राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

तथागत मुनि  |  साहित्य  |  कार्तिक ३०, २०७६

‘राष्ट्रिय सहमति भो’, उनले भने । माफ गर्नुहोला, उहाँले भन्नुभयो । आजकल ‘उनी’ भन्न पाइन्न, ‘उहाँ’ भन्नुपर्छ भन्ने जान्दाजान्दै पनि लागेको बानी, जिब्रो जिप्टिहाल्यो ।

‘कस्तो सहमति ?’, पत्रकारले प्रश्न गरे । पत्रकारलाई चाहिँ ‘गरे’, ‘भने’ भन्न पाइने भएकाले जानीबुझी ‘गरे’ ठोकियो ।

‘कोकोबीच सहमति भो ?’, पत्रकार सम्मेलन भएकाले पत्रकारको त्यहाँ कमी थिएन, अर्का पत्रकारले फेरि सोधे ।

‘राष्ट्रिय नेताहरूबीच सहमति भयो’, उहाँले भन्नुभयो ।

त्यहाँ सहमति गर्नेमा ‘लोकल लिडर’ आई मिन स्थानीय नेता थिएनन् ? फेरि एक पत्रकारले अर्को कर्नरबाट प्रश्न सोधे ।

‘हेप्ने ? राष्ट्रिय सहमति जस्तो विषयलाई पनि हेप्ने ? के प्रश्न हो यस्तो ? राष्ट्रिय सहमतिमा पनि कहीँ ‘लोकल लिडर’ हुन्छन् ? ‘लोकल लिडर’ त ‘लोकल सहमति’मा हुन्छन् । यति सामान्य कुरा पनि नबुझ्ने ? पत्रकार भएर के ‘ननसेन्स’ प्रश्न गरेको ?’, उहाँले राताराता आँखा पार्दै भन्नुभो ?

उहाँको अनुहार अलि रातो पिरो देखिएपछि प्रश्न सोध्ने पत्रकार हच्किए ।

तर, पत्रकार सम्मेलन न प¥यो, अर्का पत्रकार प्रश्न लिएर अगाडि बढे, ‘केके विषयमा कुरा भयो त्यहाँ ? मतलब, एजेण्डा केके थिए ?’

‘एजेण्डा ! एजेण्डाको कुरो गर्नुभा’को तपाईंले ? हैन, के कुरा गर्नुभा’को तपाईंले ? राष्ट्रिय सहमतिमा अरू के एजेण्डा हुन्छ, राष्ट्रिय एजेण्डाबाहेक ? यो पनि कुनै सोध्नुपर्ने कुरा हो र ?’, उहाँले पत्रकारलाई नै प्रतिप्रश्न गर्नुभयो ।

‘राष्ट्रिय एजेण्डामा छलफलचाहिँ केके भयो त ? ककसले केके मत राख्नुभो त्यहाँ ?’, पत्रकारले उहाँलाई प्रश्न राख्न छाडेनन् ।

‘एजेण्डा नै राष्ट्रिय भएपछि सबै राष्ट्रिय कुरा भए । सबैले एकमतले राष्ट्रिय कुरा राख्नुभो । तब न भयो राष्ट्रिय सहमति’, उहाँले राष्ट्रियमा जोड दिँदै भन्नुभयो ।

‘छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ, त्यहीबेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नुभए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय बैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भा’को छ’, उहाँले भनिदिनुभो । भनिदिनुभो यस कारण कि कार्यान्वयनका विषयमा बैठकमा छलफल नै नभएकाले उहाँले बनावटी सहमतिको कुरा भनिदिनुभो ।

‘यस्तो राष्ट्रिय सहमति कहाँ भएको हो ?’, पुनः फ्लोरतिरबाट बैठकस्थलका बारेमा जिज्ञासा आयो ।

‘यो सहमति राष्ट्रिय बैठकमा भएको हो’, उहाँले भन्नुभो ।

‘मतलब, मैले बैठकस्थलको कुरा गरेको ?’, पत्रकार अलिक प्रष्ट हुन खोजे ।

‘राष्ट्रिय सहमति राष्ट्रिय बैठककक्षमा भयो’, उहाँले स्थानका बारेमा थप प्रष्ट पार्नुभो ।

‘राष्ट्रिय नेताहरू राष्ट्रियताका विषयमा अब एकमत देखिएका हुन् त ? कि कसैको भिन्न मत पनि थियो ?’,  नेताहरू एकमत भए, नभएको बारेमा बुझ्न खोजियो ।

‘हो, राष्ट्रिय नेताहरूबीच अभूतपूर्व राष्ट्रिय एकता भयो । सब एकमत छन्, मतलब राष्ट्रिय एकमत’, उहाँले आफ्नो कोट मिलाउँदै भन्नुभो ।
‘यो राष्ट्रिय सहमतिको कार्यान्वयन हुन्छ त ?’, पत्रकारले कार्यान्वयनप्रति आशंका व्यक्त गरे ।

‘यो पनि कुनै प्रश्न हो ? सहमति भएपछि कार्यान्वयन त भै हाल्छ नि ! राष्ट्रिय सहमति राष्ट्रिय रूपमै कार्यान्वयन हुन्छ’, कार्यान्वयनको प्रश्न उठाएपछि उहाँले अलिअलि मुख बिगारे पनि कार्यान्वयन हुने दलिल पेस गर्नुभयो ।

‘बैठकमा राष्ट्रिय सहमति कार्यान्वयन मोडालिटीका बारेमा पनि केही छलफल भयो कि ?’

‘कस्तो कुरा गर्नुभा’को तपाईंले ? सहमतिको कुरा भैर’को बेला कार्यान्वयन ‘मोडालिटी’को कुरा गरेर विषयान्तर नगर्नुस् न ! अहिले सहमतिको बारेमा मात्र पत्रकार सम्मेलन हो, त्यही कुरा गर्नुस्’, उहाँले भन्नुभयो ।

‘अनि कार्यान्वयनचाहिँ ?’

‘फेरि उही कार्यान्वयनका कुरा ? ल सुन्नुस् ! कार्यान्वयनका लागि अर्को राष्ट्रिय कार्यान्वयन बैठक बस्छौँ, त्यसपछि भनौँला’, उहाँले झर्किंदै भन्नुभो ।

‘त्यसो भए राष्ट्रिय कार्यान्वयन बैठक कहिले बस्छ ?’, उहाँ झर्के पनि पत्रकार छाड्नेवाला थिएनन् ।

‘छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ, त्यहीबेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नुभए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय बैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भा’को छ’, उहाँले भनिदिनुभो । भनिदिनुभो यस कारण कि कार्यान्वयनका विषयमा बैठकमा छलफल नै नभएकाले उहाँले बनावटी सहमतिको कुरा भनिदिनुभो ।

‘त्यसो भए बैठकको निष्कर्षचाहिँ के त ?’, उहाँलाई अन्तिमतिर सोधियो ।

‘बैठकको निष्कर्ष राष्ट्रिय सहमति’, उहाँले हँसिलो अनुहार पार्दै भन्नुभो ।

‘ओहो ! कुन विषयमा राष्ट्रिय सहमति ?’, पत्रकारबाट प्रश्न आउँदै थियो ।

‘ल, आजलाई यति बुझ्नुस्’, उहाँ उठ्नुभो र दौराको फेर मिलाउँदै बाटो लाग्नुभो ।