दलालको विगविगी : कसरी होला नियन्त्रण ?

दलालको विगविगी : कसरी होला नियन्त्रण ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  कार्तिक २६, २०७६

कुन ठाउँमा विगविगी छैन हिजोआज दलालको ? कम्पनी दर्ता गर्न जाऊँ दलाल, मालपोत कार्यालय जाऊँ दलाल, यातायात व्यवस्था कार्यालय जाऊँ दलाल ! हरेक सरकारी कार्यालय, कम्पनी, व्यापार व्यवसायमा दलालको विगविगी बढ्दो छ । हुँदाहुँदा मानिसको व्यक्तिगत सम्पतिमाथि पनि दलालले चासो राखिरहेका हुन्छन् ।

घर अगाडि खालि जग्गा देख्नै नहुने, नयाँ घर बनेको देख्नै नहुने ! ‘यो घरमा यति मानिस छन्, यतिका सबै जग्गा जमिन घरधनीलाई चाहिँदैन होला’ भनेर दलाल आफैँले मार्केटिङ गरिसकेका हुन्छन् । गजबको छैन त दलाली पेसा ?

काम छिटो होस् र झन्झट व्यहोर्न नपरोस् भनेर मानिसहरू यो राम्रो काम होइन भन्ने थाहा पाउँदा पाउँदै पनि यही दलालको सहयोग लिन पछि हट्दैनन् ।

म सानो हुँदा एक जना बाह्य मानिसले रिस उठेर गाली गर्दा दलाल भनेर गाली गरेको सुनेकी थिएँ । त्यतिबेला के होला यो दलाल भनेको भन्ने लागेको थियो । पछि आफैँले स्कुटर किन्ने बेलामा र लाइसेन्स नवीकरण गर्ने बेलामा यातायात कार्यालयमा ‘के काम गर्ने दिदी ?’ भन्दै दलाल मेरो अगाडि आइपुग्यो । अफिस पनि गर्नुपर्ने भएकाले लामो लाइन बस्न मसँग समय थिएन, त्यसैले अलिकति बढी रुपैयाँ लिए लेओस् भनेर दलालमार्फत् काम गराएँ । पछि कम्पनी दर्ता गर्ने क्रममा पनि यस्तै भयो । दलाललाई नै रुपैयाँ बढी दिएर काम गराएँ ।

दलालको शाब्दिक अर्थ हो- बिचौलिया अर्थात् मध्यस्थकर्ता । यस्ता बिचौलियाले दुई पक्षबीच काम कुरो मिलाइदिन्छन् र त्यही कामकुरो मिलाइदिएवापत निश्चित रकम लिने गर्छन् । दलालले काम गरिदिएवापत कति रकम दिने भन्ने कुनै ऐन, नियम नभएको हुँदा मनपरीतन्त्र छ ।

न्यूनतम रुपैयाँमा हुने काम पनि दलालले ठग्न पायो भने मानिसलाई चौपट नै पार्ने गरी ठग्ने गर्छ । रुपैयाँ कमाउनु नै मुख्य उद्देश्य भएका यी दलालहरूले मानिसलाई यसरी पट्याउन जानेका हुन्छन् कि ‘ए, हो र’छ कि क्या हो ?’ भनेजस्तो गरी कुरा मिलाउन खप्पिस हुन्छन् ।

घर बनाउन जग खन्ने बेलादेखि बालुवा, इँट्टा, गिटी सस्तोमा मिलाइदिन्छु भन्ने दलाल हिजोआज प्रशस्त भेटिन्छन् । त्यति मात्र नभई, जग्गाको कारोबारदेखि घरको किनबेच र घर खालि देख्नासाथ भाडामा लगाइदिन दलालहरू नै सक्रिय हुन्छन् । घरधनीले घर भाडामा लगाउने हुन् कि होइनन् थाहा हुँदैन तर दलाललाई चासो परिरहेको हुन्छ । नयाँ घर देख्नासाथ उसले उपभोक्तालाई फलानो घर खालि छ भनेर घरका बारेमा जानकारी गराइसकेका हुन्छन् ।

दलालले ल्याएका यतिवटा फाइलको यतिवटा काम गरिदिएपछि कर्मचारीलाई यति रकम दिइने भन्ने शर्तमा काम सम्पन्न हुने गर्छन् । हाकिमलाई यति रकम दिनुपर्छ भनेर दलालले नै उपभोक्तासँग मोलमोलाई गर्ने गर्छन् ।

कतिपय दलालहरूले संस्थागत रूपमा यस्तो काम गर्ने गरेका छन् । तर, कसैले भने व्यक्तिगत रूपमा न संस्था छ, न कार्यालय छ, आफैँ नै यस्तो काममा संलग्न छन् । कमाई खाने सजिलो बाटो भएकाले नै होला अफिस गर्नेले पनि हिजोआज फुर्सदको समय निकालेर दलाली काम गर्दै कमाइ गरिरहेका छन् । मुखले कुरा गरेर मिलाएकै भरमा मनग्य रुपैयाँ तुरुन्त कमाइ हुने भएपछि यसतर्फ मानिसहरूको आकर्षण बढ्दो छ । 

दलालका कारण जग्गा कारोबार र किनबेचको कामलाई केही सजिलो बनाएको भए पनि अब भने सरकारले यस्ता दलालहरूको निगरानी राख्नु जरुरी भइसकेको छ । काम गरिदिएवापत कति प्रतिशत रकम लिन पाउने भन्ने निश्चित दायरा बनाउन आवश्यक छ । होइन भने अहिलेको जस्तो प्रक्रियाले दलालले जति पनि कमिसन लिन सक्छन् । जग्गा बेच्ने र किन्ने दुवैतर्फबाट दलालले रुपैयाँ माग्ने गर्छन् । यसैगरी घर भाडामा बस्न घर खोज्दै हिँडेकाहरूसँग र घरधनीसँग पनि महिनौँ दिनको भाडा नै असुल्ने गरेका छन् ।

दलाली काम पुरुषले मात्र गर्दैनन्, हिँजोआज दलालको काममा महिला पनि संलग्न छन् । कतिपय महिलाहरू आफू बसेको क्षेत्र वरपर दिनभर घुम्छन् र घर खालि भए वा नभएको पत्ता लगाउँछन् । खालि जग्गा र घर देखे भने घरधनीको सोधीखोजी गर्छन् । न पढ्नुपर्ने, न कुनै डिग्री हासिल गर्नुपर्ने ! रुपैयाँ कमाउने सजिलो बाटो भएकाले दलाली काममा महिलाहरूको पनि उत्तिकै संलग्नता देखिएको हो । घर भाडामा लगाउने काममा धेरै महिला दलालहरूको संलग्नता रहेको यस क्षेत्रका व्यवसायीहरू बताउने गर्छन् ।

सरकारी कार्यालयमा दलालको विगविगी बढ्नुको मुख्य कारण भनेको कर्मचारी इमान्दार नहुनु हो । राष्ट्रको तलब र सुविधा उपभोग गरेर पनि त्यतिले नपुगेपछि कालो धन जम्मा पार्न कर्मचारीले नै दलाललाई हात लिएका हुन्छन् । दलालले ल्याएका यतिवटा फाइलको यतिवटा काम गरिदिएपछि कर्मचारीलाई यति रकम दिइने भन्ने शर्तमा काम सम्पन्न हुने गर्छन् । हाकिमलाई यति रकम दिनुपर्छ भनेर दलालले नै उपभोक्तासँग मोलमोलाई गर्ने गर्छन् । उपभोक्तालाई समयमै चुस्त सेवा दिन अल्छी मान्ने तर दलालसँग रुपैयाँ लिएर काम गर्न पल्केका सरकारी कर्मचारीले आफ्नो आचरण नसुर्धासम्म सरकारी कार्यालयमा हुने अनियमितता र भ्रष्टाचार रोकिनेवाला छैन ।

यसैगरी दलालले ल्याएको काम मात्र गरेर कालो धन कमाउने कर्मचारीको निगरानी र नियन्त्रण जबसम्म सरकारले गर्दैन, तबसम्म सरकारी कार्यालयमा दलालहरूकै बर्चस्व बढिरहने निश्चितप्रायः छ । प्राइभेट क्षेत्रमा यदि दलालले काम गरेवापत रकम लिन पाउने हो भने कति प्रतिशत रकम दलालले लिने भन्ने स्पष्ट नियम बनाउन आवश्यक छ । होइन भने हरेक क्षेत्रमा दलालको चंगुलबाट मुक्त हुन निकै कठिन छ ।