क्लिष्ट अभिव्यक्तिले कवितालाई जीवन दिँदैन

क्लिष्ट अभिव्यक्तिले कवितालाई जीवन दिँदैन

प्रभाती किरण  |  दृष्टिकोण  |  कार्तिक २२, २०७६

साहित्यमा सबैभन्दा बढी सिर्जना हुने विधा कविता हो । कविता लेखनको तुलनामा पठन भने हुने गरेको पाइँदैन । तुलनात्मक रूपमा कविताका पाठक सीमित हुन्छन् । प्रारम्भमा कविता जनस्तरसम्म पुग्थ्यो । गाउँगाउँका अशिक्षित जनहरू कविताको स्वाद लिन्थे । मेला पर्वहरूमा कविता पाठ गर्थे । तर, कवितालाई मन्त्रसरि उच्चारण गर्ने लोकजीवन आज कविताबाट टाढा छ । 

समय परिवर्तनसँग कविताले काँचुली फेर्‍यो । कविताले सहजता त्याग्यो र ती ग्रामीण अशिक्षित पाठकहरूलाई उपेक्षा गर्‍यो । कविता बौद्धिक विलास बन्न पुग्यो । यसै मेसोमा कविताका बारेमा अनेक बहसहरू भए । कविता केका लागि ? कविता कसका लागि ? कविता कस्तो हुनुपर्छ ? जस्ता विषयमा व्यापक चर्चा परिचर्चा भए । कवितालाई नै आडमा राखेर अनेक आन्दोलन र अभियानहरू घोषणा गरिए । कविताको सौन्दर्य, कविताले समात्ने चेतना तथा प्रस्तुतिमा नवीनताको खोजी निरन्तर भइरह्यो । यति भएर पनि कविताले पाठक भने थप्न सकेन । 

त्यसो त साहित्यलाई अनुत्पादक क्षेत्र मानेर राज्यले उपेक्षा गर्छ । अचेल साहित्य, विशेषगरी आख्यान, व्यावसायिक बन्न थालेको छ । आख्यानका पाठक सर्जक मात्र छैनन् । आमपाठकले आख्यानका किताब किन्ने र पढ्ने संस्कार बढ्दै छ । कविताको साधनामा जीवन बिताएका भन्दा बजारको मनोविज्ञानअनुसारको एउटा आख्यानको किताब प्रकाशन गर्ने सर्जक धेरै पाठकको पहुँचमा पुग्ने र नाम तथा दाम दुवै आर्जन गर्ने वर्तमान समयमा कविता भने अत्यन्त न्यून सङ्ख्यामा बिक्नुका पछाडि के हुन सक्छ कारण ? यो विषयमा चिन्तन गर्ने कसले ? प्रकाशकले, पाठकले, समीक्षकले कि स्वयम् कविले ?

हामी साहित्यलाई समाजको दर्पण भन्छौँ । समाजबाटै विषय लिन्छौँ अनि समाजकै लागि दिन्छौँ भन्ने कुरामा स्पष्ट छौँ भने समाजको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मनोविज्ञान बुझ्नु आवश्यक छ । कवितालाई कलासँग जोड्ने कि विचारसँग, कला र विचार दुवैलाई सँगै लैजाने कि एउटाको फेर समातेर कुद्ने, कवितालाई सलल बग्न दिने र सबैको पहुँचमा पुर्‍याउने कि बौद्धिकताको दास बनाउने जस्ता विषय महत्त्वपूर्ण हुन्छन् । 

हामी कविता लेखिरहेका छौँ । ती कविताको मूल्य के ? हाम्रो कविताको लक्षित वर्ग कुन हो ? हामीले यो विषयमा कहिल्यै ध्यान दिएनौँ । हामीले कवितालाई बौद्धिकताको दास बनायौँ, त्यसैले पाठकसम्म पुग्न सकेनौँ । एउटा कवि कविता लेखुन्जेल कवि हो । कविता लेखिसकेपछि ऊ नै पाठक हो । हाम्रा कविताका पाठक हामी सर्जकहरू नै हौँ । सर्जकको परिधिबाट बाहिर आमपाठकसम्म कवितालाई डोहोर्‍याउन नसक्नुमा केही त पक्कै छ । के छ त त्यस्तो ?

कविता आख्यान जस्तो होइन, व्यञ्जना र लक्षणाले नै कवितालाई विशिष्ट तुल्याउँछ । यसको अर्थ कविताको भाषा बोझिलो हुनुपर्छ भन्ने होइन । हामी कविताको भाषा अत्यन्त बोझिलो बनाइरहेका छौँ । अनेक आन्दोलन, अभियानको नाममा हामीले कवितालाई आफ्नै मुठीमा कैद गर्‍यौँ । कवितामा हामीले आफूलाई प्रकाशन गर्ने होइन, आफ्नो बौद्धिकताको प्रकाशन गर्न थाल्यौँ । अप्ठ्यारा शब्द, नबुझिने विम्ब तथा अस्पष्ट कथ्यका कारण कविता सहज बन्न सकेन । हामी कविता लेखुन्जेल उच्च बौद्धिक बन्यौँ अनि पाठक सामान्य मानिस भएनन् भनेर रोइलो पनि गर्‍यौँ । हामीले कवितामा आफ्नो ज्ञानको सागर खन्याउन खोज्यौँ । आफूलाई अध्ययनशील, चिन्तनशील दर्साउन केन्द्रित भयौँ । यसो हुँदा देश, विदेशका अनेक दुरुह विम्बहरूको सङ्कलन गर्‍यौँ र शब्दतन्तुहरूमा उन्न खोज्यौँ । यसो गर्दा कविता भिन्न बन्ने र फरक पहिचान देखिने लोभ हामीमा रह्यो । 

हामीले शब्दमा प्लास्टर गर्न थाल्यौँ । विम्बको सिकारमा हाम्रा अस्त्रहरू खर्च भए । हामीले कविताको क्लोनिङलाई बढी प्राथमिकता दियौँ । शैली साधन हो, त्यसलाई हामीले साध्य ठान्यौँ । पूरै कविता पढ्दा भन्न खोजेको कुरा कतै दुई पङ्क्तिमा भेटिए भने मल्लयुद्धमा बाघै मारेँ भनेर गर्व गर्नुपर्ने अवस्थामा कवितालाई पुर्‍यायौँ अनि गुनासो पनि गर्‍यौँ- ‘मेरो कविता पाठकले बुझेनन् ।’ 

यसो भनिरहँदा कविताको भाषा अतिसामान्य हुनुपर्छ भन्ने अर्थ कदापि नलागोस् । कवितालाई अन्य विधाबाट अलग राख्ने तत्त्वहरूमा यसको भाषाशैली पनि एउटा महत्त्वपूर्ण अङ्ग हो, जहाँ कवितालाई ध्वनिको नियमित बान्कीको प्रयोगद्वारा प्रस्तुत गरिन्छ । 

कविता कल्पनाभन्दा ज्यादै सङ्कुचित छ । कवितामा अन्य विधामा जस्तो भाषा तन्काएर भाव अभिव्यक्त गर्न सकिँदैन । अन्य विधाका दुई-चार पृष्ठमा भनिने विचार कविताका दुई-चार हरफमा भन्नुपर्छ । त्यसो हुँदा कविता ज्यादा सामान्य पनि अपेक्षित हुँदैन । सरल बनाउने नाउँमा कलाविहीन अभिव्यक्ति पनि कविता बन्दैन । कलात्मक बनाउने लोभमा क्लिष्ट अभिव्यक्तिले पनि कवितालाई जीवन दिँदैन । 

कविता के हो र यसलाई कसले लेख्न सक्छ, कविता लेख्नका लागि आवश्यक योग्यता के भन्ने कुरा अनिश्चित छ । औपचारिक शिक्षा नभएका, थोरै भएकाहरूले लेखेका कविता पनि उच्च महत्त्वका छन् भने उच्च प्राज्ञिक क्षमता भएकाहरूले लेखेका कविता पनि सामान्य बन्छन् । त्यसै भएर होला ‘पोयट्री इज् अफन् रिगार्डेड याज् मिस्ट्री’ भनिएको । 

विद्वानहरू कवितालाई ‘भाषाभित्रको भाषा’ भन्छन् । यसको अर्थ कविता आफैँमा छुट्टै भाषा हो । फेरि ‘भाषा नै अलग हो भने कसरी सबैले बुझ्छन् र धेरैले बुझ्नेगरी कविता लेख्नुपर्छ भन्ने’ यस्तो जिज्ञासा यहाँहरूको मनमा उब्जन सक्छ । कविले आफैँ कविताको भाषा निर्माण गर्नुपर्छ । उसको निर्माण अरूभन्दा पृथक् हुने भएकाले नै त्यसलाई भाषाभित्रको भाषा भनिएको हो । कविले भाषा निर्माण गर्दा कविताको लक्षित समूहको मनोविज्ञान तथा पठन क्षमताको ख्याल गर्ने हो भने कविताका पाठक बढ्नेछन् । 
कविता भाषाले मात्र होइन, कथ्यले सुललित हुन्छ । कथ्य कविताको साध्य हो भने भाषा साधन । हामी कविताको कथ्यलाई जाति, धर्म, वर्ण, सम्प्रदाय आदिमा बाँडिरहेका छौँ । यसले गर्दा हाम्रा कवितामा पूर्ण मान्छे अभिव्यक्त हुन सकेन । कतै नाक, कतै कान, कतै उचाइ त कतै अन्य आवरणका साथ कवितामा मान्छेलाई उतार्न थाल्यौँ । 

हामीले खण्डित मानिस कवितामा उतार्न खोज्यौँ । त्यसले पनि हाम्रो कविता मान्छेभन्दा भिन्न हुन पुग्यो । मान्छेलाई चित्रण गर्ने नाउँमा उसका अङ्गमा केन्द्रित हुन थालेपछि कवितामा पूर्णता टुट्न थाल्यो । 

कविताको भाषाकै कुरा गर्दा कवितामा प्रयोग हुने विम्ब, प्रतीकको पनि चर्चा गर्नु आवश्यक छ । बिम्बको अर्थ छाया हो । छाया वस्तुअनुसारको हुँदैन । समयअनुसार छाया लामो-छोटो हुन्छ । कहिले तन्किन्छ त कहिले छोटिन्छ । कवितामा विम्ब एकैनासको हुँदा त्यसले अलग भाषा निर्माण गर्न सक्दैन । कविले बुझ्नुपर्ने कुरा के हो भने जसरी छाया एकैखालको हुँदैन, त्यसैगरी विम्ब पनि चलायमान हुनु जरुरी छ । प्रतीक विम्बभन्दा अलग तत्त्व हो । प्रतीकले समान गुणका आधारमा कुनै गोचर वा अगोचर वस्तु वा भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएको अर्को वस्तुलाई बुझाउँछ । हाम्रा कवितामा विम्ब र प्रतीकको प्रयोग कसरी भएको छ भन्ने कुराले पनि कवितालाई आमपठकको पहुँचमा पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने निर्धारण गर्छ । विम्ब र प्रतीक व्यापक र सङ्कुचित गरी दुई प्रकारले आउँछन् । 

हामी विम्ब प्रतीकको निर्माणमा व्यापकताबाट सङ्कुचनतिर ढल्केका छौँ । व्यापक अर्थ र परिवेश समेट्ने विम्ब तथा प्रतीकले बहुसङ्ख्यक मानिसको माझमा परिचय बनाएका हुन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित विम्ब, प्रतीकको खोजी गर्न छाडेर हामी निश्चित जाति, समुदाय तथा क्षेत्रमा विम्ब, प्रतीकको खोजी गर्न थालेका छौँ । यस्तोमा बहुजातीय तथा बहुभाषी समाज भए पनि अन्तर्जातीय सांस्कृतिक अज्ञानका कारण त्यस्ता विम्ब, प्रतीकले  पाठकका मनमा घर गर्न कठिनाइ उत्पन्न हुन्छ । आफ्नो कविताको अर्थ कवि स्वयंले लगाउनुपर्‍यो भने त्यस्तो कविता कालजयी बन्दैन । हामीले कवितालाई यसरी नै दुरुह बनाइरहेका छौँ । हामी नयाँपनको खोजीमा त लाग्यौँ तर कविताको सार्वकालिकता, सार्वजनीनता तथा सार्वदेशीयताको आदर्शलाई ख्याल गरेनौँ । यसले पनि कवितालाई क्लिष्ट बनाएको छ ।