राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २५, २०७६

बङ्गलादेशमा यसै सातादेखि सुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली सोमवार बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताउनुभयो । 'अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जानेछन्', उहाँले भन्नुभयो ।

बङ्गलादेश प्रस्थान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन् । मङ्गलवार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियोविक्रम न्यौपाने तथा बुधवार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जानेछन् ।

उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन् ।

नेपाल समूह ‘बी’मा छ । उक्त समूहमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ ।