सुन चोरी प्रकरणः सुन लुकाउन सोलुदेखि दाङसम्मको यात्रा

सुन चोरी प्रकरणः सुन लुकाउन सोलुदेखि दाङसम्मको यात्रा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७५

काठमाडौँ । गत मङ्सिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिए फ ६९२१ इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भन्ने सामान्य सोधी खोजी गरे पनि खानतलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उनले उजुरीमा लक्ष्मण तरुवाले गाडी चलाएर नेपाल ल्याएको र आफ्नो कर्मचारी भएको समेत उल्लेख गरेका थिए । 

त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलास गर्न थाल्यो । तर, तत्काल फेला पार्न सकेन । 

गाडी खोजी गर्दै जाँदा प्रहरीले पुस ८ गते कोहलपुरस्थित अतिथि होटेलमा बेवारिसे अवस्थामा गाडी फेला पार्‍यो । र, उजुरी कर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगायो । त्यही गाडीमा सुन थियो भन्ने बारेमा प्रहरीले पुस दोस्रो साता मात्रै थाहा पायो । 

‘गाडी साहूले लक्ष्मणको घर कञ्चनपुर हो भन्ने जानकारी पाएपछि कञ्चनपुर प्रहरीमा गाडी हराएको जाहेरी दिए । तर, सुनको विषयमा केही जानकारी दिएनन्,’ प्रहरी स्रोतले भन्यो, ‘तर सुन हराएको विषयमा प्रहरीले हल्ला सुनिसकेको थियो ।’ 

त्यहीबिचमा प्रहरी जवान सुरज तरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौँ, लैनचौरस्थित प्रहरी वृत्तमा खोजीका लागि उजुरी दिए । त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई लक्ष्मणलाई खोज्न निर्देशन दियो । सिआइबीले अनुसन्धान सुरु गरे लगत्तै लक्ष्मणको मोबाइलका म्यासेजहरू हेर्न थाल्यो । म्यासेजमा उनले ‘सुन सुरक्षित रहेको’ कुरा पठाएको पाएपछि सिआइबीको अनुसन्धान सुन खोज्नतर्फ केन्द्रित भयो । 

लक्ष्मणको मोबाइल ट्रेस गर्दा प्रहरीले कहिले सोलु, कहिले दाङ, कहिले पोखरा त कहिले काठमाडौँमा फेला पार्‍यो । अन्ततः सिआइबीले लक्ष्मणले लुकाएको सुन फेला मात्रै पारेन, भारतीय नागरिकको समेत पहिचान गर्‍यो । 

लक्ष्मणका अनुसार उनले यो पटक गरी १४ पटक सोही गाडीमा भारतको राजधानी दिल्लीबाट अयोध्या सुन ओसारेका थिए । तर, त्यतिबेलासम्म उनमा सुन चोरी गर्ने सोच पलाएको थिएन । दिल्लीबाट साहूले सुन हालिदिएको र अयोध्यामा भेट्नुपर्ने मानिस तुरुन्तै नभेटिएपछि उनी सुनसहितको गाडी ल्याएर हैदरावाद पुगे । त्यसपछि उनी नेपालतर्फ आए । नेपाल आएपछि प्रहरी हवलदारसमेत रहेका भाइलाई सबै कुरा बताए । त्यसपछि दुई भाइ मिलेर सुन ठेगान लगाउने उपाय निकाल्दा निकाल्दै गाडी हराएको उजुरी पर्‍यो । उजुरी परेको थाहा पाएपछि कोहलपुरको अतिथि होटेलमा गाडी छाडेर लक्ष्मण फरार भए । सुरज भने सुन व्यवस्थापनतिर लागे । 

प्रहरीले उजुरीकर्तालाई बोलाएर गाडी जिम्मा लगायो । गाडी साहुले गाडी भारत लग्यो । र, गाडीमा सुन नभेटेपछि केही दिनपछि गाडी साहूका मानिसहरूले लक्ष्मणको घरमा पुगेर सुन नदिए परिवारका सबैलाई मारिदिने धम्की दिए ।

दुई महिना मस्तले घुमफिर 

लक्ष्मण त्यहाँबाट मङ्सिर ७ गते कञ्चनपुर आए । त्यहाँ प्रहरी हवलदारका रहेका दाई लाई कञ्चनपुरमा भेटेर एक महिना कोहलपुर बसे । 

गाडी हराएको उजुरी परेको थाहा पाएपछि कोहलपुरबाट फरार भए । त्यसअघि उनले केही सुन भाइलाई दिए र केही आफै बोकेर हिँडे । 

लक्ष्मण केही दिन काठमाडौँ बसे । त्यसपछि सोलुखुम्बु घुम्न गए । त्यसअघि नै सुरजले दाइ हराएको उजुरी गरिसकेका थिए । लक्ष्मण सोलु घुमेर काठमाडौँ हुँदै दाङ पुगे । 

सोलुखुम्बुदेखि दाङसम्म पुग्दा लक्ष्मणको म्यासेजमा सुनकै कुरा देखिएपछि सिआइ्रबीको टोली उनकै पछि लाग्यो । पछिल्लो पटक उनी दाङबाट पोखरा आए । उनलाई पोखरामा देखेपछि पक्राउ गर्ने तयारी गरेको भए पनि सुन फुत्किन सक्ने डरले प्रहरीले उनलाई पक्रिएन । लक्ष्मण पोखराबाट पाल्पा पुगेपछि भने सुन बेच्ने कुरा हुन थाल्यो र भाइ सुरजलाई त्यसै अनुसार म्यासेज जान थालेपछि भने सिआइबीको टोलीले पाल्पाबाट उनको पिछा गरी कोहलपुरमा पक्राउ गर्‍यो । 

कञ्चनपुरमा रहेको एसपी सुदीप गिरीको टोलीले पनि सादा पोसाकमा रहेका प्रहरी हवलदार सुरजलाई कञ्चनपुरमा पक्राउ गरी १८ केजी सुन बरामद गर्‍यो । 

त्यसपछि लक्ष्मणकै सहयोगले अर्को पाँच किलो ६ ग्राम जति पनि उनकै घरबाट बरामद गर्‍यो । 

प्रहरीका अनुसार उनले थाहा पाएर वा नपाएर साहूले पठाएको सामान अर्को स्थान पुर्‍याउने गरेको बताएका छन् । अयोध्यामा पनि साहूको व्यापार व्यवसाय रहेको बताएका छन् । 

सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार भारतीय व्यापारीले लक्ष्मणलाई गाडी चालकका रूपमा काम लगाएको र उनले सुन रहेको थाहा पाएपछि अयोध्या पुगेको गाडी हैदरावाद हुँदै नेपाल

ल्याएर सुन लुकाएको बताए । उनका अनुसार सुन कसको हो भन्ने बारेमा भारतीय व्यापारीलाई अनुसन्धानको दायरामा नल्याएसम्म केही नखुल्ने पनि बताए । 

कति आएको हो सुन ? 

सो गाडीमा सुन कति किलो थियो भन्ने कुरा अहिलेसम्म यकिन छैन । प्रहरी स्रोतका अनुसार दिल्लीबाट सो गाडीमा सुन ३२ किलो थियो । उनले सबै सुन नेपाल ल्याए÷नल्याएको यकिन छैन । प्रहरीले अहिलेसम्म २३ किलो ६ सय ग्राम फेला पारेको छ । अन्य सुन कहाँ गयो भन्ने बारेमा केही खुलेको छैन । 

लक्ष्मण पक्राउ परेपछि कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्डोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भयो । त्यसको १५ घण्टा नबित्दै जिल्लाको उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गर्‍यो । सिआइबीले सो प्रकरणमा पक्राउ परेका लक्ष्मण र सुरजलाई थप अनुसन्धानका लागि कोहलपुर पठाएको छ ।

पुनर्वासबाट सुन बरामद भएको घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरजको ससुराली हो । सुन तस्करीमा उनको संलग्नता रहेको प्रहरीको दाबी छ । घरमा राख्दा पोल खुल्ने डरले सुरजले पुनर्वासस्थित ससुरालीमा लुकाएको तथ्य खुलेको प्रहरीले बताएको छ । लक्ष्मणले केही सुन ससुराली र केही घरमै राखेर बिक्री गर्नका लागि बार्गेनिङ गर्दै हिँडेपछि पक्राउ गरेको जनाएको छ । 

सिआइबीको टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शङ्कर बिक भनिने भरतलाल बिकेको घरबाट सुन बरामद गरेको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मणको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।

बिकेको घरबाट बिहीबार दिउँसो ११ बजेतिर र तिरुवाको घरबाट गए राति १ बजेतिर सुन बरामद गरेको प्रहरीले जनाएको छ । 

सिआइबीका एसपी सुदिप गिरी नेतृत्वको टोलीले २३ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।