श्रीमान्-श्रीमतीका दुई कृति सार्वजनिक

श्रीमान्-श्रीमतीका दुई कृति सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २, २०७६

डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएका छन् । डा. नम्रताकाे 'रहस्यः जीवन र प्रेम' तथा डा. प्रद्युम्नराजकाे 'ऊर्जा' नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ती दुई नयाँ कृति सार्वजनिक गरेका हुन् ।

‘ऊर्जा’मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निबन्ध समावेश छन् । 'रहस्यः जीवन र प्रेम' पुस्तकले जीवनमा प्रेमको महत्त्व दर्शाएको छ । प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेको तर्फ पुस्तक केन्द्रित छ ।

कार्यक्रममा प्रमुख अतिथि जोशीले पुस्तक जीवनपयोगी भएको बताए भने विशिष्ट अतिथि घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतीले कला साहित्यतर्फसमेत पुर्‍याएको योगदानको प्रशंसा गरे ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समालोचक एवं सर्जक डा. रामप्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’माथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

कृषिविद् डा. प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेका यसअघि अध्यात्मिक निबन्धसंग्रह 'आफ्नो किताब’ प्रकाशन भइसकेको छ ।