यु–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेटमा नेपाल पराजित

यु–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेटमा नेपाल पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २९, २०७६

भारतमा जारी यु–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा नेपाल शुक्रवार भारतको ‘बी’ टोलीसँग दुई विकेटले पराजित भएको हो । यो नेपालको लगातार तेस्रो हार हो ।

नेपालले दिएको २११ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि दिभ्यनास जोशीले सर्वाधिक ५४ रन बनाए । कृतिककृष्ण सेट्टीले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ र निर्मल कुमारले अविजित २० रन जोडे ।

बलिङतर्फ नेपालका आकाश चन्दले ४ विकेट लिए भने सागर ढकालले २, कुशल मल्ल र शेर मल्लले एक/एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका लागि कप्तान ऋत गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकाश चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए ।

बलिङतर्फ भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा विनोदले २ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा भारत ‘सी’सँग १० विकेटले तथा दोस्रो खेलमा भारत ‘ए’सँग १०७ रनले हार व्यहोरेको थियो ।