कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २९, २०७६

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्बन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीवार जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो । न्यूयोर्कस्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उहाँले बताउनुभयो । फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई करसम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रूपमा लिइएको छ । 

यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो । ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा वहाल रहेका बेला उहाँविरुद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् । उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।