गणेश थापाको आत्मकथा : गङ्गास्नानको असफल प्रयास

गणेश थापाको आत्मकथा : गङ्गास्नानको असफल प्रयास

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  कार्तिक १८, २०७६

अहिले पूर्वराष्ट्रिय खेलाडी तथा एन्फा अध्यक्ष गणेश थापाको जीवनकथा सार्वजनिक हुन लागेको छ । सार्वजनिक हुन लागेको आफ्नो जीवनकथाका बारेमा बोल्दै गणेश थापाले 'मैले कालो चिया खाएर एन्फा चलाएँ' भनेर भनेको वाक्यांशलाई निकैले चर्चा गरेका छन् । यस सन्दर्भमा किन साहित्य कहिल्यै नलेख्ने र भविष्यमा अन्य कृति दिने सम्भावना पनि नरहेका नेपाली लेखकहरूले जीवनी, आत्मकथा लेख्छन् भन्ने विषयमा अलिकति चिन्तन मनन् गर्न यो लेखले सहयोग गर्नेछ ।

प्रकाशोन्मुख गणेश थापाको जीवनीलाई आत्मकथा नभनेर जीवनी वा जीवनकथा भन्नुको आशय त्यो पुस्तक उनी स्वयंले लेखेका नभएर खेल पत्रकार हिमेश बज्राचार्यको सहयोगमा लेखाएका हुनाले हो । आफैँ लेखेको आत्मकथा अनि अरूले लेखेको कुरालाई जीवनी वा जीवनकथा भनिन्छ भन्ने सामान्य भेद मैले बताइरहनुपर्दैन ।

एक पटक म राजधानीस्थित एउटा पुस्तक लेखक, प्रकाशक, वितरकको पसलमा गएको थिएँ । अहिले कस्ता पुस्तक चल्दै छन् ? भन्दा उनले आत्मकथाको अलिक बढी माग छ, अरू किताब त बिक्दैनन् भने । उनीसँग केहीबेर गफ गरेर केही कवितासङ्ग्रह किनेर म फर्किएँ । त्यसबेला हरिवंश आचार्यको आत्मकथा 'चिना हराएको मान्छे'को चर्चा थियो । त्यसअघि झमक घिमिरेको 'जीवन काँडा कि फूल'ले पनि राम्रो चर्चा पाएको थियो । झमक घिमिरे लेखन जगतकी पाहुना नभएर निरन्तर साहित्य लेखिरहेकी साहित्यकार हुन् तर एकाध यस्ता सर्जकबाहेक अन्य सबै सर्जकहरू साहित्यको क्षेत्रमा पाहुना लेखकहरू हुन् ।

राजा महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्थ गरेर पंचायती व्यवस्था लादेपछि वि.सं. २०१७ देखि २०२५ सम्म बीपी कोइरालाले कारागारमा लेखेको आत्मकथा 'जेल जर्नल' अहिलेसम्मको सबैभन्दा चलेको आत्मकथा हो । २०२५ सालपछि उपचार र राजनीतिक कामका लागि भारतमा निर्वासित भएका बीपी राष्ट्रिय मेलमिलाप नीतिसहित २०३३ पुसमा फर्किए र उनलाई पुन: विमानस्थलबाटै सुन्दरीजल कारागारमा लगियो, जहाँ उनले आफ्नो अर्को दैनिकी 'फेरि सुन्दरीजल' लेखे । यसलाई पहिलाकै आत्मकथाको निरन्तरताको रूपमा हेर्न सकिन्छ । यद्यपि, बीपी साहित्यका अन्य सिर्जनात्मक विधा (कथा/उपन्यास)मा सक्रिय रहेका लेखक भएका हिसाबले उनलाई आत्मकथा विधामा पाहुना लेखक मानिन्न ।

जगदम्बा प्रकाशनले धेरै पछि अर्थात् वि.सं. २०५४ मा मात्र बीपीको जेल जर्नल प्रकाशन गर्‍यो । सुरुमा ११ सय प्रति छापिएको उक्त आत्मकथा (आत्मवृतान्त)को माग यति उच्च देखियो कि सुरुमा ११  सय प्रति छापिएको उक्त पुस्तक चार दिनमै सकियो । त्यसपछि यसको निरन्तर पुनर्मुद्रण गर्दै आइएको देखिन्छ । 'आजसम्म अनेक संस्करण तथा पुनर्मुद्रण गरी ३५ हजारजति जेल जर्नल छापी बिक्री गरिसकेको बुझिन्छ जगदम्बाले । यो पनि त्यस किताबको अर्को रेकर्ड हो जस्तो लाग्छ किनभने धार्मिक काव्य र उपन्यासलाई नगन्ने हो भने पाठ्यपुस्तकइतर कुनै पनि नेपाली पुस्तकले बिक्रीको यो संख्या उछिनेका देखिँदैन ।' (क. दी., हिमाल खबर, २८ कात्तिक-४ मंसिर २०७३०

बीपीको आत्मकथाको सफलताबाट हौसिएको जगदम्बा प्रकाशनले बीपी सुन्दरीजल जेलमा भएकै समयमा अर्को जेलमा (केन्द्रीय कारागारमा) रहेका र गुमनाम जेलमै मरेका भरतगोपाल झाको आत्मकथारडायरी प्रकाशनमा ल्याएको देखिन्छ ।  तर, त्यसले बीपीको आत्मकथाजति चर्चा नपाएको अवस्थालाई हेर्दा पाठकलाई 'कस्तो आत्मकथा ?' भन्दा पनि 'कसको आत्मकथा?'मै बढी चासो रहेको देखिन्छ ।

यसरी नामअनुसार जीवनी/आत्मकथा बिक्ने भएकाले पनि कुनै क्षेत्रमा चर्चामा रहेका तर निश्चित कुराहरू प्रष्ट नभई वा बोल्न नपाई सेवा, जिम्मेवारीबाट हटेका/हटाइएका व्यक्तिहरूले आफ्नो सेवाकाल/कार्यकालमा प्रष्ट गर्न नपाएका वा कुनै काण्डमा आफ्नो संलग्नता रहे/नरहेको बारे आफ्नो धारणा सार्वजनिक गर्न जीवनी/आत्मकथाको सहारा लिने क्रम नेपालमा बढ्दो रूपमा देखिन्छ ।

कठोर शब्दमा भन्नुपर्दा नेपालमा लेखिने धेरैजसो जीवनी/आत्मकथाहरूले उक्त लेखकले आफू मुछिएका र बोल्न नपाएका निश्चित विवादास्पद कुरामा चोखिन गरेको गङ्गास्नानको रूप लिएका छन् । गणेश थापाले पनि आफूले लेखेको जीवनीमा आफू एन्फामा रहँदा लागेको भ्रष्टाचारको आरोपबारे बोलेर आफूलाई गङ्गास्नान गराएका हुन सक्छन् । नेपालमा लेखिएका प्रायस् जीवनीहरूको काम पनि त्यही नै भएको छ भन्ने प्रष्ट छ । थोरैले मात्र संघर्ष र सफलताको कथालाई जीवनी/आत्मकथा बनाएका छन् ।

आत्मकथा/जीवनी लेखनको सूचीमा नेपालमा चर्चित नामहरू छन्, पूर्वप्रधानन्यायाधीश, अन्चलाधीश, कलाकारहरू, प्रहरी प्रमुखहरू यस सूचीमा माथि नै देखिन्छन् । आममान्छेले जीवनी/आत्मकथा लेखिहाले पनि तिनको कुनै चर्चा हुँदैन तर ठूला र अगाडि नै चर्चामा रहेका नामहरूबाट लेखिने जीवनी/आत्मकथा बजारमा चल्छन्, जुन लेखिने कारण माथि उल्लेख गरिएका भन्दा फरक होइनन् । यिनीहरूको सरोकार साहित्य क्षेत्रमा योगदान गर्नु पनि होइन ।  

गणेश थापाले आफूले आत्मकथा लेख्नुको कारण पत्रपत्रिकालाई यसरी भन्नुभएको छ,  'मैले लेखेका कुराहरू आउँदा कसैलाई पनि यो कुरा झूटो लेखियो भन्ने नलागोस् भनेर तथ्यपरक रूपमा लेखेको छु । पछिल्लो चरणमा किन मप्रति अन्याय भयो ? सायद मेरै प्रस्तुतिले हुनुपर्छ। मेरै कमीकमजोरीले हो कि ! विगत ५ वर्षदेखि मेरो मनमा रहेका अत्यन्तै चिन्ता र पीडाहरू पनि मैले किताबमा लेखेको छु ।'

उहाँले थप भन्नुभएको छ, 'कहिलेकाहीँ म सोच्छु- यस्ता घटनाहरू घटे, जसका कारण ३५ वर्ष मैले नेपाली फुटबलमा योगदान दिए पनि मेरो ठूलो चरित्र हत्या भयो।  जुन मान–अपमान मैले सहेको छु । मेरो मृत्युपश्चात् एन्फा र राखेपमा लगेर मेरो लास राखेर हसाउने काम नगर्नू भनेर लेखेको छु । मैले त्यति पीडा भोगेको छु ।'

सारांशमा हेर्दा गणेश थापालाई एन्फामा रहँदा लागेको ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपको खण्डन गर्नु र आफ्ना पीडा पोख्नु नै उहाँको जीवनीको लक्ष्य हो, जुन कुरामा म संलग्न होइन वा थिइनँ भन्ने उहाँले कहिल्यै मौका पाउनुभएन, त्यो मौका उहाँले आफ्नो जीवनीमार्फत् लिनुभएको छ । सार्वजनिक स्वीकारोक्तिजतिको प्रभावकारी मानसिक द्वन्द्व र पीडा विसर्जन गर्ने अर्को ठाउँ हुँदैन । उहाँ आफ्ना विगतदेखिका पीडाहरू जीवनीमार्फत् आममानिसमा ल्याएर विसर्जन गर्न चाहनुहुन्छ, यो उहाँको गङ्गास्नान हो ।

कलाकार भइसकेपछि सिर्जना हुनुपर्छ तर जीवनी, आत्मकथा, संस्मरण सिर्जना होइनन्, अनुसन्धान गरेर पछि ल्याइएका विधा हुन् भन्ने मान्यताअनुसार तिनका लेखकहरूलाई साहित्यमा आप्रवासी वा पाहुना लेखकको रूपमा हेर्ने गरिएको देखिन्छ, जुन नेपालको सन्दर्भमा पनि प्रष्ट देख्न सकिन्छ ।

विश्वस्तरमा किन पढिन्छन् आत्मकथा/जीवनी ?

सेली क्लाइन र क्यारोल एन्जरले सन् २०१० मा आफ्नो पुस्तक 'द आर्भोन बुक अफ लाइफ राइटिङ'मा जीवनीरआत्मकथामा विकसित मुलुकहरूका मानिसहरू किन चासो राख्छन् र जीवनी/आत्मकथाहरूको बजारमा किन उच्च माग र चर्चा छ भन्ने विषयमा निकै कुरा गरेका छन् ।

उनीहरू भन्छन्, 'अहिले जीवनकथा अभूतपूर्व रूपमा फस्टाएको छ । विगत चालीस बर्षयता अंग्रेजीमा जीवनी तथा आत्मकथाहरूले केही अत्यन्त मौलिक र तारिफ पाएका लेखनहरू दिएको छ, त्यसमा रिचर्ड एल्म्यान र माइकल होलरोइडका साहित्यिक जीवनदेखि फ्राङ्क म्याककोर्ट र माया एन्जेलोका आत्मवृत्तान्तसम्म पर्छन् । अहिले एक्काइसौँ शताब्दीको पूर्वार्द्धमा ब्रिटेन र अमेरिका दुवैतिर संस्मरण सबैभन्दा उत्साहका साथ हेरिने विधा बनेको छ- ब्ल्याक मरिसन, अलेक्जेन्डर मास्टर्स, डेव एगर्स तथा मेरी कारलाई हेरे यो कुरा प्रष्ट देख्न सकिन्छ ।'

नेपाली जीवनी/आत्मकथा लेखन हेरेर विश्वस्तरमा लेखिने जीवनी, आत्मकथाहरूको साहित्यिक मूल्य बढिरहेको देखिन्छ । मानिसहरू जीवनी, आत्मकथामा चासो राख्नुको कारण उनीहरू व्यस्त भएर अरूको जीवन बुझ्न भ्याउने पर्याप्त समय नहुनु पनि देखिन्छ । जीवनी/आत्मकथाप्रतिको यो चासोको कारण खुलाउँदै उनीहरू अगाडि लेख्छन्, 'हाम्रो वास्तविक जीवन बुझ्न चाहने तिर्खा गहिरो छ- हामी टीभीमा आउने रियालिटी शोहरू, पारिवारिक इतिहास, राजनीतिक डायरीहरू, साहित्यिक संस्मरणहरू, पीडाका संस्मरणहरू पर्याप्त रूपमा हेर्नरपढ्न पाउँदैनौँ र त्यसमा सबै सामेल हुन सक्दैनन् । हामी हाम्रो दैनिक जीवन फेसबुक र ट्विटरमा रेकर्ड गर्छौं, कुनैकुनै युद्धका राम्रा रिपोर्टिङहरू विशेष सम्वाददाताबाट होइन, व्यक्तिका ब्लगहरूबाट आफ्ना मोबाइलमा खिचेका फोटोसहित आउँछन् ।'

जीवनी लेखनको इतिहास धेरै पुरानो छैन तर यो छोटो समयमा नै विश्वको ध्यान खिच्न सफल भएको छ । यसको इतिहास हेर्दा 'जीवनी लेखकहरूले आफ्नो व्यवसाय सिकून् भनेर बढीभन्दा बढी कोर्सहरू आइरहेका छन् । पन्ध्र वर्षअघिसम्म कुनै पनि अंग्रेजी बोलिने युनिभर्सिटीमा एउटा पनि जीवनी लेखन कोर्सहरू थिएनन् (१९२० को दशकका केही मार्गदर्शकहरू टिक्न सकेनन्) ।

त्यसपछि जनवरी १९९६ मा जीवनी लेखक जेन रिडलीले जीवनी लेखनमा युकेको युनिभर्सिटी अफ बकिंघममा पहिलो स्नातकोत्तर कोर्स प्रस्ताव गरे । त्यसको केही महिनापछि सिटी युनिभर्सिटी अफ न्यूयोर्कले 'ब्रह्माण्डमा पहिलो पटक जीवनी लेखन कोर्स अस्तित्वमा रहेको' बहादुरीपूर्वक दाबी गर्‍यो । हाल ब्रिटेनमा मात्र असीभन्दा बढी युनिभर्सिटीहरू, प्रायजसो क्याम्पसहरू, वयस्क शिक्षा तथा लेखकहरूका फाउन्डेसनहरूले जीवनी, आत्मकथा तथा संस्मरण लेखन कोर्सहरू राखेका छन् । अमेरिका, अस्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि यस्तै अवस्था छ ।

जीवनी, आत्मकथा, संस्मरण विधा 'एकेडेमिक' हिसाबले निकै नयाँ विधा भएको प्रष्ट बुझिन्छ । सन् १९९६ पछि मात्र युरोपका युनिभर्सिटीहरूले यी विधाका कोर्सहरू पढाउन थालेका देखिन्छ । अमेरिकामा स्लेभ न्यारेटिभको रूपमा आत्मकथा, संस्मरण भने निकै अघि आएको देखिन्छ, सन् १८४५ मै फ्रेडरिक डग्लसको आत्मकथा 'न्यारेटिभ अफ द लाइफ अफ फ्रेडरिक डग्लस, एन अमेरिकन स्लेभ' चर्चाको शिखरमा पुगेको र नेपालमा मोतीराम भट्टले वि.सं. १९४८ मै भानुभक्तको जीवन-चरित्र लेखिसकेका देखिन्छन् । त्यसले प्रकाशनपछि नै चर्चा पाएको देखिन्छ । नेपालमा जीवनी, आत्मकथा लेखन निकै पुरानो विधा भएको तर यो अझसम्म संस्थागत नभएको कुरा यसले प्रष्ट पार्छ ।

'पाहुना लेखक'को हैसियत

जीवनी, आत्मकथा तथा संस्मरण लेखकहरूलाई नेपालमा मात्र होइन, विश्वस्तरमै 'पाहुना लेखक'को रूपमा हेरिन्छ । 'जीवनकथा लेख्ने लेखकहरू अक्षरको साम्राज्यमा कहिल्यै पनि पहिलो दर्जाको नागरिक बन्न सकेनन् । पश्चिममा रोमान्टिककालको मिर्मिरेदेखि नै सिर्जनालाई मात्र एउटा कलाकारको आवश्यक गुण मान्न थालियो तर जीवनकथा आविष्कार गरिएको सिर्जनाको विधा थिएन/होइन, यो अनुसन्धान गरेर पत्ता लगाइएको विधा हो । यसर्थ जीवनकथा लेख्ने लेखकहरूलाई साहित्यमा आप्रवासी हैसियत मात्र दिइयो । उनीहरूको ‘अन्वेषण गर्ने कला’को तारिफ गरियो तर उनीहरूका सिर्जनाहरू विरलै मात्र लेखनको गुणस्तरको हिसाबले हेरिए ।' (क्लाइन एण्ड एन्जियर, पृष्ठ. ६०)

कलाकार भइसकेपछि सिर्जना हुनुपर्छ तर जीवनी, आत्मकथा, संस्मरण  सिर्जना होइनन्, अनुसन्धान गरेर पछि ल्याइएका विधा हुन् भन्ने मान्यताअनुसार तिनका लेखकहरूलाई साहित्यमा आप्रवासी वा पाहुना लेखकको रूपमा हेर्ने गरिएको देखिन्छ, जुन नेपालको सन्दर्भमा पनि प्रष्ट देख्न सकिन्छ । यहाँ धेरै पाहुना लेखकहरूले जीवनी, आत्मकथा लेखेर साहित्यमा योगदान गर्नुभन्दा पनि आफूलाई चोख्याउने गङ्गास्नान गरेका छन् । गणेश थापा वा धेरै साहित्यइतर चर्चित नामका जीवनी, आत्मकथाहरू तत्काल गङ्गास्नानभन्दा माथि उठ्न सक्लान् भन्ने आशा गर्नु हतार होला कि !