निजगढ विमानस्थल : वातावरणीय प्रभाव मूल्याङ्कनसहितका कागजात पेस गर्न आदेश

निजगढ विमानस्थल : वातावरणीय प्रभाव मूल्याङ्कनसहितका कागजात पेस गर्न आदेश

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७६

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) सहितका काजजात अदालतमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले सोमवार ईआईएसहित सो सम्बन्धमा भएका कागजात पेस गर्न आदेश जारी गरेको हो ।

'परियोजनाका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनसहित यस सम्बन्धमा निर्णय भएका फाइल सम्बन्धित सरकारी वकिलमार्फत् इजलासमा पेस गर्नू', आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सो क्षेत्रका रूख कटानी गर्दा वन्यजन्तुलाई अपूरणीय क्षति हुने भएकाले रूख बिरुवा काट्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २२ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

वन तथा वातावरण मन्त्रालयले ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन वि.सं. २०७४ चैतमा स्वीकृत गरेको थियो । विमानस्थल निर्माणस्थलमा रहेको जङ्गल फँडानीका विषयमा विरोध हुँदै आएको छ ।

सर्वोच्च अदालतले सरकारलाई आगामी मङ्सिर १६ गते सोसम्बन्धी फाइलसहित उपस्थित हुन आदेशमा भनेको छ ।