आईएजीले स्पेनी विमान कम्पनी एयर युरोपा किन्ने

आईएजीले स्पेनी विमान कम्पनी एयर युरोपा किन्ने

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १८, २०७६

‘बृटिस एयरवेज तथा आइबेरिया’को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आईएजी’ले स्पेनी विमान कम्पनी एयर युरोपालाई किन्ने सहमति भएको छ ।

आईएजीले सोमवार जारी विज्ञप्तिमा एयर युरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब युरो (१.२ अर्ब अमेरिकी डलर)मा लिने सम्झौता भएको जानकारी गराएको छ । आईएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एयर युरोपालाई लिएको सम्झौतामा उल्लेख छ । कम्पनीले आफ्नो सेवालाई म्याड्रिडका साथै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा विस्तार गर्ने जनाएको छ ।

आईएजीका प्रमुख कार्यकारी अधिकृत विल्ली वाल्सले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'एयर युरोपालाई लिएसँगै आईएजी थप प्रतिस्पर्धी तथा मूल्यका हिसाबले पनि सस्तो तथा प्रभावकारी सेवा प्रदायक विमान कम्पनी बन्नेछ ।'

'अब आईएजीको सेवाले म्याड्रिडलाई प्रमुख युरोपेली केन्द्र बनाउने र सेवालाई दक्षिण एटलान्टिक क्षेत्रमा समेत नेतृत्व गर्न सफलता मिल्ने र कम्पनीका शेयरकर्तालाई थप आर्थिक महत्त्व प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ', उहाँले भन्नुभयो ।