द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  मंसिर १, २०७६

पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्ने कुरा महाभारतमा पाइन्छ । उनी अयोनिजा देखिन्छिन् किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएकी भन्नेजस्तो व्यासले देखाएका छन् ।

हस्तिनापुरका राजगुरु तथा आफ्ना विस्मृत तथा अपमानित साथी द्रोणले पाण्डवमध्येका सबैभन्दा ठूला धनुर्धारी अर्जुनमार्फत् आफूसँग लिएको प्रतिशोधको ज्वालामा दन्किएका द्रुपद महाराजका लागि राजगुरु द्रोणाचार्यसँग बदला लिनु नै बाँकी जीवनको उद्देश्य रहेको थियो । शिखण्डी, जसलाई युवराजको रूपमा समाजमा प्रचार गरिएको थियो, उनी क्लिव थिए तर पनि महारथी नै थिए । न पुरुष, न महिला । उनीहरूलाई सौर्यका हिसाबले पुरुषमा गणना गरिँदैनथ्यो । अर्थात् महिलाजस्तै मानिन्थ्यो । महिलासँग वीर पुरुषले बराबरीमा लड्ने भनेको अपुरुषार्थी मानिन्थ्यो । त्यसैले शिखण्डीलाई महिलाको रूपमा जन्मेर पनि पछि पुरुषत्व प्राप्त गरेकाले उनलाई तेस्रो लिंगी वा उभय लिंगी वा क्लिव मानिएको थियो ।

त्यस्तो क्लिव सन्तानबाट द्रोणाचार्य जस्ता महान् धनुर्धारी योद्धालाई जितेर शरणागत बनाउनु वा मार्न सक्नु शिखण्डीबाट संभव नहुने कुरामा द्रुपद विश्वस्त थिए । त्यसैले शूरवीर पुत्र प्राप्तिका लागि यज्ञ गर्नुपर्ने सुझाव उनले पाए र वीर पुत्र, जसले द्रोणाचार्यको बध गर्न सकोस् भनेर यज्ञ गरियो । नभन्दै हातमा तरबार र धनु, शरीरमा कवचसहितको किशोर भनौँ या युवा यज्ञबाट निस्कँदा युवक मात्र निस्किएनन्, सँगै उनकी बहिनी पनि आइन्- श्यामवर्णकी सुन्दरी ।

एक किसिमले धृष्टद्युम्नलाई आफ्नो जन्मको कारण थाहा थियो । उनको उत्पन्न गर्नका लागि बोलिएका मन्त्रहरूले नै स्पष्ट गरेर मात्र उनको जन्म भएको हुनुपर्छ । कसैलाई नटेर्ने धृष्ट युवाको रूपमा उनको जन्म भएको थियो– अयोनिज पुरुष । त्यो समयमा गुरुहरूमध्ये सबैभन्दा तीक्ष्ण र क्षमतावान् राजगुरु भनेका नै कुरु दरबारमा रहेका गुरु द्रोणाचार्य थिए, जसलाई सहजीकरण गर्नका लागि राजगुरु कृपाचार्यले सहयोग गरेकै थिए ।

द्रुपदलाई द्रोणले युद्धमा मारे अनि धृष्टद्युम्नले द्रोणलाई युद्धमा मारे । कुरु परिवारभित्रको मारामारको त्यो कथाभित्र द्रौपदीको कथा झन् विचित्र रूपले गुत्थिएको छ । शिखण्डीको कथा पनि त्यसैगरी जेलिएको छ– प्रतिशोधको आगो निभाउनका लागि ।

कृपाचार्य कौरवको दरबारमा राजगुरुको रूपमा स्थापित थिए र उनकै बहिनी ज्वाइँ द्रोणाचार्य, कौरव र पाण्डवलाई एउटै पाठशालामा शिक्षा दिनका लागि दरबारबाट नियुक्त गरिएका आचार्य थिए । त्यसताका सबैभन्दा चतुर र तीक्ष्ण गुरुको रूपमा पुजित द्रोणाचार्य पनि आफ्ना अतीतका मित्रका वचन–वाणबाट छियाछिया भएको मन लिएर बाँचेका थिए– प्रतिशोधको ज्वाला छातीभित्र लुकाएर, भुसभित्रको आगो जस्तै गरी ।

द्रोणलाई त्यस्तो पात्रको अत्यन्त आवश्यकता थियो, जसले द्रुपदलाई पाता कसेर उनको चरणमा ल्याएर घोप्ट्याओस् र आफ्नो इच्छाअनुसारको दण्ड दिन पाइयोस् । उनले पाण्डवमध्ये पनि अर्जुनमा त्यो क्षमता लुकेको देखे र प्राणभन्दा पनि प्यारो छोरो अश्वत्थामाभन्दा पनि विश्वासपात्रको रूपमा सिकाउन थाले– युद्धकला, हतियार ।

त्यसबेलामा गुरुकुलका आचार्यहरू स्वतन्त्र रूपमा दरबारभन्दा टाढा कतै राजकुमार तथा ऋषिकुमारहरूलाई शिक्षा दिन्थे । शिक्षाको सबै प्रबन्ध सरकारले गथ्र्यो । विद्यार्थीहरूलाई ब्रह्मचर्याश्रमको कडा बन्धनमा राखेर सबै शिक्षार्थीहरूलाई एउटै समान व्यवहार गरिन्थ्यो । सबै शिक्षार्थीहरूले पालैपालो गरेर गृहस्थहरूसँगबाट भिक्षा ल्याएर भण्डारमा दाखिला गर्नुपथ्र्यो अर्थात् को राजकुमार वा को ऋषिकुमार, सबैलाई एउटै व्यवहार गरिन्थ्यो । त्यसमध्येका तीक्ष्ण र सक्षम विद्यार्थीका रूपमा ऋषिकुमार द्रोण थिए, त्यसैले द्रोणसँग मित्रता गाँस्न सबैजसो शिक्षार्थीमा लालसा रहन्थ्यो, जसमा पाञ्चाल कुमारले बाजी मारेका थिए ।

उनीहरूका बीचमा मित्रता अत्यन्तै हार्दिक थियो । लाग्थ्यो, त्यो हार्दिकता ब्रह्मचर्याश्रममा मात्र होइन, पछि गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रममा समेत रहिरहनेछ । आजीवन रहनेछ । मित्रता भनेको क्षणिक हुने त कुरै भएन । ‘मित्रता कस्तो त भन्दा द्रोण र द्रुपदको जस्तो’ भन्ने भनाइ नै थियो गुरुकुलमा । आत्मीय, हार्दिक र धवल सम्बन्ध मानिन्थ्यो उनीहरूका बीचमा ।

राजाको गृहस्थाश्रम भनेको राजपाठको समय हो । राजालाई आफू वृद्ध भएको र जनताको सेवामा सक्षम हुन नसकेको जस्तो लाग्नेवित्तिकै वानप्रस्थाश्रममा जाने चलन थियो र ७० वर्षभन्दा बढी हुन लागेपछि सन्यासाश्रममा प्रवेश गरिन्थ्यो । प्रायशः राजाहरू युद्धमा नै स्वर्गारोहण हुन्थे या आजन्म राजपाठमा नै लाग्न चाहन्थे । तर पनि आदर्श राजाले जनताको चाहनाबमोजिम नै आफ्ना युवा भाइ वा पुत्र वा पौत्रलाई राज्य सुम्पिएर वानप्रस्थ जाने चलन थियो ।

त्यसैबीच महाराज प्रिषतको स्वर्गारोहण भएपछि युवराज द्रुपदको राजा हुने पालो आयो र उनले राजपाठ सम्हाल्नका लागि गुरुकुलबाट बेलैमा बिदा लिए । पहिलेदेखि गुरुकुलमा नै युवराज द्रुपद र ऋषिकुमार द्रोणको भेट भएको थियो– सहपाठीका रूपमा । अत्यन्तै गाढा मित्रता भएकाले भावी पाञ्चाल नरेश दु्रपद बारम्बार आफू राजा भएपछि द्रोणलाई केके दिन सकिन्छ, त्यसको आश्वासन बाँडिरहन्थे ।

कतिसम्म भने आफू राजा भएपछि मुख्य मन्त्री वा सल्लाहकारका रूपमा समेत द्रोणलाई राख्ने र राज्यको करिब आधा हिस्सासमेत दिएर राख्ने महत्त्वाकांक्षाले द्रोणलाई एउटा स्वैरकल्पनाको बाटो देखाउने गथ्र्यो । जसरी हुन्छ, जीवनभर दुई साथीहरू नछुट्टिने प्रण बारम्बार गर्थे द्रुपद । द्रोणमा पनि पाञ्चाल नरेश द्रुपदको दरबारमा जाने र पुराना मित्रताका अनुभव साटासाट गरेर युवापनको याद ताजा गराउने इच्छा बारम्बार आउँथ्यो । मौका जो मिलिरहेको थिएन ।

कृपाचार्यकी जुम्ल्याही बहिनी कृपीसँग ऋषिकुमारबाट महान् धनुर्धारी द्रोणसँग विवाह भयो । द्रोणबाट द्रोणाचार्य भएका ओजस्वी र तेजस्वी ब्राह्मणको चर्चा चारैतिर चलेको थियो । चर्चा चल्नुको कारण थियो, ब्राह्मण आफैँ धनुर्धारी हुँदैनथे, धनुर्विद्या मात्र पढाउँथे तर द्रोणाचार्य अरू पनि धनुर्विद्याको सिकाइको खोजीमा भौँतारिरहेको बुझिन्थ्यो । मानौँ आफैँ ठूलो धनुर्धारी भएर युद्ध लड्नु छ र कसैलाई जितेर आफ्नो वसमा ल्याउनु छ ।

नियतिको खेला सधैँ सरल रेखामा हिँड्दैन । युवा वयको एउटा लय र सुरिलो झंकार एकैनास जीवनको एकतारेमा झंकृत भइरहँदैन । तिनै अभिन्न साथीहरू, द्रुपद र द्रोण पछि एकअर्काका महान् शत्रु भए, जसका कारणले धृष्टद्युम्न र कृष्णको उत्पत्ति भयो ।

द्रुपदलाई द्रोणले युद्धमा मारे अनि धृष्टद्युम्नले द्रोणलाई युद्धमा मारे । कुरु परिवारभित्रको मारामारको त्यो कथाभित्र द्रौपदीको कथा झन् विचित्र रूपले गुत्थिएको छ । शिखण्डीको कथा पनि त्यसैगरी जेलिएको छ– प्रतिशोधको आगो निभाउनका लागि । द्रौपदीको कथा त्यसैगरी उधिनिएको छ– प्रतिशोधको ज्वाला शमन गर्नका लागि ।

क्रमशः