गजलमा पीएचडी गर्ने पहिलो नेपाली डा. घनश्याम परिश्रमी : गजल, गजल र गजलमै निरन्तर

गजलमा पीएचडी गर्ने पहिलो नेपाली डा. घनश्याम परिश्रमी : गजल, गजल र गजलमै निरन्तर

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  कार्तिक ३०, २०७६

स्याङ्जाको साविक कृष्णगण्डकी गाउँपंचायतमा वि. सं. २०१५ असार १४ गते जन्मिनुभएका डा. घनश्याम परिश्रमी नेपाली साहित्यको विशेषगरी गजल विधामा सुपरिचित हुनुहुन्छ । झण्डै चार दशकदेखि गजललेखन, प्रशिक्षण, अनुसन्धान र अभियानका क्षेत्रमा क्रियाशील परिश्रमी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पनि हुनुहुन्छ । उहाँले हालसम्म विश्वविद्यालयमा कति विद्यार्थीलाई शिक्षा दिनुभयो, त्यो हिसाब गर्न बाँकी नै होला तर नेपाली गजलका लागि उहाँले गर्नुभएको योगदान भने अविश्मरणीय रहनेछ । र, नेपाली गजलमा युवा जमातलाई आकर्षण गर्न तथा गजलको विकास र विस्तार गर्नमा उहाँको नाम अगाडि आउँछ ।

साहित्य लेखन, प्रशिक्षण र प्राध्यापनमा सक्रिय डा. घनश्याम परिश्रमीको जीवनयात्रा र साहित्ययात्राबारे यस पटक लोकसंवाद डटकमले उत्खनन्को जमर्को गरेको छ ।

जन्म, बाल्यकाल र शिक्षा

स्याङ्जा जिल्लाको मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मिनुभएको हो परिश्रमी । बुबा पुरोहित हुनुहुन्थ्यो । स्थानीय विद्यालयमा शिक्षण पनि गर्नुहुन्थ्यो बुबा । घरपरिवार चलाउन पुग्ने आम्दानी थियो बुबाको । संस्कृत पढ्नुभएका बुबाले छोराछोरी विद्वान् हुन् भन्ने चाहना राख्नेहुनु नै भयो । परिश्रमी पहिलो सन्तान । उहाँपछि दुई बहिनी जन्मिनुभयो ।

परिवार त्यस समयको धेरै ठूलो होइन । आर्थिक रूपमा कमजोर पनि थिएन । सामाजिक प्रतिष्ठा पनि राम्रै थियो ।

परिश्रमीको बाल्यकाल सुखसँग नै बित्यो । एक्लो छोरो, परिवारमा मायाको कुनै कमी नै भएन उहाँलाई ।

उहाँको घरमा बुबाले गाउँका अन्य केटाकेटीलाई पढाउनुहुन्थ्यो । बुबाले पढाएको हेर्दाहेर्दै परिश्रमीले ५ वर्षको नभई कखरा जानिसक्नुभएको थियो । धुलोपाटीमा अरूले लेखेको हेरेर उहाँले आफैँ अभ्यास गर्दै जानुभयो ।

६ वर्षको उमेरमा स्थानीय विद्यालयमा कक्षा एकमा भर्ना हुनुभयो परिश्रमी । ३ कक्षादेखि उहाँ नजिकै रहेको मामाघरममा गएर पढ्न थाल्नुभयो । त्यहाँ ५ कक्षासम्म पढेपछि पुनः गाउँमै खुलेको विद्यालयमा आएर पढ्न थाल्नुभयो ।

स्थानीय विद्यालयमा अंग्रेजी पढाउने शिक्षकलाई घरमा राखेर आफू पनि अंग्रेजी पढ्न थाल्नुभयो । संस्कृत पढेका बुबाले त्यसबेलै अंग्रेजी पनि जान्नुपर्नेरहेछ भन्ने बोध गर्नु ठूलो कुरा भएको परिश्रमी बताउनुहुन्छ ।

बबु–छोरा एउटै स्कुलमा

बुबाले संस्कृत पढेर पुरोहित गर्दै आउनुभएको थियो तर औपचारिक शिक्षा लिनुभएको थिएन । बुबालाई लागेछ, अब औपचारिक शिक्षा लिनु आवश्यक छ ।

छोरो (परिश्रमी)लाई एक कक्षामा भर्ना गरेसँगै बुबाले पनि त्यही विद्यालयमा ५ कक्षामा आफूलाई भर्ना गर्नुभएछ । रमाइलो के भएछ भने, परिश्रमी एक कक्षामा विद्यालय प्रथम (होल फस्र्ट) बन्नुभएछ, बुबा ५ कक्षामा दोस्रो । बुबाले ८ कक्षा पास गरेपछि शिक्षक तालिम लिनुभएछ र त्यही अर्थात् आफू पढेकै विद्यालयमा पढाउन थाल्नुभएछ । पछि त्यही विद्यालयको प्रधानाध्यापक भएर अवकास हुनभएछ । ‘आमा अझै बुबाको पेन्सन खाँदै हुनुहुन्छ’, परिश्रमी भन्नुहुन्छ ।

एसएलसी फेल भएपछि वनारस

परिश्रमी एसएलसीमा फेल हुनुभयो । गणितमा कमजोर भएकाले एसएलसी उहाँका लागि गाह्रो बन्यो । फेल भएपछि स्वाभाविक हो, मन विचलित बन्यो । त्यही रनाहामा उहाँ वनारस हान्निनुभयो र त्यहाँ संस्कृतमा ९ कक्षामा भर्ना हुनुभयो । २०३६ सालमा वनारसबाटै शास्त्री पूरा गर्नुभयो । तर, त्यसबीचमा उहाँले स्याङजा र नवलपरासीमै विद्यालयमा पढाउँदै पनि हुनुहुन्थ्यो ।

२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एमए गर्नुभयो ।

मविको प्रधानाध्यापक छाडेर क्याम्पस

२०४०-०४२ मा परिश्रमी नवलपरासीको दीपेन्द्र माविमा प्रधानाध्यापक हुनुहुन्थ्यो । जागिर स्थायी थियो । तलब पनि राम्रै थियो । तर, उहाँलाई लाग्यो, योग्यताअनुसारको काम भएन । उहाँले तत्कालै माविको छँदाखाँदाको स्थायी जागिर छाडेर योग्यताअनुसारको काम अर्थात् क्याम्पस पढाउनेतिर रोज्नुभयो ।

३ कक्षा पढ्दा लेखेको एउटा कविता सुनेपछि तत्कालीन उपप्रधानपंच रिसाएछन् । कविता लोकलयमा रहेछ– ‘पापीजन क्या धनी भए जनताको सर्वश्व चुसेर ।’ यो सुनेपछि उपप्रधानपंचले जंगिँदै भनेछन्, ‘के सुनाएको यस्तो ? यस्तो लेखाउने ?’

तनहुँको बन्दीपुरमा रहेको सामुदायिक क्याम्पस बन्दीपुर क्याम्पसमा पढाउन थाल्नुभयो । आफन्त र साथीभाइले ‘कस्तो गलत निर्णय गरेको ?’ भने पनि उहाँले आफ्नो निर्णय त्याग्नुभएन ।

‘विद्यालयमा १७ सय ५० रुपैयाँ तलब हुन्थ्यो, क्याम्पसमा १४ सय ७०’, परिश्रमी भन्नुहुन्छ, ‘तर, मैले त्यही रोजेँ किनकि मैले आफ्नो योग्यतालाई सम्मान पनि गर्नु थियो ।’

उहाँलाई विश्वविद्यालय सेवा आयोग पास गर्छु भन्ने आत्मविश्वास थियो रे ! त्यही भएर यति ठूलो चुनौती उठाउन कति पनि हिच्किचाहट लागेन रे ! ‘म आफूप्रति विश्वस्त थिएँ’, परिश्रमी भन्नुहुन्छ, ‘म आयोगबाट नाम निकाल्छु भन्नेमा ढुक्क पनि थिएँ ।’
नभन्दै उहाँले २०५० सालको त्रिवि सेवा आयोग पास गर्नुभयो । त्यसबीचमा उहाँले त्रिविका अन्य आंगिक क्याम्पसमा पढाउने प्रयास गरे पनि कसैले नपत्याएको स्मरण गर्नुहुन्छ ।

आयोग पास गरेर उहाँ तेह्रथुम जानुभयो पढाउन । केही महिना त्यहाँ पढाएपछि इलाम जानुभयो । इलाममा २ वर्ष पढाएर वीरगंज आउनुभयो । वीरगंजको प्रसिद्ध क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा ७ वर्ष पढाउनुभयो परिश्रमीले ।

२०५९ सालमा भैरहवा बहुमुखी क्याम्पस जानुभयो र १४ वर्ष त्यहाँ पढाउनुभयो । अहिले काठमाडौंको विश्वभाषा क्याम्पसमा पूर्वीय भाषा विभाग प्रमुख हुनुहुन्छ परिश्रमी ।

अब डेढ वर्षमा अवकास हुँदै हुनुहुन्छ परिश्रमी । त्यसपछि के त ? उहाँ भन्नुहुन्छ, ‘भाषा साहित्यको सेवा त छँदै छ नि !’

साहित्ययात्रा
एक कक्षा पढ्दै कविता

परिश्रमीको घरमा बुबा, काकाहरू संस्कृतका ग्रन्थ र उपनिषद् पढ्ने । लय, भाका हालेर छन्दका श्लोक पढेको सुन्दा उहाँमा कविताप्रति आकर्षण बढेको ठान्नुहुन्छ ।

उहाँ एक कक्षामा भर्ना हुँदै कविता लेखेर विद्यालयमा सुनाउनुभएको रे ! उक्त कविता सुनेर शिक्षकहरूले प्रेरणा दिएको सम्झनुहुन्छ परिश्रमी । ‘विद्यालयमा शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्थ्यो’, परिश्रमी भन्नुहुन्छ, ‘एक कक्षामा पढ्दै मैले उक्त कार्यक्रममा कविता सुनाएको थिएँ ।’

पछि ३ कक्षादेखि त उहाँ हरेकजसो प्रतियोगितामा भाग लिँदै पुरस्कृत हुँदै जानुभयो । त्यही पुरस्कृत भएकै कारण उहाँलाई आफूमा साहित्यचेत र प्रतिभा छ भन्ने लागेको रे ! ‘धेरै पटक पुरस्कार पाएँ’, परिश्रमी सम्झनुहुन्छ, ‘कापी त मैले किन्नै पर्दैनथ्यो, कहिलेकाहीँ कसैकसैले ५ पैसा पनि दिन्थे ।’ त्यसबेलाको ५ पैसा थोरै होइन ।

त्यसो त उहाँ लेखनाथ पौड्याल, देवकोटालगायतका कविताहरू पढ्नुहुन्थ्यो सानैदेखि । त्यसको छाप पनि होला आफूमा कविताप्रतिको आकर्षण भन्ने उहाँलाई लाग्छ अहिले ।

३ कक्षा पढ्दा लेखेको एउटा कविता सुनेपछि तत्कालीन उपप्रधानपंच रिसाएछन् । कविता लोकलयमा रहेछ– ‘पापीजन क्या धनी भए जनताको सर्वश्व चुसेर ।’ यो सुनेपछि उपप्रधानपंचले जंगिँदै भनेछन्, ‘के सुनाएको यस्तो ? यस्तो लेखाउने ?’

प्रिश्रमीको पहिलो रचना भने गोरखपुरबाट प्रकाशन हुने नेपाली छात्र संघको मुखपत्र ‘सिम्रिक’मा छापियो– २०३२ सालमा, ‘जागजाग’ शीर्षकको कविता । धरणीधर कोइरालाको चर्चित कविता ‘जागजाग’बाट प्रभावित भएर उक्त कविता लेखेको बताउनुहुन्छ परिश्रमी । ‘तर, कविताको शीर्षक मात्र उहाँको प्रभावमा हो, कवितामा मेरै शैली र शब्द थिए’, परिश्रमी भन्नुहुन्छ ।

यसपछि केही समय उहाँ निरन्तर कविता साधनामा लाग्नुभयो । केही कथाहरू पनि लेख्नुभयो बीचमा ।

१० कक्षा पढ्दा नै गुरु डिल्लीनारायण पाण्डेयले छन्दबारे सिकाउनुभएको थियो । त्यसबेलै परिश्रमी छन्दमा कविता लेख्ने गर्नुहुन्थ्यो । २०३२ सालमा उहाँको ‘अन्त्यमा’ नामक खण्डकाव्य आयो । यसपछि कृतिकारका रूपमा पनि उदाउनुभयो परिश्रमी ।

हिन्दी र नेपाली गजललाई राम्ररी अध्ययन गर्नुभएका परिश्रमीको मत छ, ‘मैले पनि सुरुमा बहरमा लेखिनँ तर जब गजलबारे खोजेँ, बुझेँ, मलाई लाग्यो– गजल बहरमै लेखिनेरहेछ ।’

पण्डुलिपि हराए

उहाँले लेखेका ४ वटा कृतिका पाण्डुलिपि हराएकामा परिश्रमीलाई ठूलो पीर छ । ५ सर्ग लेखिसकिएको ‘लक्ष्मी’ महाकाव्यको पाण्डुलिपि हरायो । ‘पापी पल्टन’ नामक खण्डकाव्यले पनि संसार देख्न पाएन । यसरी नै पौराणिक नारी पात्रहरू यशोधरा, द्रौपदी र सीतालाई केन्द्र बनाएर लेखिएको ‘नारी विलौना’ खण्डकाव्य पनि प्रकाशन हुनै नपाई हरायो । ‘निकै खोज्दा पनि भेटिएन’, परिश्रमी भन्नुहुन्छ, ‘ती कृति प्रकाशनको रहर यसै मर्‍यो ।’

२०४२ देखि निरन्तर गजलमा

२०४२ सालताका नेपालमा गजलको भर्खर पुनर्जागरण हुँदै थियो । ज्ञानुवाकर पौडेल, धर्मोगत शर्मा तुफान, मनु ब्राजाकीलगायतले गजल लेखिरहेको समय थियो । त्यही मेसोमा जोडिन मनलाग्यो परिश्रमीलाई ।

साहित्यिक पत्रिका ‘बगर’मा मनु ब्राजाकीको एउटा गजल पढेपछि आफू गजलमा आकर्षित भएको बताउनुहुन्छ परिश्रमी । उक्त गजलबाट आफू निकै प्रभावित भएको र पछि ज्ञानुवाकर, ललिजनलगायतसँग सम्पर्क बढेपछि निरन्तर गजलकै क्षेत्रमा लागेको उहाँको भनाइ छ ।

२०४५ सालमा मधुपर्कमा आफ्नो गजल छापिएपछि भने उहाँमा गजलप्रतिको लगाव अझ बढ्यो । रमाइलो के भएको रहेछ भने, मधुपर्क, गरिमा भनेका त्यसताकाका प्रसिद्ध र ठूला साहित्यिक पत्रिका । ती पत्रिकामा आफ्ना रचन छपाउने चाहना सबैलाई नै हुन्थ्यो । परिश्रमीले निकै अघिदेखि मधुपर्कका लागि कविता पठाउनुहुँदोरहेछ तर छापिँदोरहेनछ । एक पटक काठमाडौं आएका बेला मधुपर्क कार्यालय गएर संपादकलाई गुनासो गर्नुभएछ । सम्पादकले ‘स्तरीय र योग्य भए त छापिइहाल्थ्यो नि !’ भनेपछि उहाँ सरकक्क फर्किनुभएछ ।

तर, त्यही पत्रिकामा उहाँको गजलचाहिँ छापिएपछि लागेछ, मेरो क्षेत्र खासमा गजल नै हो । त्यसपछि पनि उहाँ गजलमै निरन्तर लाग्नुभएको बताउनुहुन्छ ।

गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली

गजलमै समर्पित भइरहनुभएका परिश्रमीले गजलकै बारेमा खोज अनुसन्धानको सोच बनाउनुभयो । पीएचडी गर्ने सोच बनाइरहेका बेला उहाँलाई लाग्यो, आफू समर्पित क्षेत्रमै अध्ययन गर्छु । उहाँ गजलबारे खोज्न भारतका विभिन्न स्थान र पुस्तकालय धाउनुभयो । विभिन्न स्रष्टा र विश्लेषकलाई भेट्नुभयो । र, अन्ततः २०५८ सालमा उहाँले पीएचडी पूरा गर्नुभयो- ‘हिन्दी और नेपाली गजलों का विश्लेषणात्मक अध्ययन’ शीर्षकमा । अनि बन्नुभयो, गजलमै पीएचडी गर्ने पहिलो नेपाली ।

गजल परिष्कार अभियानका अभियन्ता

परिश्रमी नेपाली गजल परिष्कार अभियानमा निकै लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँलाई नेपाली गजललेखन परंपरामा देखिएका धेरै कमीकमजोरी सुधार गर्न मन छ । नेपाली गजलका शैली, शिल्पगत, लयगत र प्रस्तुति अनि विषयगत कमीकमजोरीलाई परिष्कार गरे लैजान सके नेपाली गजलले आयातीत विधा र ओठ निचोर्दा दूध आउनेले लेख्ने विधा अनि वनमारा झारको आरोप खेप्नु नपर्ने उहाँको बुझाइ छ ।

कसैले के, कसैले के नाम र उपनाम राखे । घनश्यामले भने परिश्रमी छान्नुभयो । किन ? ‘सानैदेखि सुन्दै आएको परिश्रमको फल मीठो हुन्छ भन्ने वाक्य अनि मिहिनेत, परिश्रम गर्ने मान्छे मात्र सफल हुन्छ भन्ने अग्रजको भनाइबाट म प्रभावित भएँ होला सायद’, परिश्रमी भन्नुहुन्छ ।

उहाँ लामो समयदेखि गजलमा बहरको पक्षमा वकालत गर्दै आउनुभएको छ । हिन्दी र नेपाली गजललाई राम्ररी अध्ययन गर्नुभएका परिश्रमीको मत छ, ‘मैले पनि सुरुमा बहरमा लेखिनँ तर जब गजलबारे खोजेँ, बुझेँ, मलाई लाग्यो– गजल बहरमै लेखिनेरहेछ ।’

बहरमा लेख्दा पिंगल छन्दमा भन्दा केही सजिलो हुने र त्यहाँ लचकतका नियम भएकाले सहज हुने परिश्रमीको मत छ ।

उहाँ अहिले नेपालीमा लेखिएका झ्याउरे र गीतिलय अनि बहर एउटै र उही हैसियतका अर्थात् समान रूपका नभएका बताउनुहुन्छ । ‘तर, प्रयोगमा भने सबै किसिमका लय आएका छन्’, परिश्रमी भन्नुहुन्छ, ‘नेपाली गजलमा लयका बारेमा निष्कर्षमा पुग्न जरुरी भने छ ।’

समालोचनामा पनि

परिश्रमी कविता, कथा हुँदै गजलमा जम्नुभयो तर उहाँले समालोचना र समीक्षाका क्षेत्रमा पनि कलम चलाउनुभयो । सिर्जना प्रतिभा हो तर समालोचना प्रतिभा मात्र नभएर योग्यता पनि हो भन्ने धारणा छ उहाँको । योग्यता अध्ययन र विश्लेषणबाट प्राप्त हुने तर्क गर्नुहुन्छ उहाँ ।

परिश्रमीले २०४४ सालदेखि नै समालोचनामा हात हाल्नुभएको हो । ताना शर्मा र डा. ईश्वर बरालबाट आफूलाई प्रभावित बताउने परिश्रमीको २०४५ सालमा ‘प्रस्तुति’ पत्रिकामा मोतीराम भट्टबारेको समालोचना छापियो । २०४६ सालमा ‘गरिमा’मा ‘काव्यमा प्रतीकको महत्त्व’ छापियो ।

उहाँका यी समालोचना पढेपछि उहाँलाई मान्छेहरूले निकै परिपक्व मान्छे ठाने रे ! ‘मान्छे जवान थिएँ’, परिश्रमी भन्नुहुन्छ, ‘तर, समालोचना पढेर पाको भन्ने सोचेछन् ।’

उहाँका हालसम्म समालोचनाका विविध विषयका ६ वटा पुस्तक प्रकाशित छन् । यसरी नै गजलका ४ वटा, बालगजल एउटा, गजलको सैद्धान्तिक पुस्तक एउटा, गजलका पुस्तकमा लेखिएका भूमिकाको संकलन भूमिकावली एउटा प्रकाशित छन् । उहाँले ३०० बढी किताबमा भूमिका लेखिसक्नुभएको बताउनुहुन्छ ।

यसका अतिरिक्त विद्यालय र विश्वविद्यालयका विभिन्न तहका पुस्तकहरू पनि लेख्नुभएको छ उहाँले ।

अनि हुनुभयो ‘परिश्रमी’

घनश्याम परिश्रमीको पछि जोडिएको उपनाम ‘परिश्रमी’ जन्मँदै ल्याइएको थर होइन । उहाँको कुलको थर भने न्यौपाने हो । उहाँ ८ कक्षा पढ्दासम्म घनश्याम न्यौपाने हुनुहुन्थ्यो । ८ कक्षा पढ्दै गर्दा साथीभाइबीच नयाँ नाम र उपनाम राख्ने होड चल्यो ।

कसैले के, कसैले के नाम र उपनाम राखे । घनश्यामले भने परिश्रमी छान्नुभयो । किन ? ‘सानैदेखि सुन्दै आएको परिश्रमको फल मीठो हुन्छ भन्ने वाक्य अनि मिहिनेत, परिश्रम गर्ने मान्छे मात्र सफल हुन्छ भन्ने अग्रजको भनाइबाट म प्रभावित भएँ होला सायद’, परिश्रमी भन्नुहुन्छ ।

भयो पनि त्यस्तै, उहाँ निरन्तर परिश्रम र मिहिनेतलाई प्राथमिकतामा राखेर बढ्नुभयो । ‘यी अहिले जति पनि माया, सम्मान र सद्भाव पाएको छु’, परिश्रमी भन्नुहुन्छ, ‘त्यो मेरो परिश्रमकै प्रतिफल त हो ।’