सडक निर्माणमा ढिलाई , नागरिकलाई सास्ती

सडक निर्माणमा ढिलाई , नागरिकलाई सास्ती

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ५, २०७६

कञ्चनपुर । तीस महिनाभित्र निर्माण सक्ने गरी जिम्मा दिइएको कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम गति सुस्त छ । 

सडक निर्माणको ३३ महिना पूरा भैसक्दा पनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर मात्रै कालोपत्र गरिएको छ ।

अहिले तीनवटै प्याकेजमा करीब ६० प्रतिशत काम सकिएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले बताउनु भयो । तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उहाँले बताउनुभयो ।

डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । ‘यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ’, इञ्जिनीयर मडैले भन्नुभयो, ‘अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ’ ।

 त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ ।“पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्”, मडैले भन्नुभयो, ‘काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।’

एक अर्ब नौ करोड रुपयाँ भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । ‘वर्षात्मा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ’, पुनर्वासका स्थानीय रामसाहेद रानाले भन्नुभयो, ‘जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।’