वृद्धावस्थाको सम्बन्ध विच्छेद : महिला-पुरुष दुवैले नसोचेका पाटा

वृद्धावस्थाको सम्बन्ध विच्छेद : महिला-पुरुष दुवैले नसोचेका पाटा

निर्जला कक्षपति  |  दृष्टिकोण  |  कार्तिक १९, २०७६

चिनेजानेका, उमेरले झण्डै ६० पुग्न लागेका एक दम्पतीले एक वर्ष अगाडि पारपाचुके गरे । दुवै जना आफ्नो क्षेत्रमा दख्खल अनि पहिचान बनाइसकेका व्यक्ति पारपाचुके गरेपछि छुट्टाछुट्टै बस्न थाले । पारपाचुकेको गरेको खबर सुनेपछि निकै नै अचम्म लाग्यो अनि मनमा प्रश्न उठ्यो- नातिनातिना भइसकेका, त्यो पनि यो उमेरमा एकअर्काको साथ चाहिने बेलामा किन पारपाचुके गरे होलान् ?

नितान्त व्यक्तिगत कुरा भएकाले कारण अरूलाई थाहा हुने कुरा भएन । चप्पलको फित्ता जस्तो जतिबेला पनि च्वाट्ट चुँडिन सक्ने लोग्ने-स्वास्नीको सम्बन्ध निकै नै जोखिममा रहेको सम्बन्ध त हो नै । यसमा आश्चर्य मान्नु कुनै जरुरत छैन तैपनि मानवीय स्वभाव न हो, खुल्दुली भने हुँदोरहेछ ।

फेसबुकमा सेयर गरेको तस्वीर हेर्दा ती दम्पती छुट्टाछुट्टै रहे पनि दुवै जना उत्तिकै खुसी देखिन्थे । आआफ्नो क्षेत्रमा उत्तिकै रमाइरहेका, साथीहरूसँग उत्तिकै रमाइलो गरिरहेका तस्वीर दुवैले सेयर गरेका देख्न पाइन्थ्यो । मानौँ, जीवनमा ती दुई दम्पतीबीच कुनै सम्बन्ध नै थिएन ।

६ महिनापछि भने ती पुरुषले अर्को विवाह गरेछन् । विवाहपछि नयाँ दुलहीसँग रोमान्स गरेका तस्वीर फेसबुकमा सेयर गरेको देख्दा ती पुरुष निकै नै खुसी देखिन्थे । ती युवतीसँग अँगालो मारेको, घुम्न गएको, नातागोताकहाँ गएर चिनजानी गरेका तस्वीरसमेत ती ६० पुग्न लागेका पुरुषले फेसबुकमा सेयर गर्न भ्याए ।

६० वर्षको उमेर भनेको मानिसको वृद्ध अवस्थाको सुरुवात हो । यो उमेरमा आएर कसैले पारपाचुके गर्छ भने कसैको दबाबमा पक्कै गर्दैन । श्रीमान्-श्रीमतीको बानी एकअर्कालाई मन नपरेर छुट्टिएको भन्ने हो भने ३०-४० वर्ष त्यही मन नपरेको बानी व्यहोरा एकअर्काले स्वीकारेर बसेका हुन्छन् । बुढेसकालमा श्रीमान्‌को यो बानी मनपरेन अथवा भनौँ श्रीमतीको यो बानी राम्रो छैन, त्यही भएर छुट्टाछुट्टै बस्ने निर्णय गर्‍यौँ भन्दा पत्याउन गाह्रो हुन्छ । मानिसले यस्तो वहाना मात्र बनाएको हो भन्दा फरक पर्दैन ।

६० वर्षको उमेर भनेको आफ्नो करियर बनाउने समय पनि होइन- एकले अर्कालाई सहयोग गरेनन् अथवा प्रगतिमा बाधा हाले भन्नलाई पनि । 

समाजशास्त्रीहरू भन्ने गर्छन्, 'उमेर पुगेका श्रीमान्-श्रीमतीबीच सम्बन्ध विच्छेद हुनु भनेको एकअर्कामा आत्मसम्मान र प्रेम नहुनु हो । दिनहुँ सुनिरहनुपर्ने नमीठो वचन, जसले आफूलाई निकै नै चोट पुर्‍याउने गर्छ, त्यस्ता कुराले मानिसहरू बुढेसकालमा भए पनि अलग्गिएर बस्न रुचाउँछन् । श्रीमान्-श्रीमतीबीच हुने गरेको घमण्ड साथै सम्पति, आफूले गर्ने कमाइ र खर्चको कुरा नमिल्दा पनि सम्बन्ध विच्छेद हुने गर्छ ।'

अर्को महत्त्वपूर्ण कुरा भनेको यौन सम्बन्धका कुरा नमिल्दा पनि सम्बन्ध विच्छेदका घटनाहरू हुने गर्छन् । विशेषगरी महिलाहरूमा ४५ वर्षको उमेर कटेपछि र बच्चा पाइसकेपछि विस्तारै यौन चाहाना कम हुने गर्छ । घर, परिवार, अन्य जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्ने भएकाले महिलाहरू यस्ता कुरामा रुचि देखाउँदैनन् ।

४५ वर्षको उमेरपछि महिलाहरूको महिनावारी सुक्ने प्रक्रिया सुरु हुन्छ । महिलाहरूका लागि यो समय अति नै जटिल समय हो । यसबेला शरीरमा अनेक खालका समस्या देखा पर्न थाल्छन् । दिक्क लाग्ने, झर्को लाग्ने, बोल्न मन नलाग्ने, रुन मन लाग्ने, कहिलेकाहीँ यत्तिकै रिस उठ्ने र बढी थाकेको अनुभव हुनेलगायतका समस्या हुन्छन् । यस्तो अवस्थामा महिलाहरूलाई यौन सम्पर्क राख्ने रुचि हुँदैन । तर, पुरुषहरू भने महिलाको दाँजोमा बढी सक्रिय हुने गर्छन् । श्रीमान्‌ले चाहेको बेला श्रीमती तयार भइनन् भनेर पनि सम्बन्ध टुट्ने गरेका छन् ।

जिन्दगीभर श्रीमान्‌को सेवा, बालबच्चाको लालनपोषणमा जीवन बिताएकी महिला छन् भने बुढेसकालमा हुने गरेको सम्बन्ध विच्छेदले न घरको, न घाटको पो भइने हो कि भन्ने डर त्यत्तिकै देखिन्छ ।

हाम्रो समाजमा आफ्नो खर्च आफैँ गर्ने परिपाटी अझै बसिसकेको छैन । अझ भनौँ, हामी आफूले कमाएको रकम र खर्च विवरण राख्दैनौँ । पश्चिमा देशहरूको कुरा गर्ने हो भने आफ्ना लागि आफैँ कमाउँछन्, आफैँ खर्च गर्छन् । हाम्रो देशमा जस्तो कसैले कसैलाई पाल्ने भन्ने कुरा हुँदैन । कमाएको सम्पति जसले जोड्यो, उसैको नाममा रहने गर्छ । श्रीमान्‌ले कमाउने अनि श्रीमतीको नाममा राख्ने भन्ने हुँदैन ।

भोलि गएर सम्बन्ध टुट्न सक्छ भन्ने 'रिस्क'ले नै पश्चिमा देशका मानिसहरू आफूले कमाएको सम्पति आफूसँगै राख्छन् । आफ्नो खर्च आफैँ गर्छन् । ६० वर्षको उमेरमा सम्बन्ध टुट्नु भनेको सम्पतिको कुरा नमिल्दा पनि हो । फेरि हाम्रो समाजमा धेरैजसो श्रीमान् कमाउँछन्, महिलाले घरको जिम्मेवारी लिएका हुन्छन् । श्रीमान्‌को कमाइमा जीवन जिउने भएपछि हरेक पुरुषको चाहना आफ्नो इशारा र अण्डरमा श्रीमती रहून् भन्ने हुन्छ । श्रीमतीले श्रीमान्‌को कुरा नमान्दा पनि सम्बन्ध टुट्ने गरेका छन् । 

कसैसँग मन नमिल्दा सँगै बस्नुभन्दा छुट्टिनु नै राम्रो हो । जब मानिसको आत्मसम्मानमा ठेस लाग्ने गर्छ, त्यतिबेला ऊ रत्तिभर सम्झौता गर्ने पक्षमा हुँदैन । जतिवटा छोराछोरी र नातिनातिना भइसके पनि उसलाई त्यो कुराको कुनै परवाह हुँदैन ।

वयस्क उमेर भनेको 'रिटायर्ड लाइफ' हो । रिटायर्ड लाइफमा सबै परिवार सँगै बसेर मनोरन्जन गर्नुपर्ने, आफूले उत्पादन गरेका सन्तति भनेर गर्व गर्नुपर्ने र आफ्ना छोराछोरी, नातिनातिनासँग रमाएर बस्नुपर्ने उमेरमा समेत मानिसले शान्ति, आत्मसम्मान र उन्मुक्ति नै खोज्छ ।

मानिसको स्वभाव नै हो कि उसले जहिले पनि स्वतन्त्रता चाहन्छ । आफ्ना विचारहरूको कदर गरियोस्, आफ्ना कुराहरू लागू होस्, आफ्नो नियन्त्रणमा घर चलोस् भन्ने हुन्छ । कसैको घर पुरुषले भनेअनुसार चल्ने गर्छ । अथवा भनौँ अन्तिम निर्णय पुरुषले भनेअनुसार हुने गर्छ । कसैको घर महिलाले भनेअनुसार चल्ने गर्छ । मनोविद्हरू भन्ने गर्छन्, 'हाम्रो जस्तो देशमा महिलाबाट परिचालित घरहरूमा पुरुषहरूले म श्रीमतीबाटबाट हेपिएँ भन्ने आत्मग्लानि र हेयभाव पालिरहेका हुन्छन् । बाहिरी रूपमा श्रीमतीको कुरामा हँमा हँ मिलाए पनि भित्रभित्र उनीहरूले कुण्ठा पालिरहेका हुन्छन् । फेरि श्रीमतीको निर्देशनमा चल्दा समाजले जोइटिङ्ग्रेको उपमा दिने भएकाले पनि पुरुषहरू भित्री मनमा आफूले भनेको मान्ने, आफ्नो अण्डरमा बस्ने र आफूलाई आदर गर्ने श्रीमती नै चाहिरहेका हुन्छन् । त्यसैले उमेर बढ्दै गएको अवस्थामा पनि श्रीमान्-श्रीमतीबीचको सम्बन्ध टुट्न जान्छ ।'

उमेर पुगेका दम्पतीको सम्बन्ध टुट्दा यसले बढी प्रभाव कसलाई पार्छ त ? यो कुराको विश्लेषण हुन जरुरी छ । हाम्रो समाजमा पुरुषहरू ७० वर्षको उमेर हुँदासम्म विवाह गर्न पछि हट्दैनन् । त्यसैले वृद्ध अवस्थामा श्रीमान्‌सँग सम्बन्ध टुट्दा महिलाहरू नै बढी प्रभावित हुने गर्छन् । सम्पतिजति श्रीमान‌्‌को नाममा हुन्छ ।

बुढेसकालमा कमाएर खाने संभावना कम हुँदै जान्छ । छोराछोरी सबै आआफ्नो बाटो लागिसकेका हुन्छन् । त्यसैले श्रीमान्‌को नाममा पनि केही सम्पति छ र श्रीमतीको नाममा पनि केही सम्पति छ अनि दुवैले स्वतन्त्र जीवन जिउन चाहेका हुन् र दुवै कमाउन सक्षम छन् भने बुढेसकालमा हुने गरेको सम्बन्ध विच्छेदले दुवैलाई केही फरक नर्पाला तर महिलाले सम्पति पाउन सकेकी छैनन्, जिन्दगीभर श्रीमान्‌को सेवा, बालबच्चाको लालनपोषणमा जीवन बिताएकी महिला छन् भने बुढेसकालमा हुने गरेको सम्बन्ध विच्छेदले न घरको, न घाटको पो भइने हो कि भन्ने डर त्यत्तिकै देखिन्छ ।