‘१२ प्रतिशत दमका रोगीलाई ४० देखि ४५ विशेषज्ञले सेवा दिनुपर्ने अवस्था छ’

डा. नवीनकुमार मिश्र फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मेडिसिन विभागमा कार्यरत डा. मिश्र नेपालमा कति दम रोगी छन् भन्ने यकिन सर्भे नभएको बताउनुहुन्छ । २० नोभेम्बरका दिन विश्वभर दम रोग दिवस मनाइयो । दम रोग दिवसको सन्दर्भ पारेर फोक्सो रोग विशेषज्ञ डा. नवीनकुमार मिश्रसँग लोकसंवाद डटकमले नेपालको सन्दर्भमा दम रोगको वर्तमान अवस्था, रोग लाग्नुका कारण, उपपचारको पहुँच र उपलब्धताको विषयमा केन्द्रित रहेर अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूल अंशः

सीओपीडी अर्थात् दम दिवस मनाउँदै छौँ, यसका बारेमा जानकारी दिनुपर्‍यो भने कसरी दिनुहुन्छ ? 

‘सीओपीडी डे’ भनेको हामीले नेपालीमा भन्नुपर्‍यो भने यसलाई दम दिवस भन्छौँ । यो दिवस हरेक वर्ष मनाउने गर्छौं र यो वर्ष पनि मनाउँदै छौँ । दम रोग भनेको एकदमै धुम्रपान गर्नेहरूमा  र ४० वर्ष नाघिसकेका व्यक्तिहरूलाई सास फुल्दै जाने, सास बढेर आउने, सास फुलेको फुल्यै हुने, खोकी आउने, खकार आउने, छाती भारी हुने रोग हो । यस्तो लक्षण देखियो भने  दम रोग भएको हुन सक्छ । अतः चिकित्सककहाँ गएर परामर्श लिनु उपयुुक्त हुन्छ । समयमा चिकित्सककहाँ गएर उपचार गराइएन भने यसले फोक्सोलाई मात्रै होइन कि मुटु र  मस्तिष्कलाई समेत नकरात्मक असर गर्छ ।

दम हुनुको कारण के हो र कसरी हुन्छ ?

अहिलेका अध्ययनहरूले के देखाएका छन् भने नेपालमा दाउरामा खाना पकाउने, इँट्टा भट्टामा काम गर्ने, धुम्रपान गर्ने, वायु प्रदूषणलगायतका कारणले बढी दम रोग लागेको पाइएको छ  ।  यससँगै गरिबीले पनि दम रोग लागेको पाइएको  छ । जस्तो कि गरिबीका कारण पुग्नेजति खान पाएको हुँदैन, जसका कारणले फोक्सोको राम्रो विकास भएको हुँदैन ।

घर निर्माण गर्दा राम्रो भेन्टिलेसन छैन । भेन्टिलेसन राम्रो नहुँदा धुवाँ घरमा गुम्सिएर बसेको हुन्छ । अर्को र महत्त्वपू्र्ण कुरा भनेको वायु प्रदूषण हो । यसले फोक्सोमा नकारात्मक असर पार्छ र सास फेर्न कठिनाइ हुन्छ, जसले धेरै मानिसहरूलाई दम रोग हुने गरेको छ ।

धेरैलाई भन्नुभयो, कति प्रतिशतमा यस्तो रोग रहेको छ ?

विभिन्न देशहरूलाई हेर्‍यौँ भने प्रतिशतको मात्रा फरक फरक रहेको छ । न्यूनतम पाँचदेखि अधिक १९ प्रतिशतसम्मलाई दम रोग देखिएको तथ्यांक पाइन्छ । नेपालमा हालै भएको एक अध्ययनले १२ प्रतिशतको हाराहारीमा दम रोगी भएको देखाएको छ । यो रोग सुदूरपश्चिम, कर्णाली, प्रदेश ३ र प्रदेश २ मा सबैभन्दा बढी देखिएको छ । दम रोग मानिसको मृत्युका प्रमुख २ कारणमध्ये एकमा पर्छ नेपालमा । विश्वमा मानिसको मृत्युको प्रमुख कारण ३ मा पर्छ, नेपालमा भने प्रमुख  २ कारणमा पर्छ ।

महिला वा पुरुष कसमा बढी हुने संभावना हुन्छ दम ?

अहिलेसमम्को तथ्यांक हेर्ने हो भने दम रोग पुरुषमा नै धेरै रहेको छ । पुरुषहरूले धेरै नै धुम्रपान गर्ने भएका कारण पनि बढी देखिने गरेको छ । अहिले भने महिलामा पनि बढेको पाइन्छ । महिलाहरू इँट्टा भट्टामा काम गर्ने, घरैमा बसेर पनि धुम्रपान गर्ने र महिलामा पनि धुम्रपान गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।

तथ्यांकअनुसार ६ देखि १० प्रतिशतसम्म नेपाली महिलाहरूले धुम्रपान गर्ने गरेको पाइएको छ । हाल भन्ने हो भने पुरुषमा धेरै भयो तर महिलामा पनि बढ्ने क्रममा छ । त्यसभन्दा खतरा कुरो भनेको महिलाहरूमा ‘थ्रेस होल्ड’ कम रहेको छ । प्रदूषणका कारण धेरैलाई दम रोग भएको हुँदा प्रदूषण कम गर्‍यो भने मात्रै दम रोगमा कम गर्न सकिन्छ  । 

हाम्रो जनसंख्याको १२ प्रतिशत, जो दम रोगीहरू छन्, यस्ता बिरामीको डाक्टरसँगको पहुँचचाहिँ कस्तो रहेको छ ?

सही प्रश्न हो यो । यस रोगका औषधि पनि धेरैको पहुँचमा छैन । र, अर्को कुरा १२ प्रतिशत मात्रै नभएर यसभन्दा पनि बढी दमका रोगी भएको हुन सक्ने हाम्रो आशंका छ । किनभने सबै ठाउँमा पुगेर कति छन् त भनेर हेर्न सकिएको अवस्था छैन र हेर्ने साधनहरू हामीले पुर्‍याउन सकिरहेका छैनौँ ।

अहिले गरिएको अध्ययन विश्वसनीय छैन भन्न खोज्नुभएको हो ?

हो, स्याम्पलको आधारमा अध्ययन गरिएको छ । अविश्वस त होइन, सबै ठाउँमा अध्ययन हुने हो भने तथ्यांक बढ्न पनि सक्छ । सात प्रदेशमा १३ हजार २०० जनालाई ४०० क्लस्टर बनाएर १३ हजार २०० सयको स्याम्पल लिएर अध्ययन गर्दा झण्डै १२ प्रतिशतमा दम रोग देखिएको छ ।

दम रोग उपचारको पुहँच कस्तो छ र रोगीको उपचारको क्षमता कस्तो देख्नुहुन्छ ?

दम रोग लागेपछि यसको उपचारको विषय महत्त्वपूर्ण कुरा हो  । जस्तै : ब्लड प्रेसर, सुगरका बिरामीहरूको उपचार आजीवन हुन्छ । त्यस्तै, यसको उपचार पनि आजीवन नै हुन्छ । उपचार गर्दागर्दै बीचमा औषधि छाड्न मिल्दैन । यदि औषधि बीचैमा छाडियो भने दम रोगले आक्रमण गर्छ र त्यस्तो अवस्थामा अस्पतालमा भर्ना भएर नै उपचार गर्नुपर्ने हुन्छ । यसले गर्दा बढी पैसा खर्च हुने र मृत्यु नै हुने संभावना हुन्छ ।

यस रोगका औषधिहरूमा तान्ने औषधिहरू हुन्छन् । एउटा क्यानस्टरीमा भन्छौँ, त्यो एक महिनाका लागि हुन्छ । त्यसको नेपाली रुपैयाँ भन्दा ५०० जति पर्छ ।

यदि कुनै व्यक्ति ४० वर्ष नाघेको छ, धुम्रपान गर्छ, खकार आउने, सास फुल्ने भएको छ भने दम रोग भएको हुन सक्छ । यसका लागि जाँच गर्नुपर्छ । यसको जाँच कल्मोनेरी फंगसन टेस्ट हो । स्पाएरोमेट्री फुक्ने टेस्ट एउटा हुन्छ । त्यो टेस्ट सहज रूपमा उपल्बध छ । ठाउँठाउँमा त्यो टेस्ट गर्‍यो भने थाहा हुन्छ ।

एड्भान्स्ड स्टेजमा छ भने फोक्सो रोग विशेषज्ञलाई नै देखाउनुपर्ने हुन्छ । अन्यथा इन्टरनल मेडिसियन गरेका डाक्टरहरूले पनि राम्रोसँग हेर्न सक्नुहुन्छ । उहाँहरूलाई पनि देखाउन सकिन्छ । फोक्सो रोग विशेषज्ञकै कुरा गर्ने हो भने नेपालभरमा संख्या ४०–४५ जना मात्रै रहनुभएको छ– दम रोग विशेषज्ञको रूपमा । किनभने भरखरै दुई–तीन महिनाअघि मात्रै नेपाल रेस्पोरेटरी सोसाइटी खुलेको छ, त्यहाँ भएका सदस्य हेर्दा यति मात्र देखिएको छ ।

त्यसमा आबद्ध डाक्टरहरू भनेको ४० जनाको हाराहारीमा मात्रै हुनुहुन्छ । सबै जना केन्द्र वा शहरहरूमा मात्र हुनुहुन्छ । काठमाडौं, विराटनगर, धरान, पोखरालगायतका ठाउँमा हुनुहुन्छ । यो रोग सुदूरपश्चिममा २५ प्रतिशत देखिएको छ । त्यहाँ विशेषज्ञ र विशेषज्ञ सेवा छैन । मेडिसिनका मेडिकल अफिसरहरू हुनुहुन्छ । उहाँहरूले राम्रो गर्नु भएको छ तर म्यानपावर बढाउनै पर्ने हुन्छ, दक्ष म्यानपावर ।

राज्यले के गर्‍यो भने दम रोगलाई न्यूनीकरण गर्न सकिन्छ ?

जस्तै : हामीकहाँ नियम छ कि सार्वजनिक स्थानमा चुरोट खानुहुँदैन वा धुम्रपान गर्नुहुँदैन । तर, हामीले देखेकै छौँ, जो जताततै खाएकै देखिन्छ । यो एकदम कडाइका साथ नियन्त्रण गर्नुपर्‍यो । अर्को बायो ग्यास दाउरामा खाना पकाउनेका लागि जनचेतानाको कार्यक्रम चलाउनुपर्‍यो । ग्यास सप्लाई हामीले कर्णालीदेखि सुदूरपश्चिमसम्म पुर्‍याउनुपर्छ ।

२ नम्बर प्रदेशको गाउँघर, जहाँ चुह्लोमा दाउरा प्रयोग भएको छ, त्यहाँ ग्यास सप्लाई गर्नै पर्ने हुन्छ । त्यहाँ गोबरले खाना पाकाइन्छ । त्यो कार्यमा राज्यले अलिकति काम गर्नेवित्तिकै कम हुन्छ । यसमा राज्यको ध्यान जान जरुरी छ किनभने त्यसभन्दा बढी खर्च हामीले उपचारमा गरेको कुरा पनि ध्यान दिनुपर्ने हुन्छ ।

दमको उपचारका लागि ठूलो खर्च भएको छ । त्यसमा आफ्नोतर्फबाट के गर्ने भन्दा प्रदूषणको मात्रा बढी भएको अवस्थामा घरबाट बाहिर नजाने । यदि बच्चाहरूलाई बाहिर लैजानै पर्ने छ भने ‘पिक आवर’मा लिएर नजाने । किनभने बोकेर लैजाने बच्चाहरूको सास लिने दर ठूलाको भन्दा बढी  नै हुन्छ । सास लिने दर बढीबढी भएपछि दूषित हावा शरीरमा बढी जान्छ र आक्रमण बढी हुने गर्छ । त्यो भएर ध्यान दिनुपर्‍यो । स्कुलमा पनि शिक्षा दिनुपर्‍यो । यो विषयमा स्कुल शिक्षाको पाठ्यक्रममा नै यो कुरा राख्नुपर्‍यो ।

ग्यासको प्रयोगका लागि जनचेतना जगाउनुुपर्‍यो । विद्युतीय चुह्लो प्रयोग गरेर पनि कम गर्न सकिन्छ । धुम्रपानलाई एकदमै बन्द गर्नुपर्‍यो ।

उपचारका लागि जनशक्ति अभाव देखिन्छ, यसका लागि ककसले के गर्ने ?

जनरल मेडिसिन र जीपीका डाक्टरहरूले पनि उपचार गर्न सक्नुहुन्छ । एकदमै एमडभान्स्ड स्टेजमा छ भने मात्र विशेषज्ञ डाक्टरलाई भेट्नुपर्छ । नभए दम रोग सुरु अवस्थामा छ भने नियन्त्रण गर्न सकिन्छ । औषधि नियमित सेवन गरिरहनुपर्छ । औषधिभन्दा अझ महत्त्वपूर्ण विषय भनेको उहाँहरूको जीवनचर्या हो ।

भ्याक्सिनेसन पनि गर्नुपर्ने हुन्छ । इन्फ्लुएन्जाको वर्षैपिच्छे भ्याक्सिन लगाउनुपर्छ । यिनीहरूले के गर्छन् भने निमोनियाबाट बचाउँछन् । दमका रोगीहरूमा निमोनिया हुने संभावना धेरै हुन्छ । यस कारण उनीहरूको हस्पिटल भर्ना हुनेदेखि मृत्यु हुने संख्या धेरै रहेको छ । त्यो घटाउनेतर्फ यस्ता कार्य गर्नुपर्छ ।

लामो समयदेखि खोकी आइरहेको छ, सास फुल्दै गएको छ, बढ्दै गएको छ भने दम रोगको प्रमुख कारण हुन सक्छ भनेर बुझ्नुपर्छ ।

कस्तो लक्षण देखियो भने तत्काल चिकित्सककहाँ परीक्षण गर्न जानुहोस् भन्न सकिन्छ ?

यदि कुनै व्यक्ति ४० वर्ष नाघेको छ, धुम्रपान गर्छ, खकार आउने, सास फुल्ने भएको छ भने दम रोग भएको हुन सक्छ ।  यसका लागि जाँच गर्नुपर्छ । यसको जाँच कल्मोनेरी फंगसन टेस्ट हो । स्पाएरोमेट्री फुक्ने टेस्ट एउटा हुन्छ । त्यो टेस्ट सहज रूपमा उपल्बध छ । ठाउँठाउँमा त्यो टेस्ट गर्‍यो भने थाहा हुन्छ ।

एउटा मात्रै टेस्टले पनि दम रोग छ भन्ने थाहा पाउन सकिन्छ, त्यो महँगो टेस्ट पनि छैन । भिन्नभिन्न हस्पिटलको डाटा लियो भने ६ सयदेखि १५ सय रुपैयाँमा यसको पर्रीक्षणबाट रोगको पहिचान गर्न सकिन्छ ।

यसका अलावा दम रोगलाई न्यूनीकरण कसरी गर्न सकिन्छ ?

हो, न्यूनीकरण संभव छ । खानपान र जीवनशैलीमा ध्यान दिन सकेमा उपचारमा मात्र होइन, रोग नै नलाग्ने वातावरण बनाउन सकिन्छ ।