बहसमा 'तिमी' र 'तपाईं' : 'शब्दले होइन, आसयले अर्थ राख्छ'

बहसमा 'तिमी' र 'तपाईं' : 'शब्दले होइन, आसयले अर्थ राख्छ'

घनेन्द्र ओझा  |  लोकसंवाद  |  कार्तिक २९, २०७६

लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले 'बुबाआमालाई पनि तिमी भन्छन्' भनेपछि त्यसबारे निकै बहस र विवाद भइरहेको छ । नेपाली भाषाको पछिल्लो विकृत रूपलाई लिएर भाषाशास्त्री, भाषाविद् तथा भाषा साहित्यका क्षेत्रका व्यक्तिहरू निकै चिन्तित पनि छन् ।

यस पटककाे लोकसंवादमा  हामीले   'मिडियामा सम्बोधन'का बारेमा आआफ्ना धारणा व्यक्त गर्न नेपाली भाषाका जानकार भाषाशास्त्री डा. बलदेव अधिकारी (गाउँले बलदेव), भाषाविद् शरच्चन्द्र वस्ती र काराेबार दैनिकका सम्पादक कुवेर चालिसेसँग लोकसंवाद गरेका छौँ । सहभागी हुनुहुन्छ ।

घनेन्द्र ओझा

भर्खरै केही समय अगाडि हाम्रा प्रधानमन्त्री ज्यूले हाम्रा मिडियाहरूले ‘तिमी’ प्रयोग गर्छन् शासकलाई पनि अथवा प्रधानमन्त्रीलाई, राष्ट्रपतिलाई र सबैलाई भन्नुभएको थियो अनि घरमा बुबाआमालाई पनि तिमी नै प्रयोग गर्लान् भनेर अभिव्यक्ति दिइसकेपछि ‘तिमी’ र ‘तपाईं’को बहस अहिले निकै चलिरहेको छ । वास्तवमा तिमी सम्बोधन के मिडियाले अपमान गर्नकै लागि प्रयोग गरेको हो, कुवेर चालिसे ?

कुवेर चालिसे

जसको मुखबाट त्यो कुरा निस्कियो, उहाँ आफैँचाहिँ मान्छेको सम्मानताका लागि झण्डै डेढ दशक जेल बस्नुभएको मान्छे हो । उहाँचाहिँ हिजो जेल बस्नुभयो, संघर्ष गर्नुभयो, सबै गर्नुभयो किनभने सबै समान छन् भनेर । हाम्रो संविधान पनि त्यसैअनुसार लेखियो । समाजवाद उन्मुख, सबैलाई बराबर सम्बोधन र व्यवहार गर्नुपर्छ भनेर राजा भन्ने हुँदैन भन्दै राजा फाल्यौँ हामीले । किन भन्दा हामी सबै बराबर हौँ भनेर ।

यस कारण तिमी भन्दाखेरि उहाँलाई धेरै चित्त नदुख्नुपर्ने हो । साह्रै प्रेम गरेर घरमा ‘बा, तिमीले खाना खायौ कि खएनौ ?’ भनेर भन्छौँ हामी । धेरै ठाउँमा मैले प्रचलनमा देखेको छु, सुनेको पनि छु बालाई, आमालाई तिमी भन्छन् । त्यो भनेको अपमान होइन । त्यो भनेको माया गरेको हो ।

शब्द आफैँमा जडबत् चिज हो । त्यसलाई प्रयोग गर्दाखेरि तपाईंले कसरी बोल्नुहुन्छ, त्यसले अर्थ राख्छ । आशय के हो ? भाषा प्रयोग कसरी गरिन्छ भन्ने कुराचाहिँ महत्तवपूर्ण हो । के शब्द प्रयोग गरियो भन्दा पनि कुन अर्थमा त्यसको कसरी प्रयोग गरियो भन्ने महत्त्वपूर्ण हो ।

पत्रिकामा त तिमी लेखेको गाली गरेर लेखेको हो कि प्रसंशा गरेर लेखिएको हो, त्यो पनि थाहा हुँदैन । बोल्दाखेरि चाहिँ तिमी भन्दा प्रेमले बोलेको हो कि तिमी भनेर गाली गरेको हो भन्ने उसको भावले, उसको शरीरको हाउभाउले बुझिएला तर लेखनमा त बुझिन्न । त्यो भएर त्यसलाई समानताका लागि, समानअर्थी भनेर हामीले तिमी लेख्ने चलन गर्‍यौँ । विश्वमा सबै ठाउँमा ‘यु’ लेखिन्छ । अंग्रेजीमा सजिलोे छ– यु भनेको तँ पनि हो, तिमी पनि हो, तपाईं पनि हो । त्यसैले भन्नलाई पनि सजिलो छ । तिमी भनेको पनि सबैलाई समान भन्ने हिसाबमा भाषा लेख्दाखेरि सहज र सरल पनि हुन्छ । सम्प्रेसण गर्न पनि सजिलो ।

हाम्रो मैथिली भाषा तँ, तिमी भन्ने नै छैन । असाध्यै शिष्ट भाषा छ त्यो । मैथिली भाषा मिथिलाञ्चलको भाषा भगवती सीताको भाषा हो । त्यो भाषाको प्रभावलाई लिएर हामीले सबैलाई उच्च आदरार्थी प्रयोग गरे पनि केही फरक परेन । त्यो शब्दले होइन, आशयले काम गर्ने कुरा हो, हामीले अघि नै पनि भनिसक्यौँ ।

धेरैजसो समाचारचाहिँ तृतीय पुरुष सम्बोधनमा लेख्नुपर्ने हुन्छ । तपाईं र म होइन कि प्रधानमन्त्री, मन्त्रीका बारेमा लेख्ने भएकाले सहज रूपमा तिमी लेखिएको हो । लेख्न सजिलो भएर, बुझ्न सजिलो भएर, सम्प्रेषण गर्न सजिलो भएर, सबैले बुझ्छन् भनेर त्यसो गरिएको हो । अपमान गरेर, मान गरेर वा सम्मान गरेर लेखिएको होइन ।

अर्को कुरा के भने पत्रकारिताले व्यक्ति चिन्छ । पत्रकारिता वा आमसंचारले वा संचारको माध्यमले व्यक्तिलाई चिन्छ । जसरी समाज विकसित हुँदै गयो त्यहीअनुसार भाषाको पनि विकास हुँदै गएको हो । पत्रकारले त्यहीअनुसार भाषा परिवर्तन गर्दै गएका हुन् नि त ! यिनै पत्रिकाहरूको हिजो १५ वर्ष, २० वर्ष अगाडिको अवस्था हेर्नुहोस् र अहिले हेर्नुहोस्, अहिले परिर्वतन भयो । समाजले सर्वस्वीकार्य गरेको कुरा मान्छ भने त्यो उहाँले अपमान गर्न भनेको हो कि सम्मान भन्ने मिडियाले गर्ने कामले मात्रै देखिन्छ, भाषाले हुँदैन ।

घनेन्द्र ओझा

कुवेर चालिसेले भन्नुभएको कुरा सही हो अथवा थप अरू केही छ ?

शरच्चन्द्र वस्ती

मेरो धारणा कस्तो छ भने, प्रधानमन्त्रीले के सन्दर्भमा भन्नुभयो, कसैलाई मनपर्‍यो कि परेन भन्ने कुराको कुनै अर्थ छैन । प्रधानमन्त्री स्तरको मान्छेले भाषाका बारेमा चर्चा गर्‍यो भनेर त्यसप्रति हामीले धन्यवाद दिनुपर्छ । किनभने राजनीतिमा लागेको मान्छे भाषामा कुनै मतलबै राख्दैनथे । भाषाको चर्चा त्यो स्तरबाट उठ्यो, त्यसले गर्दाखेरि यो बहस भयो नि त ! नत्र कसैलाई आवश्यकै लागेको थिएन यो विषय । मैले गरेकै ठीक भनेर हामी कुदेकोकुदेकै थियौँ । ठीक छ कि छैन, कसैलाई हामी सोध्दा नि सोध्दैन थियौँ । जिन्दगीभर मैले गरेको ठीक छ भनेर आफ्नो पक्षमा आफैँ तर्क गर्‍यो, बस्यो ।

जसलाई ‘कम्युनिकेट’ गर्नुपर्ने हो, त्यसले ठीक मानेको छ कि छैन भन्ने हामीले ऊबाट ‘फिडब्याक’ लिने कुरो नै बिर्सिरहेका हुन्छौँ । सुरुमा पढ्छौँ, त्यसपछि बिर्सिन्छौँ । त्यस कारणले यो प्रधानमन्त्रीबाट अलिकति ‘फिडब्याक’ आएको हो । कुनै पनि शब्दमा कस्तो भाव राखेर तपाईंले प्रयोग गर्नुहुन्छ, त्यसले मान, सम्मान बराबरीको अर्थ दिन्छ । कहिलेकाहीँ तपाईंले पनि अपमानको अर्थ दिन सक्छ– आशयअनुसार । तिमी र तँले पनि सम्मान दिन सक्छन् ।

मेरो विचारमा एउटै कुरा के लाग्छ भने, पत्रकारिता भनेको समाजको दर्पण भनिन्छ । समाजको यथार्थ स्थितिचाहिँ पत्रकारितामा देखिन्छ । घटनाको, समाजको स्थिति चित्रित हुनुपर्छ पत्रकारितामा । पत्रकारिताको ऐना मात्रै हेर्दाखेरिमा समाजचाहिँ यथार्थ रूपमा देखिनुपर्छ । समाजका घटनाहरू, व्यवहारहरू देखिनुपर्छ भनिन्छ । हाम्रो समाज कस्तो छ भनेदेखि अंग्रेजीको जस्तो वा अरूको जस्तो नभएर तँ, तिमी, तपाईं सबै प्रयोग गर्ने गरिन्छ । कतिखेरि कहाँ के प्रयोग गर्नुपर्छ भनेर जानेर, बुझेर सहज किसिमले प्रयोग गर्दै आएको छ । त्यसमा कसैले सामन्ती आशय राखे होलान्, कसैले क्रान्तिकारी आशय राखे होलान्, त्यो आशयसँग सम्बन्धित कुरा भयो । तर, समाजले सामान्यतया प्रयोग गर्दाखेरिमा उसले सबै कुरा बुझेर ठीकसँग यथोचित रूपमा कहाँनिर कसलाई के भन्नुपर्छ भन्ने बुझेर प्रयोग गरिरहेको छ ।

बक्स्योस्, हजुर भन्न औपचारिक रूपमा छोडियो । तँको सर्वनाम पनि औपचारिक रूपमा छोडियो तर तिमी र तपाईं सर्वनामचाहिँ औपचारिक रूपमा पनि समाजले सहजतासाथ प्रयोग पनि गरिरहेको छ, छाडेको पनि छैन । पत्रकारितामा त्यो चिज पनि प्रतिबिम्बित भएन भने पत्रकारिताको जुन प्रारम्भिक क, ख, ग छ नि– अंग्रेजीको ए बी सी, हो त्यसमा पहिलोमा ‘एक्युरेसी’ (तथ्यपरकता) आउँछ । समाज वा घटना वा विषयको चित्र वा वास्तविकता जस्ताको त्यस्तै ठ्याक्कै आउनुपर्छ पत्रकारितामा भन्ने आशय हो एक्युरेसीको । त्यो एक्युरेसीचाहिँ दुर्घटनामा पर्छ कि, घाइते हुन्छ कि, एक्युरेसी कायम हँुँदैन कि, किनभने मिडियामा हेर्दा समाज अर्कै खालको छ र समाजको व्यवहार अर्कै देखिन सक्छ ।

भाषामा भाँडभैलो त खासगरी केही शब्दहरूमा एकदमै कबड्डी खेलियो । ती शब्दमा कबड्डी खेल्न थालेपछि बबाल भएको हो । त्यसो गर्ने अधिकार कसैलाई पनि छैन । ती कामहरू जसले गरे, उनीहरूले ‘गल्ती भयो’ भनेर माफी मागेर फिर्ता लिएपछि नेपाली भाषामा केही पनि समस्या छैन ।

घनेन्द्र ओझा

नेपाली समाजमा तँ, तिमी, तपाईं परिवारमा र समाज पनि चलिआएको छ । त्यहाँ अपमानको रूपमा प्रयोग गरिँदैन । गाउँघरमा तिमी नै प्रचलनमा छ भने त्यो प्रयोग गर्दा के बिग्रिन्छ त ?

शरच्चन्द्र वस्ती

त्यो प्रचलनमा छ भन्ने कुरो म शतप्रतिशत सही मान्छु । तर, त्यस्तो अरू दुई प्रतिशत छन् । त्यो समाजले तपाईं पनि उत्तिकै चलाइरहेको छ । तपाईंको मात्रै घेरामा तपाईं मात्रै शतप्रतिशत छ, तिमीको घेरामा तिमी पनि शतप्रतिशत छ । तीनवटा शतप्रतिशत छन् समाजमा । त्यसमध्येमा तपाईंले व्यवहार गर्दाखेरिमा समान रूपमा तिमीको सट्टा तपाईंबाट गर्ने भन्नेबारेमा पनि हामीले विकल्प लिन सक्छौँ होला । किनभने, अलिकति शिष्ट, अलिकति नम्र हुनका लागि हामी त्यतातिर गयौँ भनेदेखि हाम्रो केही क्षति हुँदैन ।

त्यस कारण गर्नचाहिँ मिडियाले आफ्नोआफ्नो तरिकाले कसो गर्दा ठीक हुन्छ भनेर गर्ने हो । त्यसमा फलानो नै गर भनेर कसैले आदेश वा निर्देश गर्ने कुरो होइन । तर, समाजसँग मिल्ने किसिमले मिडिया अगाडि गयो भनेदेखि उसको कुरो सही हुन्छ, समाजलाई असजिलो पनि पर्दैन, ग्रहण पनि गर्छन् । नमिल्ने किसिमले गयो भने त्यो मिडियालाई नै असजिलो पर्दै जान्छ ।

अहिले सबैलाई तिमी भनेको तपाईंलाई कतिको ठीक लागेको छ ? भनेर अलिकति प्रबुद्ध किसिमका, मध्यम प्रबुद्ध किसिमका ४०० जनालाई स्वतन्त्र रूपमा हामीले गएर सोध्दाखेरिमा ६०–७० प्रतिशतजति मान्छेहरूले यो ठीक छ भनेर भनिदिए भनेदेखि यो कुरो ठीक छ भनेर हामीले ग्रहण गरे पनि हुन्छ । होइन १०–२० प्रतिशतले मात्रै ठीक छ भने अरूले चाहिँ अलिक मिलेन है भनेमा ए ठीक मानेका रहेनछन् भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ । तर, त्यसका लागि प्रक्रियामा जानुपर्छ । गर्छन् कि गर्दैनन् भनेर मैले अहिले भनिदिन मिल्दैन । म एउटै कुरा मात्रै के भन्छु भने,  समाज र त्यसको व्यवहार पनि संचार माध्यममा पनि अलिक सही रूपमा नै प्रस्तुत हुनुपर्छ । शतप्रतिशत सही नभए पनि कमसे कम ५०-५५ प्रतिशत केही न केही देखिनुपर्‍यो ।

घनेन्द्र ओझा

‘तिमी’चाहिँ कम शिष्ट र ‘तपाईं’ नै बढी शिष्ट भएर समाजको प्रतिबिम्ब देखाउनका लागि अथवा हामी शिष्ट छौँ भन्नका लागि पनि प्रयोग गर्ने कि भन्ने कुरा पनि आयो, के यो सही हो ?

डा. बलदेव अधिकारी

दरबारमा उच्च आदरार्थीले नपुगेर ‘बक्स’ थपेर अति उच्च आदारार्थी बनाइयो र प्रयोग गरियो । तर, त्यही दरबारका लागि नारा बनाउँदाखेरि ‘हाम्रा राजा चिरायू रहून्’ भनियो । त्यो सामान्य आदारार्थी हो । ‘हाम्रा राजा चिरायू रहून्’ भन्दाखेरि ‘त्यस्तो किन भन्यौ ?’ भनेर त्यो बेलाका दरबारिया र चाकरहरूले सोधेनन् ।

अर्को, समालोचना लेख्दाखेरि हामीले कविहरूलाई सामान्य आदर नै प्रयोग गर्छौं । ‘देवकोटाले भने’ भन्छौँ, ‘देवकोटाले भन्नुभयो’ हामी भन्दैनौँ । साहित्यकार त यी नेताभन्दा पनि माथिकै होलान् नि त !

हामीले लेखिहाल्यौँ, यही लेख्नुपर्छ भन्ने पनि छैन । लेख्ने क्रममा एक–दुइटा समस्याहरू त आउँछन् । व्यक्तिअनुसार दुईवटा शब्द (तपाईं र तिमी) प्रयोग हुनुपर्छ, त्यसो हुँदाखेरि दुईवटा किन गर्ने ? एउटा किन नगर्ने ? भन्ने कुरामा फेरि अर्को विवाद आउँछ । पत्रकारिताले पहिलाचाहिँ व्यक्तिलाई चिन्छ ।

‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’ छ नि, त्यो कर्म वाच्य पनि होइन, भाव वाच्य पनि होइन । त्यसलाई चाहिँ व्याकरण गाह्रो भएको हुनाले मैले त्यसलाई के भनेको छु भने भाव–कर्म वाच्य भनेर एउटा छुट्टै तह राखिदिएँ । किनभने त्यो लेखिदिइहाल्यो । त्यो व्याकरणको कहीँ न पहिला थियो, न पछि थियो । भाव वाच्यमा लिंगको अर्थ हुँदैन अनि त्यो खोजी गरेर मैले भाव–कर्म वाच्य भनेर लेखिदिएको छु । त्यो एउटा समाधानको कुरा हो ।

ईश्वरको कुरा पनि छ । ईश्वरलाई आदर गर्‍यो भने त्यो सबैभन्दा तुच्छ भक्त हुन्छ । ईश्वरलाई आदर गर्‍यो भने त्योचाहिँ दास्यभक्ति हुन्छ । दास्यभक्ति भनेको सबैभन्दा तुच्छ भक्ति हुन्छ । शाख्याभक्तिमा तँ भन्न पाइन्छ । प्रेमी र प्रेमिकामा प्रेमास्पदको सुखका लागि ‘प्रियतम’ या ‘प्रियतमा’ले काम गर्नुपर्छ भनेपछि जसो गर्दा चित्त बुझ्छ, त्यही हो गर्ने ।

शरच्चन्द्र वस्ती

एकदमै राम्रो काम गर्नुभयो भने हामी ‘प्रधानमन्त्री आउनुभयो’ भन्छौँ । अलिकति चित्त बुझेन भने ‘त्यसले ल्याएको थियो’ पनि भन्छाौँ । त्यस कारण तिमी मात्रै भनिन्छ भन्ने तर्क तिमीका लागिचाहिँ शतप्रतिशत सही हो तर तपाईं भन्ने पनि अर्को शतप्रतिशत बाँकी छ, तँ भन्ने पनि बाँकी छ । समाजमा सबै किसिमको चल्छ । ‘तिमी’ले अनादर हुन्छ भन्ने हुँदै होइन । अनादर ‘तँ’ले पनि हुँदैन र आदर ‘तपाईं’ भन्दा पनि नहुन सक्छ । त्योचाहिँ आशयसँग जोडिएको कुरा हो । तैपनि सामान्यतया मान्यतामा मध्यम आदरार्थी, उच्च आदरार्थी र निम्न आदरार्थी भन्ने जुन बनाएको छ, त्योचाहिँ बनाउनु नै पर्छ । संचार माध्यममा हेर्दाखेरिमा, सुन्दाखेरिमा पढ्दाखेरिमा नेपाली समाज यस्तै रहेछ भनेर जुन चित्र देखिन्छ, त्यो चित्र सही हुनुपर्छ भन्ने कुरामा ध्यान दिए पुग्छ ।

घनेन्द्र ओझा

अहिले देखिएको भाषा र वर्णविन्यासको भाँडभैलो अनि यो ‘तिमी’, ‘तपाईं’ सम्बोधनको भाँडभैलो, यी तीनवटै कुरालाई समाधान गर्नका लागि कुनकुन उपायहरू गर्न सकिएला ?

शरच्चन्द्र वस्ती

भाषामा भाँडभैलो त खासगरी केही शब्दहरूमा एकदमै कबड्डी खेलियो । ती शब्दमा कबड्डी खेल्न थालेपछि बबाल भएको हो । त्यसो गर्ने अधिकार कसैलाई पनि छैन ।  ती कामहरू जसले गरे, उनीहरूले ‘गल्ती भयो’ भनेर माफी मागेर फिर्ता लिएपछि नेपाली भाषामा केही पनि समस्या छैन ।
नेपाली भाषामाथिको केही व्यक्तिको योे हस्तक्षेप फिर्ता लिइयोस्, १० वर्षभित्रमा नेपाली भाषा कहाँ पुग्दोरहेछ, तपाईंले कल्पनासमेत गर्न सक्नुहुन्न । त्यस्तो ठाउँमा पुग्छ । यो भाँडभैलो गर्ने, भाषाको गति बिगार्ने, भाषाको गति रोक्ने, परिवर्तन गर्ने अथवा भाषाले जे बाटो लिन खोजेको छ, त्यसमा छेकबार हाल्ने, त्यसमा राज्यको शक्ति दुरूपयोग गर्ने इत्यादि सम्पूर्ण कुकर्म बन्द गरे पुग्छ ।

नेपाली भाषा आफैँ अगाडि बढ्न सक्ने छ, त्यसमा अरूले बिगार्ने मात्रै हो । यो भाषालाई यतिको पनि भाषाका प्रेमीहरूले जोगाएको हो । नत्र त भाँडभैँलो नै हुन्थ्यो ।

एउटा सिद्धान्त हुने भएदेखि आगन्तुक शब्दमा जसरी यो अक्षर छ र छैन भनेर नेपाली भाषाको अक्षरै छैन भनेर उच्चारण वर्णमालाबाट हटाएको छ, आँट पुग्नेबित्तिकै संस्कृतका पनि सबै वर्णमालाको शब्दकोशबाट हटाइन्थ्यो । मोटो ‘श’वाला ‘दिशा’ र पातलो ‘स’वाला ‘दिसा’को फरक छुट्टिन थाल्थ्यो । त्यस्तो अवस्थामा नेपाली भाषा आएर कस्तो दुर्गतिमा पुग्थ्यो, तपाई कल्पना गर्नुहोस् । यो गर्न नहुने किसिमको काम गरेको हो । यसबाट हट्नेवित्तिकै नेपाली भाषामा केही पनि समस्या नै छैन ।

अलिकति बढी शिष्ट, बढी सभ्य किसिमको शब्द प्रयोग गर्दाखेरिमा हामी साना हुँदैनौँ त्यसलाई पनि हामीले अलिकति विचार गरिदियौँ भने हामीले बढी विवेक पुर्‍याएको ठहरिन्छ । नत्र मैले गरेकै ठीक भनेर हामीले तर्कचाहिँ गर्न सक्छौँ कि, त्यो तर्क आमजनसाधारणको व्यावहारमा त्यो मनमा कति स्वीकार्य भइराखेको छ भन्ने कुरोचाहिँ बुझ्न हामी चुकिरहेका छौँ ।

डा. बलदेव अधिकारी

हामीले सबैलाई तपाईं भनिदिए पनि हुन्छ हुनत । हाम्रो मैथिली भाषा तँ, तिमी भन्ने नै छैन । असाध्यै शिष्ट भाषा छ त्यो । मैथिली भाषा मिथिलाञ्चलको भाषा भगवती सीताको भाषा हो । त्यो भाषाको प्रभावलाई लिएर हामीले सबैलाई उच्च आदरार्थी प्रयोग गरे पनि केही फरक परेन । त्यो शब्दले होइन, आशयले काम गर्ने कुरा हो, हामीले अघि नै पनि भनिसक्यौँ ।

हामीले आफूभन्दा सानालाई हेपेर भन्नुपर्ने भएमा ‘हजुरले नि हजुरले’ भन्छौँ । यी शब्दको प्रयोग ठूलो कुरो होइन । नेपाली भाषामा हस्तक्षेप जहिलेदेखि सुरु भएको हो, त्यो बेलादेखिको त्यही ठाउँमा हामी फर्क्यौं भने हाम्रो भाषा केही पनि भएको छैन ।

कुवेर चालिसे

भाषा भनेको आमजनताले स्वीकार गर्नुपर्‍यो । स्वीकार गरेनन् भने लोप हुन्छ । यदि सर्वस्वीकार्य हुन्छ, समाजले तपाईं नै ठीक हो भन्छ भने पत्रकारले पनि परिर्वतन गर्छन् । हिजो तपाईं लेखेकै हुन् । त्यस कारण सर्वस्वीकार्यता पहिलो प्रश्न हो । त्यो स्वीकार्यता भइसकेपछि मिडियालाई त्यस्तो कुनै समस्या छैन ।
हामीले लेखिहाल्यौँ, यही लेख्नुपर्छ भन्ने पनि छैन । लेख्ने क्रममा एक–दुइटा समस्याहरू त आउँछन् । व्यक्तिअनुसार दुईवटा शब्द (तपाईं र तिमी) प्रयोग हुनुपर्छ, त्यसो हुँदाखेरि दुईवटा किन गर्ने ? एउटा किन नगर्ने ? भन्ने कुरामा फेरि अर्को विवाद आउँछ । पत्रकारिताले पहिलाचाहिँ व्यक्तिलाई चिन्छ । त्यस कारण एकरूपताचाहिँ हुनुपर्छ भन्ने आसयमा एकरूपतालाई मान्नुपर्छ भन्ने ठीक हो तर शब्दभन्दा पनि आसय नै महत्त्वपूर्ण कुरा हो ।

यसका लागि सम्बन्धित विज्ञ, विशेषज्ञ, मिडियाकर्मी आदि सरोकारवाला सबै बसेर एउटा उपयुक्त निष्कर्षमा पुग्नु सबैभन्दा उत्तम उपाय हुन सक्ला ।