भाषामा राजनीति: आफ्नै घर भत्काई पुराना सामान बेचेर खानु सरह हो
मंसिर २, २०७६

म भाषिक टुहुरो हुँ र भाषाविज्ञहरू टुप्पो काटेको सुक्न लागेको रूख ! तिनलाई सुक्न लागेको बूढो रूख हुनुमै मस्ती छ किनभने भाषाविद् हुनु तिनको जागिर हो, औकात हो, शक्ति हो । तिनलाई आफ्ना पात वा बोक्रा सुक्दै जानुमा केही मतलब छैन, बस, ऊ आफ्नो त्यही भाषिक रूपमा वृद्धि विकास नहुने औकातमै सन्तुष्ट छ, आफ्नै तारिफमा मस्त छ !

उसको मस्तीले मेरो भाषिक टुहुरोपन अझै सुनिश्चित भएको छ तर उसलाई मेरो टुहुरोपनको कुनै मतलब छैन, आफ्नो सुक्दै गएको बोक्रा र झर्दै गएको पातको कुनै मतलब छैन । मलाई थाहा छैन, त्यो के हो ? म जस्तै भाषिक टुहुरा मान्छेहरू भन्छन्- 'त्यो सुकेको रूख विश्वविद्यालय र एकेडेमी भएर आफूभित्रै दुई फ्याक भएको छ । दुवै फ्याकले एकले अर्कोलाई दोषारोपण गर्छन् र आफूचाहिँ राम्रो हुँ भन्छन तर आफू एकमुष्ट रूपमा सुकेको दुवैलाई थाहा छैन ।'

एक जना दक्षिण अफ्रिकी लेखक थिए, तिनको नाम थियो- ड्यामन गाल्गट । तिनले एक ठाउँ लेखेका थिए- 'कोठामा एउटा मान्छे हुञ्जेल मात्र राजनीति हुँदैन तर जब त्यहाँ दोस्रो मान्छे आउँछ, त्यो दोस्रो व्यक्तिसँगै त्यहाँ राजनीति पनि छिर्छ ।' हो, भाषाको कोठामा त्यस्तै भएको छ, वृद्धि विकास रोकिएका रूखका दुई चिराहरू एकआपसमा राजनीति गर्दै दोषारोपण गरेर बसेका छन् ।

‘आसुई–आस्सुई, कस्तो नमीठो गन्ध ! के कुहिएछ हेर हेर !’

मैले घरमा केही चिज सडेर गह्नाउँदा, कसैले वायु विकार फाल्दा (ठेट भाषामा ‘पाद्दा’) यस किसिमले आसुई–आस्सुई शब्द प्रयोग गरेको सुनेको थिएँ, विशेष गरेर बुढो पुस्ताले यो शब्द धेरै प्रयोग गर्थे ।

हजुरबाले यो किसिमका शब्द धेरै प्रयोग गर्नुहुन्थ्यो । यो नमीठो गन्धको विशेषता जनाउने अनुकरणात्मक शब्द हो । पछि यसलाई ‘छ्या’ वा ‘छि’ शब्दले विस्थापित गर्दै लग्यो । जाडो हुँदा आच्छु, तातोले पोल्दा आत्था, दुख्दा ऐऽया भन्ने शब्दकै हिसाबले यो शब्द पनि अस्तित्वमा हुनुपर्ने हो तर मैले यसको प्रयोग अहिले देखेको छैन ।

छि वा छ्या शब्दहरू जेसुकै नराम्रो कुरामा पनि प्रयोग गर्न सकिन्छ । ती गन्धको हकमा मात्र सीमित हुँदैनन् । मलाई थाहा छैन, त्यस्ता विशिष्टीकृत शब्द कता हराए वा तिनलाई शब्दकोशले चिन्छ कि चिन्दैन ? मसँग उपलब्ध नेपाल प्रज्ञाप्रतिष्ठानको शब्दकोश मेरा हजुरबाले त्यो शब्द बोलेकै समयजति पुरानो छ तर मैले यो शब्द त्यहाँ देखिनँ ।

यस्ता शब्द धेरै छन्, जसलाई नलेखे लोप भएर जान सक्छन्, लेखे पनि तिनले वैधानिक रूपमा शब्दकोशमा प्रवेश नै पाउँदैनन् ।

भाषा निरन्तर विकास हुने कुरा हो । विविध स्थान, स्थानीय प्रयोग, संस्कृति तथा भाषाबाट अंग्रेजीमा दैनिक रूपमै शब्द थपिन्छन् र हरेक वर्ष इङलिस डिक्सनरीको नयाँ संस्करण नयाँ शब्दसहित अद्यावधिक गरिन्छ । भाषा धनी हुँदै जानु र कंगाल नै रहनुमा यसरी भाषा अद्यावधिक गर्ने कुराको मुख्य हात रहन्छ ।

मैले अंग्रेजीमा रहेका शब्दहरू अनुवाद गर्दा ‘इन्भेस्टिगेसन’लाई ‘अनुसन्धान’ लेखेँ, ‘रिसर्च’लाई पनि ‘अनुसन्धान’ लेखेँ । शब्दको अनुवादका हिसाबले दुवै अनुसन्धान नै हुन् तर यिनीहरू अर्थगत हिसाबले फरक पर्छन् । प्रहरीले कुनै मुद्दाको छानबिन गर्दा गरिने अनुसन्धान इन्भेस्टिगेसन, डाक्टरले रोगको अनुसन्धान गर्दा इन्भेस्टिगेसन हुन्छ, रिसर्च हुँदैन । अध्येताले अध्ययन, अनुसन्धान गर्दा रिसर्च हुन्छ, इन्भेस्टिगेसन हुँदैन ।

मैले अवस्था हेरेर ‘एक्सप्लोरेसन’लाई पनि कहिले ‘अनुसन्धान’, कहिले ‘अन्वेषण’ लेखेँ । नेपाली भाषा सीमित भएको र त्यसमा शाब्दिक विविधता कम भएको राम्ररी नै भोगेँ र भोगिरहेको छु । हाम्रोमा घर हुन्छ, परिवार हुन्छ, जीवन्त प्रेम हुन्छ भन्ने मान्यता छ, त्यसैले हामीलाई ‘होम’ र ‘हाउस’बीच फरक छुट्याउने शब्द चाहिएका छैनन् तर अंग्रेजीमा चाहिँ पारिवारिक प्रेम भएका, सुरक्षा सुविधा भएका संरचनालाई होम भनिन्छ भने त्यो नभएका घर स्वरूपका संरचनालाई हाउस भनिन्छ । अर्काको घर टाढाबाट हेर्दा हाउस हुन्छ, नजिकबाट त्यसमा भएको अवस्था ठीक देखिए होम भन्न मिल्छ ।

भनिहालियो, सांस्कृतिक रूपमा अस्तित्वमै नभएका अवधारणामा फरक छुट्याउने शब्द हामीलाई चाहिएका होइनन् तर एकै शब्दले अनुवाद गर्नुपर्ने विवशता रहेका तर फरक फरक अर्थ बोक्ने शब्दलाई बेग्लाबेग्लै शब्दहरूले अनुवाद गर्न नसकिनु हाम्रो भाषिक दरिद्रता नै ठहर्छ ।

मलाई थाहा छैन, किन जिम्मेवार निकायमा बसेको मान्छेले भाषाको दमन गरेर वा भाषा नष्ट गरेर देशलाई र आफूलाई समेत नष्ट गर्छ र त्यसमा पनि गर्व गरेर बस्छ !

हाम्रो भाषामा कुनै कुरा जनाउने शब्द छैन भने हाम्रो संस्कृतिमा त्यो कुराको अभ्यास नभएको भन्ने पनि ठहर्छ, जस्तो कि हामीसँग अनुसन्धानको संस्कृति कमजोर छ, त्यसैले अनुसन्धानसँग सम्बन्धित शब्दहरू कम छन् । भाषा संस्कृतिको हिस्सासमेत हो, यसलाई हेरेर यो संस्कृति कतिको समृद्ध छ वा कंगाल छ भनेर कुनै पनि विज्ञले आँकलन गर्न सक्छ ।

मलाई नेपालका भाषिक निकायहरूबीच के तालमेल मिलेको छैन भन्ने थाहा छैन । आफ्नो समृद्धि वा कंगालीपनको मानक मानिने भाषाको विकासलाई हेर्ने र नियमित रूपमा शब्दकोशलाई ‘अपडेट’ गर्न छुट्टै बलियो आयोग किन छैन ? र, भाषिक अनुसन्धानका लागि छुट्टै योजना किन छैनन् ? मलाई थाहा छैन । विज्ञहरू भएको एकेडेमीले युगौँसम्म एक शब्द पनि थपेको छैन बरु त्यहाँ भएकै शब्द हटाएर राजनीति गरेको छ भन्दा दुःख लाग्छ । यसरी शब्द हटाउनु भनेको आफ्नै घर भत्काउँदै बेचेर खानु जस्तै हो । कुनै दिन त्यसले मलाई सडकमा सुत्ने बनाउँछ भनेर कुनै कथित विज्ञले बुझ्दैन भन्दा मलाई अचम्म लाग्छ ।

भाषाका निश्चित शब्द हटाउनु, भाषा नियमित अद्यावधिक नगर्नु भाषा नष्ट गर्नु वा भाषाको दमन गर्नु हो । आफ्नो पुस्तक ‘ब्रिफ हिस्ट्री अफ इङलिस लिटरेचर’मा जोहन पेक र मार्टिन कोयल लेख्छन्– ‘भाषा संस्कृतिको सबैभन्दा बहुमूल्य सम्पत्ति हो किनकि भाषाको अस्तित्वले गर्दा नै राष्ट्रलाई आफ्नो स्पष्ट पहिचान व्यक्त गर्न सक्षम बनाउँछ । यदि देशको भाषालाई नष्ट गरियो वा दमन गरियो भने त्यो राष्ट्रको कुनै पक्ष सदाका लागि गुम्छ (पृ. ११) ।’

मलाई थाहा छैन, किन जिम्मेवार निकायमा बसेको मान्छेले भाषाको दमन गरेर वा भाषा नष्ट गरेर देशलाई र आफूलाई समेत नष्ट गर्छ र त्यसमा पनि गर्व गरेर बस्छ !

किन हरेक साहित्यकारले आफ्ना साहित्यिक रचना प्रकाशन गर्नासाथ जसरी पनि बुझाउनै पर्ने कुनै निकाय छैन, तिनका कृतिमा कुनै लोपोन्मुख शब्द आएका भए तिनलाई तुरुन्त अध्ययन गरेर किन जगेर्ना गरिन्न ? राज्यको सीमा सीमित हुन्छ तर भाषाको सीमा राज्यभन्दा धेरै फराकिलो हुन्छ । विश्वमा युरोपेली दबदबा रहनु भनेको उनीहरूको भाषाको सीमा फराकिलो भएकै कारणले हो । भाषामा ठूलो ताकत छ भनेर किन कसैले बुझ्न चाहँदैन ?

म मुलुकको भाषा राजनीतिका बारेमा अज्ञानी छु, यहाँ कसले र भाषामाथि राजनीति गर्दै छ र किन ? भन्ने कुराको उत्तर मसँग छैन । यसले कसलाई लाभ दिँदै छ भन्ने मलाई थाहा छैन तर म बुझ्छु, भाषा बिग्रिने र बिगार्ने तरिका हुन्छ, त्यसै गरेर भाषा सम्पन्न हुने पनि तरिका हुन्छ । स्थापित मानकभन्दा फरक किसिमले भाषालाई लेख्न वा बोल्न थालियो भने यो बिग्रिन्छ । तर, धेरै अवस्थामा मान्छेलाई भाषा बिग्रिएको हो कि सम्पन्न हुँदै गएको हो भन्ने थाहा हुँदैन किनभने धेरै अवस्थामा भाषा बिग्रिएको देखिनु भाषा सम्पन्न हुँदै जानु पनि हो । उदाहरणबाटै यसलाई बुझौँ ।

वाक्य १. उसले पुजा गर्नु अघि फुल टिपेर ल्यायो ।

वाक्य २. माथ्लाघरे जेठा बाले भने– मान्छे पिर्थिवी घुम्च भन्चन् तर मलाई त उस्तो पत्यार लाम्दैन ।

यी दुई वाक्यहरू हेर्नुहोस् । पहिलो वाक्य भाषा बिगार्ने अभ्यास हो भने दोस्रो वाक्य भाषा सम्पन्न पार्ने किसिमको हो । स्थापित नेपाली भाषाको मानकअनुसार ह्रस्व उकार भएको ‘पुजा’ अशुद्ध हो अर्थात् दीर्घ ऊकार भएको ‘पूजा’ लेख्नु भाषाको शुद्ध प्रयोग हो । त्यसै गरेर पुष्पको अर्थ दिने गरेर आएको हो भने दीर्घ ऊकार भएको ‘फूल’ शुद्ध र कुखुराको अण्डाको अर्थ दिने गरेर आएको हो भने ‘फुल’ शुद्ध हो । अर्थगत हिसाबले हेर्दा पूजा गर्दा पुष्प अर्थात् फूल चढाइने कुरा बढी प्रचलित छ र अण्डा चढाउने कुरा कम प्रचलित छ । अभिव्यक्तिमा स्थापित शुद्ध भाषाका यस्ता शब्दहरू ह्रस्व दीर्घ बिगारेर अशुद्ध लेख्नु भाषा बिगार्नु हो ।

तर, वाक्य २ मा भएको भाषिक प्रयोग हेर्दा त्यसले भाषा बिगारेको नभएर भाषामा योगदान गरेको देखिन्छ । हरेक भाषामा भेद हुन्छन् र हरेक भेदको उपस्थिति हुनु भाषा सम्पन्न हुनु हो । माथ्लाघरे बा अर्थात् बुढ्यौलो पुस्ता । उनले आफ्नो उमेर समूहअनुसार बोलेको शब्द हो, ‘पिर्थिवी ।’ त्यो भाषाको मानकअनुसारको शुद्ध शब्द ‘पृथ्वी’को भेद मात्र हो । यस्ता भेद जातीय, क्षेत्रगत, वर्गगत, पदीय दायित्वअनुरूप, लैंगिक र उमेर समूहअनुरूप बेग्लाबेग्लै हुन्छन् । यस्ता भेदहरूमा व्यक्त अभिव्यक्तिहरूलाई अंग्रेजीमा ‘डायलेक्ट’ भनिन्छ, यसलाई ‘ल्याङ्गवेज भ्यारिएसन’ पनि भनिन्छ ।

भाषामा जति धेरै भ्यारिएसन अर्थात् भेद र अभिव्यक्तिगत विविधता आयो, त्यति नै भाषा सम्पन्न बन्छ । माथ्लाघरे बाको भाषा बूढो पुस्ताको उमेर समूहगत विविधता हो, यो भाषा बिगारेको होइन, भाषाको विविधतालाई लेखिएको मात्र हो ।

यसर्थ हरेक शब्दकोशमा सबै किसिमका शाब्दिक भेद सम्मिलित हुनुपर्छ । कुनै पनि बहानामा कुनै पनि समूहले प्रयोग गर्ने भाषिक भेद चिन्न शब्दकोशले इन्कार गर्नुहुँदैन । मानक नेपाली भाषा मियो हो र यसका भेदहरू त्यसकै वरिपरि आश्रित विविधता हुन् भन्ने कुरालाई हरेक भाषाविद्ले किन बुझ्दैन ?

वास्तवमा अहिले आएर मैले बुझेँ, म भाषाका बारेमा धेर केही बुझ्दिनँ । हुनसक्छ, यो अहिलेका ठूला प्राज्ञिक निकायको निजी विषय होला वा यसको विकासलाई ठप्प पारेर र राजनीति गरेर फाइदा लिन मिल्ने पनि होला । सामान्य, सोझासाझा मान्छेलाई राजनीति थाहा नहुनु ठीकै पनि हो । यो अलिक बाठाहरूकै खेल हो ।

तर, मैले अलिकति बुझेको कुरोचाहिँ जर्ज अर्वेल भन्ने एक जना मान्छेले आफ्नो उपन्यास ‘१९८४’ मा कसरी भाषालाई नियन्त्रण गरेर तानाशाहीतन्त्र चलाउन र राज्यलाई नियन्त्रित गरेर अन्धकारको युगतर्फ धकेल्न सकिन्छ भन्ने निकै अघि नै लेखेका हुन् ।

भाषाविद्, भाषाशास्त्रीहरूले भाषामा राजनीति गर्नु र यसको नियन्त्रण, दमन गर्नुअघि त्यही किताब पढेका रहेछन् भने त बिताए नि !  भाषाका पछाडि ‘विद्’ वा ‘शास्त्री’ जोडिएको उपाधि भिरेको मान्छेले त्यस्ता चर्चित किताब पनि पढ्दैनन् भन्ने त मचाहिँ पत्याउन सक्दिनँ है !


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।