दादुराको महामारबाट कङ्गोमा करिब ५ हजारको मृत्यु !

दादुराको महामारबाट कङ्गोमा करिब ५ हजारको मृत्यु !

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ६, २०७६

काठमाडौँ, एएफपी ।  कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । 
    यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ ।

    कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ । 

 कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ । 

कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको  थियो । कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन् । 

  कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।

हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो ।