लिपु-मन

लिपु-मन

प्रा.डा. भीम खतिवडा  |  साहित्य  |  कार्तिक २०, २०७६

माग्ने हैन म दिन्छु पूर्ण छु, ममा सद्भावको रास ए !
छातीभित्र छ वीरभाव, ममता आँखाभरी खास हे !
मेचीबाट हिँडेर पुग्छ मनले काली सधैँ जिन्दगी
नेपाली मन दुख्छ ढुङ्छ जसले पानी र माटो अझै !

औँलीको मन-मोहले 'लिपु' तिमी कोपर्न खोज्छौ जब
आँखाबाट उराल्छु अग्नि, भयको पर्दा हटाई अब
मेरो देश कुनाकुना मुटु छुने मेरै छ माया सुन
दानीझैँ अब स्वाङ छोड, सकली ब्वाँसेकला चिन्छु म !

भन्छौ रे 'लिपु दिन्छ के र यसरी हत्ते गरेको ?' भनी
बिर्स्यौ कस्मिरको कथा यति छिटै कालो बिरालो बनी
बेँसी, लेक, पहाड, भीर, पहरा हुन् मौन वा सक्रिय
नेपाली मनका नसा र धमनी हुन् ती म जस्तै प्रिय !

सीमास्तम्भ सरे, ढले सपुत ती माटो छ रक्ताम्य झन्
नाकै बन्द भए नि आत्मबलले बाँचेर हाँस्दै छ मन
गाथा भक्ति र वीरका अमरता नेपालका गान हुन्
हाँस्छन् बुद्ध सहेर मृत्यु सजिलै यी मृत्तिका मान हुन् !

तिम्रो मोह म बुझ्छु, बाघ-सपना देख्छौ वृथामा किन ?
साथी हौ नि छिमेक बिर्सुं कसरी सङ्कष्टमा क्यै गुन ?
साँच्चो हो म मरे नि देशसँगको मर्दैन आस्था मझैँ
लोभी पाउ नटेक, छोड लिपुको सम्मोह भन्दै छु है !

(गौरी लय)