गढीमाईको मेलालाई लक्षित गरी  १० दिन विद्यालय  बन्द !

गढीमाईको मेलालाई लक्षित गरी  १० दिन विद्यालय  बन्द !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर ३, २०७६

बारा । बारा स्थित महागढीमाई नगरपालिकाले  गढीमाईको मेलालाई लक्षित गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय  गरेकाे छ ।

मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिनुभयो । 

समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताउनुभयो । 

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताउनुभयो । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ ।