यी हुन् मुटुका विभिन्न रोग र उपचार पत्ता लगाउने विज्ञहरू

मुटु रोगमा इतिहास बनाउनेहरू

यी हुन् मुटुका विभिन्न रोग र उपचार पत्ता लगाउने विज्ञहरू

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  कार्तिक १९, २०७६

विभिन्न किसिमका मुटु रोगहरूमध्ये हृदयाघात गराउने मुटु रोगलाई मुख्य मानिएको छ । मुटुको मांशपेसीलाई रक्त संचार गराउने रगतका नलीहरूलाई करोनरी आर्टरी भनिन्छ । धुम्रपान गर्ने, डाइबिटिज भएका र रगतमा ज्यादा कलेष्ट्रोल हुने मोटा महिला तथा पुरुषहरूका करोनरी आर्टरीहरू साँघुरिन सक्छन् । यस्ता व्यक्तिहरूको परिश्रम गर्दा छाती दुख्ने र आराम गर्दा तुरुन्तै छाती दुखेको निको हुने गर्छ । यस्तो किसिमको रोगलाई अल्प रक्तप्रवाह हृदयरोग अर्थात एञ्जाइना भनिन्छ ।

एञ्जाइना ग्रिक भाषाको शब्द हो । यसले मुटुमा रक्त संचार कम हुने र मुटु रोग हुन सक्ने सम्भावनालाई संकेत गर्छ । करोनरी आर्टरी अचानक साँघुरो हुँदा धेरै छाती दुखेर हृदयाघात हुन्छ । धनी मुलुकहरूमा मृत्युको नम्बर एक कारण करोनरी आर्टरी मानिएको छ भने कम आम्दानी हुने देशहरूमा फोक्सोको संक्रमण मृत्युको नम्बर एक कारण भएको छ । कम आम्दानी हुने मुलुकहरूमा करोनरी आर्टरी डिजिजले तेस्रो ठाउँ ओगटेको छ । 

करोनरी आर्टरी डिजिजमा प्रयोग गरिने प्रविधिहरू सर्वप्रथम पत्ता लगाउने विज्ञहरूको छोटो विवरण यस लेखमा प्रस्तुत गरिनेछ । यी महामानवहरूको सोच र अनुसन्धानबाट पत्ता लगाइएका प्रविधिहरूले हजारौँ मुटु रोगका बिरामीहरूलाई स्वस्थ जीवन जिउन मद्दत गरेका छन् । यस्ता व्यक्तित्वहरूको सम्झनाले हाम्रो मन आनन्द अनुभव गर्छ र यही नै उनीहरूलाई श्रद्धाञ्जलि दिने उपयुक्त तरिका पनि हो । 

करोनरी आर्टरी रोग पत्ता लगाउने प्रथम पुरुष

लियोनार्डाे दा भिन्सी इटालियन थिए । उनको जन्म अप्रिल १५, सन् १४५२ मा भएको थियो । उनी तीक्ष्ण दिमाग र बहुविचारका धनी थिए । मोनालिसा र लाष्टसपरका पेन्टिङ विश्वमा नै प्रसिद्ध छन् । मोनालिसाको पेन्टिङ पेरिसको लुभ्रो म्युजियममा कडा पहराका साथ राखिएको छ । यी प्रसिद्ध पेन्टिङहरू भिन्चीले नै बनाएका हुन् ।

भिन्सीले १०० वर्षको मृतक मानिसको चिरफार गरेर यसका करोनरी आर्टरीहरूभित्र रोग लगेको कुरा प्रकाशमा ल्याएका थिए । यसरी करोनरी आर्टरीभित्र रोग लाग्ने कुरा सर्वप्रथम लियोनार्डाे दा भिन्सीले पत्ता लगाएका हुन् । 

लियोनार्डाे दा भिन्सी (सन् १४५२-१५१९)

एञ्जाइनाको विवरण गर्ने प्रथम व्यक्ति

विलियम हेवर्डन बेलायती फिजिसियन हुन् । यिनले सन् १७६८ मा एञ्जाइनाको विवरण गरेका हुन् । 

विलियम हेवर्डन (सन् १७१०-१८०१)

हृदयघात पत्ता लगाउने प्रथम पुरुष

सिकागोका प्रोफेसर जेम्स हेरिकले सर्वप्रथम सन् १९१० मा हृदयघातको विवरण गरेको इतिहास छ ।

प्रा. जेम्स हेरिक (सन् १८६१-१९५४)

करोनरी केयर युनिटको सुरुवात

करोनरी केयर युनिटमा हृदयाघात भएका बिरामीहरूको उपचार गर्दा मृत्युदर एकदमै कम गराउन सकिन्छ भन्ने कुरा प्रोफेसर डेस्मोण्ड जुलियनले सर्वप्रथम सन् १९६१ मा सिड्नीमा कार्यरत हुँदा उठाएका हुन् । सर्वप्रथम अस्ट्रेलियाबाट फर्केर उनले इडिनवरामा सन १९६४ मा करोनरी केयर युनिट स्थापना गरेका थिए । हिजोआज संसारभरका अस्पतालहरूमा करोनरी केयर युनिट छन् । हजारौँ हृदयाघातका बिरामीहरूको उपचार करोनरी केयर युनिटमा हुन्छ र उनीहरू स्वस्थ भएर घर जान सक्छन् ।

प्रोफेसर जुलियनको जन्म सन् १९२६ मा भएको थियो । उनी बेलायतका प्रसिद्ध मुटु रोग विशेषज्ञ हुन । सन् १९७३ को अक्टोबर महिनामा इडिनवरामा भएको एमआरसीपीको जाँचमा प्रोफेसर डेस्मोण्ड जुलियनले यस प‌ंक्तिकारको परीक्षा लिएर पास गरिदिएका थिए ।

प्रा. डेस्मोण्ड जुलियन (सन् १९२६)

ग्रुइन्टजिग करोनरी एञ्जियोप्लाष्टी सुरु गर्ने व्यक्ति

साँघुरिएको करोनरी आर्टरीभित्र बेलुन फुलाएर उपचार गर्ने प्रविधि एण्डियाज ग्रुन्टिजले सुरु गरेका हुन् । यिनले सन् १९७७ नोभेम्बर १६ का दिन स्विट्जरल्याण्डमा पहिलो सफल करोनरी एञ्जियोप्लाष्टी गरेका थिए ।

एण्डियाज ग्रुन्टिज (सन् १९३९-१९८५)

बेलायतमा करोनरी एञ्जियोप्लाष्टीको सुरुवात

लण्डन चेष्ट अस्पतालमा कार्यरत प्रोफेसर राफल वालकनसँग मैले एक वर्ष काम गर्ने अवसर पाएको थिएँ । उनले मलाई करोनरी एञ्जियोग्रामका फोटोहरू देखाउँथे । बेलायतमा करोनरी एञ्जियोप्लाष्टी सन् १९८० मा प्रोफेसर राफल वालकनले सर्वप्रथम सुरु गरेका हुन् ।

प्रा. राफल वालकनसँग लेखक प्रा.डा. कार्की (सन् १९३६-२००८)

करोनरी स्टेण्टको प्रत्यारोपण

ज्याक्स पोएलले सर्वप्रथम सन्  १९८६ मा करोनरी स्टेण्ट फ्रान्समा प्रत्यारोपण गरेका हुन् ।

एडुआर्डो सउसाले सिरोलिमस भएको स्टेण्ट सन् १९९९ मा प्रत्यारोपण गरेपछि सन् २००२ देखि साइफर स्टेण्ट उपलब्ध हुन थालेको हो ।

ज्याक्स पोएल (सन् १९४६-२००८)

करोनरी आर्टरी डिजिजको शल्य चिकित्सा अर्जेन्टिनाका सर्जन रेने जेरिओनिमियो फावालोरोले दायाँ करोनरी आर्टरीमा सेफेनस भेनलाई प्रयोग गरेर सन् १९६७ मे ९ तारिखका दिन क्लिभलैण्डमा सफलतापूर्वक अपरेसन गरेका थिए ।

रेने जेरिओनिमियो फावालोरो (सन् १९२३-२०००)

पहिलो करोनरी आर्टरी वाइपास ग्राफ्ट सर्जरी

इन्टर्नल म्यामरी आर्टरीलाई प्रयोग गरेर करोनरी आर्टरी साँघुरिएका बिरामीहरूको उपचार गरिन्छ । हिजोआज पनि यो किसिमको शल्यक्रिया संसारका धेरै अस्पतालहरूमा भइरहेका छन् । यो किसिमको शल्यक्रिया संसारमै सबैभन्दा पहिले गर्ने सर्जन रबर्ट हयान्स गोयज हुन् । अरू तीन जना सर्जनहरूको सहयोग लिएर अमेरिकाको व्रोक्स म्युनिसिपल अस्पतालमा सन् १९६० मे २ तारिखका दिन यिनले करोनरी आर्टरी वाइपास ग्राफ्ट सर्जरी सफलतापूर्वक गरेका थिए ।

प्रा. रबर्ट हयान्स गोयज (सन् १९१०-२०००)