कुलुङ जातिको नयाँ वर्ष चाक्चाकुर : विधि र परंपरा

कुलुङ जातिको नयाँ वर्ष चाक्चाकुर : विधि र परंपरा

चन्द्रसिंह कुलुङ  |  दृष्टिकोण  |  कार्तिक २५, २०७६

चाक्चाकुरको विविध पक्षसँग अन्तरसम्बन्ध

मिनारी दाचाम् चासुम्लो निङदोङ् फाइम् येलेसम्बत् चाक्चाकुरको नाम आफैँले पनि विविध पक्षसँग अन्तरसम्बन्ध राख्छ भन्ने अनुमान लाउन सकिन्छ । माथि परिचयमा उल्लेख गरिएझैँ प्रथमतः यो कुलुङहरूको नयाँ वर्षको चाड मानिसको पौरख तथा परिश्रमसँग सम्बन्धित छ । यो पर्व श्रम, भूमि, ऋतुपरिवर्तन, हावापानी, उत्पादन र वितरण प्रणालीसँग सम्बन्धित छ । प्राचीनकालका मानवहरू कृषियुगमा आइपुग्दा विकास भएका मानव इतिहास र तिनीहरूका सामूहिक भूमि, सामूहिक श्रम, सामूहिक उत्पादन तथा सामूहिक सहभागितासँग यो पर्व सम्बन्धित रहेको पाइन्छ । चाक्चाकुरकै समयमा कुलुङहरूले विगतमा गरेका कामहरूको मूल्यांकन र आउने दिनहरूका लागि कामको विवरणसमेत तयार पार्ने गर्थे ।

यस पर्वको बहुपक्षीय सम्बन्ध रहेको पाइन्छ । चाक्चाकुरको समयमा ‘तोबुवा दोलम्’ र ‘तोबुवा पिलम््’ भन्ने थप विशेष ऐतिहासिक पर्वसमेत जोडिएको पाइन्छ । तोबुवा पर्वहरू वास्तवमा कुलुङका पुर्खाहरूको चेली–माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउने सूत्रका रूपमा समेत रहेको पाइन्छ । यस विषयमा कुरा गर्दा मानवशास्त्री अर्जुन मान्थेर्बु कुलुङ भन्नुहुन्छ, ‘तोबुवा साट्दा चेलीबेटीले माइतीघर आउँदा नयाँ बालीका परिकारहरू र दी/दी नीउ (जाँड/रक्सी) हुक्तुम् (कोसेली) लिएर माइत आउने प्रचलन रहेको छ । माइतमा पनि नयाँ बालीको परिकार बनाएर चाख्ने (नावोङ्गी) मनाउने गरिन्छ । त्यो समयमा नयाँ बाली चढाएर कुल पुजिन्छ । नयाँ बालीको टीका निधारमा लगाएर मान्छेको सास धानिदिने अन्नलाई प्राणादाताको रूपमा (प्रतीकात्मक) खुब रिसिवाले सम्मान दर्शाइन्छ ।

कुलुङहरू अझै परंपरागत खेतीबाट जीवन गुजारा गर्ने भएकाले प्रकृतिसँग उनीहरूको असाध्य सामीप्य रहन्छ । प्रकृतिलाई सधैँ खुसी राखी राख्ने भरमग्धुर प्रयास गर्छन् । अन्यथा प्रकृति रिसाएर प्रतीकूल भइदियो र समयमा घाम र पानीको मात्रामा सन्तुलन भएन भने खेती बिग्रन्छ । बालीनालीमा कीरा लाग्छ । राम्रो फल नलाग्ने हुन्छ । खेतीपाती राम्रो भएन भने अनिकाल लाग्छ । मान्छे भोकमारीले पर्छ । त्यसैले अन्नको पहिलो फल, कुल र प्रकृतिलाई चढाएर मात्र प्रयोग गरिन्छ । त्यो समय पुस अर्थात् चाक्चाकुरमा पर्छ । चाक्चाकुर भनेको मङ्सिरमा बाली उठाएर फुसर्दको समयसँगै हिउँद र वर्षाको मध्यम समय निःङ दोङ (नयाँ वर्ष)को सुरुवात पनि हो । त्यसैले पनि चाक्चाकुर विशेष पर्व हो । चाड हो । मास हो । अवधि हो ।’

नेपाली किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले २०७३ सालमा आयोजना गरेको ‘चाक्चाकुर’ पर्वमा वितरण गरेको मिनारी दाचाम् चासुम्लो निङदोङ फाइम पर्चाका अनुसार ‘तोबुवा दोलम्’ भन्नाले चेलीहरूले माइतीहरूको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको समेत कामना गर्नु हो ।

इतिहासको कालखण्डमा कुलुङ पुर्खा खोक्चिलिप् र उनका दिदीबहिनीहरू लामो समयको बिछोडपछि पुनर्मिलन भएको इतिहास छ । उक्त पुनर्मिलनको समय यही पुस महिनाकै मध्यतिर रहेको जनविश्वास छ । कुलुङहरूले मनाउँदै आएको निङदोङ फाइम् (नयाँ वर्षको ऋतु परिवर्तन) कहिलेदेखि हो भन्नेबारे लेखाजोखा छैन तथापि किरात सेवा समाज, किरात देवान समाज, मेवाहाङ राई या– खोम्मा, बुङ्ग जनकल्याण केन्द्र, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घहरूले पात्रोमा प्रयोग गरिएका वा जनबोलीका सम्बत्लाई निरन्तरता दिने अभ्यासका क्रममा येलेदोङ (किरात यलम्बर सम्बत्) शब्द पनि सँगै उच्चारण गरिँदै आएको छ ।

आदिवासी जनजातिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र– २००७ को धारा–११ ले स्पष्ट रूपमा आदिवासीहरूले आफ्नो सांस्कृतिक परंपरा तथा प्रथाहरूको अभ्यास र पुनर्उत्थान गर्न पाउनेसमेतको अधिकार सुनिश्चित गरेको छ ।

यसका अतिरिक्त कुलुङ जातिका प्रतिनिधिमूलक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घको स्थापना पनि पुस महिनामा नै पर्छ । कुलुङ सङ्घले कुलुङ जातिको सर्वाङ्गीण विकासका लागि आफ्नो पहिचान स्थापित गर्दै मुलुकलाई समावेशी, समतामूलक र सामाजिक न्यायोन्मुख हुन योगदान पु¥याउँदै आएका कारण संस्थाको स्थापना महोत्सवको महिना चाक्चाकुरमा मनाइने मिनारी दाचाम् चासुम्ले निङदोम् फाइम येलेदोङ चाक्चाकुरका विविध पक्षहरू अझ बृहत्तर बन्दै आएका छन् ।

७. चाक्चाकुरका सांस्कृतिक सवालहरू

२०७१ सालको चाक्चाकुर मनाउन धनकुटादेखि देवीगाउँ, धरान, सुनसरीमा भेला हुनु भएकी किरात कुलू मिम्छा गुस्खमका केन्द्रीय उपाध्यक्ष पार्वती वान्तवा कुलुङसँग यस पङ्क्तिकारको भेटमा चाक्चाकुरको मौलिकताको संरक्षणका बारेमा कुरा गर्दा उहाँको भनाइ यस्तो रहेको थियो– ‘नेपालको संविधानले मुलुक धर्मनिरपेक्ष घोषणा गरे पनि गोरुको मासु चढाउनुपर्ने परंपरा रहेको कुलुङहरूको चाड चाक्चाकुर जोखिमपूर्ण रहेको छ । कुलुङहरूले आफ्नो चाड चाक्चाकुरमा महाकुलुङ क्षेत्रमा गोरुको मासु काटी प्रसादको रूपमा उपभोग गर्दै आइरहेका हुनाले जहाँ जाँदा पनि गोरुको मासु प्रिय भोजन र मिष्ठान्न मान्छन् । साथै यो पौष्टिकताको दृष्टिकोणले पनि अब्बल र आर्थिक दृष्टिकोणले पनि बहन गर्न सकिने जनावर हो । धनकुटाको कुरा गर्दा म आफैँलगायत धनकुटाका नेपाल जनजाति महासङ्घ, नेपाल पत्रकार महासङ्घलगायतका संस्थाहरूको संयुक्त प्रयासमा गोरु नकाटेको भए पनि पोलझोसको आधारमा कुलुङ र शेर्पा युवाहरूलाई पुलिस हिरासतमा लिएका कारण धर्ना दिएर छुटाउनुपरेको ज्वलन्त उदाहरण म स्वयम् छु । त्यसैले कुलुङहरूको चाक्चाकुर पर्व मौलिक रूपमा र परंपरागत रूपमा मनाउन एकदमै चुनौतीपूर्ण रहेको छ ।’

विगतमा सोलुखुम्बू, छेस्काम र संखुवासभा जिल्लाहरूमा गोरु काटेको आरोपमा कुलुङलगायत कैयौँ आदिवासीहरूले पुलिसको हिरासत वा जेल भोग्नुपरेको दृष्टान्त समाचारहरूले नै पुष्टि गरिसकेका छन् ।

नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धिहरू– आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र– १९६६ को धारा– १५, आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ (१९८९) को धारा– ४, ५, ६,७, ८, १३ र १४ ले सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि राज्यलाई उत्तरदायी बनाएका छन् ।

विश्वव्यापी मानवअधिकार घोषणापत्र– १९४८ को धारा २७ ले समुदायको सांस्कृतिक जीवनमा स्वतन्त्र रूपमा सहभागी हुन पाउने अधिकार प्रदान गरेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सांस्कृतिक सहयोगसम्बन्धी युनेस्कोका सिद्धान्तहरूले प्रत्येक संस्कृतिमा रहेका मर्यादा तथा मान्यताहरूलाई सम्मान गर्नुपर्छ भनिएको छ । संयुक्त राष्ट्रसंघको विकाससम्बन्धी अधिकारको धारा १ ले पनि सबैलाई सांस्कृतिक विकासमा भाग लिने मानवअधिकार रहेको जनाएको छ । अझ भन्नुपर्दा सांस्कृतिक नीतिहरूसम्बन्धी मेक्सिको शहरको घोषणापत्र (प्रिन्सिपल २)ले सांस्कृतिक पहिचानले जनताको स्वतन्त्रतामा समेत योगदान पु¥याउँछ  भनेको छ । साथै सन् १९९३ मा राष्ट्रिय वा जातीय, धार्मिक वा भाषिक अल्पसंख्यकहरूसँग सम्बद्ध व्यक्तिहरूको अधिकार सम्बन्धमा जारी गरिएको घोषणापत्रले राष्ट्रिय वा जातीय, धार्मिक वा भाषिक अल्पसंख्यकहरूको सांस्कृतिक, धार्मिक तथा भाषिक अधिकारको सुरक्षा राज्यले गर्नुपर्छ भनिएको छ । त्यसको उचित कानुनसमेत राज्यले बनाउनुपर्छ भनिएको छ ।

यो चाड कुलुङ चेली– माइती मिलन, आफूभन्दा ज्येष्ठहरूबाट आशीर्वाद थाप्ने चलनका साथै विगतका वर्षका क्रियाकलापहरूको समीक्षा र आगामी वर्षको कार्ययोजना निर्माण गर्ने पर्वको रूपमा जोडिएको हुनाले चाक्चाकुरको महत्त्व कुलुङ जातिका लागि मात्र होइन, समस्त जनसंस्कृतिप्रेमी तथा प्राज्ञहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।

त्यसैगरी सांस्कृतिक विविधतासम्बन्धी युनेस्कोको घोषणापत्र–२००१ ले परंपरागत संस्कृतिको उपभोगलाई नैसर्गिक मानवअधिकारको रूपमा लिएको छ भने संस्कृतिलाई जीवनको सिर्जनशीलताको विकासमा अपरिहार्य देखाएको छ ।

आदिवासी जनजातिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र– २००७ को धारा–११ ले स्पष्ट रूपमा आदिवासीहरूले आफ्नो सांस्कृतिक परंपरा तथा प्रथाहरूको अभ्यास र पुनर्उत्थान गर्न पाउनेसमेतको अधिकार सुनिश्चित गरेको छ । यसका साथै विभिन्न अन्य अन्तर्राष्ट्रिय मानवअधिकारका संयन्त्रहरूले समुदायको सांस्कृतिक अधिकारको सुनिश्चित गरेको छ । तथापि, स्वतन्त्रता र स्वायत्त रूपमा सांस्कृतिक अधिकारको उपभोग गर्नबाट कुलुङ समुदाय वञ्चित भइरहेका छन् ।

दीर्घकालीन रूपमा संस्थागत रूपमै सांस्कृतिक अधिकारबाट वञ्चितीकरणमा रही रहे कालान्तरमा कुलुङ संस्कृति नै हराउने छन् । संस्कृति जीवनको अभिन्न अङ्ग हो र यसले मानवीय जीवनका सबै पक्षहरूलाई असर पार्छ । संस्कृतिले स्वपहिचान, आत्मनिर्णयको अधिकारसम्मलाई प्रभाव पार्ने भएकाले सांस्कृतिक अधिकारको उचित व्यवस्थापन नगरिए सामाजिक द्वन्द्वको सिर्जनासमेत हुने सम्भावना रहन्छ ।

८. सवाल सम्बोधनमा प्रयास

ऐतिहासिक कालखण्डमा विभेदमा पारिएका जाति किरातीभित्रका पनि अतिपिछडिएका जाति हुन् कुलुङ जाति । विगतमा कुलुङको पहिचान नै वास्तवमा नामेट पारिएको थियो । तथापि, यो समुदाय आफ्नो सहजताका लागि अन्य समुदायसँग घुलमिल नगरी एकलासमा बस्न चाहने भएकाले प्रकृतिको विकट स्थानहरू भिर–पाखा, जटिल पहाड–पर्वत, खोला–नाला तथा नदीको किनार आदिमा बस्दै आएका कारण अन्य जातिहरूसँग सहजै सम्मिश्रित हुन पाएन । फल स्वरूप आफ्ना मातृभाषा, संस्कार, संस्कृति तथा परंपरागत रीतिरिवाज र संरचनाहरूको अभ्यासलाई सुषुप्त रूपमै भए पनि निरन्तरता दिन सके ।

२०४७ सालको बहुदलीय व्यवस्थाको उपलब्धि स्वरूप २०५३ सालमा सामाजिक संस्थाका रूपमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको विधिवत् स्थापना गरी आफ्ना, भाषा, संस्कृतिको संरक्षण गर्ने प्रयास गर्दै आइरहेको छ । परिणाम स्वरूप कुलुङहरूको घरघरमा अनिवार्य गर्नुपर्ने नागी पूजा, टोलटोलमा र सामूहिक रूपमा सार्वजनिक स्थलमा समेत गरिने तोस (भूमि पूजा)को प्रबद्र्धनमा कुलुङ संघले सहयोग गर्दै आइरहेको छ ।

कुलुङको जन्म, विवाह तथा मृत्यु संस्कार तथा कर्मकाण्डको निरन्तर अभ्यासलाई व्यवस्थित गर्न लिपिबद्ध गर्ने प्रयत्न भइरहेको छ । त्यसैगरी ऋतु परिवर्तनको हर्षाेल्लास पर्व मिनारी दाचाम् चासूम् लो निङदोङ फाइम् येलेदोङ चाक्चाकुर पनि मनाउँदै आइरहेको छ । यसका साथै २०६८ सालको जनगणनामा आफ्नो मौलिक जातीय पहिचान ‘कुलुङ’ स्थापना गर्न सफल भएको छ । कुलुङ जातिका बालबालिका, विद्यार्थी, युवा, वयस्क तथा ज्येष्ठ सदस्यहरूलगायत सबैलाई चाक्चाकुर पर्वमा सामूहिक रूपमा भेला भई मनाउन अभिप्रेरित गर्दै आइरहेको छ ।

९. निष्कर्ष

कुलुङ समुदायका ऐतिहासिक थातथलो तथा भूगोल, भाषा, संस्कृतिलगायतका विवरणहरूको अध्ययन र कुलुङ जनसमुदायका प्रयत्नहरूको विश्लेषणबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि कुलुङ एक स्वतन्त्र जाति तथा समुदाय हो । यो समुदायको आफ्नो अलग मातृभाषा रहेको छ । कुलुङ जातिका भिन्न संस्कार, संस्कृतिहरू विद्यमान छन्, जसमध्ये चाक्चाकुर अर्थात् मिनारी दाचाम् चासुम्लो निःङ दोङ एक विशिष्ट चाडको रूपमा पाइएको छ । भाषा, संस्कृति, चाडपर्व तथा संस्कारभित्र साहित्य, ज्ञान, कला, गीत, संगीत आदि खोज्न सकिन्छ भन्ने मान्यता सुन्दै आएका छौँ । यस्ता चाडवर्प राष्ट्र तथा विश्वकै सम्पतिका रूपमा मानिँदै आइएको छ ।

लोपोन्मुख मूर्त, अमूर्त संस्कृति संरक्षणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयत्न भइरहेका छन् । कुलुङ जातिको चाड ‘चाक्चाकुर’ पनि विगतमा लोप भइसकेको अवस्थामा थियो । तर, वर्तमान अवस्थामा कुलुङ समुदायकै पहलमा यो ब्युँत्याइएको छ । तर, यसमा प्राण फुक्न राज्य पक्षको दायित्व हुन आएको छ ।

यो समुदाय अन्य समुदायहरूभन्दा पृथक् पहिचानका साथ तर अन्य समुदायहरूसँग समभाव र सद्भावका साथ सहअस्तित्वसहित बाँच्न र जीवन निर्वाह गर्न चाहन्छ । सांस्कृतिक पहिचानका माध्यमबाट समुदायको सामूहिक पहिचान कायम गर्न स्वपहिचानको अधिकार सुनिश्चित गर्ने नेपाल राज्य पक्ष भएका अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजातिसम्बन्धी महासन्धिको नं. १६९ (१९८९)ले कुलुङ जातिको मागलाई अझै वैधानिक बनाएको पाइन्छ । यिनीहरूको चाहना, राज्य पक्ष भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिहरू– नागरिक तथा सामाजिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र– १९६६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र– १९६६ आदिमा व्यवस्था गरिएका आत्मनिर्णयका अधिकारहरूको कार्यान्वयनमा समेत पर्ने देखिन्छ ।

यसका अतिरिक्त मानवअधिकारको विश्वव्यापी घोषणापत्र र आदिवासी जनजातिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ ले राज्यले नै कुलुङ र कुलुङ जस्ता उत्पीडनमा परेका अन्य समुदायहरूको पनि संरक्षण र विकास गर्ने दायित्व निर्देश गरेको छ ।

कुलुङ जातिको जनसंस्कृतिको एक आधार मिनारी दाचाम् चासुम् लो निङदोङ चाक्चाकुर हो । अर्थात् नयाँ ऋतु परिवर्तनको समयमा मानिसको पौरखले उत्पादन गरेको अन्नबाट सामूहिक वनभोज खाने परंपरालाई निरन्तरता दिने चाड हो चाक्चाकुर । यसका अतिरिक्त यो चाड कुलुङ चेली– माइती मिलन, आफूभन्दा ज्येष्ठहरूबाट आशीर्वाद थाप्ने चलनका साथै विगतका वर्षका क्रियाकलापहरूको समीक्षा र आगामी वर्षको कार्ययोजना निर्माण गर्ने पर्वको रूपमा जोडिएको हुनाले चाक्चाकुरको महत्त्व कुलुङ जातिका लागि मात्र होइन, समस्त जनसंस्कृतिप्रेमी तथा प्राज्ञहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।
तसर्थ नेपालको संविधान– २०७२ र अन्तर्राष्ट्रिय मानवअधिकारका घोषणापत्र र सन्धिहरूद्वारा प्रदत्त सांस्कृतिक अधिकारको उपभोग कुलुङ जातिले पनि स्वतन्त्र रूपमा गर्न पाउनुपर्छ भन्ने मान्यताका आधारमा केही सुझावहरू प्रस्तुत गरिएको छ ।

१. धर्म र संस्कृति अन्योन्याश्रित रूपमा समाजमा विद्यमान रहने हुनाले धर्मनिरपेक्षताअनुकूल कानुनी निर्देशिका निर्माण गर्नुपर्ने र त्यसको कार्यान्वयन सरोकारवाला पक्षहरूलाई गर्न र गराउन लगाउनुपर्ने ।

२. सांस्कृतिक अधिकारको हनन् हुने मुलुकी ऐनका प्रावधानहरू सबै खारेज गर्नुपर्ने ।

३. सांस्कृतिक अधिकार स्वपहिचान र आत्मनिर्णयको अधिकारसँग समेत अन्योन्याश्रित रहने हुनाले नेपालको संविधानको सुनिश्चित गरेका मौलिक अधिकारहरूमध्ये समानताको व्यवहार, सम्मानित र मर्यादित जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकारलाई प्रबद्र्धन गर्ने कार्यक्रमहरूको प्रबद्र्धन गरिनुपर्ने ।

यो पनि : यसरी मनाइन्छ कुलुङ जातिको नयाँ वर्ष चाक्चाकुर

'प्रज्ञा लोकवार्ता विवेचना'बाट