भाषामा भाँडभैलो : 'अधिकार नभएकाहरूले अनधिकृत रूपमा हस्तक्षेप गरे'

भाषामा भाँडभैलो : 'अधिकार नभएकाहरूले अनधिकृत रूपमा हस्तक्षेप गरे'

घनेन्द्र ओझा  |  लोकसंवाद  |  कार्तिक २२, २०७६

लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । 

पछिल्लो समय नेपाली भाषा, विशेषगरी वर्णविन्यासमा भाँडभैलो मच्चिइरहेको र त्यसबारे निकै बहस र विवाद भइरहेको छ । नेपाली भाषाको पछिल्लो विकृत रूपलाई लिएर भाषाशास्त्री, भाषाविद् तथा भाषा साहित्यका क्षेत्रका व्यक्तिहरू निकै चिन्तित छन् ।

यस पटककाे लोकसंवादमा  हामीले   'नेपाली भाषाको भाँडभैलो र समाधान'का बारेमा आआफ्ना धारणा व्यक्त गर्न नेपाली भाषाका जानकार भाषाशास्त्री डा. बलदेव अधिकारी (गाउँले बलदेव), भाषाविद् शरच्चन्द्र वस्ती र काराेबार दैनिकका सम्पादक कुवेर चालिसेसँग लोकसंवाद गरेका छौँ । सहभागी हुनुहुन्छ ।

घनेन्द्र ओझा

यो अहिले देखिएको भाषाको भाँडभैलो के हो ?

शरच्चन्द्र वस्ती

भाषामा हस्तक्षेप गर्ने अधिकार नभएका मान्छेहरूले अनधिकृत रूपमा हस्तक्षेप गरेर, त्यो कामका लागि राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर जबर्जस्ती लाद्न खोजिएपछि आएको भाँडभैलो हो यो ।

घनेन्द्र ओझा

भाषाको मानक बनाइदिने राज्यले हो ?

डा. बलदेव अधिकारी

मानक जोगाइदिनेचाहिँ राज्यले नै हो । बनाउनेचाहिँ प्राज्ञिक व्यक्तित्वहरूको संस्थाले हो । त्यो संस्था जहाँ पनि हुन्छ । हाम्रोचाहिँ नेपाली भाषा प्रकाशिनी समिति थियो । त्यो नेपाली भाषा प्रकाशिनी समितिले पहिलो आधिकारिक शब्दकाश बनाएको थियो । प्रामाणित शब्दकोश, वैज्ञानिक शब्दकोश थियो त्यो । बालकृष्ण पोखरेलले पनि असाध्यै प्रशंसा गर्नुभयो । त्यसभन्दा पछाडिका शब्दकोशहरूमा शब्दको संख्या थप्न सकिन्छ । जति पनि थप्न सकिन्छ । तर, त्यो पहिलो शब्दकोशले जुन अवधारणा बनायो, त्यसैको अन्तर्गत रहेर सबै शब्दका वर्णविन्यास मिलाउनुपर्छ भन्ने मान्यता थियो । त्यो भताभुङ्ग बनाइयो । त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरूले नै यस्तो गलत काम गरेका हुन्, उनीहरू नै विभिन्न संस्थाहरूमा गएर ।

घनेन्द्र ओझा

यो मानक भाषा भनेको के हो ?

शरच्चन्द्र वस्ती

मानक भाषा भनेको परंपरागत रूपमा जुन चलेर आएको भाषा हो, त्यो भाषालाई समस्त साहित्यकार, लेखक, विद्वानहरूले जुन स्थलमा लगेर राख्छन र त्यो ग्राह्य पनि हुन्छ । राम्रा शब्दकोशहरूमा ‘यो शब्द फलानो कविले, फलानो साहित्यकारले, फलानो ठाउँमा प्रयोग गरेको’ भनेर पनि राखिन्छ । किनभने, शब्दकोशले एउटा अर्थ दिन्छ, त्योभन्दा अझ गहिरो अर्थमा पनि उनीहरूले प्रयोग गरिरहेका हुन्छन् । मानकता त्यहीँ भेटिन्छ । र, त्यहाँबाट नै मानकता खोजिने हो ।

घनेन्द्र ओझा

नेपाली भाषाका प्राध्यापकहरूले नै नेपाली भाषाको मानक भत्काए भन्ने कुरो आयो । अझ मिडियामा मिडियाकर्मीहरू अथवा पत्रकारहरूले झन् बढी भाषा बिगारिरहेका छन् भन्ने कुरा आएको छ, के साँचो हो ?

कुवेर चालिसे

मिडियालाई हामीले अझ बढी ‘प्राक्टिकल सेन्स’ (व्यावहारिक हिसाब)मा हेर्नुपर्छ । साहित्य एउटा पक्ष हो । हुनत मिडियालाई पनि हतारको साहित्य भनिन्छ । तर, मिडियामा आउँदा हामी अझ बढी ‘प्राक्टिकल’ (व्यावहारिक) भाषा हेर्छौं । भाषा जनजिब्रोमा भएको, मान्छेले बुझ्ने प्रयोग गर्नुपर्छ । किनभने भाषा अरूलाई सूचना दिने एउटा माध्यम हो । यसो भएको हुनाले मिडियामा एकदमै सरल, एकदमै गतिशील, जसरी मान्छेले बुझ्छ, त्यसलाई त्यसैगरी बुझाउनुपर्छ भन्ने अर्थमा आउँदाखेरि मिडियामा चाहिँ भाषा एकदमै सरल, सुबोध्य र गतिशील हुनुपर्छ भन्छु म ।

घनेन्द्र ओझा

मिडियाको गतिशील भाषा भनेको के हो ? तपाईं आफैँ पनि भाषाविद् हुनुहुन्छ । कुवेर चालिसेले भन्न खोज्नुभएको के हो खास ?

शरच्चन्द्र वस्ती

मिडियाको पहिलो काम संचार हो । त्यसपछि आमसंचारमा जाने हो । र, आमसंचार भनेको एकदमै सर्वसाधारण, अतिसामान्य मान्छेमा पनि सूचना सहज ढंगले प्रवाहित हुनुपर्‍यो । तपाईंले दिएर भएन, लेखेर, बोलेर प्रसारण गरेर हुँदैन । पाठक, श्रोताले ग्रहण गरेर बुझ्न सक्ने हुनुपर्छ । आममान्छेले, सर्वसाधारणले बुझ्ने हुनुपर्छ र सामान्य पढेकाले पनि बुझ्नुपर्‍यो ।

साहित्यकारले त्यस्तो लेख्नुपर्छ भन्ने छैन, लेख्न पनि सक्छ, नलेख्न पनि सक्छ । तर, संचारकर्मीले भने सरल, सहज र सुबोध्य लेख्नै पर्छ । किनभने उसको काम संचार गर्ने हो । आममान्छेलाई संचार गर्ने हो । सूचना वा सन्देश प्रभावकारी ढंगले संचारित कसरी हुन्छ भन्दा उसले बुझ्ने किसिमले लेखिदियो भने प्रभावकारी संचार हुन्छ । उसले सामान्य बोलचालको भाषामा लेखिदियो भने मात्रै राम्ररी बुझ्छ । संचारमा भाषाकै कारण अप्ठ्यारो पर्‍यो भने सन्देश राम्ररी बुझ्दैन । त्यस कारणले संचार भन्ने कुरा के हो भनेर हामीले बुझ्नेवित्तिकै किन त्यस्तो भाषा मिडियामा आवश्यक हुन्छ भन्ने आफैँ स्पष्ट भइहाल्छ ।

त्यसको उद्देश्य नै त्यही हो । संचार सहज र प्रभावकारी ढंगले गर्न सकेन भने त आमसंचार असफल भयो नि त ! लेखिदिएर मात्रै, बोलिदिएर मात्रै त भएन । प्रभावकारी संचार भएन भने त मिडियाको आधारभूत कर्तव्य नै उसले पूरा गर्न सकेन ।

घनेन्द्र ओझा

डा. बलदेव अधिकारी आफैँमा भाषाशास्त्री हुनुहुन्छ । साहित्यमा प्रयोग गरिने भाषा अनि सामान्य बोलिचालीमा प्रयोग गरिने भाषा र मिडियाको भाषा फरक हुन जरुरी छ र ?

डा. बलदेव अधिकारी

भाषाको अभिव्यक्तिको शैली तीन किसिमको हुन्छ । एउटा अभिधात्मक हुन्छ, अर्को लक्षणात्मक र अर्को व्यञ्जनात्मक हुन्छ । लक्षणा र व्यञ्जना बोलिचालीमा नै आउँछ । उखान, टुक्काहरू लक्षणा र व्यञ्जनामा आउँछन् । बच्चाहरूले त लक्षणा र व्यञ्जना बुझ्दैनन् । खास कुरा यो नाच्न नजान्ने आँगन टेढो भनेजस्तो हो । बोलिचालीमा साहित्य आउँदैन । कथ्य साहित्य, लोकसाहित्य कति राम्राराम्रा छन्, स्तरीय छन् । कुवेरजीले खास भन्न चाहनुभएको कुराचाहिँ मिडियामा अभिधात्मक भाषा–शैलीको प्रयोग हुनुपर्छ भन्ने हो । बढीभन्दा बढी प्रयोगमा ल्याइएको शब्द बढी प्रयोगमा आए बुझ्न सजिलो हुन्छ । सर्वसाधारणले सुनेको, पचाउन सक्ने शब्दहरू प्रयोग गर्ने भन्ने कुरा हो ।

अब मानकको कुरा गर्ने हो भने, मानक भनेको संसारकै पहिलो शब्दकोशले जुन कुरा स्थापित गर्‍यो, वर्णविन्यासको मानक त्यही हो र त्यो अपरिवर्तनीय हुन्छ । अंग्रेजीको शब्दकोश कुप्रा बाजेले किनेर त्यो पनातिसम्मले पढ्न मिल्छ । त्यो एउटै हुन्छ । संस्कृतको शब्दकोश अमरकोश भनौँ, त्यहाँ निरन्टु, निरुत्तम छन् । निरन्टु भनेको वैदिक शब्दकोश भयो । वेदमा व्याकरण बनिनुभन्दा अगाडिको शब्द भएको हुनाले त्यहाँ व्याकरणमा पनि अचम्म छ, वेदमा ।

त्यसका लागि निरन्टु, निरुत्तममा जम्मा गरियो, वैदिक शब्दहरूलाई जस्ताको त्यस्तै नबिगारीकन । त्यस्तैगरी हाम्रो पनि शब्दकोश बन्नुभन्दा अगाडिका शब्दहरू, जो भानुभक्त आचार्यहरूले प्रयोग गरे । बिगार्न त पाइँदै पाइँदैन । भानुभक्त आचार्यहरूले प्रयोग गरेका निरन्टु, निरुत्तममा संकलन गरेजस्तै जस्ताको त्यस्तै जम्मै त्यहीँ राखिदिनुपर्छ । त्यसपछि मानक जो हुने भयो– बगलीकोश,  चक्रपाणी चालिसेको ।
मानक शब्दकोश एक पटक बनिसकेपछि त्यसले स्थापना गरेको वर्णविन्यासको जो विधि हो, त्यो भत्काउन पाइँदैन ।

घनेन्द्र ओझा

भाषा परिवर्तनशील छ । सबै आवश्यक शब्दहरू हामीसँग हुँदैनन् । अन्य भाषाका शब्दहरूलाई हामीले स्वीकार्नुपर्ने हुन्छ । त्यसो गर्दाखेरि हाम्रो मानक भाषामा केही असर पर्दैन ?

शरच्चन्द्र वस्ती

पर्दैन, किनभने हामीले प्रयोग गरेका शब्दहरू परंपरागत रूपमा स्थापित भएका, मान्य भइसकेका, लोक व्यवहारमा पुगिसकेका, विशिष्टजनहरूले प्रयोग गरेर स्थापित भइसकेको कुरालाई चलाउन भएन । त्यसलाई चलाउने अधिकार कसैलाई पनि हुँदैन । त्यसलाई चलाउन खोज्नु अनधिकृत चेष्टा हो । त्यो स्थापित भइसकेको कुरा हो । त्यसमा एउटा विद्वान्लाई पनि, एउटा संस्थालाई पनि र संस्था मात्रै होइन, सर्वशक्तिमान संसदले एकै ठाउँमा भेला भएर निर्णय गर्छु भनेर पनि पाइँदैन । अहिले केही व्यक्ति र निकायले त्यो गर्न नपाइने कुरा गरेको कारणले भाषामा भाँडभैलो भएको हो ।

अनि अरू भाषाबाट आउँदाखेरिमा मानक भत्किने, भाषा बिग्रिने भन्ने खालको कुरा हुँदैन । तपाईंले आफ्नो भाषालाई ठीकसँग सम्हाल्न सक्नुपर्‍यो । भाषाको प्रकृतिलाई बिगार्नुभएन । र, भाषाको पाचन शक्ति पनि बलियो बनाउनुपर्‍यो । त्यसपछि जति शब्द आवश्यक हुन्छन् र आउँछन्, त्यसरी आएर नै भाषा समृद्ध हुने हो ।

अंग्रेजीमा अहिले करिब आठ लाखजति शब्द छन् भनेर भनिन्छ, प्राविधिक र अप्राविधिक गरेर । त्यसमध्येमा एउटा असाध्यै ठूलो ‘स्कलर’ले पनि जिन्दगीमा ६० हजारभन्दा बढी शब्दहरू प्रयोग गर्दैन रे ! तर, अंग्रेजीको सुरुमा कति शब्दको थियो त शब्दकोश ? अंग्रेजी त बेलायतको पनि राष्ट्र भाषा होइन । अनि त्यस्तो बेलामा २६-२७ हजारजति शब्द थिए भन्ने सुनेको छु मैले । त्यसमा ८ लाख पुग्दाखेरि त बाहिरबाट आएका शब्दले छोपेर, पुरिएर उहिले नै निस्सासिएर मर्नुपर्ने तर त्यस्तो भएको छैन । उसले आफ्नो पाचन शक्ति बलियो बनायो । त्यसले उसका शब्दहरू बिगारेन अनि त्यो स्थापित भयो । संसारमै उदाहरण भयो ।

अब हामीले जान्नुपर्ने, खोज्नुपर्ने, हेर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार गर्नुपर्ने पाटोचाहिँ त्यो हो । हामीचाहिँ के भने अनधिकृत किसिमको, आफ्नो अधिकारै नभएको कुरा गरेर, हिज्जेमा किचलो गरेर, शब्दहरू भत्काएर यसैका पछाडि लागेको लाग्यै छौँ ।

२०४० सालको एउटा शब्दकोश बन्यो, अहिलेचाहिँ २०७६ सालको, ३६ वर्ष भयो नेपाली शब्दकोश बनेको । अहिलेसम्म एउटा शब्द थपिएको छैन त्यसमा । बरु बीचका शब्दकोशका पानाहरू घटे । ज्ञान–विज्ञानको यस्तो प्रचण्ड विस्फोट भइरहेको बेलामा नेपाली भाषामा कति शब्द आएका होलान्, कति शब्द थपिएका होलान्, व्यवहार कहाँ पुगेको होला ? एकेडेमीको शब्दकोशले त्यो देख्दैन । किन देख्दैन भन्दाखेरि त्यो किचलोमा अल्झेको छ, अल्झेको छ । फेरि किचलो पनि कस्तो भन्दा जम्माजम्मी नेपाली भाषामा प्रयोग हुने शब्दको हिसाब गर्ने हो भने, गन्ती नै गर्ने हो भने त दुई–तीन प्रतिशत मात्रै र एकदमै फैलाउने अनौपचारिक भाषामा जाने हो भने पाँच प्रतिशतजति औपचारिकमा दुई–तिन प्रतिशतजति मात्रै शब्दमाथि आक्रमण गरेका छन्, बिगारेका छन् ।

तर, त्यति भए पनि त्यसले यति ठूलो समस्या खडा गर्‍यो, यति ठूलो अराजकता खडा गरेको छ कि त्यसले गर्दा भाषाका बारेमा छलफल, चिन्तन गर्ने चिज नै यो ३५–३६ वर्षयता आउँदै आएन । त्यही हिजोको किचलोमै अडियो । त्यसले भाषाको गति अवरुद्ध गरायो । भाषालाई पछाडी पुर्‍याइरहेको छ । यो गर्न नहुने किचलो गरेको छ ।

यो किचलो खडा नगरिदिएको भए नेपाली भाषा निकै अगाडि बढिसक्थ्यो । हाम्रो शब्दकोश पनि निकै ठूलो भइसक्थ्यो ।

अर्को, अहिले संचारले भाषा बिगार्‍यो भन्ने किसिमका कुराहरू छन्, म त भन्छु– जति नेपाली भाषा राम्रो भएको छ नि, त्यो संचारकै कारणले भएको छ । कहीँकहीँ चिप्लिएको पनि छ तर नेपाली भाषा राम्रो, एकदमै सम्प्रेषणीय भएको छ, त्यो संचार माध्यमले गर्दा नै हो । आजभन्दा ३० वर्ष पहिलेको भाषा, जतिखेर संचार माध्यमहरू पनि धेरै थिएनन्, त्यतिखेरको भाषा र अहिलेको भाषा हेर्नुहोस्, कस्तो किसिमको नेपाली भाषा अघि बढिरहेको छ ? संचारको भाषासँगै साहित्यको भाषा पनि फरक पर्दै आएको छ ।

योचाहिँ नेपाली पढाउने गुरुहरूका कारणले होइन, गुरुहरूका बाबजुत यस्तो भएको हो । जसले आफूले भाषाको नियामक हुँ भन्छन् नि, इमान्दार शिक्षकले त सिकाए राम्रोसँगै तर भषामा नियन्त्रण गर्छु भनेर जुन ठूलाठूला ठाउँमा बसेर, एकेडेमी, विश्वविद्यालयमा बसेर नचाहिने काम गरे, उनीहरूका बाबजुत नेपाली भाषालाई पत्रकारिताले यहाँसम्म ल्याइपुर्‍याएको हो ।

घनेन्द्र ओझा

कुवेर चालिसे अंग्रेजी भाषाको राम्रो जानकार हुनुहुन्छ । हिन्दी, अंग्रेजीमा प्रयोग भइरहेका शब्दहरू र नेपालीमा प्रयोग भइरहेका र अहिले पछिल्लो समय भाषामा भइरहेको विवादसमेत जोडेर भनिदिनुहोस् न नेपालीमा यो आवश्यक थियो कि थिएन, विशेष मिडियाको तर्फबाट भन्नुपर्दा ?

कुवेर चालिसे

अहिले भाषा जति पनि गतिशील भएको छ अथवा जति समृद्ध हुँदै गएको छ, मिडियाले गर्दा नै हो । गल्ती भएको छ, गल्ती नभएको होइन । मिडियाले भाषा बिगारे, यो गरे, त्यो गरे भन्छन् । यी अनेक आरोप लाग्नुका बाबजुत पनि जति पनि नेपाली भाषामा गतिशीलता आएको छ, शब्दहरू धेरै नयाँ आएका छन्, यो सबै मिडियाका कारणले हो ।

त्यसका बाबजुत पनि हामीले हेर्ने, सिक्ने भनेको अगाडि अरू भाषाका हेरेर पनि हो । अंग्रेजी जसरी समृद्ध हुँदै गयो, त्यसका पछाडि उसले अन्य भाषाका शब्दहरूलाई स्वीकार गर्दै गयो । हामीले चाहिँ त्यो गर्न सकेनौँ । नेपाली भाषामा पनि त्यसैगरी शब्दहरू त स्वीकार गर्न सकिन्थ्यो नि ! जनजिब्रोमा, व्यवहारमा, मिडियामा त आइरहेको छ तर त्यसलाई शब्दकोशले ‘एडप्ट’ गरेर भाषा समृद्ध बनाउँदै लैजानुपर्‍यो । फराकिलो बनाउँदै लैजानुपर्‍यो ।

मिडियाकै मात्र कुरा गर्ने हो भने, हामीले ‘प्राक्टिस’ गरेको मिडियामा अंग्रेजीमा पनि, नेपालीमा पनि धेरै परिवर्तन आएको छ । हामीले अंग्रेजी मिडिया, बाहिरका मिडिया हेरेरै सिकेको हो यहाँ पनि । भाषाचाहिँ गतिशील हुन्छ । मिडियामा एकदमै गतिशील भएन भाषा भने त्यो मिडियाको अर्थ हुँदैन । आमसंचारले आमजनताका लागि सन्देश दिने भएको भएर हामीले भाषाको त्यो गतिशीलतालाई रोकेर त्यहीँ बसिरहनुपर्छ, गतिशील हुनुहुन्न भन्ने कुरा मान्दैनौँ ।

अझ आर्थिक पत्रकारिता फस्टाउँदै गयो, स्वास्थ्य–विज्ञान पत्रकारिता फस्टाउँदै गयो, अरूअरू विधागत पत्रकारिता फस्टाउँदै जाँदाखेरि ती शब्दहरू, जुन नेपालीमा थिएनन्, ती शब्दहरू मिडियाले ल्यायो । शब्द जुन जसरी प्रयोग भएको छ, मान्छेले जसरी त्यसलाई स्वीकार गर्छ, मिडियाले त्यसैलाई ‘प्रोमोट’ गरेर गएको हुनाले हो । मिडियाले भाषालाई एक किसिमले समृद्ध बनाउने काम गरेको छ । सिक्दै पनि गइरहेको छ, अंग्रेजीबाट, हिन्दीबाट । कसरी सर्वस्वीकार्य बनाउने, मान्छेले बुझ्ने भाषा कसरी बनाउने भन्ने ‘प्राक्टिस’ गर्दै अघि बढेको छ ।

कसैले नसिकाए पनि आफैँ सिक्दै, लड्दै, पड्दै, जेजे मान्छेले बुझ्छन्, जसरी बुझ्छन्, त्यसैगरी बुझाउने हाम्रो बाध्यता पनि भयो । यसरी भाषाको विकास हुँदै जाने हो । त्यसमा पनि मिडियाले धेरै राम्रो आफ्नो भूमिका निर्वाह गरिराखेको छ भन्ने मलाई लाग्छ ।

शरच्चन्द्र वस्ती

नेपाली पत्रकारितामा नेपाली भाषामा त पहिला रेमिट्यान्स भन्ने शब्द आयो । त्यसको अर्थ मान्छेले बुझिसकेपछि विप्रेषण भन्ने शब्द आएको हो । रेमिट्यान्स भन्ने शब्द हिमाल खबर पत्रिकाले नै स्थापित गरेको हो । त्यसपछि त्यसलाई नेपाली चाहिन्छ भनेर विप्रेषण बनाइयो तर मान्छेले चाहिँ रेमिट्यान्स नै बुझ्छन् । अरू भाषाबाट शब्दहरू आए भने हामी कमजोर हुन्छौँ भन्ने हाम्रो दिमागमा आइरहेको छ, त्यो होइन ।  जति धेरै शब्द आए, त्यति शब्दहरूलाई चाहिँ बचाउन सक्नुपर्छ । जनजिब्रोमा नपचीकन लेख्न थाल्यो भनेचाहिँ गाह्रो हुन्छ ।

भाषा गतिशील हुन्छ तर त्यो भनेको कसैले जबर्जस्ती घिच्याएर गतिशील बनाइदिने होइन, त्यो आफैँ गतिशील हुन्छ । नेपाली भाषाको गतिशीलताचाहिँ ३०–३५ वर्षयता हेर्ने हो भने म सबैभन्दा राम्रो रूपमा चाहिँ संचार माध्यममार्फत् भएको देख्छु । भाषाका बारेमा कुरा गर्ने र म भाषाको ठेकेदार हुँ भन्ने मान्छेहरूको उनीहरूकै भाषा हेर्ने हो भने, त्योचाहिँ भाषा कति गतिशील छ र कति के छ भन्ने उदाहरण त्यहीँ अगाडि छर्लङ्ग छ । त्यस कारण संचार माध्यमले नेपाली भाषामा राम्रै काम गरेको छ जस्तो लाग्छ । विदेशी शब्दहरू आउँदैमा हामीले आत्तिनुपर्दैन । नेपाली भाषाको प्रकृतिचाहिँ बिग्रिनुभएन तर विदेशी शब्द नै आएर हाम्रो भाषा बिग्रिने होइन ।

घनेन्द्र ओझा

डा. बलदेव गाउँले आफैँ नेपाली भाषाका प्राध्यापक पनि हुनुहुन्छ अनि भाषाशास्त्री पनि । के नेपाली भाषाको समृद्धिमा संचार माध्यमकै मात्र विशेष भूमिका हो कि यहाँहरू प्राध्यापन गरिरहेकाहरूको अथवा नेपाली भाषाका विद्वान्‌हरूको, भाषाका अभियान्ताहरूको पनि केही हिस्सा छ यसमा ? के उहाँहरूले भनेजस्तै नेपाली संचार माध्यमहरूले मात्रै नेपाली भाषालाई समृद्ध बनाइरहेका हुन् ?

डा. बलदेव अधिकारी

उहाँहरूको भनाइचाहिँ सत्य हो । विद्यालयले अक्षर त चिनाइ दिनुपर्‍यो । विद्यालयहरूको भूमिकामा धेरै कामहरू छन् । ज्यादै महत्त्वपूर्ण कुरा अहिले पाठ्यपुस्तक पढ्दैनन् तर समाचार के आयो भनेर पत्रिका हेर्छन् । त्यस कारण भाषाको गतिशीलताको कुरा अर्को पाटो हो । भाषा परिवर्तनशील छ भन्दा पनि सबै कुराहरू परिवर्तनशील छन् ।

वेदका ऋचाहरू पनि ११ सय ३३ शाखाबाट अहिले जम्मा १२ शाखा मात्रै बाँकी छन् । तर, महत्त्वपूर्ण कुरा के बुझ्नुपर्‍यो भने, ती परिवर्तनशील हुन्छ भन्नेहरूले भाषा विज्ञान नै पढेका छैनन् । यो यथार्थ हो । भाषाको, शब्दको प्रयोग परिवर्तनशील हुन्छ, शब्दका अर्थ परिवर्तनशील हुन्छन्, वाक्य गठनको शैली परिवर्तनशील हुन्छ तर व्याकरण परिवर्तनशील हुँदैन । वर्णविन्यास एक पटक स्थापित भइसकेपछि मानक शब्दकोश भनेको पहिलो शब्दकोश नै हो ।

घनेन्द्र ओझा

यो भाषा बचाउनेमा र यसलाई व्यापकीकरण गर्ने जस उहाँहरू (शरच्चन्द्र र कुवेर)ले दाबी गरेजस्तो संचार माध्यमकै हो भन्ने दाबी जस्तै भाषाशास्त्री, प्राध्यापकहरूको कतिको अंश छ ?

डा. बलदेव अधिकारी

मलाई पनि संचार माध्यमबाटै नेपाली भाषा जोगिएको छ भन्ने लाग्छ । अहिलेको अवस्थामा यो एकदमै सत्य हो । त्रिभुवन विश्वविद्याालयमा अहिले नेपाली पढ्ने विद्यार्थीहरू शून्य हुने अवस्थामा पुगिसके । त्यस कारण नेपाली भाषा कहाँबाट बचेको छ भन्दा संचार माध्यमबाटै हो । शिक्षकहरूले बोल्दैनन् अहिले, जम्मै नोट लेखाउँछन् । बोल्ने भनेका टेलिभिजन र रेडियोहरूले नै हो । त्यो कतिको सही बोलेका छन् भन्ने अर्को सवाल छ । उनीहरूलाई प्रशिक्षण नदिई नहुने अवस्था छ । तर, अहिले नेपाली भाषाको प्रचार, नेपाली भाषाको शिक्षण, नेपाली भाषाको सम्वद्र्धनका लागि, प्रसारणका लागि संचार माध्यम शिक्षणभन्दा माथि छ ।

शरच्चन्द्र वस्ती

अघि मैले भनेँ, यो नेपाली भाषाको ठेका लिन्छु भन्ने मान्छे जति छन्, तिनीहरू र एकेडेमी अनि विश्वविद्यालयका बाबजुत नेपाली भाषा यहाँसम्म आइपुगेको हो, उनीहरूको कारणले होइन । उनीहरूले छेक्दाछेक्दै, उल्टो बाटो खोज्दाखोज्दै यहाँसम्म आएको हो । किनभने उनीहरूले सिकाएको यथावत् प्रयोग गरेको भएदेखि संचार माध्यमको भाषा खत्तम हुन्थ्यो, यस्तो हुने थिएन् । त्यसभन्दा अगाडि आएको हुनाले यस्तो भएको हो ।

२०५८ सालको कुरा अलिकति भन्न चाहन्छु । प्रचलनमा नआएको शब्द हटाउने भनेको केके प्रचलनमा आइराखेको छ भन्ने कुरा कसले कति पढेको छ भन्ने एउटा कुरा । त्यसको नाउँमा शुद्ध र मूल रूप हिज्जे भएका शब्दहरू उहाँहरूले हटाउनुभयो । त्यो हटाउनका लागि कसैसँग छलफल, गोष्ठी, निर्णयकाहिँ कतै केही भएको छैन । एकदमै चुपचापसँगले, एउटा षड्यन्त्रमूलक हिसाबले हटाएको छ अर्थात् नेपाली भाषामा प्रयोग भइरहेका हाम्रा देवकोटादेखि लेखनाथसम्म भूपी, रिमालहरूले प्रयोग गरेका शब्दहरू त्यो शब्दकोशमा खोज्दा नभेटिने भए ।

त्यसरी शब्दकोशबाट शब्द नै षड्यन्त्रपूर्वक कसैलाई थाहा नदिएर विलोप पार्ने भनेको शुद्ध रूपमा भाषिक अपराध हो । त्यस्तो किसिमको काम गरेर एकेडेमी बसिरहेको छ । तर, त्यसवापत क्षमायाचनासम्म नगरीकन म नेपाली भाषाको उद्धार गर्छु भनेर कोही हिँड्छ भने त त्यो हाँस्यास्पद कुरा भयो ।

घनेन्द्र ओझा

आमसंचारले सूचना दिने हो । त्यसका लागि त भाषा प्राविधिक कुरा हो नि ! भाषा साधन मात्रै हो, साध्य होइन । भाषा अथवा वर्णविन्यासको किन चिन्ता लिइरहनुपर्‍यो र नेपाली मिडियाले होइन र ?

कुवेर चालिसे

हामीले जुन भाषालाई आफ्नो मानेर, जुन भाषामा हामी काम गरिरहेका छौँ, त्यो भाषाको चिन्ता लिनुहुन्न भनेर भन्न मिल्दैन, भन्न पनि सकिँदैन किनभने हामी त्यसैको माध्यमबाट सूचना सम्प्रेषण गरिरहेका छौँ ।

हामीले सन्देश सम्प्रेषण गर्ने माध्यम जति बलियो भायो, त्यति हामी बलियो हुन्छौँ । जति माध्यम बलियो भयो, त्यति हामीले दिएका सूचनाहरू प्रभावकारी ढंगले हामीले दिन सक्ने भएको हुनाले त्यो माध्यम अर्थात् भाषा बलियो हुनुपर्‍यो । त्यही भएर सूचना सम्प्रेषण्को माध्यम बलियो हुनुपर्छ भन्ने हाम्रो पहिलो मान्यता हो ।

त्यो यदि बलियो भएन भने यस्ता विवादहरू भइरहेर, विभिन्न किसिमका यी व्याकरणका, वर्णविन्यासका कुराहरूमा अल्झिएर भाषा समृद्ध बनाउने र भाषालाई सुधार गर्ने अनि भाषालाई गतिशील बनाउने काममा अवरोध हुन्छ । त्यस कारण माध्यम बलियो, राम्रो, स्पष्ट हुनुपर्छ ।

घनेन्द्र ओझा

भाषा भनेको प्राविधिक कुरा हो भने हामी किन त्यसमा अल्झिरहेका छौँ ?

शरच्चन्द्र वस्ती

सन्देश सम्प्रेषणीय भयो, राम्रोसँग बुझ्यो भने त कुरा पुगिगयो । सन्देश तपाईंसँग छ, सूचना छ, अझै सन्देश भन्दा पनि सूचना भन्छु म त । सूचना मात्रैले पनि त्यति धेरै सन्देश नदिन सक्छ । त्यसभित्र लुकेको कुराचाहिँ त्यसलाई कसरी र कस्तो भाषा प्रयोग गरेर दिनुहुन्छ, त्यसभित्र लुकेको सन्देशचाहिँ तपाईंले शब्दमा, वाक्यमा प्रयोग नगरीकन सही सम्प्रेषण हुँदैन । सूचना दिने हो तर कुनै पनि कुरा दिनका लागि त माध्यम हो नि त !

अनि माध्यम तपाईंको सशक्त भएन, खुट्टोमा टेकेर राम्रोसँग अडिएको छैन भने तपाईंको त्यो आधारभूत कुरा नै गडबड भयो  । त्यसपछि त्यो शब्दको आसय नै फरक हुन थाल्छ । त्यस कारण हिज्जेको चिन्ता गर्नुपर्‍यो कि परेन भन्ने कुरो त प्रश्न नै होइन । किनभने जे छ शुद्ध छ, सही छ, परंपरागत रूपमा स्थापित छ, मान्यताप्राप्त भएर आएको छ । ऊ त्यसमा शिक्षित छ, दीक्षित छ भने उसले त्यो संचार प्रभावकारी ढंगमा गर्न सक्छ ।

अहिले जुन यो वर्णविन्यासको कुरा आएको छ, यो जबर्जस्ती लाद्न खोजिएको हो र कृत्रिम किसिमको समस्या खडा गरिएको हो । यसो भने पनि हुन्छ, उसोे भने पनि हुन्छ भनेपछि ‘सही’ ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भन्ने छ । वास्तविक कुरा के छ भने नेपाली भाषालाई क्षयीकरण गर्ने, एकदम यसको स्तर गिराउने किसिमको किन हो कुन्नि, अज्ञात कारणले एउटा योजनाबद्ध अभियान म देख्छु । के भने कसैले उच्चारण गर्न सकेनन् । परंपरागत रूपमा उच्चारण गरिएको छ, लेखिएको छ, आएको छ, सयौँ वर्षदेखि त्यसमा कसैको समस्या छैन । अचानक उहाँहरूले समस्या देख्नुभयो । कहाँनिर देख्नुभयो थाहा छैन । प्रयोग गर्नेलाई समस्या छैन ।

प्रयोग नगर्ने, यसो सरकारी जागिर खाएर बसेका मान्छेलाई समस्या लाग्यो किनभने केही न केही त भन्नुपर्‍यो उहाँहरूले । अनि उहाँहरू कता लाग्नुभयो भने, जसले उच्चारण गर्न सक्दैन, जो कमजोर छ, त्यसलाई खोज्दै हिँड्नुभयो  । जो सबैभन्दा बिग्रिएको छ, त्यसैलाई यो मानक भन्दै घोषणा गर्दै हिँड्नुभयो ।

उक्त घोषणा उहाँहरूले छलफल गरेर, निर्णय मात्रै गरेको भए समस्या थिएन । मान्छे निर्णय गर्न सक्छ तर राज्यको शक्ति, स्रोत, साधन सबै लगाएर जबर्जस्ती लागू गर्न खोज्नुभयो । समस्या यसरी खडा भएको हो । यो सबै चौतर्फी रूपमा नेपाली भाषालाई कमजोर बनाउने अनि स्तर गिराउँदै, यसको क्षयीकरण गर्दै यसलाई अर्कै विनासको बाटोतिर लैजाने किसिमको योजनाको आधारमा भएको हो । जानेर हो कि नजानेर हो, त्यो थाहा भएन तर जसरी गइरहेको छ, त्यसले त्यो दिशातिर धकेलिँदै छ जस्तो मलाई लाग्छ ।

त्यस कारणले यो विवादमा त संचारकर्मीहरू पर्ने नै होइनन् । वर्णविन्यासदेखि लिएर शब्दको ठीक चयन, वाक्यको गठनसम्म ठीक तरिकाले हुनुपर्‍यो किनभने शब्दको खेलाडी त पत्रकारै हो । साहित्यकारले त कहिलेकाहीँ मात्रै लेख्ने हो । पत्रकारले दैनिक लेख्नुपर्छ र संसारमा भएका अनेक घटनाक्रमसँग जोडिएका वाक्य, भाषाहरूलाई उसले नेपाली भाषा दिनुपर्छ, त्यसलाई प्रयोग गर्नुपर्छ र तत्काल उसले निर्णय गर्नुपर्छ । ती शब्दहरू त विश्वविद्यालयमा एक वर्षपछि पुग्लान्, छलफलका लागि । पत्रकारले तत्कालै गर्नुपर्छ, ऊ त्यस्तो ठाउँमा छ । त्यस कारण मिडियाले नेपाली भाषालाई धेरै चुनौतीपूर्ण किसिमले बचाइरहेको छ ।

संसारमा अरू पनि भाषा छन्, हामीले पनि जानेका छौँ । अंग्रेजी भाषाको कुनै एउटा शब्दको स्पेलिङ चेन्ज गर्नुपर्छ भनेर त्यत्रो दुनियाँका ठूलाठूला मान्छे छन्, कसैले भनेको सुन्नुभएको छ ? अथवा उनीहरू कसैको बुद्धि पुग्दै नपुगेको, नेपालीमा एकेडेमीमा जागिर खान पुगेका मान्छेहरूमा मात्र त्यो बुद्धि धेरै ठूलो भएर नै नेपाली भाषालाई बनाउन खोजेको हो कि ? हामीले त त्यसरी पनि बुझ्नुपर्ने भयो । त्यस कारण यो सबै कुरो केही व्यक्तिको एक किसिमको मति भ्रष्ट हुनुको परिणाम हो जस्तो मलाई लाग्छ ।

क्रमशः