बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजीनामा, १४ वर्षे शासन ढल्यो

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजीनामा, १४ वर्षे शासन ढल्यो

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २५, २०७६

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतवार राजीनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गर्नुभएको हो ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । वामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

लामो समयदेखि सत्तामा रहनुभएका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरूले पनि एकाएक राजीनामा दिएपछि उहाँ थप सङ्कटमा पर्नुभएको थियो । विवादास्पद निर्वाचनबाट पुनः राष्ट्रपतिमा चयन हुनुभएका मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन गरिएका थिए ।

त्यही चुनावमा पराजित हुनुभएका पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले बोलिभियालाई नयाँ र समृद्ध देशमा रूपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिबाट राजीनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्योलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीहरूले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन् ।

मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन आफू तयार रहेको घोषणा गरेको छ । यहीबीच मोरालेसले ट्विट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउ पुर्जीसहित आएको बताउनुभएको छ तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाइमा सत्य नरहेको दाबी गर्नुभयो । मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुढा गरेको बताउनुभएको छ ।

प्रहरीले आइतवार राती निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको घोषणा पनि गरेको छ । विपक्षीहरूले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए । आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कोका कृषक हुनुहुन्थ्यो । उहाँ सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बन्नुभएको थियो । राजीनामा गर्ने क्रममा मोरालेसले आफ्नो राष्ट्रपतीय कालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गर्नुभएको थियो ।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रूपमा करिब १४ वर्ष शासन सञ्चालन गर्नुभएको थियो । तर, यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उहाँ झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी हुनुभएको थियो, जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरूले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका थिए । विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गर्नुभएको थियो तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुवैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए ।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरूसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताउनुभएको थियो ।