राज्यका नीति निर्माताले होमस्टेलाई चिनेकै छैनन्

राज्यका नीति निर्माताले होमस्टेलाई चिनेकै छैनन्

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन ५, २०७५

भिमबहादुर के.सी.

पूर्वअध्यक्ष

होमस्टे एसोसियसन नेपाल

भिम केसी होमस्टे एसोसिएसन नेपालको पूर्वअध्यक्ष हुनुहुन्छ । सरकारले यो वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् पर्यटनको विकासको क्षेत्रमा दुईवटा कार्यक्रम ल्याएको छ । पहिलो हो, ‘पहिला देश अनि    विदेश’ । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो अभियान सञ्चालन गरेको हो ।दोस्रो हो, सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र त्यसमा २० लाख पर्यटक भित्र्याउने । 

तर, राज्यले कार्यक्रम सफल बनाउन पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाहरूलाई पूर्णतया बेवास्ता गरेको आलोचना भइरहेको छ । राज्यले अघि सारेका यी कार्यक्रम सफल बनाउन होमस्टे क्षेत्रले कस्तो योगदान दिन सक्छ ? यसका लागि राज्य, प्रदेश र स्थानीय सरकारले के गर्नुपर्छ ? यही विषयमा लोकसंवाद डट कमले भिम केसीसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत अन्तर्मन्थनको मूल अंश 

होमस्टे भनेको के हो ?

होमस्टे भनेको घरबास हो । घरमा आएर पाहुना बस्ने, घरका गतिविधि बुझ्ने, पारिवारिकरूपमा बस्ने, खाने, पारिवारिकरूपमा रमाउने र जुन घर वा परिवारमा बस्यो जाने बेलामा त्यो परिवारलाई खाए तथा बसेवापत पैसा दिएर जानु नै होमस्टे हो । 

त्यो घरको संस्कार, संस्कृति चालचलनसँगै खानपान रहनसहनसँग भिजेर बस्ने कुरालाई होमस्टे भन्यो भने सही हुन्छ वा गलत ?

त्यही हो । एउटा पर्यटक कसैको घरमा होमस्टेका लागि पाहुना भएर जान्छ, पाहुना भएर गएबापत उसले होटलमा बसेकोभन्दा भिन्न अनुभूति पाउँछ वा लिन्छ । घरको संस्कार, संस्कृति त्यो ठाउँको प्रकृति सबै कुरो बुझ्ने, आफ्नै आँखाले देख्ने र आफ्नै जिब्रोले त्यहाँको स्वाद लिने अनुभूति पाउँछ, त्यो नै होमस्टे हो । 

नेपालमा होमस्टेको अभ्यास भएको कति भयो ? 

व्यावसायिक ढंगले होमस्टेको विकास भएको धेरै भएको छैन । नेपालको पर्यटन उद्योगको सबैभन्दा कान्छो संगठन र व्यवसाय हो होमस्टे । २०६७ मा नेपाल सरकारले होमस्टे दर्ता कार्य निर्देशिका ल्याएपछि मात्रै यो औपचारिकरूपमा सुरु भएकोे हो । तर, होमस्टेको अनौपचारिक इतिहास भनेको अलि पुरानो हो । जतिबेला होटल तथा रिसोर्ट थिएनन् त्यतिबेला पनि पर्यटकहरू गाउँको अध्ययन, अनुसन्धान तथा हिमाल चढ्न, ट्रेकिङ गर्न आउँथे । उनीहरू गाउँमा गएर गोठमा, छाप्रोमा, घरको पालीमा गएर बस्थे । त्यतिबेला पैसा लिने चलन पनि थिएन । उनीहरू आउँथे, बस्थे र जानेबेला उपहार दिएर जान्थे । हाम्रो पर्यटनको सुरुवाती त्यसरी नै भएको हो । बीचमा ठुल्ठूला होटलहरू, रिसोर्टहरू बने । अब अहिले फेरि पर्यटनलाई गाउँ–गाउँसम्म पुर्याउनका लागि घरलाई नै पर्यटक बस्ने राम्रो बासको रूपमा विकास गरेर होमस्टेको सुरुवात गरिएको छ । २०५४ सालमा भारतीय सेनाबाट अवकाश प्राप्त क्याप्टेन रुद्रमान गुरुङ फर्केर गाउँ आएपछि स्याङ्जा सिरुबारीमा होमस्टे सुरुवात गर्नुभएको थियो । २०५५ मा त्यसबेलाका घलेगाउँ उत्तरकन्या गाविसका अध्यक्ष प्रेमबहादुर घलेले घलेगाउँमा सामूहिक पर्यटनको विकासमा होमस्टेको सुरुवात गर्नुभएको दुई दशक नै भइसक्यो । तर, सरकारले भने २०६७ बाट मात्र कार्यविधि लिएर आएपछि दर्ता गरेर कानुनीरूपमा नै होमस्टे सञ्चालनमा आएका हुन् । 

होमस्टेको विधिवत दर्ता प्रक्रिया के हो ?

होमस्टेको दर्ता तथा नविकरण प्रक्रिया काठमाडौंमा पर्यटन विभाग र सात वटा पर्यटन कार्यालयले गर्ने गरिएको थियो ।  गएको वैशाखदेखि राज्यको पुनर्संरचनासँगै काठमाडौं बाहिरका पर्यटन कार्यालय खारेज भए । जतिबेला पर्यटन कार्यालयहरू थिए, त्यसबेलाको रेकर्ड अनुसार ११९ निजी होमस्टेहरू दर्ता थिए । निजी भन्नाले एउटा घरले पर्यटन कार्यालयमा दर्ता गर्यो भने उसले निजी होमस्टेको रूपमा दर्ता पाउँथ्यो र जसले कम्तीमा चारवटा कोठा र सोही अनुसारको सुविधा हुनुपर्छ । सोही समयको आँकडालाई हेर्ने हो भने १२५ वटा सामुदायिक होमस्टेहरू थिए । सामुदायिक होमस्टेका रूपमा दर्ता हुन न्यूनतम ५ घर चाहिन्छ । हाल न्यूनतम ५ घर र बढीमा ४३ घरसम्म सदस्यहरू भएको सामुदायिक होमस्टे सञ्चालनमा रहेको देखिन्छ । यस्ता सामुदायिक होमस्टे श्रीलन्तीमा ४३, डल्लामा २७, अमलटारीमा २२ वटा छन् ।

होमस्टेका लागि सञ्चालन गर्दा दिनुपर्ने सुविधाको कुनै मापदण्ड छ कि छैन ?

राज्यले जारी गरेको कार्यविधिमा आफ्नो घरमा सफा कोठामा पर्यटकलाई कुनै असुविधा नहुने गरी राख्न पाउने भनिएको छ । त्यस्तै कार्यविधिले केही मापदण्ड पनि तोकिदिएको छ । नेपालमा भएका सबै होमस्टेहरू समान मापदण्डका छन् भनेर त भन्न सक्दिनँ । कतिपय रहरले दर्ता प्रक्रियामा आएको देखिन्छ । उनीहरू अहिले खोज्दा पनि नभेटिने अवस्थामा छन् । तर, अधिकांश होमस्टे जो मधेसमा संचालन भइराखेका छन्, (कञ्चनपुरको राना थारू, बर्दियाको डल्ला, बाँकेको गाबरगाली, अमलटारी, पिपरहर, मेघौली) यी एकदमै राम्रोसँग चलिरहेका छन् । पहाडतिरका होमस्टेहरूमा श्रीअन्तु, नाम्जी, संखुवासभालगायत पनि राम्रैसँग चलेका छन् । हिमाली भेगका होमस्टेहरू पनि चलेकै छन् । सबै ठाउँको सेवा सुविधा राम्रो छ । पर्यटकहरू जाने र रमाउने ठाउँ बनेको छ होमस्टे । म गर्वका साथ भन्न सक्छु– होमस्टे भनेका गाउँ पर्यटनका केन्द्र हुन् । होमस्टे व्यावसायी गाउँ पर्यटनको अगुवा हुन् । उनीहरूले गाउँको पर्यटनको नेतृत्व गरिरहेका छन् । 

आन्तरिक पर्यटकले मात्रै होमस्टे धानिरहेको भन्ने छ नि ? 

होमस्टेमा विदेशी पर्यटकको एकदमै न्यून उपस्थिति रहेको वास्तविकता हो । होमस्टे व्यावसायीहरू आफै अन्तर्राष्ट्रिय स्तरको बजारीकरण गर्न सक्ने अवस्थामा छैनन् । राज्यले होमस्टे दर्ता गर्नेबाहेक उनीहरूलाई कुनै पनि महत्वपूर्ण साथ, सहयोग दिएको छैन । पर्यटन बोर्डले होमस्टेका लागि सामान्य तालिमहरू मात्रै दिने गरिएको छ । तर, होमस्टेको विकासको र प्रवद्र्धनको निम्ति राज्यको तर्फबाट ठोस लगानी र बजारीकरणको काम भएको छैन । अहिले होमस्टेहरू आन्तरिक पर्यटकले नै चलेका वा धानिएका छन् । सामुदायिक वनका समूह, विद्यालयका परिवार, सहकारी सदस्यहरू एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाँदा होटल खोजेर बस्ने चलन अब हराइसकेको छ । जहाँ होमस्टे छ, त्यहाँ जाने, बस्ने र त्यहाँको संस्कृतिमा रमाउने, प्रकृतिको आनन्द लिने काम भइरहेका छन् र अहिले आन्तरिक पर्यटकले होमस्टे धानिएको छ । 

राज्यले पर्यटनसम्बन्धी नीति बनाउँदा होमस्टेलाई चिनेको छैन भन्यो भने सही हुन्छ कि गलत ? 

एकदम सही हुन्छ । नेपालको पर्यटनको होमस्टे सबैभन्दा कान्छो संस्था हो । यसको स्थापना २०६७ मा मात्र भएको हो । एसोसियसन त हामीले २०७० सालमा पोखरामा सम्मेलन हुँदा सुरु गर्यौं । यसको पाँच वर्ष इतिहास छ । एसोसियसन बनिसकेपछि हामीले यसको व्यावसायिक हितको निम्ति गाउँको होमस्टेको प्रवद्र्धन, बजारीकरण र राज्यसँग लबिङ गर्ने र ध्यानाकर्षण गर्ने काम गरेका छौं । अब राज्यले बनाएको कार्यविधि त फेल भइसक्यो किनकि जहाँ दर्ता गर्ने र नवीकरण गर्ने ठाउँ नै छैन । गण्डकी प्रदेशबाहेक कुनै प्रदेशले कार्यविधि बनाएको छैन । गण्डकी प्रदेशले महत्वपूर्ण काम अघि बढाएको छ । उसले होमस्टेको लागि ३० करोड रूपैयाँ विनियोजन समेत गरेको छ । होमस्टेको प्रवद्र्धन र विकासका निम्ति साथै गाउँपालिका, नगरपालिकालाई यसको दर्ता तथा नवीकरण गर्ने अधिकार दियो । हिजो पर्यटन कार्यालयमा दर्ता भएका भन्दा एक/सवा सयको हाराहारीमा थपिएका छन् । गण्डकी प्रदेश सरकार भने यो कार्यमा दु्रततर ढंगमा होमस्टेको कार्यक्रममा लागेको छ । कार्यविधि र नियमावली बनाएर अनुदान वितरण र होमस्टेको संरचना निर्माणमा लागेको छ । अरु कुनै प्रदेशले खास केही गरेका छैनन् । प्रदेश ३ ले होमस्टे एसोसिएसन नेपालसँगको सहकार्यमा एउटा कार्यशालासम्म राख्यो । ऐनको ड्राफ्ट तयार भएको छ । तर, त्यसलाई बाहिर भने ल्याउन सकेको छैन । 

संघीय सरकारको पर्यटन मन्त्रालयले के गर्नुपथ्र्यो, के गरिराखेको छ ? 

पर्यटन मन्त्रालयले होमस्टेको कार्यविधि नचल्ने भनेपछि एउटा कार्यविधि तुरुन्तै तयार गर्नुपथ्र्यो । कि यसलाई पर्यटन उद्योग हो भन्न छोड्नुपर्यो । आवश्यक छ भने यसका लागि आवश्यक नीति, नियम सबै बनाउनुपर्यो । ऐन, नियमावली त यसले देखेकै छैन, कार्यविधिमा टेकेर आएको हो । कार्यविधि पनि अब बन्द भइसकेको छ । अघिल्लो पटक पर्यटन मन्त्रालयले पर्यटन बोर्डको सभाहलमा पर्यटन ऐनको एउटा ड्राफ्ट ल्यायो । ड्राफ्टमा होमस्टेको नाममा ‘ह’ पनि छैन । मैले त्यहीँ यसको विरोध जनाएको थिए । भाषण गर्दा सबैभन्दा धेरै होमस्टेको नाम आउने तर ऐन, नियम, कानुन होमस्टेमैत्री नहुने अवस्था छ । अझ होमस्टेको नाममा ‘ह’ पनि नसमेटिएपछि मन्त्रीले छुटेको प्रतिक्रिया दिनुभयो । त्यसपछि हामीले पर्यटन व्यावसायीका छाता संगठनहरूसँग छलफल गरेर पर्यटन ऐनको मस्यौदा बनाई मन्त्रीलाई बुझायौं । त्यसमा होमस्टेको विकासका लागि राज्यले कस्तो नीति नियम बनाउनुपर्छ भन्ने उल्लेख छ । 

राज्यले यसको महत्व नबुझेर अस्वीकार गरेको त होइन ? 

राज्यको नीति निर्माण तहमा बस्नेहरूको सबैभन्दा ठूलो कमजोरी के हो भने उनीहरू जे बोल्छन्, त्यो गर्दैनन् । जे गर्दैनन् त्यो बोल्छन् । प्रतिवद्धताको पनि समस्या हो । हामीले भ्रमण वर्ष २०२० मनाउने र पर्यटक ल्याउने भनिरहेका छौं । हाम्रो समस्या के हो भने जति नेपालीहरू दुई–तीन लाख रूपैयाँ खर्च गरेर बाहिर घुम्न गइरहेका छन् तिनीहरूसँग टिकट काट्ने बेलामा दुई/तीन हजार रूपैयाँ लिन सकिन्छ । त्यो रकम गाउँको पर्यटनको विकासको निम्ति खर्च गर्न सकिन्छ नि । राज्यले नीति बनाएर सय गन्तव्य घोषणा त गर्यो । तर, घोषणा मात्र गरेर त केही हुनेवाला छैन । त्यो ठाउँको विकास गर्नुपर्यो । घोषणा गरिएकामध्ये सात प्रदेशका सात गाउँलाई ‘होमस्टे गाउँ’ बनाएर मान्छेलाई त्यहाँ जाउँ–जाउँ हुने वातावरण बनाइदिन पाए हुन्थ्यो नि । त्यो त राज्यले गर्न सक्छ नि । गाउँमा जाने बाटो बनाइदिनुपर्यो । हिजो गाउँमा बज्न छोडेका आफ्ना मौलिक बाजाहरू आज होमस्टे कारण बज्न थालेका छन् । मौलिक कला संस्कृति हराइसकेका थिए । होमस्टेले गर्दा गाउँमा उनीहरूका मौलिक पोशाक, गरगहना लगाउन थालिएको छ । र, बन्द भइसकेको मारुनी नाच, पञ्जेबाजा घन्किन थालेका छन् । तिनलाई पर्यटक जाँदा बस्ने हेर्ने सामुदायिक भवन बनाइदिन सक्छ नि राज्यले । 

‘पहिला देश, अनि विदेश’को नारा तथा भ्रमण वर्ष मनाइरहँदा होमस्टे सहयोगी हुन सक्छ कि सक्दैन ? 

एकदम सक्छ । नेपालका सबै गाउँ भरपूर पर्यटकीय महत्व भएका ठाउँ हुन् । राज्यले ती ठाउँको विकास गर्न पूर्वाधार निर्माण गर्नुपर्यो, प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्यो । काकरोकुकरो गाउँ आज पर्यटकीय गाउँ बनेको छ । सामान्य घरमा गएर पर्यटक बस्थे र खान्थे । तर, अलिकति राज्यले व्यवस्था गरिदिने हो भने पनि धेरै हुन्थ्यो । 

बीस लाख पर्यटकलाई होटल पुग्दैन भनिरहेका बेला होमस्टेको सदुपयोग गर्न सकियो भने त्यसलाई मद्दत पुग्छ भनेर राज्यले किन नसोचेको हो ? 

यसमा मेरो फरक मत छ । होटलमा बस्ने ग्राहक र होमस्टेमा बस्ने ग्राहकको स्वादै फरक छ । होटलमा गएर बस्ने मान्छे कहिले पनि होमस्टेमा गएर बस्दैन । तर, कहिलेकाहीँ परिस्थिति यस्तो बनिदिन्छ कि होटलले थेग्नै नसक्ने ग्राहक भएका बेलामा त होटलले पनि ल म ग्राहक पठाइदिन्छु भन्ने स्थिति आउला, त्यसको निम्ति पनि हामीले तयारी गर्नुपर्यो । काठमाडाै‌मा पनि सबै पर्यटकलाई होटलमा राख्न सकिने अवस्था छैन । यदि राम्रा पर्यटक आउने हो भने काठमाडौंका सबै घरहरू होमस्टे हुन सक्छन् । सबैका राम्रा पूर्वाधारयुक्त घर छ । पर्यटक आउँछ, खान्छ र उसले पैसा तिरेर जान्छ भने त मान्छेले आफ्ना घरलाई अलिकति व्यवस्थित गर्छन्, खाट, बिछ्यौना तथा भान्छादेखि शौचालयसम्म राम्रो बनाउँछन् नि । त्यो पनि गर्न सकिन्छ । 

सन् २०२० को लक्ष्य हासिल गर्न हामीले के गर्नुपर्छ ? 

यसलाई भव्यरूपमा सफल पार्न, पर्यटकलाई गाउँ–गाउँसम्म लैजान, पर्यटनमार्फत् समृद्धि हासिल गर्न, गाउँका बेरोजगार युवालाई गाउँमै रोकेर बहिरिनबाट जोगाउन दर्ता भएर होमस्टे सञ्चालन भएका ठाउँमा राज्यले सहयोग गर्नुपर्छ । र, नयाँ ठाउँमा होमस्टे दर्ताको वातावरण बनाइदिनुपर्छ । जसरी गण्डकी प्रदेश सरकारले एउटा अभियान तथा आन्दोलनको रूपमा काम गरिरहेको छ, सबै प्रदेशले त्यो सिको गरे हुन्छ । 
तपाईँहरू जस्तो संगठनलाई सन् २०२० को सन्र्दभमा पयर्टन मन्त्रालयले पूर्णतः बेवास्ता गरिरहेको छ भन्ने कुरामा सत्यता छ कि छैन ? 

कहिलेकाहीँ उहाँहरूले गर्ने बैठकमा त सम्झिनुहुन्छ, बोलाउनुहुन्छ । तर, जुन ढंगले फिडब्याक लिनुपथ्र्यो, सहकार्य हुनुपथ्र्यो त्यो देखिएको छैन । त्यो अनुभूति हामीले गरेका छैनौं । 

कति सम्भव छ त्यो सफल हुनलाई ? 

पर्यटन क्षेत्रमा अहिले हामी १३ छाता संगठन कार्यरत छौं । कतिपय पर्यटन संगठन काठमाडौंमा मात्रै छन् । हामी देशभर फैलिएका छौं । अस्ति भर्खर नवलपुरको प्रिप्रोहरमा यसको दोस्रो राष्ट्रिय सम्मेलन गर्यौं । राष्ट्रिय स्तरको ग्रामीण पर्यटन क्षेत्रसँग सम्बन्धित गोष्ठी पनि सम्पन्न गर्यौं । ४२ जिल्लाका ३१५ प्रतिनिधि थिए । अतिथि र आमन्त्रित गरेर ३५० जनाको उपस्थिति थियो । साँस्कृतिक झाँकी, नाचगानसहित गाउँगाउँबाट मान्छेहरूको उपस्थिति थियो । भव्य कार्यक्रम गरियो । हामी आफैं व्यवसायी, मालिक र स्वरोजगार हौं । हाम्रो आफ्नो घर, परिवार छ, पर्यटकलाई बसाउने, खुवाउने जे छ त्यो मनोरञ्जन दिने काम गरिरहेका छौं । अब राज्यले यसको पूर्वाधार, प्रवद्र्धनमा सहयोगका लागि संघीय मन्त्रालयले ग्रामीण पर्यटन सूचना केन्द्र भनेर खोलिदियोस् । देश, विदेशबाट आउनेहरूलाई समन्वय गरेर गाउँ गाउँमा जाने पुलको काम गरिदियोस् । यस्तो काम त गर्न सकिन्छ नि । यस्ता सामान्य काममा पनि राज्यको ध्यान गएको छैन । 

मन्त्री, प्रधानमन्त्री जाने अनि सस्तो भाषण गर्ने तर त्यससम्बन्धी काम गर्नलाई केले छेक्छ ? 

अब मुलुकमा दुई तिहाइको स्थायी सरकार छ, कुनै झै–झमेला छैन । सानातिना विरोध त भइरहन्छन् । सरकार योजनावद्ध ढंगले सबै क्षेत्रमा लाग्छ होला भन्ने मेरो विश्वास छ । हाम्रो अस्तिको कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले होमस्टेको विकासका लागि वातावरण तयार  गर्ने प्रतिवद्धता गर्नुभएको छ । उहाँले प्रतिवद्धता कार्यान्वयन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । उहाँले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि हामी पनि पछ्याइरहनेछौं ।