सौरव कार्की | साहित्य | मंसिर ७, २०७६
मरुभूमिको विराट भूमिमा
एक्लै हुर्किएको
त्यो हरियो रूखलाई नसोध
सुख र दुःखका कथाहरू !
लाखौँ ताराहरू
टिल्पिलाइरहेको आकाशमा
मुस्कुराइरहेछ एक्लो चन्द्रमा
चन्द्रमाको एकल नृत्य हेर
आफ्नै आकृतिको बदलावमा !
म छु
म मात्रै रहेछु
मेरो देहको जमिनभित्र कैद
तर, मेरो कल्पनाले सिमाना रुचाउँदैन
मेरो शक्तिले शोषण पचाउँदैन ।
म मेरो कल्पना र शक्तिसँगै
घोलिदिन्छु र पिउँछु
आफ्नै आत्माको अस्तित्वको अमरत्व ।
मेरा हरेक यात्रामा
साथ थियो म हिँडेको बाटो
मलाई बाटोले डोहो¥यायो गन्तव्यसम्म
म मरुभूमिको त्यही एक्लो रूख पछ्याएर
यहाँसम्म आएको हुँ
म त्यही चाँदनीले देखाएको
उज्यालो समाएर
यहाँसम्म आएको हुँ ।
सायद
यही कारण हो
मैले आफूलाई एक्लो पाइनँ कहिल्यै
एकान्तमा पनि महसुस गर्न जानिनँ एक्लो
एकान्त मेरो थियो
र, म एकान्तको थिएँ सायद ।