इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग  र नित्य सन्यास

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  कार्तिक ३०, २०७६

पञ्चमोऽध्यायः

अर्जुन उवाच –
    संन्यासं कर्मणां कृष्ण पुनयोंगं च शंससि ।
    यच्छ्र्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिनिश्चितम् ।। १ ।।

अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुनले भने, कृष्ण = हे कृष्ण ! कर्मणां = अनुष्ठान रूप कर्महरूका, सन्यासं = परित्याग, पुनः = फेरि, योगं = अनुष्ठान योग, च = पनि, शंससि = भन्नुहुन्छ, एतयोः = यी दुई मध्ये, यत् = जुन, श्रेयः = श्रेयस्कर छ, मे = मलाई, तत्= त्यो, एकं = एक, सुनिश्चितं = राम्ररी निश्चय गरिएको, ब्रूहि = भन्नुहोस् ।

भावार्थ –  अर्जुन भन्दछन् – हे कृष्ण ! कर्म सन्यास गर्ने कुरा भनेर फेरि कर्मयोगको कुरा गर्नुहुन्छ, यी दुई मध्ये जुन श्रेयस्कर छ त्यो एक मलाई निश्चय गरेर भन्नुहोस् ।

विशिष्टार्थ – चौथो अध्यायको १८  श्लोक देखि  ४१ श्लोकसम्म  सबै कर्महरूको सन्यासको कुरा भनियो, अनि ४२ औं श्लोकमा कर्मानुष्ठान लक्षण योगाश्रय गर्ने कुरा पनि भनिएको छ । परन्तु एउटै समयमा यी दुबैको अनुष्ठान हुनु असंभव छ । अब कुनलाई अवलम्बन गर्नु उचित हुन्छ ? सबै ब्रम्ह हो, यस ज्ञानलाई अवलम्बन गरेर केही नगरिकन त्यसै वस्नु उचित हुन्छ या कर्मको अनुष्ठान गर्नु उचित हुन्छ ? मनमा यस प्रकारको भावनाको उदय भएपछि  कुन श्रेयस्कर छ यही जान्नका लागि अर्जुनले यो प्रश्न उठाएका हुन् ।

श्रभिगवानुवाच –
    सन्यासः कर्मयोगश्च निः श्रेयसकरावुभौ ।
    तयोऽस्तु कर्मसन्यासात् कर्मयोगो विशिष्यते ।। २ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = श्रीभगवानले भन्नु भयो, सन्यासं = कर्महरूको परित्याग, कर्मयोगः च = कर्महरुको अनुष्ठान पनि, उभौ = दुबै, निःश्रेयस्करौ = मोक्ष दिने हुन्, तु = तथापि, तयोः = ती दुईमध्ये, कर्मसन्यासात् = कर्मसन्यास भन्दा, कर्मयोगः = कर्मयोग, विशिष्यते = श्रेष्ठ छ ।

भावार्थ – श्री भगवानले भन्नुभयो, कर्मसन्यास र कर्मयोग दुबै मोक्ष दिने वाला हुन् तथापि यी मध्ये कर्म सन्यास भन्दा कर्मयोग श्रेष्ठ छ ।

विशिष्टार्थ – चौथो अध्यायको ४१ औं श्लोकमा ज्ञान र कर्मसन्यासलाई श्रेष्ठ मानिएको छ भने यस श्लोकमा कर्मयोगलाई श्रेष्ठ मानिएको छ । यसको कारण हो – अधिकारी भेद प्रदर्शन गर्नु । कर्म र सन्यास साधन सोपानका दुई क्षेत्र हुन् – कर्म तलको र सन्यास माथिको । जुन साधकहरू तल छन् तिनीहरूले माथि पुग्न पहिले कर्मको नै आश्रय लिनु पर्छ अनि मात्र सन्यासलाई पाउन सक्छन्, कर्म विना सन्यासलाई पाउन सकिदैन, अतः उनीहरूका लागि कर्म नै श्रेष्ठ छ । परन्तु जुन साधक माथि पुगिसकेका छन् अर्थात् सन्यास लिईसकेका छन् उनीहरूलाई कर्मको प्रयोजन नरहनाले उनीहरूका निम्ति सन्यास नै श्रेष्ठ छ । त्यसकारण दुबै नै निःश्रेयस्कर अर्थात् मोक्षप्रद हुन् भनिएको हो ।

भिन्न पुरुषद्वारा अनुष्ठान योग्य परस्पर विरुद्ध कर्म सन्यास र कर्मयोगको फल पनि फरक फरक हुनु पर्ने भन्ने शंका गरिन्छ, परन्तु जुन मानिसहरू कर्मानुष्ठान गर्दैनन् वा कर्ममा प्रवेशाधिकार पाएका छैनन् तिनीहरू बहुशास्त्रविद् भएर पनि बालक अर्थात् कर्मशून्य ज्ञानी हुन्, किन कि तिनीहरूले तत्वलाई प्रत्यक्ष गर्न सक्दैनन् । 

ज्ञेयः स नित्यसन्यासी यो न द्वेष्टि न कांक्षति ।
 निद्र्वन्द्वो हि महाबाहो सुखं बन्धात् प्रमुच्यते ।। ३ ।।

अन्वय र अर्थ – महाबाहो = हे महाबाहो ! सः = त्यो कर्मयोगी, नित्यसन्यासी = सदा सन्यासी, ज्ञेयः = संझनु योग्य छ , यः = जसले, न द्वेष्टि = न द्वेष गर्छ, न कांक्षति = न कुनै वस्तुको आकांक्षा गर्दछ, हि = यसकारण, निद्र्वन्द्वः = रागद्वेष आदि द्वन्द्वबाट रहित, सुखं = अनायासनै, बन्धात् = संसारबन्धनबाट, प्रमुच्येत = मुक्त हुन्छ ।

भावार्थ – हे महाबाहो ! जुन पुरुषले द्वेष गर्दैन, कुनै वस्तुको आकांक्षा राख्दैन निश्चय नै त्यस्तालाई नित्य सन्यासी भनेर जान्नुपर्छ, किन कि निद्र्वन्द्व पुरुषले नै अन्यायासनै संसार बन्धनबाट मुक्ति लाभ गर्दछ ।

विशिष्टार्थ – क्रियामा सिद्धि प्राप्तिको इच्छा–आकांक्षा र  प्राकृतिक भाव त्याग गर्ने इच्छा–द्वेष हो । जुन मनुष्य द्वेष र आकांक्षाले रहित भएर केवल गुरुवाक्य अनुसार क्रिया गर्दछ र सावधानीपूर्वक देख्दछ कि ठीक त्यस वाक्य अनुसार क्रिया हुन्छ या हुँदैन (यस बाहेक मनभित्र अरू कुनै दोस्रो भावलाई राख्दैन) त्यही निष्कामी हो, सुद–दुःख, राग–द्वेष आदि द्वन्द्वभाव उसमाम रहदैन । यसरी साधकका अगाडि कुनै प्रकारको कश्मल आउन सक्दैन, आत्मपथ उसका लागि खुलै रहन्छ, त्यसकारण मुक्ति उसका लागि अनायास साध्य हो, अतः ऊ नित्य सन्यासी हो ।

    सांख्ययोगौ पृथक्बालाः प्रवदन्ति न पण्डिताः ।
    एकमप्यास्थितः सम्यगुभयो र्विन्दते फलम् ।। ४ ।।

अन्वय र अर्थ – सांख्यायोगौ = सांख्ययोग र कर्मयोग दुबैलाई, पृथक् = अलग अलग, बालाः = अज्ञानी, प्रवदन्ति = भन्दछन्, न = नकि, पण्डिताः = पण्डित्जन, (अनयोः = यी दुई मध्ये), एकं = एक, अपि = पनि, सम्यक् = राम्ररी, आस्थितः = अनुष्ठान गर्नेले, उभयोः = दुबैको, फलं = फल, विन्दते = प्राप्त गर्दछ ।

भावार्थ – अज्ञानी मनुष्यहरूनै सांख्य एवं योगलाई पृथक् पृथक् भन्दछन्, परन्तु पण्डितहरू भन्दैनन् । जसले यी दुई मध्ये एकलाई पनि राम्ररी अनुष्ठान गर्दछ उसले दुबैको फल प्राप्त गर्दछ । 

विशिष्टार्थ – भिन्न पुरुषद्वारा अनुष्ठान योग्य परस्पर विरुद्ध कर्म सन्यास र कर्मयोगको फल पनि फरक फरक हुनु पर्ने भन्ने शंका गरिन्छ, परन्तु जुन मानिसहरू कर्मानुष्ठान गर्दैनन् वा कर्ममा प्रवेशाधिकार पाएका छैनन् तिनीहरू बहुशास्त्रविद् भएर पनि बालक अर्थात् कर्मशून्य ज्ञानी हुन्, किन कि तिनीहरूले तत्वलाई प्रत्यक्ष गर्न सक्दैनन् । त्यस्तै जुन मनुष्यहरू कर्मी छन् तिनीहरूमा शास्त्रज्ञान नरहेता पनि तिनीहरू तत्व तत्वमा विचरण गर्दै विश्वप्रपञ्चको  आदि कारणलाई प्रत्यक्ष गर्दछन्, त्यसकारण तिनीहरू पण्डित हुन् । ती कर्मशून्य ज्ञानी केवल अनुमान माथि निर्भर गरेर मात्र भाषाको दाउपेचले यसबाट उसलाई उसबाट एकलाई अलग गर्दछन् । सत्य निर्देश गर्ने दर्शनशक्ति तिनीहरूमा छैन । किन्तु जो पण्डित छन् तिनीहरू दुबैलाई अलग अलग फल दिने भन्दैनन्, किन कि उनीहरूले दुबैको साधना प्रणालीलाई नहेरेर ती दुबैको वास्तविक परिणामलाई हेर्दछन् अर्थात् मन प्राण समर्पणले भित्र बाहिर पवित्र गर्दछन् । यो योगमार्ग त्यही हो । प्राणमा मन दिएर सम्यक् प्रकारले ब्रम्हण्याधाय कर्मणि मामनुस्मरन् गर्दै गर्दै तन्मय हुँदा जुन फल मिल्छ कूटस्थ पार भएर सहस्रारमा पुगेर मनमा मन दिएर नादसंग मिलेर लय हुँदा पनि त्यही फल मिल्दछ अर्थात् दुबैमा मोक्ष छ । जसरी भए पनि चित्तलय हुनु मोक्ष हो । त्यो कर्मद्वारा होस् वा सांख्यद्वारा अतः यो वर्णन प्रकरण विरुद्ध छैन ।

    यत्सांख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।
    एकं सांख्यं च योगं च यः पश्यति स पश्यति ।। ५ ।।

अन्वय र अर्थ – सांख्यैः = ज्ञाननिष्ठ सन्यासीहरूद्वारा, यत् = जुन, स्थानं = मोक्षनामक स्थान, प्राप्यते = प्राप्त गरिन्छ, योगैःअपि कर्म योगिहरूद्वारा पनि (परमार्थ ज्ञानरूप सन्यास प्राप्तिद्वारा), तत् = त्यही स्थान, गम्यते = प्राप्त गरिन्छ । (अतः), यः = जसले, सांख्यं = सांख्ययोगलाई, च = र, योगं = कर्म योगलाई, च = पनि, एकं एउटै, पश्यति = देख्दछ, सः = त्यसले, पश्यति = यथार्थ देख्दछ ।

भावार्थ – ज्ञाननिष्ठ सन्यासीहरू जुन स्थान लाभ गर्दछन्, कर्मयोगीहरु पनि त्यही स्थान लाभ गर्दछन्, अतएव सांख्य र योगलाई जुन पुरुषले एउटै देख्छ त्यही नै यथार्थ दर्शी हो ।

विशिष्टार्थ – षट्चक्रको क्रिया कर्मयोग हो भने सहस्रारको क्रिया सांख्ययोग हो । यी दुबैको नै परिसमाप्ति एउटै छ । मूलधारदेखि सहस्रारको ब्रम्हरन्ध्रसम्म सुषुम्नान्तर्गत एक ब्रम्हनाडी विस्तृत छ । यस ब्रम्हनाडीमा सम्यक् प्रकार प्रवेश गर्नाले अरू चक्रभेद रहदैन, क्रियपद निष्क्रियपद भेद रहदैन, सबै एक हुन्छ । जसले यस एक भावलाई देखेको छ अर्थात् प्रत्यक्ष गरेको छ उसैले यथार्थरूपमा देखेको छ, त्यही पुरुष साक्षी स्वरूपले द्रष्टा अर्थात् ब्रम्हविद् हो ।

    संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
    योगयुक्तो मुनिब्र्रम्ह न चिरेणाधिगच्छति ।। ६ ।।

क्रमशः

याे पनि

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!

सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !

संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!