बहसमा 'तिमी' र 'तपाईं' : प्रगतिशील पार्टी सत्ताधारी बन्नु पनि सजिलो कहाँ रहेछ र !
कार्तिक २०, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारको सम्बोधनमाथि प्रश्न उठाएपछि ‘तिमी’ र ‘तपाईं’को नयाँ बहस उठेको देखिन्छ । यस बहसमा सबैभन्दा बढी पत्रकारिता जगत् नै सहभागी भएको छ । नेपाली पत्रकारिता र साहित्यले पनि तृतीय पुरुषका लागि मध्यम आदरको प्रयोग गर्दै आएको छ भने समाजले पनि एकाध अवस्थामा बाहेक अन्यत्र अनुपस्थित तृतीय पुरुषलाई मध्यम तहकै आदर प्रस्तुत गरेको पाइन्छ ।

नेपाली भाषाको विशेषता हो– हामी तीन प्रकारका आदर प्रयोग गर्छाैं । राजाका पालामा आइबक्स्योस्, खाइबक्स्योस् बोधक राजकीय अतिउच्च आदरको प्रयोग हुन्थ्यो (अहिले पनि राज परिवारमा, राणा परिवारमा, राजावादी वृत्तमा र पाँच–सात दशकदेखि सत्ताको तर चाट्ने खानदानमा बक्सियोस् चल्छ नै) र यसलाई पत्रकारिताले पालना पनि गरेको थियो । राजनीतिक परिवर्तनसँगै विकास भएको राजनीति गर्ने तथा सार्वजनिक निकायमा बस्नेहरू जनताका सेवक हुन् भन्ने धारणाका कारण मध्यम आदरको प्रयोगले सहजता ग्रहण गरेको हो । राजा भनेका भगवान्का अवतार हुन् भन्ने चेतनाले नेता जनताका सेवक हुन् भन्न पाउँदा सम्बोधनमा तलमाथि हुनु नौलो भएन पनि ।

हाम्रो समाजमा अर्काे एउटा क्रियापद पनि छ, जसलाई न उच्च आदर मानिन्छ, न अत्युच्च । पर्यटनमन्त्रीमा नियुक्त हुनेवित्तिकै मन्त्री योगेश भट्टराईले ‘मलाई आइस्योस् र गइस्योस् नभन्नू’ भनेर यस्ता क्रियापदलाई यता न उताको पारिदिए (पारिदिनुभयो) । खासगरी शहरिया नवधनाढ्य वर्ग र देखासिकी वर्गले यस्ता क्रियापदलाई आफ्नो गाउँले वा पाखे पहिचानको ‘इरेजर’का रूपमा प्रयोग गर्दै आइरहेका छन् । अभिभावकबाट अघाउँजी मुद्रा आर्जन गर्न खप्पिस बोर्डिङ स्कुलले प्ले ग्रुपदेखि नै बच्चाहरूलाई आइस्योस् र गइस्योस्को ललिपप ख्वाइरहेका छन् । बच्चो घरमा गएर पप्पीलाई पनि आइस्योस् भन्ने अवस्थामा छ ।

छोराछोरीले आइस्योस् र गइस्योस् नभनिदिँदा पाखे, गँवार भइन्छ कि भन्ने पीरले यो पंक्तिकार जस्ता पोहोर परार मात्र कुम्लो काँधमा हालेर काठमाडौं पसेका समेत बिरामी हुनुपर्ने अवस्था सिर्जना हुनपुगेको छ ।

‘नौलो मान्छे भेट्यो कि दंग पार्छ्यौ, आइस्यो गैस्यो भनेर स्वाङ पार्छ्यौ, काँ होला र सुन जस्तो पितल ...’ यो गीत हिजोआज खुब सुन्न पाइन्छ । गीतले आइस्यो, गइस्यो भन्नुलाई स्वाङ पार्ने भाव मानेको छ । हाम्रो ग्रामीण समाजमा आइस्यो, गइस्यो भन्नु भनेको स्वाङ पार्नु हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘भाषाको देशमा लवजको दशा हुन्छ’ भनेजस्तै बोक्रे भलाद्मी बन्नु हो । मन्त्रीलाई कसैले आइस्यो, गइस्यो भनिदिँदा सामन्त हुन्छु कि भन्ने डर, प्रधानमन्त्रीलाई कसैले आऊ, जाऊ भन्दा हेप्यो कि भन्ने डर । प्रगतिशील पार्टी सत्ताधारी बन्नु पनि त्यति सजिलो कहाँ रहेछ र ?

भाषाका आफ्नै विशेषता हुने भएकाले सम्बोधन पनि भाषानुसार फरक हुने नै भयो । नेपालीको तँ, तिमी, तपाईं र हजुरलाई अंग्रेजीको ‘यु’ले मेलो पुर्‍याइदिन्छ । श्रोताले आफ्नो हैसियतअनुसार र सम्बोधनको आवश्यकताअनुसार त्यसलाई ग्रहण गर्छ ।

‘देवकोटा महाकवि हुनुहुन्छ’, यस्तो वाक्य सुन्न पढ्न पाइएको छैन । त्यसैगरी पत्रपत्रिकाहरूले पनि वर्तमानमा विभिन्न सामाजिक वा सार्वजनिक भूमिकामा भएका व्यक्तिलाई मध्यम आदरले सम्बोधन गर्दै आएका छन्, उनीहरूको चारित्रिक, पदीय उँच–नीचता जस्तोसुकै होस् । पेसागत सहजता र सरलतालाई हेर्ने हो भने मध्यम सम्बोधन सबैभन्दा उत्तम मध्यमार्गी सम्बोधन हो र हाम्रो समाज वा जनमानस यसैमा बढी अभ्यस्त भएको छ ।

भारोपेली भाषा परिवारको अर्काे सदस्य हिन्दीमा हामी तीनै प्रकारका आदर प्रयोग भएको पाउँछौँ । आदर वक्ताले विवेच्य व्यक्तिको हैसियत, गुण–दोष आदिलाई ध्यानमा राखेर प्रयोग गर्छ । व्यक्तिका लागि असुहाउँदो आदर उसप्रतिको सम्मान नभएर व्यंग्य हो भनेर जनमानसले जानेको छ । अर्को शब्दमा यसलाई चाप्लुसी र चाटुकारिता पनि भन्न सकिन्छ । त्यस कारण उत्तम सम्मान र खत्तम अशय हुनुभन्दा आदर र आशय समान हुनु राम्रो कुरा हो । हामीले आदरलाईभन्दा आशयलाई ख्याल गर्नु बुद्धिमत्ता हो ।

संस्कृतमा ‘त्वमेव माता च पिता त्वमेव, देवी त्वम् भक्त सुलभे, गणनान्त्वा गणपतिम् हवामहे’ जस्ता स्तोत्र एवम् ऋचाहरूमा युष्मद् शब्दको प्रयोग भएको पाइन्छ अर्थात् उपर्युक्त मन्त्रमा आएको ‘त्वम्’लाई सामान्यतया ‘तिमी’मा अनुवाद गरिन्छ भने आवश्यकताअनुसार ‘तँ’, ‘तिमी’, ‘तपाईं’मा पनि अनुवाद गरिन्छ । तर, वर्तमानमा वार्तालापका क्रममा भने तपाईंको आशयमा ‘त्वम्’को प्रयोग असहज लाग्नाले ‘भवान्’ (तपाईं, हजुर)को प्रयोग गरिन्छ ।

नेपालीबाट संस्कृततिर लाग्दा यस्तो असहज लागेको हो तर स्वाभाविक संस्कृतमा भने त्वम्ले निम्न, मध्यम तथा उच्च तीनवटै आदरको स्थान लिएको पाइन्छ । कालीदास आदि साहित्यकारका नाटकका संवादमा भने अत्र भवान् (यहाँ हजुर), तत्र भवान् (उहाँ हजुर) जस्ता सम्बोधन प्रयोग भएका छन् । संस्कृतामा क्रियापदले आदरमा परिवर्तन नगर्ने हुनाले क्रियापदलाई बहुवचन बनाएर उच्च वा अत्युच्चादर बनाइन्छ । नेपालीमा ‘दाइ आयो’ भन्ने वाक्यलाई ‘दाइ आए’मा परिवर्तन गरी आदरको स्तर बढाउने प्रचलन छँदै छ ।

भाषा विज्ञानले सबै वाक्यको प्रकृति वाक्यका रूपमा तृतीय पुरुष, एकवचन, पुलिंग र निम्न आदरको प्रयोग भएको वाक्यलाई लिन्छ र त्यसैबाट सन्दर्भ, प्रसंग र परिवेशगत आधारमा पदसंगतिका माध्यमले विभिन्न भावका वाक्यहरू निर्माण हुन्छ । यो प्रक्रियालाई मानव मनले शतपत्रकमलच्छेदनवत् (सयवटा कमलका पत्र चाङ लगाएर तीखो सुइरोले छेड्दा एउटा पत्रदेखि अर्को पत्र छेडिन लाग्ने समय) गतिमा पूरा गर्छ भन्ने सिद्धान्त अघि सारेको छ । यसरी हेर्दा मूल वाक्यभन्दा बाहेकका अरू वाक्यहरू समय र सन्दर्भअनुसारका भाषिक अभिनय हुन् ।

नेपाली भाषा साहित्यिक, मौलिक, ऐतिहासिक र सांस्कृतिक विशेषता र पहिचान भएको साथै लोकव्यवहारका व्यापकतालाई समेट्न सफल भाषा हो । त्यस कारण संस्कृत, हिन्दी वा अंग्रेजी आदि कुनै अन्य भाषाको हवाला दिएर यसको मौलिकतामाथि प्रहार गर्नुहुँदैन । संस्कृतका क्रियापदमा लिंग विभेद छैन भनेर नेपाली क्रियापदको लिंग विभेद हटाउनु जति अनुचित हुन्छ, अंग्रेजीमा आदर छैन भनेर नेपाली भाषाको आदर व्यवस्था नटेर्नु उति नै मूर्खता पनि हुन्छ । त्यस कारण सम्बन्धित भाषाका विशेषताकै आधारमा भाषिक व्यवहार गर्नु बुद्धिमत्ता हुन्छ ।

हामी अनुपस्थित तृतीय पुरुषलाई मध्यम आदर प्रयोग गर्छाैं । साहित्य समालोचनामा पनि यस्तै स्थिति छ । ‘देवकोटा महाकवि हुनुहुन्छ’, यस्तो वाक्य सुन्न पढ्न पाइएको छैन । त्यसैगरी पत्रपत्रिकाहरूले पनि वर्तमानमा विभिन्न सामाजिक वा सार्वजनिक भूमिकामा भएका व्यक्तिलाई मध्यम आदरले सम्बोधन गर्दै आएका छन्, उनीहरूको चारित्रिक, पदीय उँच–नीचता जस्तोसुकै होस् । पेसागत सहजता र सरलतालाई हेर्ने हो भने मध्यम सम्बोधन सबैभन्दा उत्तम मध्यमार्गी सम्बोधन हो र हाम्रो समाज वा जनमानस यसैमा बढी अभ्यस्त भएको छ । यद्यपि, यस विषयमा प्रधानमन्त्रीले भन्दा पहिले पनि प्रश्नहरू उठेका थिए, प्रश्नमा बहस नभएको मात्र हो । 

आदर सम्मान भन्ने कुरा आफूले अरूलाई गर्दा मात्र आफू पनि सम्मानको भागी भइन्छ । त्यस कारण सबैलाई यथोचित सम्मान गर्नु हाम्रो संस्कृति र सभ्यता पनि हो । त्यसैगरी हाम्रो भाषिक संरचनाको विकास भएको छ । हाम्रो भाषाले व्यक्तित्वअनुसारको आदरका लागि प्रेरित गरेको छ । ‘ठूलालाई मान गर, सानालाई माया’ भन्ने हाम्रो आचारसंहिता पनि छ । मान गर्दा तपाईं र माया गर्दा तिमी भन्ने हाम्रो संस्कार हो । कसलाई मान गर्ने र कसलाई माया गर्ने भन्ने कुराचाहिँ बुझ्नु जरुरी छ ।

साँचो कुरा गर्ने हो भने त सबैलाई होलसेलमा ‘तिमी’ भन्नु भन्दा असल, इमानदार, नैतिक, जनसेवक र देशभक्तलाई ‘तपाईं’ भनेर आदर गर्दा अनि अनैतिक, चरित्रहीन, गद्दार, अवसरवादी, देशद्रोही, आतंककारी, बलात्कारी, घुस्याहा, भ्रष्टाचारी र पाखण्डीलाई चाहिँ ‘तँ’ भनेर अनादर गर्दा सबैभन्दा न्याय हुन्छ ।


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।