छुल्याइँ गर्न हाम्रो छिमेकीलाई कसैले सिकाइरहनुपर्दैन
कार्तिक २७, २०७६

कवि मुकुन्द लामिछानेले एउटा कवितामा लेख्नुभएको छ– हावा यहाँ दक्षिणबाट आउँछ । हाम्रो देश नेपालमा हावा त दक्षिणबाट आउँछ नै, अरू धेरै कुरा पनि दक्षिणबाट आउँछन् । दैनन्दिन सामग्रीहरू, वैज्ञानिक आविष्कारहरू, सांस्कृतिक शैली र चिन्तन पनि दक्षिणबाट आउँछन् । हुँदाहुँदा कहिलेकाहीँ त उत्तरको चीन पनि दक्षिण हुँदै आउँछ ।

सीमा खुला भएर मात्र होइन, अन्य विभिन्न कारणले पनि दक्षिणबाट नेपालमा आउन सजिलो छ । मुगलहरू दक्षिणबाट आएका हुन् । अंग्रेजहरू दक्षिणबाट आएका हुन् । नेपालका कतिपय जातजाति दक्षिणबाट आएका हुन् । गाडी, तरकारी, अन्न, फलफूल, बन्दुक, कागज र किताब पनि दक्षिणबाट नै आएका हुन् । कतिपय लफडा, झैझगडा, समस्या र समस्या दक्षिणबाट आएका छन् । धेरै समस्या र थोरै समाधान पनि दक्षिणबाट आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्तै पानी र जवानी दक्षिणतिर बगेर गएका छन्– मजदुरका रूपमा वा सिपाहीका रूपमा ।

नेपालमा यतिबेला भारतले सार्वजनिक गरेको नयाँ नक्सालाई लिएर खलबली मच्चिएको छ । भारतका विभिन्न रवैयाका कारण नेपालमा होहल्ला हुनु र गराइनु संस्कृति जस्तै भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ र स्वार्थका कारण भारत नेपललाई समय समयमा जिस्क्याइरहन्छ । ‘र्‍याक’ गरिरहन चाहन्छ नेपाललाई । नेपाल–भारतबीचको मित्रता जति पुरानो छ, तिक्तताको उमेर पनि कम छैन होला । एउटै ओछ्यान गरेर सुतेपछि कहिलेकाहीँ गोडा लाग्छ भन्ने हिसाबले हामीले एकअर्कालाई ‘जानी दुश्मन’का नजरले हेरेका छैनाँै । नेपालले भारतलाई  मात्र होइन, विश्वका कुनै पनि मुलुकलाई अपमान र घृणाको नजरले हेरेको छैन । हाम्रा लागि संसारका सबै देश बराबर इज्जत, प्रतिष्ठा र आत्मसम्मानका हकदार हुन् । त्यसैले कसैको पनि स्वाभिमानमा खलल पुर्‍याउनुहुन्न भन्ने नेपाल र नेपालीको मूल मन्त्र हो र यही नै हाम्रो विशिष्ट पहिचान पनि हो ।
तर, हाम्रो मित्र राष्ट्र भारतको चरित्र भने त्यति सफा देखिँदैन ।

आफ्ना छिमेकी मुलुकहरू भौगोलिक रूपले साना भएका र आफू ठूलो भएकाले ‘दादागिरी’ देखाइरहनुपर्ने रोगले भारतीय प्रशासनको मानसिकता ग्रस्त छ । पाकिस्तानसित भारतको सम्बन्ध बटवाराकै बेलादेखि घृणास्पद छ । ती दुई मुलुकका नेता मात्र होइन, जनताकै मनोविज्ञान पनि एकअर्काप्रतिको घृणाका कारण कलूषित छ । अरू छिमेकी मुलुकसित पनि भारतको सम्बन्ध त्यति धेरै प्रशंसनीय देखिँदैन भने नेपाललाई भने ऊ एक हातले मुसार्ने र अर्काे हातले चड्काउने गरिरहन्छ । घाउमा मह्लम लगाउने र पाप्रा उप्काउने गरिरहन्छ । बेलुका जाँड खाएर स्वास्नी कुट्ने, राती फकाउने जस्तो व्यवहारमा भारतले आफूलाई सिपालु बनाएको छ ।

अरूलाई दुःख दिनु, चोर्नु, ठग्नु जस्ता अमानवीय स्वभाव हाम्रो रगतमा छैन । छिमेकीप्रति पञ्चशीलका आधारमा व्यवहार गर्नु हाम्रो परंपरा हो र हामी अरूलाई पनि त्यसै गर्न प्रेरित गर्छाैं । यो हाम्रो कमजोरी नभएर महत्ता हो भन्ने कुरा हाम्रा छिमेकी मुलुकले बुझ्नु जरुरी पनि छ ।

अबचाहिँ केही हुन्छ कि भन्ने बेलामा एउटा एउटा बखेडा झिकेर नेपालको शान्ति र स्थिरतामा खलल पुर्‍याउन सक्नुलाई भारतले आफ्नो कपट नीतिको सफलता मानेको हुन सक्छ । हुनत आन्तरिक मामलामा भारतलाई निमन्त्रणा गरेर स्वागत गर्नमा हाम्रा शासकहरूले कुनै कसर बाँकी राखेका छैनन् । त्यही कुरालाई भर्‍याङ बनाएर हाम्रो अखण्डता र अस्मितामाथि खुट्टो घुमाउन भारतलाई सजिलो भएको छ । आफ्नो दुनो नसोझिउन्जेल भारतलाई गाली गर्ने र स्वार्थ पूरा हुने खण्डमा भने जुनसुकै हदसम्म पनि गिर्न सक्ने हाम्रो नेतृत्वको स्वार्थी स्वभावका कारण पनि भारतलाई नेपालका मामलामा हस्तक्षेप गर्न सजिलो भएको छ ।

आफ्नो स्वार्थ सिद्ध हुँदा लम्पसार पर्ने र स्वार्थ सिद्ध नहुँदा भारतलाई ‘विस्तारवादी’ र ‘नवउपनिवेशवादी’ देख्ने नेपाली राजनीतिको चरित्रलाई तुरुप बनाएर नेपालमाथि ‘गेम’ जित्ने चरित्र भारतले देखाउँदै आएको छ । यसको प्रत्यक्ष मार भोग्ने भनेको हामी नेपाली जनताले नै हो । भारतप्रतिको सम्बन्धलाई  प्रयोग गरेर नेपालको सात्तामा पुग्न सकिन्छ भन्ने कुरा नेपालका मधेसी राजनीतिज्ञले मात्र होइन, सबैले बुझेका छन् । यस किसिमको द्वैध चरित्रले हामीलाई कूटनीतिक रूपमा कमजोर बनाएको कुरा घामजतिकै छर्लंग छ ।

नेपालको परनिर्भता, विशेषगरी भारतनिर्भताले लघुताभाषको सिर्जना गरेको छ । ‘निर्धोलाई चाँडो रिस उठ्छ’ भनेझैँ हामीलाई पनि भारतविरुद्ध चाँडै रिस उठ्छ तर त्यसको फाइदा उठाउने प्रवृत्ति भने खतरनाक छ । छिमेकीसित झगडा गर्दाभन्दा मिल्दा नै दुवैलाई फाइदा हुन्छ भन्ने कुरा नेपालीलाई थाहा छ । यसै पनि हामी बुद्धका अनुयायी हौँ, अशान्ति र हिंसा हामीलाई किमार्थ वाञ्छनीय छैन । अरूलाई दुःख दिनु, चोर्नु, ठग्नु जस्ता अमानवीय स्वभाव हाम्रो रगतमा छैन । छिमेकीप्रति पञ्चशीलका आधारमा व्यवहार गर्नु हाम्रो परंपरा हो र हामी अरूलाई पनि त्यसै गर्न प्रेरित गर्छाैं । यो हाम्रो कमजोरी नभएर महत्ता हो भन्ने कुरा हाम्रा छिमेकी मुलुकले बुझ्नु जरुरी पनि छ ।

समय परिस्थितिले हामीलाई कमजोर बनाए पनि, भौगर्भिक विशिष्टताले हामीलाई खुम्च्याए पनि हामीलाई हाम्रो स्वाभिमान, राष्ट्रिय अखण्डाता र अक्षुण्णताप्रति सम्झौता गर्न आउँदैन । हाम्रा वीर पुर्खाहरूले हामीलाई कायर हुन सिकाएका छैनन् । हामी कर्ममा विश्वास गर्छौं । मानवतामा विश्वास गर्छाैं । निहुँ खोजेर जाँदैनौँ तर अपमान सहन गर्न पनि हामी सक्दैनौँ । यो नै हाम्रो ऐतिहासिक मूल्य र मान्यता पनि हो ।

विश्व परिवेशलाई हेर्दा कुनै पनि मुलुक क्षेत्रफलका आधारमा सानो या ठूलो हुँदैन, न त आर्थिक हिसाबले नै छोटो या बडो । हरेक देशका जनताले संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारको उपयोग गर्दै आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय जगत्ले स्वीकार गरेको छ ।

मित्र राष्ट्र भारतले पटक पटक हामीमाथि अन्यायपूर्ण व्यवहार गरेर हामीलाई उद्वेलित र उत्तेजित पार्ने काम गर्दै आएको कुरा जगजाहेर छ । भूकम्पमा सहयोग पनि गर्ने र लगत्तै नाकाबन्दीको स्थिति सिर्जना गरेर भित्तो चटाउने काम भारतबाट भएको छ । आफूले भनेजस्तो नहुनेवित्तिकै बखेडा झिक्ने र भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने नैसर्गिक अधिकारमाथि धावा बोल्ने काम भारतबाट पहिलेदेखि नै हुने गरेको छ । यसै सिलसिलामा यतिबेला सीमा विवाद देखिएको छ । यद्यपि, भारतसितको सीमा विवाद आजको मात्र समस्या होइन, यसको पनि लामो इतिहास निर्माण भइसकेको छ । कालापानी, सुस्ता जस्ता विषय नेपालका लागि कहिल्यै नपुरिने घाउ भएको छ । रातारात पिल्लर सार्ने, नदीलाई एकलौटी पार्ने, नेपालको भूभाग आफ्नातिर पारेर नक्सा बनाउनेजस्ता छुल्याइँ गर्न हाम्रो छिमेकीलाई कसैले सिकाइरहनुपर्दैन । मौका हेरर आफैँ जानिहाल्छ ।

सडकमा जुलुस निकालेर, जनतालाई उत्तेजित पारेर, छिमेकीलाई सरापेर, व्यंग्य गरेर, कविता गाएर, खुकुरी घुमाएर क्षणिक दबाब सिर्जना होला तर त्यसले दीर्घकालीन समाधान भने हुन सक्दैन । त्यसका लागि तर्क, तथ्य र समझदारी हुनुपर्छ अनि मात्र दक्षिणको हावालाई हिमालले छेक्न सक्छ ।

यति हुँदाहुँदै पनि नेपाल–भारत सम्बन्धका विविध आयाम छन् । सीमाले र राजनीतिले मात्र दुई देशलाई छिमेकी बनाएको होइन । सीमा त सम्बन्धको कान्छो आयाम हो । सामाजिक, धार्मिक, सांस्कृति, ऐतिहासिक र भावनात्मक तत्त्व पनि छन्– नेपाला र भारतलाई जोड्ने ।

घनघोर युद्धद्वार स्थापना भएको सीमारेखा होइन । युद्ध त हामीले अंग्रेजसित गरेका थियौँ, जुनबेला वर्तमान भारतको नामनिशाना थिएन । राष्ट्रियता, स्वाधीनता भन्ने कुरा त हामीले सिकाएका हौँ उनीहरूलाई । अंग्रेजको हैकममा उनीहरू पिल्सिरहँदा नै हामीले हाम्रो देशको स्वरूप तय गरिसकेका थियौँ । त्यस कारण भारतको सीमारेखा निर्धारण हुनुभन्दा दशकौँअघि नै हाम्रा सीमास्तम्भ गाडिएका हुन् । उनीहरूलाई यो ऐतिहासिक तथ्य जानकारी गराएर कूटनीतिक तवरले सीमा निर्धारण गर्नुमा नै बुद्धिमानी हुन्छ र यसैमा नै हाम्रा सत्ता नेतृत्वको परीक्षण पनि ।


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।