ज्ञानेन्द्र गदालको गीत

ज्ञानेन्द्र गदालको गीत

ज्ञानेन्द्र गदाल  |  साहित्य  |  कार्तिक २२, २०७६

तार्दै छ माया वारि र पारि, काठैको नौकाले
साँझको बेला भेटघाट हाम्रो, जुरायो मौकाले
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।

पोखरा बजार सराङकोटबाट सरर झरौँला
लुकेर बग्ने त्यो सेती नदी, पुलबाटै तरौँला
स्वर्गको बयान सुनेको मात्रै, धर्तीमै देखियो
भावना फुर्‍यो, पग्लियो मन, यो गीत लेखियो
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।                                        

पूर्वमा हेर्‍यो बैदाम गाउँ, पश्चिममा बगर 
उत्तरमा सेतै हिमाल माथि, फेवाको नजर 
माछा है पुच्छ्रे हिमालको छाया टल्कियो पानीमा                                              
टपक्कै टिपी लुकाऊँझैँ लाग्यो, आँखाको नानीमा 
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।