अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । आइतवार डीसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार वितरण समारोहमा उहाँले नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरूलाई आमन्त्रण गरेर प्रवासमा पनि उहाँहरूको सिर्जना सुन्ने र सिक्ने मौका पाउनु प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा अनेसासको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने दुई लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार साहित्यको क्षेत्रमा प्रवासमा प्रदान गरिने सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. लुइँटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, समालोचक हरि अधिकारी, अनेसासका पूर्वअध्यक्ष पदम विश्वकर्मा, पुरस्कार स्थापना गर्नुभएका राम लामालगायतले नेपाली भाषा र साहित्यको बारेमा चर्चा गर्नुभएको थियो । यसैबीच कार्यक्रममा राम लामा अविनाशीले लेख्नुभएको कृति ‘पिल्सिएको परदेशी मन’ लोकार्पण गरियो । उक्त पुस्तकमा प्रवासी भूमिमा विभिन्न कारणले झेल्नुपरेको समस्या तथा पिल्सिएको भाव समेटिएका २६ वटा कविता संगृहीत छन् ।
कार्यक्रममा दुई हजार अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट पुरस्कार ‘रोबोटका आँखा’ नामक पुस्तकका स्रष्टा नरेन्द्रराज पौडेललाई र दिल-लीला सर्वोत्कृष्ट डायस्पोरा पुरस्कार ‘छाप्रो नं. ५५’ का सर्जक रमेश दियालीले प्राप्त गर्नुभएको छ । अनेसास रोहिणी शर्मा सीता शर्मा काव्य पुरस्कार कवयित्री कुन्ता शर्माको कृति ‘मेरो मान्छे’ कवितासङ्ग्रहलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।
यसैगरी अनेसास पदम विश्वकर्मा पुरस्कार कथाकार युवराज मैनालीलाई र अनेसास स्व. डिल्लीराम तिम्सिना पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ । उक्त पुरस्रकाको राशि पनि एक हजार अमेरिकी डलर रहेको छ । अनेसास डा. श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट पुरस्कार नियात्राकार घनश्याम राजकर्णीकारलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पाँच सय अमेरिकी डलर रहेको छ ।
यसैगरी पाँच सय अमेरिकी डलर राशिको गजल पुरस्कार 'आँगन' गजलसङ्ग्रहका लागि नमिता बराललाई र मस्टो संस्कृति पुरस्कार संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा पुरस्कृत श्रष्टा रमेश दियाली, नरेन्द्रराज पौडेल, कुन्ता शर्माले मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा गोवर्द्धन पूजा, हरि अधिकारी, कुन्ता शर्मा, सीता पाण्डे, शिव लामिछाने, कृष्ण सादगीलगायत दुई दर्जन कवि तथा कवयित्रीले आफ्नो रचना पाठ गर्नुभएको थियो ।