महिला विश्वकप क्रिकेट छनोट  : नेपालको विजयी सुरुवात

महिला विश्वकप क्रिकेट छनोट  : नेपालको विजयी सुरुवात

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ७, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेसियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । 

मलेसियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिंघमले समान २१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक विकेट लिए । 

यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेसियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक/एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अंक जोडेको छ । 

नेपालले दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्याण्डसँग खेल्दैछ । यस्तै, १० गते संयुक्त अरब इमिरेट्स (युएई) फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । 

एसिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने खबर राससमा छ ।