गणेश हिमाल यातायातले भाडादर घटाउने सहमति

गणेश हिमाल यातायातले भाडादर घटाउने सहमति

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ३, २०७६

काभ्रे । महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रा.लि.ले २०७६ मंसिर ३ गते देखि भाडा दर घटाउने सहमति गरेको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको भिमखोरी जुगेपानी हुँदै सिन्धुलीको रामपुर भएर बनखु–घर्तिछाप–गोकुले छोटेसाहन चल्ने गरेको छ । गाउँपालिका र प्रालिबीच  भएको छलफलमा बनेपाबाट महाभारत गाउँपालिका–१ छोटेसाहनसम्मका लागि रु ५८० भाडा कायम गरिएको छ ।  गत वर्षदेखि सेवा दिन थालेको सो प्रालिले यसअघि रु ७८० भाडा लिने गरेको थियो । भाडा घटाउने विषयमा पटकपटक स्थानीय बासिन्दाले आवाज उठाएको भए पनि प्रालिले सुनुवाइ गरेको थिएन । सो विषयमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र प्रालिका निर्देशक आत्माराम थापा र सञ्चालक केशव पौडेलबीच आज भएको छलफलले पहिलाको भन्दा रु २०० कममा सेवा दिने सहमति भएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि कात्तिक ६ गतेदेखि काभ्रे बस प्रालिको यात्रुवाहक बसले कटुञ्जे–सिसाखानी, बुढाखानी–फोक्सिङटार हुँदै घर्तिछाप–गोकुलेका लागि बस सेवा दिन थालेको छ । सो रुट हुँदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक  बस सेवा शुरु भएको छ । सो रुटमा पनि बनेपा–गोकुलेसम्म भाडादर रु ५८० कायम गरिएपछि गणेश हिमाल यातायात प्रालिले पनि भाडादर घटाएको हो ।