क्यान्सरः 'हे प्रभु ! यस्तो रोग त दुश्मनलाई पनि नलागोस् ।'

क्यान्सरः  'हे प्रभु ! यस्तो रोग त दुश्मनलाई पनि नलागोस् ।'

निर्जला कक्षपति  |  दृष्टिकोण  |  मंसिर ३, २०७६

क्यान्सर रोग लागेका व्यक्ति र यो रोगबाट पीडितका आफन्तहरू भन्ने गर्छन्, 'हे प्रभु ! यस्तो रोग त मलाई दुःख दिने दुश्मनलाई पनि नलागोस् ।' क्यान्सर रोगसँग जुधिरहेका व्यक्तिको पीडा र छट्पटी देख्दा मनै अमिलो हुन्छ अनि एक किसिमको त्रास मनभित्र उब्जन्छ । 
 
रुपैयाँ धन प्रशस्त भए पनि के गर्नु शरीरमा रोग लागेपछि बचाउन त सकिँदैनरहेछ । प्रशस्त रुपैयाँ नहुनेहरू यो क्यान्सर रोग लागेपछि मर्नुसिवाय अर्को विकल्प छैन । मध्यम वर्ग परिवारकाले भने ऋण खोजेर, सम्पति बेचेर भए पनि उपचार त गर्छन् तर अन्तिममा न ज्यान बच्छ, न सम्पति नै । अलिक हुने खानेहरू विदेशमा समेत उपचार गर्न पुग्छन् । रोगी बचाउनका लागि सकेसम्म मिहिनेत गर्छन् । भाग्यले साथ दिए केही वर्ष बाँच्छन् पनि । भाग्यले साथ नदिए रुपैयाँ खर्चिएर मात्र यो रोग निको पार्न सकिँदैन ।

मानिस मरेर एक दिन अवश्य जानुपर्छ, यो सत्य कुरा हो । त्यसैले आफ्नो शरीर नै धन हो भन्ने कुरा मानिसले समयमै बुझ्नु अतिआवश्यक छ । 

क्यान्सर रोग यस्तो जटिल रोग हो, जसले मानिसलाई तड्पाइतड्पाई मार्ने गर्छ । शरीरभित्र अस्वाभाविक रूपमा कोषिका अर्थात् सेलको वृद्धि भयो भने क्यान्सर हुने गर्छ । विभिन्न कारणले स्वास्थ्यमा खराब आएर अनियन्त्रित तवरले सेलको वृद्धि भई शरीरमा ससाना गिर्खा बन्छन् । यही गिर्खा नै क्यान्सर हो । क्यान्सर सेल शरीरमा वृद्धि भएपछि पनि मानिसलाई  केही समस्या  भएको हुँदैन अर्थात् मानिसले मलाई क्यान्सर भएको हो भन्ने थाहा नै पाउँदैनन् । 

एक अनुसन्धानले के देखाएको छ भने क्यान्सर लागेर सुरुको अवस्थामा निकै कम मानिस मात्र अस्पताल पुग्ने गर्छन् । धेरै मानिस अस्पताल पुग्दासम्म यसको उपचार गर्न ढिलो भइसकेको हुन्छ ।  न शरीरको कुनै भाग नै दुख्छ, न त केही अप्रिय लक्षणहरू नै देखापर्छन् । 

क्यान्सर जटिल रोग हो । यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो रोग लागेपछि उपचार गर्न निकै गाह्रो छ । उपचारमा लाग्ने खर्च हेर्दा सानोतिनो आम्दानी हुनेले यो रोगको उपचार गर्न मुश्किल नै पर्छ । ५० हजार र १ लाख रुपैयाँ भन्ने त ५ रुपैयाँ र १० रुपैयाँ जस्तो लाग्ने रहेछ । यसरी खर्चिएपछि पनि रोगीको रोग शरीरबाट निको हुन्छ भन्ने नै हुँदैन ।

विशेषगरी महिलाहरूलाई स्तन र पाठेघरको कयान्सर हुने गर्छ ।  त्यसैले डाक्टरहरू यस्ता भयावह रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण गराउन नै सुझाउने गर्छन् ।  विशेषगरी महिलाहरूले आफूलाई स्तन क्यान्सर भए/नभएको जाँच्न आफ्नो स्तन आफैँ छामेर जाँच गर्न चिकित्सकहरूले सुझाव दिने गर्छन् ।

विडम्बनाको कुरा, हाम्रो देशमा अस्पताल जानु भनेकै यातना, दुर्व्यवहार अनि ठगिन जानु जस्तै भएको छ । सरकारी अस्पतालमा राम्रा चिकित्सकले काम गर्दैनन्  अनि सेवा राम्रो पाइँदैन भनेर जनताले विश्वास गुमाएको अवस्था छ । त्यसैले पनि मानिसहरू आफूले ठूलै समस्या नभोगुन्जेल अस्पताल जान जोकोही तयार हुँदैनन् । नियमित स्वास्थ्य परीक्षणको कुरो त कहाँ कहाँ ? अस्पताल र  चिकित्सकले अनावश्यक झन्झट दिने भएकाले पनि धेरैले 'हे भगवान् ! अस्पताल जानै नपरे हुने थियो' भनी पुकार्ने गर्छन् । पछिल्लो समयमा त स्वास्थ्यलाई व्यापार बनाइदिँदा जनताले यति धेरै दुख खेप्नुपरेको छ कि त्यो भनी साध्य छैन । 

क्यान्सर जटिल रोग हो । यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो रोग लागेपछि उपचार गर्न निकै गाह्रो छ । उपचारमा लाग्ने खर्च हेर्दा सानोतिनो आम्दानी हुनेले यो रोगको उपचार गर्न मुश्किल नै पर्छ । ५० हजार र १ लाख रुपैयाँ भन्ने त ५ रुपैयाँ र १० रुपैयाँ जस्तो लाग्ने रहेछ । यसरी खर्चिएपछि पनि रोगीको रोग शरीरबाट निको हुन्छ भन्ने नै हुँदैन । रोगीको जिउले त्यत्तिकै दु:ख पाइरहेको हुन्छ । घरका परिवारहरूका सदस्यहरू त्यत्ति नै दुखी हुन्छन् । यो दु:खको वर्णन गरी साध्य हुँदैन । 

क्यान्सर अस्पताल जाँदा यस्तो लाग्छ, यो रोगले वृद्ध, तन्नेरी, बच्चाबच्ची कसैलाई छाडेको छैन । खानपिन र अस्वस्थ जीवनशैलीलाई यसका कारक तत्त्वहरू माने पनि ससाना नानीहरूलाई समेत यो रोग लागिरहेको देख्दा यी कारक तत्त्वहरू मात्र यसका जिम्मेवार पक्ष हुन् भन्न सकिँदैन ।

यसैगरी ९५ वर्षको वृद्धलाई पनि यो रोग लागिरहेको अवस्था छ । क्यान्सर अस्पतालका हरेक सिट खचाखच भरिएको र सिट नपाएको देख्दा त कतै क्यान्सरको महामारी त होइन ? जस्तो पनि लाग्दोरहेछ । आखिर के कारणले गर्दा हुन्छ यो रोग ? चिकित्सकहरूले  क्यान्सरबाट बच्न केही स्वास्थ्यसम्बन्धी टिप्स दिए पनि आफ्नो शरीरको निकै ख्याल गर्ने, धुम्रपानको नाममा कहिल्यै चुरोट नखाने, जाँड, रक्सी कहिल्यै नखाने, अध्यात्मिक चिन्तन र धर्मकर्ममा लागेकाहरूलाई समेत यो क्यान्सर रोगले छाडेको छैन । 

एक तथ्यांकअनुसार नेपालमा झण्डै एक लाख बढी मानिस क्यान्सर रोगबाट पीडित छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार  विश्वमा क्यान्सर रोगबाट  बर्सेनि साढे २ करोड मानिस पीडित हुने गरेका छन् । विश्वभरबाट झण्डै ८० लाख मानिसले क्यान्सर रोगकै कारण ज्यान गुमाउँदै आएका छन् । 

नेपालमा फोक्सोको क्यान्सर हुनेहरू धेरै छन् । महिलाहरूमा भने पाठेघर र स्तनको क्यान्सर बढी हुने गरेको दाबी चिकित्सकहरूको छ । त्यसैले अब क्यान्सरबाट बच्ने उपाय भनेको हाम्रो खानपिन र जीवनशैलीमा सुधार पनि हो । नियमित व्यायाम गर्ने अनि स्वस्थ खानेकुरा खायौँ भने पनि हामी यस्ता रोगबाट बच्न सक्छौँ । सबभन्दा ठूलो कुरा हामी खुसी रहन सक्यौँ भने यस्ता घातक रोग शरीरमा लाग्नबाट बच्छौँ ।