अन्धराष्ट्रवाद र अतिराष्ट्रवादले जातीवाद,नश्लवाद हुँदै द्वन्द्व निम्त्याउने खतरा

अन्धराष्ट्रवाद र अतिराष्ट्रवादले जातीवाद,नश्लवाद हुँदै  द्वन्द्व  निम्त्याउने खतरा

डा. टीकाराम पोखरेल  |  दृष्टिकोण  |  मंसिर ४, २०७६

सामान्य अर्थमा बुझ्दा राष्ट्र भनेको देश हो । नेपालको संविधान, २०७२ को धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी परिभाषा गरिएको छ । नेपाली बृहत शब्दकोशमा जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश वा मुलक नै राष्ट्र हो भनिएको छ ।

हाम्रो सन्दर्भमा राष्ट्रको परिभाषा यी भए पनि यी परिभाषाहरू संकुचित देखिन्छन् । राजनीतिशास्त्रीय आँखाले हेर्दा राष्ट्रको परिभाषा यतिले पर्याप्त हुँदैन । एउटा पूर्ण राष्ट्र बन्नका लागि कम्तीमा पनि भूगोल, जनता, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यता आवश्यक पर्छन् । आधारभूत यी तत्त्वमा हिजोआज प्रजातन्त्र अर्थात् निर्वाचित सरकार, मानवअधिकार, विधिको शासन जस्ता कुराहरूलाई समेत जोड्नुपर्ने बहस चलेको छ ।

राष्ट्रियता र राष्ट्रवाद राष्ट्रसँग जोडिएर आउने विषय हुन् । राष्ट्रियता कुनै पनि व्यक्तिको पहिचान हो । यो नागरिकको राष्ट्रसँगको सम्बन्ध हो । हरेक व्यक्तिले आफ्नो राष्ट्रियता जन्मसँगै लिएर आउँछ । त्यसैले कुनै पनि व्यक्ति राष्ट्रविहीन हुनुहुन्न भन्ने मान्यता छ । जहाँ व्यक्ति जन्मन्छ, उसको राष्ट्रियता त्यही धर्तीसँग जोडिएको हुन्छ र हुनुपर्छ । कुनै पनि व्यक्तिलाई राष्ट्रविहीन बनाउन मिल्दैन । राष्ट्रियता राष्ट्रभित्र बसोवास गर्ने नागरिकको राजनीतिक अधिकारसँग जोडिएर आउने विषय हो । यो व्यक्तिको कानुनी वा औपचारिक परिचय पनि हो । तर, अहिले पहिचानका अन्य आयामहरू खोजी गरिँदा राष्ट्रियताको पहिचानचाहिँ गौण हुँदै गइरहेको छ ।

राष्ट्रवाद भनेको आफ्नो राष्ट्रको उन्नति वा हितलाई सर्वोपरि मान्ने सिद्धान्त हो । यसलाई राष्ट्रप्रतिको माया, सम्मान वा भक्तिभावनासँग जोडेर पनि हेरिन्छ । राष्ट्रियता व्यक्तिको उत्पत्तिसँग जोडिएकाले यो भौतिक पक्षसँग बढी सम्बन्धित हुन्छ । तर, राष्ट्रवाद दर्शन वा विचार भएकाले यो भावनात्मक पक्षसँग बढी सम्बन्धित हुन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद एकअर्कामा फरक भए पनि यी एकअर्काका विपरीत नभएर परिपूरक हुन् ।

तर, सबै राष्ट्रियताको पहिचान भएकासँग राष्ट्रवादी भावना नहुन सक्छ र सबै राष्ट्रवादीहरूले राष्ट्रियताको पहिचान नपाएका हुन सक्छन् । राष्ट्रियताको पहिचान भएका हरेक व्यक्ति राष्ट्रवादी हुन्छन् भन्ने बुझ्नु एक प्रकारको भ्रम हो । जुन देशमा जन्म्यो, हुक्र्यो, पछि ठूलो भएपछि आफ्नै मातृभूमिविरुद्ध बोल्ने र काम गर्नेहरू पनि प्रशस्तै छन् । नेपाली राष्ट्रियताको पहिचान बोकेर पनि नेपाली राष्ट्रियता र राष्ट्रवादप्रति असन्तुष्टि र विरोध राख्नेहरू पनि नभएका होइनन् । बरु नेपाली नागरिकताको पहिचानपत्र नबोकेका वा नपाएका प्रवासी नेपालीहरूले नेपाली राष्ट्रवादको पक्षमा वकालत गरेका उदाहरण भेटिन्छन् । राष्ट्रियताको पहिचान बोकेका सबै व्यक्तिमा देशको अखण्डता, सार्वभौमसत्ता र देशप्रतिको माया नहुन सक्छ ।

कुनै पनि राष्ट्रमा यदि जनता अधिकार सम्पन्न भएनन् भने जनतामा आक्रोश बढ्छ र त्यसको पहिलो प्रहार सरकारमाथि हुन्छ । कालान्तरमा यो प्रहार राष्ट्रलक्षित हुन्छ । राष्ट्र कमजोर भएपछि राष्ट्रियता कमजोर हुन्छ । राष्ट्र र राष्ट्रियता कमजोर भएपछि राष्ट्रवाद पनि छायामा पर्छ ।

राष्ट्रवादलाई राज्यका लागि गरिने कामको रूपमा पनि अथ्र्याइन्छ । यो देशप्रतिको आस्था, लगाव र भावना हो । राष्ट्रवाद भावना भएकाले यो स्वाभाविक रूपमा प्रस्फुटन हुने कुरा हो । यो यति स्वाभाविक हुन्छ कि कोही व्यक्तिले आफूले किन राष्ट्रलाई माया गरिरहेको छु भन्ने सोचेको हुँदैन । न त सोच्ने नै आवश्यकता ठान्छ । राष्ट्रवाद आफैँ निरपेक्ष हुन्छ ।

राष्ट्रवाद अन्य राष्ट्रसँगको सापेक्षतामा बग्ने विषय होइन, बरु यो निरपेक्ष राष्ट्रप्रतिको माया, आस्था हो । कहिलेकाहीँ भौगोलिक अखण्डता, सार्वभौमिकता, सिमाना, सैन्य शक्ति आदि कुरा राष्ट्रवादसँग जोडिँदा राष्ट्रवाद सिमाना बाहिर छचल्किन्छ । अर्को राष्ट्रको चर्को विरोध हुन्छ । यसले सीमा नाघ्छ अनि राष्ट्रवाद विस्तारै अन्धराष्ट्रवादमा परिणत हुँदै अतिराष्ट्रवादसम्म पनि पुग्छ । यसले उग्र रूप लिन्छ । उग्रराष्ट्रवादले कहिलेकाहीँ जातीवाद वा नश्लवाद पनि जन्माउँछ भने कहिलेकाहीँ द्वन्द्वसमेत निम्त्याउँछ, जुन द्वन्द्व अत्यन्त खतरनाक हुन्छ ।

कुनै देशको विरोध र समर्थनको राष्ट्रवादसँग कुनै नाता छैन । नेपालको राष्ट्रवाद भारत ‘भर्सेस’ अभिव्यक्ति वा धारणा पनि होइन, न त दुई देशीय सम्बन्ध नै राष्ट्रवादको पाटो होे । दुई देशीय सम्बन्ध भनेको राष्ट्रवाद नभएर कूटनीतिक मात्र हो । अरूलाई भारतपरस्त, अमेरिकी परस्त, अमूक संगठनको एजेण्ट भन्ने आरोप लगाउने अनि आफूचाहिँ राष्ट्रका लागि सिन्कोसम्म नभाँच्ने व्यक्ति कसरी राष्ट्रवादी हुन्छ ?

राष्ट्रवादलाई भारत वा चीनविरोधी चर्को स्वरले होइन, अर्थतन्त्रले मजबुत बनाउँछ । बरु हाम्रो भारतनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सके त्यहाँ राष्ट्रवाद भेटिन्छ । ग्रेटर नेपालका कुरा गरेर राष्ट्रवादी भइँदैन । ग्रेटर नेपाल राष्ट्रवाद पनि होइन बरु ‘बेटर’ नेपालचाहिँ साँचो अर्थमा राष्ट्रवाद हो ।

राष्ट्रवाद समय सापेक्ष परिवर्तन हुन्छ । विश्वव्यापीकरणको युगमा समयले धेरै कोल्टो फेरिसक्यो । हिजोका सोचाइ, बुझाइ र मान्यताहरूमा परिवर्तन आइसकेको छ । त्यसैले अब इतिहासको कुनै कालखण्डमा हाम्रा पुर्खाले शत्रुको गर्धन खुकुरीले काटेका र भीरबाट ढुंगा लडाएर अंग्रेजलाई युद्धमा हराएका भन्ने पुर्खा–गाथा गाएर राष्ट्रवादी भइन्छ भन्ने भ्रम कसैले पनि नपाले हुन्छ । हिजोको राष्ट्रवाद त्यही थियो होला तर आज राष्ट्रवादलाई बुझ्ने दृष्टिकोण फरक भइसकेको छ ।

वास्तविक राष्ट्रवाद भनेको राष्ट्रको प्रगति हो । भोको पेटले कसैले राष्ट्रवादको मन्त्र जप्न सक्दैन । तर, राष्ट्रवाद यतिबेला अघाएकाहरूले भोकाहरूलाई भावनाको गहिराइमा डुबाएर गर्ने राजनीति मात्र भएको छ । कुनै पनि व्यक्तिका लागि पहिचान र आत्मसम्मानभन्दा पहिलो गास, बास र कपास हो । आत्मसम्मान अघाएका पेटहरूको आदर्श हो । राजनीतिक नेतृत्वले राष्ट्रवादको नारा फलाक्नु अगाडि यो कुरा बुझ्नुपर्छ कि नेपालीहरू किन नेपाली आफ्नो राष्ट्रियता त्यागेर विदेशी राष्ट्रियताको पगरी गुथ्दै छन् ? किन अरू देशको नागरिक हुन गर्व गर्दै छन् ?

देशमा गरिबी व्याप्त छ । आधुनिक युगमा राष्ट्रवाद राष्ट्रबाट प्राप्त गर्ने लाभहानीसँग जोडिन थालिसक्यो । त्यसैले राष्ट्रवादको प्रमुख आधार आर्थिक समुन्नति हो भन्ने कुरा कसैले भुल्नुहुँदैन । गोर्खाली वीरहरूको देश, सगरमाथको देश, गौतम बुद्धको देश भनेर गर्व गर्ने राष्ट्रवादका केही सहायक आधार र पहिचान हुन सक्छन् ।

भाषा, संस्कृति, साहित्य राष्ट्रवादका सहायक औजार होलान् । आत्मसम्मान, पहिचान, भाषा, संस्कति बलियो भए राष्ट्रवादी भावनालाई थप बल पुग्न सक्ला । यसलाई मजबुत बनाएर राष्ट्रवादको जग बलियो बनाउन योगदान पनि पुग्ला । तर, यी सबैका बाबजुद पनि राष्ट्रवादको मुख्य आधारचाहिँ सबल अर्थतन्त्र नै हो । आजको युगमा सबल अर्थतन्त्रविनाको राष्ट्रवादचाहिँ उग्र राष्ट्रवाद हो ।

बीपीले भनेका थिए– ‘राष्ट्र भनेको भूगोल मात्र होइन, जनता पनि हो ।’ निरंकुश शासनसत्ताको समर्थन नै राष्ट्रवाद हो भनेर दिग्भ्रमित राष्ट्रवादको शिक्षा लादिएको तत्कालीन परिवेशमा बीपीले ठीकै भनेका थिए । जनतालाई उपेक्षा गर्ने व्यवस्थाको गुणगान कसरी राष्ट्रवाद हुन सक्छ ? वर्तमान सन्दर्भमा एउटा पूर्ण राष्ट्र हुन भूगोल आवश्यक छ तर राष्ट्रको पहिलो शक्तिचाहिँ जनता नै हो । त्यसैले राष्ट्र बलियो हुन जनता बलियो हुनुपर्छ । जनता बलियो हुन जनता अधिकारसम्पन्न हुनुपर्छ । जहाँ शासक बलिया हुन्छन्, त्यहाँ राष्ट्रवाद कमजोर हुन्छ । जहाँ जनता बलिया हुन्छन्, त्यहाँ राष्ट्रवाद बलियो हुन्छ । जनता कमजोर भएर राष्ट्रवादी भावना बलियो हुन्छ भन्नु कोरा कल्पना मात्र हुन्छ ।

तत्कालीन फाइदाका लागि राजनीतिक रूपले प्रतिशोध राखेर होइन, मुलुकको एकता, अखण्डता, सार्वभौमिकता र दीर्घकालीन अस्तित्वलाई केन्द्रमा राखेर नेपाली राष्ट्रियतामाथि नयाँ ढंगले बहस, विश्लेषण र तदनुरूपको मान्यता स्थापित गर्न लागिपर्नु आवश्यक छ । यसका लागि आमनागरिकको भावना र आस्थाले मात्र पुग्दैन, सिंगो राजनीतिक नेतृत्व अगाडि बढ्नु आवश्यक छ ।

कुनै पनि राष्ट्रमा यदि जनता अधिकार सम्पन्न भएनन् भने जनतामा आक्रोश बढ्छ र त्यसको पहिलो प्रहार सरकारमाथि हुन्छ । कालान्तरमा यो प्रहार राष्ट्रलक्षित हुन्छ । राष्ट्र कमजोर भएपछि राष्ट्रियता कमजोर हुन्छ । राष्ट्र र राष्ट्रियता कमजोर भएपछि राष्ट्रवाद पनि छायामा पर्छ । त्यसैले राष्ट्रवाद धोती र टोपीमा खोजिनुहुन्न बरु अधिकारमा खोजिनुपर्छ । देशलाई परनिर्भरताको दलदलमा फसाएर राष्ट्रगान गाउनेहरू कहिल्यै राष्ट्रवादी हुँदैनन् । यस्तो परिनिर्भरताले राष्ट्रवादलाई कहिल्यै मजबुत बनाउँदैन । केहीको राजनीतिक अभीष्ट मात्र पूरा हुन्छ ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद राजनीतिभन्दा फरक विषय हुन् । यी राजनीतिका विषय त हुन् तर एकै टोकरीमा हालेर मथ्ने विषयचाहिँ होइनन् । राजनीति त्यति राष्ट्रवाद होइन, जति जनता राष्ट्रवादका एक हिस्सा हुन् । यस कारण जनतालाई उपेक्षा गरेर राष्ट्रवादी भइँदैन । कुनै पनि सरकारको उत्तरदायित्व भनेको शासन व्यवस्थालाई स्वच्छ, भ्रष्टाचारमुक्त र लोककल्याणकारी बनाउने हो । सरकार राष्ट्रको रक्षक, कानुनको पालक र नीति एवं कार्यक्रमको कार्यान्वयनकर्ता हो । यो नै राष्ट्रियताको सम्बद्र्धन पनि हो ।

पछिल्लो पटक कालापानी, लिपुलेक, लिम्पियाधुराको सम्बन्धमा नेपाल–भारतबीच विवाद उत्पन्न भएपछि राष्ट्रवादको बहस पेचिलो बनेको भए तापनि राष्ट्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार हुन थालेको लामो समय भइसकेको छ । विभिन्न सवालहरूमा राजनीतिक नेतृत्वले निर्वाह गर्नुपर्ने कूटनीतिक पहलको कमी कमजोरीले मुलुकको अस्तित्व र अस्मितालाई कमजोर पार्दै लगेको छ । राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर भारतसँग वार्ता गर्न कुनै पनि सरकारले सकेको छैन । यदाकदा हुने द्विपक्षीय वार्तामा नेपालको तर्फबाट गरिनुपर्ने कूटनीतिक प्रयत्न कमजोर छ । सरकारी कूटनीति कमजोर छ । यस कारण राष्ट्र र राष्ट्रियता कमजोर हुँदै गएको परिस्थितिलाई समयमै आंकलन गर्नु सरकार, दल र हामी सबैको दायित्व हो ।

नेपाली जनता स्वाधीनता चाहन्छन् तर राष्ट्र र राष्ट्रियताको संरक्षण र स्वाधीनता विनाशकारी सोचले होइन, राष्ट्रिय हितको भावनाले हुन्छ । अरूको आशीर्वादलाई सधैँ शिरोधार्य गरी राजनीति गरिरहँदा राष्ट्र र राष्ट्रियता संकटमा नपर्ला भन्न सकिन्न ।

राष्ट्र र राष्ट्रियताको बहस गर्दा हामी मुलुकको इतिहासको बखान गर्छौं । विदेशी उपनिवेशबाट मुक्त राष्ट्रका रूपमा लिने गर्छौं र यसमा हामी गर्व गर्छौं । तर, वर्तमानमा भारतसँगका असमान सन्धि–सम्झौताहरूलाई निराकरण गर्नमा हाम्रो राज्य संयन्त्रबाट देखाइएको फितलोपनमा भारतभन्दा बढी हाम्रो राजनीतिक नेतृत्व कमजोर र बढी जिम्मेवार छ भन्ने कुरा राजनीतिक नेतृत्व स्वीकार गर्न तयार छैन । राष्ट्रियतालाई छिमेकी मुलुकसँगको सुसम्बन्धका आधारमा विकसित गर्ने कुरामा देखापरेका नेपाली नेतृत्ववर्गको कमजोरी र निरीहता नै नेपाल–भारतबीचको सीमा समस्या र अन्य द्विपक्षीय समस्याका जड हुन् ।

मुलुकमा विश्वसनीय राजनीतिक नेतृत्वको अभाव त छँदै छ, त्यसमा पनि छिमेकी मुलुकसँग आश्रित नेतृत्वले जतिबेला पनि देशको हितविपरीत विदेशीहरूको पक्षमा निर्णय गर्न सक्छ । यसर्थ, आश्रित नेतृत्व हुनु पनि नेपाली राष्ट्रियताको अर्को चुनौती रहेको देखिन्छ ।

राष्ट्रियता आफ्नो राष्ट्रप्रतिको अविचलित आस्था, निष्ठा र प्रेमभाव त हो नै, त्यसका साथसाथै राष्ट्रियता आफ्नो इतिहास, जाति, भाषा, धर्म, समुदाय र आफ्नो मौलिकपनप्रतिको आस्था पनि हो । राष्ट्रियताको भावनालाई देशको राजनीतिक, भौगोलिक र कानुनी पक्षसँग मात्रै जोडेर हेर्नु गलत हुन जान्छ । राष्ट्रियतालाई देशको राजनीतिक, प्रशासनिक र भौगोलिक दायराभित्र सीमित नराखी राष्ट्रियतालाई बलियो बनाउन विविधताको सम्बोधन गर्नु जरुरी हुन्छ ।

अखण्ड मुलुकको एकताको आधार राष्ट्रियता, राष्ट्रभाव र राष्ट्रभक्ति हो । यदि राष्ट्रियता र राष्ट्रभाव दुवै ओझेलमा परे खोक्रो राष्ट्रवाद राजनीतिको एजेण्डा बन्छ । आममानिसमा राष्ट्रवादका भ्रम प्रत्यारोपण गर्ने कार्य तीब्र गतिमा अगाडि बढ्छ । नेपाली राष्ट्रियता बलियो बनाउन आन्तरिक विविधताको यथोचित व्यवस्थापन गर्नु त आवश्यक छ नै, विविधतालाई एकतामा गाँस्ने संरचनाहरूको संरक्षण गर्नु पनि त्यति नै जरुरी छ ।

तत्कालीन फाइदाका लागि राजनीतिक रूपले प्रतिशोध राखेर होइन, मुलुकको एकता, अखण्डता, सार्वभौमिकता र दीर्घकालीन अस्तित्वलाई केन्द्रमा राखेर नेपाली राष्ट्रियतामाथि नयाँ ढंगले बहस, विश्लेषण र तदनुरूपको मान्यता स्थापित गर्न लागिपर्नु आवश्यक छ । यसका लागि आमनागरिकको भावना र आस्थाले मात्र पुग्दैन, सिंगो राजनीतिक नेतृत्व अगाडि बढ्नु आवश्यक छ ।