शक्तिशाली व्यक्तिको ‘जघन्य अपराध’: राजनीतिक स्वार्थ र बदलाका लागि प्रहरीको दुरूपयोग !

शक्तिशाली व्यक्तिको ‘जघन्य अपराध’: राजनीतिक स्वार्थ र बदलाका लागि प्रहरीको दुरूपयोग !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २१, २०७६

काठमाडौं । विगत एक महिनालाई मसिनोसँग केलाउने हो भने राजनीतिक शक्तिको आड र संरक्षणमा जस्तोसुकै अपराधबाट सजिलैसँग बच्न सकिन्छ भन्ने विगतको परम्परालाई केही हदसम्म ‘चुनौती’ दिन सफल भएको भान हुन थलोको छ । त्यति मात्र होइन, राजनीतिक नेतादेखि कार्यकर्ता कस्ताकस्ता ‘जघन्य अपराध’मा संंलग्न हुँदे आएका रहेछन् भन्ने कुरा पनि सतहमा आएका छन् । 

विगतदेखि यी र यस्ता अपराधका घटनामा अधिकांश आरोपीहरू उच्चराजनीतिक ओहदामा रहेका व्यक्ति, उसको परिवारका सदस्य र राजनीतिमा शक्तिशाली नेताहरूको संरक्षणमा रहेका व्यक्तिबाट हुने गरेको तथ्य बाहिर ल्याउन प्रहरी प्रशासन केही हदसम्म सफल भएको छ । राजनीति शक्तिको अगाडि ‘निरीह’ देखिएको प्रहरीप्रति पनि केही हदसम्म ‘आशा एवं भरोसा’ पलाउन थालेको रूपमा लिन थालिएको छ । यसो हुनुमा एक महिनामा भएका केही कार्यबाहीले पक्कै पनि केही हदसम्म सहयोग भने गरेका छन् ।   

सबैभन्दा पहिला गृहमन्त्रीका साइँला भाइ नरेश थापामगरलाई ‘फिरौती काण्ड’मा पक्राउ गरियो । यसले एक प्रकारको हल्लीखल्ली मच्चियो  । गृहमन्त्रीकै भाइ पक्राउ पर्नुले ‘राजनीति र अपराध’बीचको सम्बन्धको नयाँ पाटो सार्वजनिक भयो । यसरी प्रहरीले गृहमन्त्रीका भाइलाई पक्राउ गरेर  कानुनी दायरामा ल्याउँदा सरकार अपराध कर्म गर्ने कसैलाई पनि छाड्दैन भन्ने सन्देश प्रवाह केही हदसम्म सफल मात्र के भएको थियो, सोही समयमा बहालवाला सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको आरोपसहितको एउटा ‘भिडियो’ सार्वजनिक भयो । यो भिडियोले झनै अपराध गरे जो कसैलाई नेपाल प्रहरीले पक्राउ गरेर कारबाहीकाे दायरामा ल्याउन सक्छ भन्ने नजिर कायम गरिदियो । 

राज्यको चौथो मर्यादाक्रममा रहेका सभामुख जस्तो गरिमामय पदमा आसीन व्यक्तिको गिरफ्तरी, त्यो पनि यौन  दुर्व्यवहारमा विश्वभरिकै सञ्चार माध्यमले समाचार बन्नु स्वाभाविक थियो । नेपाली सञ्चार माध्यमले एक महिनादेखि निरन्तर यस विषयमा समाचारले मुख्य स्थान पाइरहेको छ । 

प्रहरीमा यौन दुर्व्यवहार निवेदन परेपछि प्रहरीले उनलाई निवासबाटै पक्राउ गर्‍यो । सोमबार मात्रै महराको थुनछेक बहस सकिएर पूर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ । महराले अदालती बयानमा घुमाउरो किसिमले आफ्नो अपराध कर्म स्वीकार गरेको अदालतको ठहर छ । महरा र पीडित भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीबीच वर्षौंदेखिको सम्बन्ध रहेको तथ्य पनि कुनै कुनै रूपबाट बाहिर आए र आइरहेका छन् ।  त्यसले गर्दा पनि महरा प्रकरण जटिल बन्दै गएर अदालतमा समेत दुई दिन थुनछेक बहस चल्यो र अन्ततः महरालाई कारागार चलान गरिएको छ । प्रहरीले महराविरुद्ध प्रमाण जुटाएर साढे सात वर्षको कैद सजाय माग दाबी गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेपछि कुनै अपराध गरे पनि कहिल्यै पनि छुट पाइँदैन भन्ने सन्देश दिएको छ  । आलमको पक्राउपछि नेपालको राजनीतिमा अपराध कर्म गर्नेहरू कुनै न कुनै बेला कानुनी फन्दामा पर्ने रहेछन् भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ । आलमले  इँटा भट्टामा जिउँदै मानिसलाई जलाएर मारेको आरोप लागेको छ । प्रहरी कार्यालयमा आलमले इन्कारी बयान दिएपछि र साक्षी प्रमाणले मुद्दालाई बलियो बनाउँदै लगेपछि आलम पनि पुर्पक्षका लागि थुनामा जाने पक्कापक्की जस्तै भएको छ । आलम प्रकरणले नेपाली राजनीतिक व्यक्तिहरूले कुनै पनि प्रकारको अपराध गर्नु हुनेरहेनछ भन्ने एउटा गतिलो पाठसमेत सिकाएको छ । आलम प्रकरणमा प्रहरीले ११ जनाविरुद्ध ज्यान मुद्दा दायर गरेको छ भने १० जनाको हकमा आजीवन कारावासको सजायको  माग दाबी गरेको छ ।  

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य आलमका विरुद्ध प्रहरीले तीनवटा आरोप लगाइएको छ । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । अनुसन्धान प्रतिवेदनअनुसार आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोपसहित जन्मकैदको माग दाबी गरिएको छ ।

रौतहट प्रहरी कार्यालयले दिएको जानकारीअनुसार निर्वाचनको अघिल्लो दिन आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्ष रूपमा मानिस परिचालन गरेको, विस्फोटपछि घाइते भएकालाई उपचार नगरी जिउँदै इँँट्टाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको भन्दै अभियोजनपत्रमा आलमलाई आजीवन कारावासको सजाय माग दाबी गर्नुपरेको जनाएको छ ।

त्यस्तै, दोलखाबाट निर्वाचित नेकपाका संसद् पार्वत गुरुङको मुद्दा पनि अदालतले व्युुँतायो । पार्वत गुरुङलाई व्यक्ति हत्या गर्न खोजेको आरोपको मुद्दा अदालतमा विचाराधीन थियो । गुरुङ आफैँ अदालत उपस्थित भई सफाइ लिने कोसिस गरे पनि अदालतले गुरुङलाई बोलाएको बेला हाजिर हुनेगरी साधारण तारेखमा छाडिदियो । यसले गर्दा सांसद पदमा तत्कालका लागि ‘निलम्बन’ हुनबाट भने जोगिएको छ ।  

अर्कोतर्फ युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी(आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सहसहसचिव ईन्द्रहाङ राई निलम्बनमा परेका छन् । उनलाई सङ्गठनले गत शुक्रवारदेखि लागू हुनेगरी सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । सङ्गठनका अध्यक्ष ऐन महरले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउनसमेत आफूहरूले सक्दो सहयोग गर्ने बचन दिइसकेका छन् । आफ्नै साथीकी बहिनीलाई करणी गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

कात्तिक महिनामै बलात्कारको आरोपमा प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा सङ्घ र कांग्रेसको विद्यार्थी सङ्गठनका एक एक जना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । यसरी पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेको प्रहरीले जनाएको छ ।  महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेल पूर्वएमालेको युवा सङ्घको उद्योग तथा समृद्धि विभागको सदस्य रहेको र गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान र अनुसन्धानबाट खुलेको छ । दुवै आरोपितले अर्थशास्त्रमा स्नातकोत्तर गरेको जनाइएको छ । दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोग लागेको छ । जिल्ला अदालत, ललितपुरबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना भएको दिन गजुरेलले किशोरीलाई बिहान ११ बजेतिर कुमारीपाटीस्थित पोखरेलको कोठामा लगेर बलात्कार गरेका थिए । अधिकारीका अनुसार दिनभर दुई जना मात्रै बसेर मादक पदार्थ सेवन गरेका उनीहरूले ती युवतीलाई बलात्कार गरी राती पोखरेल पनि कोठामा पुगेपछि अर्धचेतन भएको अवस्थामा ज्ञानेन्द्र सुतिसकेपछि सन्देशले अर्को कोठामा लगेर जबर्जस्ती करणी गरेका थिए । 

यसरी राजनीतिका आड भरोसामा हुने कुनै पनि जघन्य अपराधमा संलग्न व्यक्ति कार्यबाहीको दयाराम आउनु आफैँमा सकारात्मक कुरा हो । तर, यो वा त्यो कुनाबाट टिप्पणी भएजस्तै कुनै राजनीतिक नेतृत्वले अमुक राजनीतिक स्वार्थ र बदलाकाा लागि प्रहरीको दुरूपयोग भएको हो भने यो जागेकाे आशालाई  निराशामा लैजाने पक्का छ । अतः याे आशा पानीको फोका सावित नहोस् भन्ने कुरामा भने सचेत हुन जरुरी छ ।