणले गर्दाखेरि पर्याप्त पोलिसीहरू नहुनु, आन्तरिक नीतिहरू तर्जुमा नहुनु, अन्तरिक नियन्त्रण प्रणाली एकदमै फितलो हुनु, व्यवस्थापनचाहिँ सुदृढ नहुनु र आन्तरिक अव्यवस्थाको कारणले गर्दाखेरि यो अवस्था आएको हो । यो आन्तरिक अवस्थामा खाली त्यहाँका कर्मचारीहरू मात्रै दोषी छैनन् । त्यहाँको हिजोको बोर्ड, निजी क्षेत्रबाट आएका साथीहरूले पनि यसलाई सुधार गर्न खोज्नुभएन । यसमा निजी क्षेत्रको पनि प्रतिनिधित्व थियो ।

सरकारको त डोमिनेसन नै थियो । सरकारको अधिक सेयर थियो, अधिक शेयरधनीहरू थिए । नेतृत्व नै सरकारी क्षेत्रले गरिरहेको थियो । उनीहरूले पनि आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेनन् । आन्तरिक नियन्त्रण प्रणाली पनि राम्रो भएन । कर्जा व्यवस्थापनमा पनि कमजोरीहरू रहे, संचालनको क्षेत्रमा पनि कमजोरीहरू रहे । त्यस कारण हिजोचाहिँ भद्रगोलको अवस्था भयो । दिएका कर्जाहरू उठ्न नसक्ने, भुक्तानी भएका चिजहरू उठ्न नसक्ने अवस्था थियो । अहिले त्यो सुधार भएको छ ।

खराब कर्जाका लागि खासगरी सरकारले आफ्नो शेयरको हिसाबले आफ्नो प्रतिनिधिका रूपमा जसलाई नियुक्ति गर्छ, उनीहरूलाई सशर्त अथवा व्यापक ढंगले दबाब दिएर खराब कर्जामा लगानी गर्न प्रेरित गर्ने र त्यसपछि सुधार गरेन भनेर आरोप लाउने जुन प्रवृत्ति थियो, अहिलेचाहिँ त्यसमा कत्तिको सुधार भएको छ अथवा बढेको छ ?

अहिले त्यो सुधार भएको छ । पहिलो त सरकारी हस्तक्षेप छैन अहिले । म पुसमा नियुक्ति भएर गएको हुँ । पुसदेखि अहिलेसम्म कोही मान्छेले पनि यो कर्जा देऊ भनेर सिफारिस गरेको छैन पहिलो कुरा । इन्डिपेन्डेन्स छ । सरकारले कुनै हस्तक्षेप गरेको छैन ।

आन्तरिक म्यानेजमेन्टमा सरुवा, बढुवा आदि इत्यादिमा पनि हामीले थाहा पाउनेगरी सरकारले कुनै पनि कार्य गरेको छैन । म नै सरकारको प्रतिनिधि हो । त्यहाँ फलानोलाई तलबाट माथि बढुवा गर, यसो गर भनेर न मन्त्री, सचिवले हामीलाई भनेका छन्, न हामीले व्यवस्थापनलाई भनेका छौँ । त्योचाहिँ एउटा काम गर्नका निम्ति स्वायत्त रूपमा पनि व्यवस्थापन र बोर्डले आआफ्नो कानुनी भूमिकामा बसेर काम गरिरहेका छन् ।

अब व्यवस्थापनको कामलाई रिभ्यू गरेर त्यहाँ गलत ट्र्याकमा गएको छ भने यो भएन भनेर त बोर्डले पनि भन्नुपर्‍यो । हिजोको संचालक समितिले त्यो भूमिकामा आफूलाई खरो उतारेनछ भन्ने जास्तो पनि लाग्छ । उनीहरूको बाध्यता हुन्छ, केही नियम मिचेर गर्नुपर्ने विजनेस हुन्छ कि नाफा हुन्छ कि भनेर गर्नुपर्ने हुन सक्छ तर त्यो चिजलाई त समयसमयमा रिभ्यु गर्नुपर्‍यो । यो ठीक दिशामा गएको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ ।

ठीक मान्छेहरू पनि युनियनमा हुन सक्छन् किनभने बेठीक मान्छे समाजमा पनि हुन्छन्, संस्थामा पनि हुन्छन् । त्यही संस्थाको मान्छे युनियनमा जाने भएको हुनाले युनियनमा पनि त्यस्तो हुन सक्छ । अब कर्जा लगानीचाहिँ युनियनले भन्दा म्यानेजमेन्टले गर्ने कुरा हो ।

कर्मचारीहरूबाट कुनै अप्ठ्यारा महसुस भएको छ कि छैन ? कतिको सहयोगी रहेछन् ?

हामीसँग अहिले रेगुलर र करारसमेत गरेर झन्डै तीन हजार कर्मचारीहरू छन् । एउटा व्यक्तिको स्वभाव अर्कोसँग मिल्दैन । तर, कर्पोरेट कल्चरको हिसाबमा कुरा गर्ने हो, नेपाल बैंकको हिसाबमा कुरा गर्ने हो भने आमरूपमा कर्मचारीहरू अहिले इनरजेटिक, उत्साहित, क्रियाशील पनि छन् र संस्थाप्रति बफादार नै देखिन्छन् ।

बैंक धरासायी बनाउन हिजो प्रमुख भूमिका कर्मचारी युनियनको रह्यो भनेर आरोप लाग्यो । तपाईं व्यवस्थापनमा आइसकेपछि त्यस्तो पाइयो कि पाइएन ?

हिजोको कुरो त मलाई थाहा छैन । एउटा रमाइलो कुरा म राष्ट्र बैंकमा हुँदा के सुनेको थिएँ भने, एउटा युनियन दर्ता हुनका निम्ति २५ प्रतिशत कर्मचारीको सहभागिता चाहिन्छ । अर्थात् सय प्रतिशत कर्मचारीमध्येबाट पच्चीस प्रतिशतका दरले चारवटा युनियन खुल्न सक्छन् । एउटा कर्मचारी एउटा युनियनमा बढी भयो भनेदेखि ती चारवटा खुल्न सक्दैनन्, तीनवटा मात्रै युनियन हुन सक्छन् कानुनी रूपमा । तर, एक पटक विभिन्न कारण तथा प्रभाव अथवा दबाबले गर्दा पाँच–पाँचवटा आधिकारिक युनियन छन् भनेर हामीले सुनिरहेका थियौँ ।

अहिले पनि त्यहाँ चारवटा युनियन क्रियाशील देखिन्छन् । हामीले उहाँहरूलाई कहिलेकाहीँ जिस्क्याउने पनि गरेका छौँ ।

हिजोको भूमिका त मलाई थाहा हुँदैन । सामान्यतया कर्मचारी युनियनले उत्पादकत्व बढाउनका निम्ति, व्यवसाय बढाउनका निम्ति, आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउनका निम्ति, कर्मचारी–कर्मचारीबीचमा हुने विभेदलाई अन्त्य गर्नका निम्ति अथवा अनावश्यक खर्चहरू कन्ट्रोल गर्नका निम्ति सहयोगी भूमिका खेल्नुपर्ने हो । म गइसकेपछि कर्मचारी युनियनसँग सामूहिक रूपमा दुई–तीन पटक भेट भएको छ । उनीहरू संस्थाको हितप्रति जिम्मेवारै भएको देखापरेको छ ।

व्यक्तिगत रूपमा कुन पदमा कुन व्यक्तिले कति योगदान गरेको छ ? त्योचाहिँ कर्मचारीको व्यक्तिगत मूल्यांकनको कुरा भयो । युनियनको सामूहिक मूल्यांकनको हिसाबमा हेर्दाखेरिचाहिँ त्यति अवरोध पुर्‍याउने अवस्था छैन ।

त्यो खराब कर्जा लगानीमा युनियनको भूमिका हुन्छ कि हुँदैन ?

युनियनको भूमिका हुँदैन । बेठीक मान्छेहरू पनि युनियनमा हुन सक्छन् किनभने बेठीक मान्छे समाजमा पनि हुन्छन्, संस्थामा पनि हुन्छन् । त्यही संस्थाको मान्छे युनियनमा जाने भएको हुनाले युनियनमा पनि त्यस्तो हुन सक्छ । अब कर्जा लगानीचाहिँ युनियनले भन्दा म्यानेजमेन्टले गर्ने कुरा हो । त्यसो भएर अब म्यानेजमेन्टसँग खुसामत गरेर म्यानेजमेन्टलाई प्रभावमा पारेर दियो भने बेग्लै कुरा हो, नभए त्यो कर्जा लगानीमा उनीहरूको हात हुँदैन भन्ने लाग्छ मलाई ।

नेपाल बैंक लिमिटेड, वाणिज्य बैंक, राष्ट्र बैंक, यीचाहिँ पुराना बैंक भए तर अहिलेको यो प्रविधि, ज्ञान, सीप प्रयोग गरेर ग्राहकहरूलाई सेवा दिने कुरामा चाहिँ पुरातन पद्धति भएका कारणले मान्छेहरूको अथवा नयाँ पुस्ताहरूको आकर्षण ती बैंकहरूप्रति छैन भन्यो भने सही हुन्छ कि गलत ?

नयाँलाई आकर्षित गर्नुपर्ने हाम्रो दायित्व हो । तर, यी सरकारी बैंकहरू पुरानै ढंगमा चलेका छन् भन्नुचाहिँ गलत हुन्छ । किनभने नेपाल बैंक लिमिटेडमा पुराना साथीहरू भन्ने हो भने २०६१ सालमा भर्ना भएका मान्छेहरू छन् । तिनीहरू क्वालिफाइड हुन् । तपाईंले अहिले हेर्नुभयो भने अहिले पुराना ग्राहकहरू हामीतिर धमाधम फर्केर आइरहेका छन् । तपाईंहरूको त सर्भिस राम्रो रहेछ, चाँडो हुँदोरहेछ । बीचमा त बरु सरकारी बैंक, बुढो बैंक, टोकन लिएर बस्नुपर्ने होला भनेर त हामी आइरहेका थिएनौँ ।

अहिले त तपाईंहरूको सेवा राम्रो रहेछ भनेर पुराना ग्राहकहरू फर्केर आइरहेका छन् । नयाँ पुस्तालाई तान्न बाँकी छ । त्यसका निम्ति हामीले पनि प्रविधिमा कर्मचारीहरूलाई पनि अब व्यस्त बनाउने, प्लेटफर्म पनि राम्रो बनाउनेतिर लागिरहेका छौँ । हामी त्यस्तो पछि छैनौँ ।
सेवाका हिसाबले प्रतिस्पर्धा गर्नका लागि सक्षम छ । त्यस कारणले गर्दा हाम्रो व्यवसाय उल्लेख्य रूपमा वृद्धि भएर गइरहेको छ ।