ढल्नेछ 'महाशक्ति राष्ट्र'को दम्भ

ढल्नेछ 'महाशक्ति राष्ट्र'को दम्भ

बम बानियाँ  |  साहित्य  |  कार्तिक २३, २०७६

आखिर किन डुब्दै छन्
संसारका भब्य शहर
हो ची मिन्ह सिटी
कम्बोडिया, भियतनाम ।

तरङ्ग फैलिन्छ 
आगामी  तीस वर्ष 
यानेकि सन् २०५० सम्ममा डुब्दै छन् भब्य शहर
यो प्राकृतिक पूर्वानुमान हो
विज्ञानको भविष्यवाणी हो ।

पृथ्वीकै अर्को भाग
नेपाल भूमिको सीमाक्षेत्रमा
कृत्रिम अतिक्रमणको विरुद्धमा
हुँदै छ  अन्तिम युद्धको तयारी
जुर्मुराइरहेछन् लाखौँ बलभद्रहरू
युगनायकहरू
खुकुरीमा सान लागाइरहेछन् ।

२०२० सालसम्म निर्विबाद लिम्पियाधुरा
२०१८ सालमा भैरव रिसालले जनगणना गरेको क्षेत्र
सन् १८१६ को सुगौली सन्धि
इष्ट इण्डिया कम्पनीसँग गरिएको
मेटिको छैन हस्ताक्षर
तिम्रो आफ्नै सम्झौता कुल्चिएर
किन ब्युँझाउन खोज्छौ 
नालापानीका  रगतलाई
किन जिस्क्याउन खोज्छौ वीर गाेर्खालीलाई ।

यो कदापि हुन सक्दैन त्रिदेशीय नाका
सप्रमाण बोल्छौँ हामी
कालापानी हाम्रो हो
लिम्पियाधुरा हाम्रो हो
लिपुलेक हाम्रो हो
सुस्ता हाम्रो हो 
मौनताकाे अर्थ यो होइन कि 
गोरखालीको सेलाएको छ रगत
हामी अझै ओकल्न सक्छौँ आगो
होसियार !
अतिक्रमण गर्ने खैरा रङहरू
खस्न सक्छ एक्कासि पहाड
भत्किन सक्छ ज्वालामुखी
त्योबेला
आफैँ जल्नेछन् सुगौली सन्धि
खरानी हुनेछन् काला सम्झौता
च्यातिनेछ तिम्रो नक्सा
बदलिनेछ नक्साको स्वरूप ।

नायक र खलनायकबीचको
यो अन्तिम युद्ध हुनेछ
ढल्नेछ 
महाशक्ति राष्ट्रको दम्भ
त्यो समय तिमी आतुर हुनेछौ 
तिम्रो आफ्नै सीमा खोज्न
तर हामी तिम्रो
चाहँदैनौ त्यो एक चपरी माटो
छोड्दैनौँ हाम्रो एक मुठी माटो    
हाम्रा सीमाहरूमा
फर्फराउनेछौँ नेपाली भण्डा
गाउँदै- 'सयौँ थुङ्गा फूलका हामी ।'