महरा काण्ड : समझदारीमा भएको वर्षौं लामो सम्बन्धको पर्दाफास मात्रै
कार्तिक २१, २०७६

नेपालमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधका घटनाहरू दैनिक रूपमा घटिरहेका हुन्छन् । तर, बलात्कारसम्बन्धी समाचार जब आउँछ अनि मात्रै विभिन्न सूचना, सञ्चार माध्यमहरूले ठूलाठूला समाचार भाइरल बनाउन आतुर हुन्छन् । के कारणले दैनिक बलात्कार जस्ता जघन्य र नैतिक पतन हुने घटना घट्छन् भन्ने विषयमा भने खासै खोजी भएको पाइँदैन ।

हामी हाम्रा विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई अझै पनि यौन शिक्षाको आधारभूत ज्ञानसमेत दिँदैनौँ । हामी लजाउँछौँ यस्ता ज्ञान दिन । वास्तविक दिनुपर्ने शिक्षालाई लुकाउँछौँ । प्राकृतिक रूपमा हुने महिनाबारीलाई समेत पहिलो पटक हुँदा सात दिनसम्म माइती देख्न नहुने संस्कारका मानिस हौँ हामी ।

केही शिक्षकले, केही विद्वानले यौनका कुरा गरे भने ‘छाडा कुरा गर्ने कस्तो उत्ताउलो मान्छे ?’ भन्ने संस्कृति हो हाम्रो । जनवादी क्रान्तिकारी भनिनेहरूका लागि त यौन गतिविधि ज्यादै खतरनाक कार्य मानिन्छ । सानो लसपस पायो कि ‘सांस्कृतिक विचलन’का नाममा कार्वाही भइजाने । युवा–यवती, पुरुष–महिलाबीच आँखा जुधाउन पनि डर । सँगै हिँड्दा पनि धेरै जोगिनुुपर्ने । यो तथाकथित ‘अनुशासन’ले यौनसम्बन्धी व्यक्ति (पुरुष–महिला दुवै)को जिज्ञासालाई सोचको पिँजडामा नै थुनिदिने भयो ।

केही समय अगाडि अहिले जस्तो सामाजिक संजालको पहुँच नहुदासम्म यौनसम्बन्धी पत्रपत्रिका तथा आख्यानलाई अश्लील भनेर गलत दृष्टिकोणले हेर्ने गरिन्थ्यो तर मानिसमा तिनै चिजकै कौतूहल बढी हुन्थ्यो । लुकीलुकी साप्ताहिक पत्रिकाको बीचको महिलाको अर्धनग्न तस्वीर सबैभन्दा बढीले हेर्ने चिज बन्थ्यो । अहिले भने समाज यस विषयमा निकै अगाडि बढिसकेको छ । तर, पनि सामाजिक, शैक्षिक र सांस्कृतिक रूपमा यौनलाई हेर्ने दृष्टिकोण भने नेपाली समुदायमा बदलिएको छैन ।

यसमा खास ‘जेनेरेसन ग्याप’ भने छ । अहिलेको जेनेरेसन गुगल, युट्युब, फेसबुकले यौन कौतुहलता सजिलै मेट्न सक्छ तर शैक्षिक क्षेत्रमा जे सिकाइ हुनुपथ्र्यो, त्यो भने अहिले पनि हुन सकिरहेको छैन । यसैका कारण कलिलो उमेरमै विवाह गर्ने, माया प्रेममा फसेर जीवन नबुझी नै बर्बाद हुने, लागुऔषधमा फस्ने तथा बलात्कारका घटनामा संलग्न हुने जस्ता विकृतिहरू देखापर्छन् ।

यौन तथा मनोविज्ञान सम्बन्धमा एक जना मनोविश्लेषक सिगमण्ड फ्रायडले गहिरो अध्ययन गरेर एउटा सिद्धान्त प्रतिपादन गरेका छन् । उनलाई २०औँ शताब्दीका मनोविश्लेषणका पिता पनि भनिन्छ । उनको पुस्तक ‘इन्टरप्रिटेसन अफ ड्रिम’मा उल्लेख गरिएका केही सिद्धान्तहरूको प्रयोगात्मक अध्ययन गर्ने र कक्षामा गराउने हो भने अहिले नेपालमा भइरहेका यौन दुर्व्यवहार अर्थात् बलात्कार जस्ता यौनजन्य आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।

अहिले हेर्दा रोशनी शाहीभन्दा वास्तविक पीडित निर्मला पन्तका परिवार हुन् । महराभन्दा दोषी निर्मला प्रकरणका बलात्कारीहरू हुन् । ती बेपत्ता छन्, दोषी पत्ता लगाउनेभन्दा पनि लुकाउने खेलले नै जितेको अवस्था छ तर यो काण्ड कुनै दिन आलम काण्डझैँ उक्किन भने सक्छ ।

फ्रायडले मुख्य गरेर मानिसका मनका तीन अवस्थाको बारेमा विश्लेषण गरेका छन्, ती हुन् : चेतन मन, अर्धचेतन मन र अचेतन मन ।
उनले व्यक्तित्वका तीन अवस्थाको व्याख्या यसरी गरेका छन् :

इद वा इदम् : यो मासिको पूर्ण अचेतन मनको अवस्था हो । मानिसमा भएका दमित इच्छाको भण्डार पनि हो यो । यो समयमा मानिसले जस्तोसुकै गल्ती पनि गर्न सक्छ । त्यसैले यो अवस्थामा कि त पूरै आराम कि त पूरै आनन्द चाहिन्छ । यसैभित्र लिबिडो हुन्छ । यसले मानिसको यौन इच्छालाई संचालन गर्छ । यसले मानव जीवनको व्यवहारलाई कि अगाडि कि पछाडि धकेल्छ । कतिपय सोच पूरा नहुँदा यो अवस्थामा मानिस डिप्रेसनमा समेत पर्छ । यो बच्चाले आमाको दूध चुस्न सुरु गरेपछि नै सुरु हुन्छ ।

इगो वा अहम् : यो चेतन मनको अवस्था हो । यसले मानिसका दुई मन अर्धचेतन र अचेतन मनको रेफ्रीको काम गर्छ । यसले बीचको बाटो निकाल्छ । दुवै मनलाई गाइड गर्ने काम गर्छ ।

सुपर इगो वा पराहम् : यसले नैतिक मूल्यको सिद्धान्तअनुसार काम गर्छ । यो अवचेतन मनको अवस्था हो । यसले के सही र के गलत छुट्याउने काम गर्छ ।

निष्कर्ष के हो भने मानवमा हुने यी तीन मनका अवस्थाहरूलाई सन्तुलन गर्न सके जीवन उत्कृष्ट र फलदायी हुन्छ । यदि सन्तुलन गर्न सकिएन भने विभिन्न घटनाहरू जस्तै: बलात्कार, डिप्रेसन, आत्महत्या जस्ता घटनाहरू घट्न सक्छन् । त्यसैले मानव जीवनको सुरुवातसँगै जीवनलाई कस्तो आकारमा लैजाने भन्ने शिक्षा दिनु जरुरी हुन्छ ।

यौन प्राकृतिक तथा मनोवैज्ञानिक विषय हो । यो हरेक जीवमा हुन्छ । हामी नेपालमा यौनलाई नकारात्मक रूपमा अर्थात् सांस्कृतिक काण्डको रूपमा हेर्ने गर्छौं । जब यौनको विषय तथा इच्छालाई दबाबमा या कौतूहलको विषयमा दमित बनाएर राख्ने, यौन शिक्षाको सही समयमा, सही शिक्षा नदिने हाम्रो संस्कार छ, यसैको परिणाम स्वरूप नेपालमा यौनका रूपहरू विकृत ढंगबाट समाजमा देखापर्छन् । यसैको फलस्वरूप कतिपय सामान्य यौवन अवस्था (टिनएज ग्रुप)देखि उच्चपदस्थसम्म यौन काण्डमा फस्ने गरेका देखिन्छ ।

नेपालको उच्च पद सभामुखमा रहेका कृष्णबहादुर महराको बलात्कारसम्बन्धी काण्ड एक निकै व्यवस्थित, योजनाबद्ध बाहिरिएको जस्तो देखिने तर सामान्य मानिस र पदको हिसाबले हेर्ने हो भने सधैँझैँ प्रहरीको डाटामा थपिने बलात्कार प्रयासको एक थप घटना मात्रै हो ।

लोकतन्त्रको सुन्दर पक्षको एउटा रूप र अहिलेको समाजिक संजालको प्रयोगले कुनै पनि घटना एकाएक बाहिर निस्कनु हो । राणाकाल र पंचायतकालमा जति शासकहरूले महिलामाथि दुर्व्यवहार, मोजमस्ती र बलात्कार कुन कालमा भयो होला र ? तर, जे जति हुन्थ्यो, सबै दरबारभित्रै हुन्थ्यो, भित्रै सकिन्थ्यो । कुनै सर्वसाधारण जनताको पहुँचमा त्यो बाहिरिन्नथ्यो र आजको जस्तो हातहातमा मिडिया पनि थिएन । त्यसैले कैयौँ अपराधहरू गुमनाम नै रहे ।

आजका हाम्रा शासक, जो जनताको मतबाट चुनिएर गएका छन् तर उनीहरूको शासनको तौरतरिका भने हिजोकै शासन शैलीबाट नियन्त्रित देखिन्छ । खास सारमा परिवर्तन हुन सकेको छैन । व्यवस्था जति परिवर्तन भएका छन् तर शासकहरू प्रायः उही अनुहारका छन् । नयाँ थपिएका शासकहरूमा पनि जनवादी रूपभन्दा फरक शैली नै देखिन्छ अर्थात् जनचाहनाअनुसारको गतिविधि सोचेअनुरूप देखिँदैन । समय र परिवर्तनको पक्षमा उभिनेहरू अझै अल्पमतमा छन् । हामीले जे सोचिरहेका थियौँ र जे हुनुपर्ने थियो तर नतिजा नसोचेका र फरक फरक प्रकृतिका देखिरहेका छौँ । यो दुर्भाग्य हो ।

राजनीतिलाई हेर्ने हाम्रो समाजको दृष्टिकोण जति अविश्वासिलो छ, उति नै नेताहरूको व्यवहार पनि खस्किँदो र गिर्दो अवस्थाको हुनुले आस्था पालेर यात्रामा रहेका जनता र कार्यकर्तामा नैराश्य आउनु स्वाभाविक हो ।

अहिलेको महरा काण्ड हेर्दा उनीमाथि षड्यन्त्र त भएकै होला तर कुन अर्थमा भने उनको मुद्दा बाहिर ल्याउनमा भएको षड्यन्त्र मात्रै हो । विना कारण र विना गल्ती भने यो अवस्था हुने थिएन । वर्षौंसम्म दुवै जनाको सहमतिमा यौन तथा गोप्य प्रेम जीवन नै हुन सक्छ तर चाहना र आवश्यकताको बेमेल, विभिन्न सुराकी र राजनीतिक दाउपेच र सिध्याउने खेलको सिकार बने महरा । यस प्रकृतिको समस्या धेरै नेताहरूमा नहुने भन्ने प्रश्नै उठ्दैन तर कतिसम्म सुरक्षित रहने र कुन समयमा फस्ने भन्ने मात्रै विषय हो ।

अहिले हेर्दा रोशनी शाहीभन्दा वास्तविक पीडित निर्मला पन्तका परिवार हुन् । महराभन्दा दोषी निर्मला प्रकरणका बलात्कारीहरू हुन् । ती बेपत्ता छन्, दोषी पत्ता लगाउनेभन्दा पनि लुकाउने खेलले नै जितेको अवस्था छ तर यो काण्ड कुनै दिन आलम काण्डझैँ उक्किन भने सक्छ ।

महरा काण्ड त एउटा समझदारीमा भएको वर्षौं लामो सम्बन्धको पर्दाफास मात्रै हो । तर, महरा बाल्यकालमा यौन शिक्षा नलिएका, जनयुद्धमा यौन दुर्व्यवहार गर्नेलाई सांस्कृतिक जनकार्वाही गर्दै आएका र बल्ल शासनकालमा छिरेपछि नेपाली समाजमा यौनलाई अति नै कडाइका रूपमा हेर्ने समाजको अनौपचारिक यौन पार्टनरबाट धोका खाएका एक उच्चपदस्थ पीडित सभामुख महरा हुन् भन्दा फरक पर्दैन ।

यसभन्दा बढी बुझ्नु र हल्ला गर्नु बेकार छ । अब उनले पदबाट राजीनामा दिएपछि सामान्य मानिसको निजी मामलामा अनुसन्धान गर्दा हुन्छ । पानी खेदो गर्नु, पार्टी र नेतृत्वप्रति आरोप, प्रत्यारोप गर्नु जरुरी छैन ।

बलात्कारका घटना कम गर्ने प्रकृतिका प्रशिक्षण तथा कानुनी परामर्श सेवा प्रशिक्षण तथा तालिम टोलटोलमा जरुरी छ । नेपालका संभावित नेतृत्वहरूलाई एउटा शिक्षा र चुनौती पनि हो । बुढेसकालमा आउने जवानी र सामन्ती सोचलाई बदल्न समाज र जनता सचेत बनिसकेका छन् भन्ने एउटा संकेत पनि हो ।

यो कुनै नौलो र अति नै ठूलो विषय पनि होइन । किन होइन भने राजा, प्रधान्मन्त्री, सभामुख, जो जुन पदमा भए पनि यौनको इच्छा सामान्य मानिसकै जस्तो हुने हो । धेरै नेताहरूमा यो समस्या छ । नेतामा मात्रै होइन, कर्मचारी, ठेकदार, सेना, प्रहरी, डाक्टर, इन्जिनियर, चलचित्रकर्मी, व्यापारी, उद्योगपतिदेखि ठेलागाडा चलाउने, ट्याक्सी ड्राइभर, खलासी आदि सबैमा यो प्रवृत्तिका यौन समस्या छन् ।

जबसम्म गोप्य रहन्छन् चिज, ती सबै ठूला कुरा गर्छन् तर जब बाहिर आउँछ अनि राता गाला गर्दै आफूलाई समाजमा अपमानित ठान्छन् ।
नेपालमा महिला हिंसा, चेलीबेटी बेचबिखनसम्बन्धी विभिन्न संघसंस्थाहरू तथा अभियन्ताहरू छन् । काम पनि गरिरहेकै छन् तर नेपालमा यौन हिंसासम्बन्धी सचेतना अभियान, यौन शिक्षा कति प्रभावकारी रूपमा संचालित छन् र दुर्व्यवहार हुने पक्ष कति सचेत छन् भन्ने जटिल प्रश्न अहिले हाम्रो सामु उभिएको छ ।

जसले सभामुख महरालाई पनि चुनौती दिएको छ । पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन र मोनिका लेवेन्स्कीबीचको यौन प्रकरणले पनि विश्वमा एकपटक सनसनी मच्चाएकै थियो । यस्तो काण्ड गोप्य रूपमा हुने र मोनिकाको विश्व चर्चित हुने सपनासँग गाँसिएको हुनाले यो बाहिरिएको थियो । हाम्रा उच्च ओहोदामा रहनेहरूलाई एउटा सानो क्लिक मात्रै हो यो उदाहरण । र, यदि शक्ति र शासनको भरमा राणाकालीन रासलीलाको सपना देख्ने हो भने यो अहिलेको समयमा अफापसिद्ध कर्म नै हो यो कर्म, जुनसुकै समयमा पनि बाहिरिन सक्छ र जोसुकैलाई गम्भीर प्रश्न गर्छ ।

निष्कर्ष

यौन शिक्षा नेपालको पठ्यक्रममा अनिवार्य हुन जरुरी छ, जसले हाम्रो समयको अन्योलको भविष्यभन्दा प्रष्ट जिन्दगी बाँच्न सिकाओस्, जसरी युरोपियनहरू यो मामलामा स्वतन्त्र छन् । यौन शिक्षाले यौन हिंसा र बलात्कारका घन्टा न्यूनीकरण गर्छ । शिक्षासँगै बलात्कार र यौन हिंसासम्बन्धी अझै हदैसम्मको सजाय दिने कडा र प्रष्ट कानुन बन्न जरुरी छ, जसले गर्दा कोही पनि यौन हिंसा गर्नुपूर्व कानुन सोच्न बाध्य होस् ।

बलात्कारका घटना कम गर्ने प्रकृतिका प्रशिक्षण तथा कानुनी परामर्श सेवा प्रशिक्षण तथा तालिम टोलटोलमा जरुरी छ । नेपालका संभावित नेतृत्वहरूलाई एउटा शिक्षा र चुनौती पनि हो । बुढेसकालमा आउने जवानी र सामन्ती सोचलाई बदल्न समाज र जनता सचेत बनिसकेका छन् भन्ने एउटा संकेत पनि हो ।

षड्यन्त्र पनि  कुनै कमजोरीलाई टेकेर नै हुने हो । यहाँ पनि महराको कमजोरीलाई टेकेर निकै गतिलो डिजाइन बनेको हुनुपर्छ । जो नाटकीय शैलीमा बाहिरियो र फेरि अर्को नाटकीय रूपमै सल्टाउने कार्यको मंचन भइरहेझैँ लाग्छ ।

जे होस्, यो दोषी ऊ दोषीभन्दा पनि मासमा यसले दिने सन्देश ज्यादै तुच्छ, निर्लज्ज र नेपालको इतिहासमा एउटा उच्च मंचमा नीच प्रकृतिकै नाटक खेलिएको हो । कुनै मानिसलाई खुइल्याउनु नै छ भने सुन्दर युवती, एक बोतल ह्विस्की र एउटा भिडियो रेर्कड नै काफी हो त ? यहाँ प्रश्न गर्न मन लागेको छ र पीडित र पीडकको । हामी पुरुषहरू आफूलाई आदर्श पुरुष देखाउने, समाजको रोलमोडेल हुने र यौन नै आफ्नो कमजोरी बनाउने त ? सोच्न बाध्य हुने विषय हो यो ।

यौन, प्रेम, शारीरिक सम्बन्ध भनेका प्राकृतिक चिज हुन् । हामीले कृत्रिम जलप लगाएर जति छोप्न खोजे पनि कहीँ न कहीँ देखापर्छ नै, बरु समयमै शिक्षा लिएर सही प्रयोग गर्नुको विकल्प छैन ।