नवाज सरिफ थप उपचारका लागि लण्डन जांँदै

नवाज सरिफ थप उपचारका लागि लण्डन जांँदै

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २४, २०७६

केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो ।

स्रोतले भनेको छ, 'नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।' उहाँ यही नोभेम्बर २७ तारिखमा फर्किनेसमेत तय भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उहाँको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको संचारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरूको अधिकार हो, त्यसैले पूर्वप्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।' 

उहाँका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उहाँ कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताउनुभयो । 'पूर्वप्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ', उहाँले पत्रकारहरूसँग भन्नुभयो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उहाँलाई केही दिनदेखि जाटी उम्रस्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उहाँलाई चिकित्सकहरूको टोली र अतिविशिष्ट कक्ष (आईसीयु)को व्यवस्था गरिएको थियो । 

पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार ६९ वर्षीय सरिफसँगै उहाँका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानुहुनेछ ।