लोक उपचार विधि : उपचारमा तन्त्रमन्त्रको प्रयोग र तरिका

परिचय

व्यक्ति, परिवार वा समाजमा रहेका मानसिक एवम् शारीरिक रोग अर्थात् अशान्तिलाई हटाउन सस्वर एवम् साउतीको रूपमा भनिने वा फलाकिने मन्त्र हुन् । मन्त्रको प्रयोग क्रममा गरिने अन्य व्यावहारिक विधि तन्त्र हुन् । मन्त्रयानको दर्शनअनुसार मन्त्र शब्दको रिरुक्ति ‘मनः सन्त्राणनात् मन्त्र’ हुन्छ अर्थात् मनलाई रक्षा गरिरहने हुनाले नै मन्त्र भनिएको हो ।

मन्त्र शब्दको व्युत्पत्ति मननात् त्रायले यस्मात्स तस्मान् मन्त्रः प्रकीर्तितः । यसरी मन्त्र शब्दले उक्त सन्दर्भकै अर्थबोध गराउँछ । मन्त्रको व्युत्पत्ति मन्त्रते गुप्त परिभाष्यते इति अर्थात् गोप्य रूपले साधनामा लागी फल प्राप्त गरिने शब्द, वर्ण वा वाणी (वाक्य)गत विशेषतत्त्व भन्ने बुझिन्छ । रहस्यपूर्ण कुरा, परामर्श देवताको साधनको निमित्त वैदिक वाक्य, जसलाई पढेर यज्ञादि क्रिया गरिन्छ । कुनै यस्तो शब्द, पद एवं वाक्य, जुन दैवी शक्तिबाट युक्त मानिएको होस् र जसको उच्चारण कुनै देवतालाई प्रसन्न गरेर त्यसले आफ्नो कामना पूरा गर्नका लागि गरिएको होस् । आचार्य हेमचन्द्रले मन्त्रलाई देवता आदिको आह्वान गर्ने योजना मानेका छन् :

तन्त्रमन्त्राद्यषणाक्षीणं यत्तृतीयादगोचरम्,
रहस्यलोचनं मन्त्रो रहश्छन्नमुमह्वरम् ।

यसरी वैदिक मन्त्रलाई यज्ञयज्ञादिमा प्रयोग गरिने र गर्नुपर्ने कर्मको बोध गराउने भन्ने अर्थमा यहाँ व्याख्या गरिएको पाइन्छ । मन्त्र शब्दका वैदिक, पौराणिक र तान्त्रिक रूपमा विविध प्रकारका भेद पाइन्छन् । तिनको अर्थमा पनि विविधता रहेको छ । मन्त्र टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प, बिच्छी आदिको विष झार्न झारफुकले प्रयोग गर्ने शब्द समूह, लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन हुन् । धामी– झाँक्री झारफुकेले प्रयोग गर्ने लागोभागो हटाउन पढिने वचन पनि मन्त्र हु्न् । लोकजीवनमा प्रचलित वा अप्रचलित मन्त्रहरू यति नै छन् भनेर किटान गर्न सकिँदैन ।

लामा–धामी, नाडी वा आखतबाट खुटिएपछि आवश्यकताअनुसार मन्त्रको वाचनले मदौरुलाई फुक्दा खरानी, कुचो, सिन्का, हँसिया, स्याउला, काठको पाटी, धुलो आदिमध्ये कुनै एक वा सबै चिजको खोजी गर्छन् । प्रायः वाचकले मन्त्रको साथमा तन्त्रलाई पनि महत्त्व दिने हुँदा उक्त सामग्रीको आवश्यकता रहेको हो । यिनमा पनि सबैभन्दा आवश्यक खरानीको रहन्छ । त्यसैले मन्त्र उच्चारण गर्नुअघि नै खरानी खोजिन्छ । कसैकसैले भने खरको कुचो नभए सेउलाले भए पनि पिट्दै फुक्दै गरेका हुन्छन् । मन्त्र कतिबेला र के कसरी प्रयोग गरिन्छ भन्ने कुरा मन्त्रका प्र्रयोक्ता र बिरामीलाई थाहा हुन्छ ।

उपचारमा मन्त्र

रोग निराकरणका लागि मानिसले लोकविश्वासको आधार अपनाउँदै मन्त्र कथेको बुझिन्छ, जसलाई रोगका विरुद्धमा प्रयोग गरिने हतियार वा औषधि मानिन्छ । त्यसैले औषधिको प्रतीक मन्त्र सिक्ने र फलाक्ने वा फुक्ने कर्म सनातन भइसकेको छ । फलाक्ने वा फुक्ने मन्त्रले अव्यवस्थित, असन्तुलित, अवर्णनीय दुःखको अवस्थालाई लोकविश्वासकै भरमा व्यवस्थित, सन्तुलित र आशामुखी मण्डलको निर्माण गरिदिन्छ । अनिष्टबाट मुक्त हुने विश्वासमा मानिसको मनोबल उच्च भएको हुन्छ । यी सबै कारणले बिरामीलाई आफ्नो अवस्था कुनै नौलो र जटिल प्रकृतिको नभएर सामान्य हो भन्ने लाग्छ ।

गोरखनाथ र पिनास फुक्ने मन्त्रबाहेक मन्द स्वरमा मृदु लयमा मन्त्र गाइन्छ, जसका कारणले मदौरुले दुखाइ कम भएको अनुभूति गर्छ । मन्त्रका वाचकले रोगीको रोगलाई निराकरण गर्न बेग्लै संसारको सिर्जना गर्छ । उसले रोग पैदा गर्छ । रोगीको शरीर सिर्जना गर्छ । साथमा एक संसारको निर्माण गर्छ, जहाँ रोगी आरामसँग बस्न सक्छ । यसले गर्दा रोगीमा आत्मबल बढ्छ र सुस्तसुस्त निको हुँदै गएको अनुभूति गर्न पुग्छ ।

गोरखनाथको मन्त्र

गोरखनाथको मन्त्र प्रयोग गर्नुलाई ‘फेरी लगाउने’ भनिन्छ । यस मन्त्रका माध्यमले शुभको कामना गरेर बिग्र्रँदो अवस्था वा संभावित रोगव्याधिसँग सामना गर्न तयार भएको जानकारी गराइन्छ । यसको लामो पाठ छ, जसलाई घरघर गएर गाउने काम गरिन्छ । यस विधिले व्यक्ति, परिवार एवं समाजको मनोवैज्ञानिक उपचार गर्छ । यसमा सिंह, वन, वनकी रानी, वनमा बस्ने वनस्कन्नी, वनमा खेल्ने, डुल्ने जीवजन्तु, बाघबघिनी, काग र घरको तगारो आदि सबैलाई उल्टो र सुल्टो गरी बाँध्ने कुरा छ ।

मरिमसान, भूत, पिचास, चारैतिर बन्धन बाँधेर पूर्व देशका साथै डंकिनी, कंकिनी, स्याग्यानी, रोग्यानी, पुज्यानीलाई बाँध्ने कुरा छ । छौँडा र गौँडालाई बाँधेर आफ्नै अधीनमा राख्दै चारै कुना बाँधी तीन पटक वाचा बाँधिन्छ । जल, थल जहाँ चले, त्यहीँ थलैमा बाँधिनेछ । चल्ने हात पाउ, हान्ने हात, हिँड्ने खुट्टा, चल्ने आङ, बोल्ने जिब्रो, सुन्ने कान, हेर्ने आँखासमेत बाँधिएको छ । चारै दिशा, चारै कुना, चौबाटो र आठै बाटो, आकाश, पाताल आदि सबैतिर बाँध्ने काम भएको छ ।

बन्धन बाँधिएपछि रोग वा भयका प्रतीक ठाउँको ठाउँ बन्द भए । यस कारणले रोगीको रोग निको हुने कुरामा स्वयं रोगीको मनमा विश्वास जाग्न थाल्छ । जहाँकहीँ रहे पनि बैरी मारिने छन् र रोगको नाश हुनेछ । यसरी रोग बढाउने दुश्कर्मयुक्त विद्या मारियो । रोगका प्रतीकको मुटु कलेजो फोरेर रगत पिई नाश गरिन्छ । नाइटे र पचभैया नामका रोगहरूलाई मारी सातै समुद्र तरियो । लम्डाछम्डा नाम गरेका रोगलाई भष्मै पारियो । यी सबै काम महादेवको भक्ति र उनबाट प्राप्त शक्तिले संभव भएको हो । त्यसैले विश्व महादेवालाई पुकारेर तीन पटक वाचा गरिन्छ । यसैगरी देवता, वासुकी नाग, गुरु, हनुमानलाई पनि सम्झिन्छ ।

चार काठका लिंगा पूजा स्थलमा गाडिन्छ, जसलाई बेसार र अँगारले रंगाउने काम हुन्छ । पहिले चामलको पिठोको रेखी हालिन्छ, त्यसमाथि बेसार र अँगारको पनि रेखी हालिन्छ । त्यसपछि भाले–पोथी कुखुराको पूजा गरिन्छ । बोक्सीको पूजा गर्न तीन जना जान्छन् । दिएको बलि गएका तीन जनाले मात्रै खान्छन् । बलि दिएको कुखुराको टाउको हँसियाको चुचाले खनेर दक्षिण फर्काएर गाडिन्छ ।

उपचार

जोगीहरूले मौखिक पाठहरूको अध्ययन र स्मरण गरेर जीवन र जगत्प्रतिको सामीप्य प्रकट गर्छन् र आस्थावान्को स्तम्भलाई दिगो राख्छन् । लोकजीवनमा मात्रै होइन, कृत्रिमपनले निम्त्याएका कष्ट र त्यसको उपचारका साथ सान्त्वना दिने काममा पनि यो विधि प्रयोग गरेको पाइन्छ । यसरी व्यावहारिक जीवनलाई सन्तुलनमा राख्ने प्रतिबद्धता प्रकट गरिएको छ । रोगको प्र्रतीक मानिएको जुन तत्त्व छ, त्यसको कल्पना गरिएको छ । जुन सबलाङ्ग र क्रियाशील पनि छ, जसले समाजमा अस्तव्यस्तता निम्त्याउने काम गर्छन्, उसको सक्रियता हाम्रो समाजलाई प्रत्युत्पादक बन्छ । त्यसैले जहाँ भेटियो, त्यहीँ बाँध्ने र निस्तेज पार्ने कुरा वा अठोट यहाँ गरिएको पाइन्छ ।

महादेवलाई गुरु मानी सम्बोधन गर्दा मदौरुलाई भलो हुने कुरामा विश्वास छ । कारण, महादेवलाई भूतेशा भनिन्छ र साथै ‘प्रमथाधियः’ पनि भनिन्छ । अतः यस विधिलाई अँगाल्दा जीवनमा आइपर्ने संभावित विघ्नबाधाबाट मुक्ति पाइन्छ ।

मानवले दुःखलाई हेरेर सुखको व्याख्या गर्छ । दुःख भनेकै रोग हो । दुःख जति सुखको नजिक जान्छ, त्यति सुख दुःखभन्दा टाढा भाग्छ तर पनि जसलाई हामी दुःखको कारक भन्छौँ, मन्त्रका वाचकले मन्त्र फलाकेर त्यसको शमन, दमन गर्ने र शान्तिपूर्ण रूपमा निष्क्रिय वा तटस्थ बनाउने काम गर्छन् ।

बोक्सी फुक्ने मन्त्र

बोक्सी हाम्रो समाजको मनोरोग हो । यो रोग विभिन्न प्राणीलाई विभिन्न अवस्था र सन्दर्भमा लाग्ने गर्छ । कसैले मीठो खाएको देख्यो, राम्रो लगाएको देख्यो, शारीरिक रूप डालसँग लोभियो, तार्किक अभिव्यक्ति प्रस्तुत ग¥यो, राम्रो एवं सर्वप्रिय काम ग¥यो आदि जस्ता काम कुरासँग लोभिएर निस्तेज पार्न क्रियाशील हुने बोक्सीको प्रवृत्ति हो । अदृश्य तर हानिकारक शक्तिका रूपमा नेपाली लोकसमाजले परंपरादेखि बोक्सीको भय पालेको छ । बोक्सी लाग्नु भनेको मानिस, पशु र वस्तुलाई बिमारी बनाउनु, गलाउनु र निस्तेज पार्नुको रूपमा लिइन्छ । बोक्सीहरू नातेदार छिमेकीहरू नै हुन्, कुनै अपरिचित मान्छेहरू होइनन् । यस्तो अवस्थामा यदाकदा आरोपितसँग मदौरु एवं परिवारका सदस्य झगडा गर्छन् ।

उपचार

अनायास मानिसलाई असजिलो महसुस भएमा वा पीडा भएमा बोक्सीको मन्त्रले फुकेर ठीक हुने विश्वास गरिन्छ । नेपाली समाज जबर्जस्त विश्वास के छ भने पेट दुख्ने, आँखा दुख्ने, हेर्न नहुने, जोर्नी दुख्ने, स्वाँस्वाँ हुने, नाक बन्द हुने, टाउको दुख्ने, पूरै वा आंशिक हर दुख्ने, घाँटी दुख्ने आदि बोक्सीका कारणले हो । बोक्सीहरूको कारणले उब्जिएका समस्याहरू दुःख, यातनाका प्रत्यक्ष कारणहरू हुन् । यस रोगको निवारणका लागि लोकसमाजले लोकउपचारको विधि अपनाउँदै आएको छ । रोग लागेको मानिसलाई हातमा खरानी लिएर फुकेर रोगबाट मुक्त गर्छन् ।

प्रायः सादा पानी, बेसारपानी, दूध, दही, फलफूल, जडिबुटीको रस एवम् पात वा अन्य खाद्यवस्तुमा दाल, भात, रोटी आदिलाई फुकेर बिरामीलाई खुवाइन्छ । मदौरुलाई निको पार्न गरिने विधि पनि संस्कारमा आधारित रहेको पाइन्छ तर मन्त्रको प्रयोग गर्दा वाचकले केही मौलिक नियमहरूलाई समेत पालना गरेको हुन्छ । बोक्सी शक्तिशाली सम्झिन्छ । उसको शक्तिलाई भुत्ते बनाउनु मन्त्र वाचकको उद्देश्य रहेको हुन्छ । सबैतिरका गौँडाहरू छेकी उसलाई परिबन्धमा पार्ने लक्ष्य राखिन्छ । यसका दुईवटा उद्देश्य रहेका हुन्छन् । पहिलो, बोक्सीले मन्त्रको वाचकलाई कुनै बाधा दिन नपरोस् । दोस्रो, आफ्नो काबुमा राखी मदौरुलाई रोगको प्रतीक बोक्सीले छाड्न बाध्य हुने अवस्था होस् ।

मरेर माटामा गाडिसकिएका बच्चा बोक्सीले झिकेर जगाउने र छौँडा बनाउने गर्छन् । यिनै छौँडाहरू मानिसलाई दुःख दिन लगाउँछन् । पश्चिम सिरानी लगाएर सुतेका, छातीमा हात राखेर सुतेका, शारीरिक वा मानसिक रूपमा कमजोर भएकाहरूलाई छौँडा लगाई उसको शक्ति खाने गर्छन् (ज्योतिलाल) । बोक्सीसँग उसका अनगिन्ती छौँडा हुने भएकाले मन्त्रवाहकलाई प्रहार गर्न सक्छन् । बोक्सीका रूपहरू किचकन्नी, संकिनी, डंकिनी, पचभैया आदिबाट दुःख आइलाग्छ । यिनै कारणले मन्त्रद्वारा बाटो छेकिएको हुन्छ । बोक्सीलाई चलखेल गर्न नदिईकन अर्थात् बन्धनमा पारेर दुहाइ पारिन्छ । बोक्सीलाई हल न चल पार्दै मदौरुलाई छोड्न बाध्य बनाइन्छ ।

बोक्सी

स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका– ५, बलामडाँडामा मदौरुको उपचार गर्ने क्रममा आखत हेर्ने धामीले बोक्सी लागेको भनेपछि बोक्सीको पूजा आधारातको समय पारेर दोबाटो वा चौबाटोमा गरिन्छ । चार काठका लिंगा पूजा स्थलमा गाडिन्छ, जसलाई बेसार र अँगारले रंगाउने काम हुन्छ । पहिले चामलको पिठोको रेखी हालिन्छ, त्यसमाथि बेसार र अँगारको पनि रेखी हालिन्छ । त्यसपछि भाले–पोथी कुखुराको पूजा गरिन्छ । बोक्सीको पूजा गर्न तीन जना जान्छन् । दिएको बलि गएका तीन जनाले मात्रै खान्छन् । बलि दिएको कुखुराको टाउको हँसियाको चुचाले खनेर दक्षिण फर्काएर गाडिन्छ । यो कार्य सम्पन्न भएपछि घर आएर बिरामीलाई ‘छोड छोड’ भन्दै फलाक्दै जलले छ्यापिन्छ ।

क्रमशः


डा. न्यौपाने तन्त्रमन्त्रका ज्ञाता हुनुहुन्छ ।