इङ्ग्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी

इङ्ग्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २४, २०७६

चार महिनाअघि एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । 

न्यूजिल्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ग्ल्याण्डले न्यूजिल्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो । शृंखलाको पाँचौँ तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो । 

न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए । जीतका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ग्ल्याण्डले सुरुका तीन विकेट सस्तैमा गुमाएको थियो । इङ्ग्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । 

दुवै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो । सुपरओभरमा इङ्ग्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जीतका लागि १७ रनको लक्ष्य दिएका थिए । तर, न्यूजिल्याण्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो । यो जीतसँगै इङ्ग्ल्याण्ड ३–२ ले शृंखलामा विजयी भएको छ ।