चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

चित्तशुद्धिः संन्यास र योग दुवैको एउटै फल

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  मंसिर ७, २०७६

    संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
    योगयुक्तो मुनिब्र्रम्ह न चिरेणाधिगच्छति ।। ६ ।।

अन्वय र अर्थ – महाबाहो = हे महाबाहो ! तु = किन्तु, अयोगतः = कर्मयोग विना, संन्यासः = पारमार्थिक संन्यास, आप्तुं = प्राप्त गर्न, दुःखं = गाह्रो छ, योगयुक्तः = निस्काम भावकर्मयुक्त, मुनिः = ईश्वरको स्वरूपको मनन गर्ने, नचिरेण = छिटै नै, ब्रम्ह = परमार्थ सन्यासलाई, अधिगच्छति = प्राप्त गर्दछ ।

भावार्थ – हे महाबाहो ! किन्तु कर्म योग विनाको सन्यास दुःख प्राप्तिको हेतु हुन्छ । जो कर्मयोगमा युक्त छन् तिनीहरू मुनि भएर शीघ्र नै ब्रम्ह साक्षातकार (परमार्थ सन्यास) लाभ गर्दछन् ।

विशिष्टार्थ – संन्यास र योग दुबैको फल एउटै हो, परन्तु योगानुष्ठान विना संन्यास हुँदैन, किन कि योग नै चित्तशुद्धिको एकमात्र उपाय हो । यदि कसैले योगानुष्ठान नगरिकन संन्यास ग्रहण गर्दछ भने अवश भएर उसलाई विषयको आकर्षणमा पर्नु पर्दछ, अनि इन्द्रियवृत्तिहरू सबै प्रबल हुन्छन्, यी सबैवाट केही पनि त्याग हुन सक्दैन । किन्तु योगद्वारा मुक्त भएपछि मन कूटस्थ पुरुषको दर्शन मननद्वारा तद्गत हुनाले छिटैनै सबै नाश भएर ब्रम्हमा स्थिति लाभ हुन्छ । यो ब्रम्हस्थावस्था नै संन्यास हो, संन्यास नै ब्रम्ह हो । जबसम्म चित्त शुद्ध हुँदैन तबसम्म मात्र कर्मयोग सन्यास भन्दा फरक छ, पछि दुबै नै एक हो । 

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।। ७ ।।

अन्वय र अर्थ – योगयुक्तः = योगले युक्त, विशुद्धात्मा = विशुद्ध चित्त भएको, विजितात्मा = शरीर विजयी, जितेन्द्रियः = इन्द्रियहरूलाई वशमा राखेको, (तथा) सर्वभूतात्मभूतात्मा = सम्पूर्ण प्राणीहरूको आत्मा नै जसको आत्मा छ (त्यस्तो) सम्यग्दर्शी, कुर्वन् अपि = कर्म गर्दो छंदो पनि, न लिप्यते = कर्ममा लिप्त (बद्ध) हुँदैन । 

भावार्थ – योगयुक्त पुरुष विशुद्धचित्त, विजित देह, जितेन्द्रिय र सम्यग्दर्शी हुनाले कर्म गरेर पनि कर्ममा लिप्त हुँदैन ।

विशिष्टार्थ – योगयुक्त साधक योगानुष्ठान क्रियानुसार ब्रम्हमा स्थिति लाभ गरेर तल ओर्ली फेरि माथि उठेर योगयुक्त भएपछि विशुद्धामा हुन्छ अर्थात् विशुद्ध  'अहं' भावमा नै रहन्छ । ज्ञानाग्निद्वारा उसका सबै कर्महरू भस्मसात् हुनाले विजित देह हुन्छ । दर्शन, श्रवण, मननादि वृत्तिहरू परस्पर मिलेर एकमा आकृष्ट हुनुलाई  संयतेन्द्रिय अवस्था भनिन्छ, यो अवस्था प्राप्त गरेपछि साधक जितेन्द्रिय हुन्छ अर्थात् विषय संस्पर्शमा आउँदा उसका कुनै पनि इन्द्रियहरू विषयमा आसक्त हुँदैनन्, तथा ब्रम्हादि स्तम्वपर्यन्त समस्त भूत समुदायको आत्मारूप भएर ऊ सर्वदर्शी हुन्छ । अतएव उसबाट प्रारब्ध सहयोगमा कर्म अनुष्ठित हुनाले पनि उसलाई कर्म बन्धनमा पर्नु पर्दैन । चित्त चिज्ज्योतिद्वारा विशुद्ध भएपछि उसमा अरू विषयको छाप पर्दैन ।

जुन मनुष्य सम्पूर्ण कर्महरूलाई परमात्मामा समर्पण गरेर फलासक्ति रहित भएर कर्म अनुष्ठान गर्दछ, त्यो पुरुष पानी माथिको कमलको पात  जस्तै पापद्वारा लिप्त हुँदैन ।

    नैवकिञ्चित् करोमीति युक्तो मन्येत तत्ववित् ।
    पश्यन् शृृण्वन् स्पृशन् जिघ्रन्नश्नन् गच्छन् स्वपन् स्वसन् ।। ८ ।।

  प्रलपन् विसृजन्, गृह्णन्नुन्मिषन्निमिषनम्नपि ।
   इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इतिधारयन् ।। ९ ।।

अन्वय र अर्थ – तत्ववित् = आत्माको यथार्थ स्वरूपलाई जान्ने, युक्तः = योगी, इन्द्रियाणि = इन्द्रयहरू, इन्द्रियार्थेषु = इन्द्रियहरूका  आप्mना आप्mना विषयमा, वर्तन्ते = प्रवृत्त हुन्छन्, इति = यस्तो, धारयन् = धारणा लिएको छँदो, पश्यन् = दर्शन, शृण्वन् = श्रवण, स्पृशन् = स्पर्शन, जिघ्रन् = आघ्राण, अश्नन् = आहार, गच्छन् = गमन,  स्वपन् = शयन (निद्रा) स्वसन् = निश्वास = त्याग प्रस्वास ग्रहण, प्रलपन् = वाक्य कथन, वितृजन् = त्याग, ग्रह्णन् = ग्रहण, उन्मिषन् = आँखा खोल्नु, निमिषन् = आँखा चिम्लनु, अपि = पनि, किञ्चित् = केही, करोमि = गर्दछु, इति = यस्तो, एव = पनि, नमन्येत = नठानोस् ।

भावार्थ – तत्वविद् योगीले इन्द्रियहरू नै आफ्ना  आफ्ना  विषयमा प्रवृत्त हुन्छन्, यस्तो धारणा राखेर दर्शन स्पर्शन, आघा्रण आहार, गमन, शयन, निश्वास त्याग, प्रश्वास ग्रहण, कथन, त्याग, ग्रहण, उन्मीलन, निमीलन आदि कार्य गरेर पनि  'म केही गर्छु' भन्ने धारणा मनमा लिंंदैनन् ।

विशिष्टार्थ – जुन साधकले तत्वलाई जानिसकेको छ र सतत आत्मभावमा युक्त छ उसको चित्त विशुद्ध रहनाले उसलाई मायिक जगतको ”म–मेरो” भन्ने भावमा मोहित हुनु पर्दैन । त्यसकारण प्रारब्ध भोगका लागि देख्नु, सुन्नु आदि जे जस्ता इन्द्रिय व्यापार छन् तिनीहरूमा उसको कर्तृत्वाभिमान रहदैन । प्रारब्धवश कृत कर्मको असल खराव फल शरीर माथि नै कार्यान्वयन हुन्छ, उसको प्रशान्त भावलाई विचलित गर्न सक्दैन । देख्नु, सुन्नु, छुनु, सुंध्नु, खानु पञ्च ज्ञानेन्द्रियका क्रिया हुन् । बोल्नु, ग्रहण गर्नु, गमन गर्नु, मलमूत्र त्याग गर्नु पञ्च कर्मेन्द्रियका क्रिया हुन् । निश्वास, प्रश्वास, उन्मीलन, निमीलन पञ्च प्राणका क्रिया हुन् । सुत्नु अन्तरिन्द्रिय बुद्धिको क्रिया हो ।

    ब्रम्हाण्याधाय कर्माणि संगं त्यक्त्वा करोति यः ।
    लिप्यते न स पापेन पद्यपत्रमिवाम्भसा ।। १० ।।

अन्वय र अर्थ – यः = जुन पुरुष, कर्माणि = सम्पूर्ण कर्महरूलाई, ब्रम्हणि = परमात्मामा, आधाय = अर्पण गरेर, संगं = फल आसक्ति, त्यक्त्वा = त्याग गरेर, करोति = अनुष्ठान गर्दछ, सः = त्यो पुरुष, अम्भसा = पानीले, पद्यपत्रं = कमलको पात, इव = जस्तै, पापेन = पापले, न लिप्यते = लिप्त हुँदैन ।

भावार्थ – जुन मनुष्य सम्पूर्ण कर्महरूलाई परमात्मामा समर्पण गरेर फलासक्ति रहित भएर कर्म अनुष्ठान गर्दछ, त्यो पुरुष पानी माथिको कमलको पात  जस्तै पापद्वारा लिप्त हुँदैन ।

विशिष्टार्थ – ६,७ र ८ श्लोकहरूमा योगयुक्त, मुनि, ब्रम्हसन्यास पछि फेरि योगयुक्त भएर तत्ववित हुनु साधनाको यो जुन ऊध्र्वक्रम भनियो, त्यस क्रम अनुसार अहिलेसम्म पनि जो तत्ववित् भएनन् ती साधकहरूले जुन प्रणालीमा क्रिया गर्नु पर्ने हुन्छ यस श्लोकमा त्यही उपदेश गरिएको छ । अर्थात् उनीहरुले संगत्याग पूर्वक ब्रम्हमा कर्म समर्पण गरेर साधन गर्नु पर्ने छ ।
 
मूलाधारदेखि प्रारम्भ गरेर सुषुम्ना, बज्रा, चित्राका भित्र भित्र सहस्रार पर्यन्त जुन आकाशमय छिद्र विस्तिृत छ त्यसैको नाम ब्रह्मनाडी हो । इडा पिंगलाका भित्र आकाशमय छिन्द्रलाई पनि ब्रम्हनाडी भन्दछन् । त्यस ब्रम्हानाडीको आश्रय लिएर प्राण, अपान, प्रत्येक कमलमा खेल्दै घुम्छन् । चित्त शुद्धिका लागि गुरुले आफ्ना शिष्यहरूलाई उनीहरुको योग्यतानुसार जति प्रकारका क्रियाहरू दिनुहुन्छ ती सबैले त्यस ब्रम्हाकाशको अवलम्बन गरेर प्राण चालनद्वारा अनुष्ठान गर्नु पर्दछ, यसैको नाम ब्रम्हमा कर्म समर्पण गर्नु हो । यसरी त्यसै उपायद्वारा ऊध्र्वमा जांदाजांदा यी तीन नाडीहरू भित्र विशेषतः सुषुम्ना भित्र चित्र विचित्रका रूपहरुको दर्शन हुन्छ र विविध स्थानमा विविध शक्तिहरू प्रबुद्ध भएर साधकलाई भोग दानद्वारा आबद्ध गर्नका लागि आश्रय लिन आउंछन् । ती सबै रूपहरूमा मोहित हुनु वा ती शक्तिहरू मध्ये कसैलाई आश्रय दिनु परै रहोस्, ती सबैलाई नै उपेक्षा गरेर केवल मात्र कूटस्थ लक्ष्य लिएर माम 'तानाजुस्मरन्' गर्दै गर्दै सीधा उठ्नु पदर्पछ, अरू केही कसैलाई स्पर्श गर्नु हुँदैन, यसैको नाम संगत्याग गर्नु हो । यसरी क्रिया गर्नाले पापमा लिप्त हुनु पर्दैन अर्थात् चांचल्य जनित कर्म बन्धनमा पर्नु पर्दैन । कमलपत्र जस्तो पानीमा उत्पन्न भएर हुर्कन्छ बढ्छ तर त्यसमा पानीको छाप अडिदैन, त्यस्तै ब्रम्हर्पित कर्म, संग त्यागी साधकहरू पनि कर्मको आश्रय लिएर नै ऊध्र्वक्षेत्रमा उठ्छन्, कर्मको आश्रय लिएर नै प्रारब्ध अनुसार विषय भोग गर्दछन् परन्तु तिनीहरु कर्ममा आबद्ध हुँदैनन् ।

    कायेन मनसा बुद्धया केवलै रिन्द्रियै रपि ।
    योगिनः कर्म कुर्वन्ति संगं त्यक्त्वात्मशुद्धये ।। ११ ।।

अन्वय र अर्थ – योगिनः = योगीहरू, आत्मशुद्धये = शरीर र चित्त परिशुद्धिका लागि, संगं = फल विषयक आसक्तिलाई, त्यक्त्वा = त्याग गरेर, मनसा = मनले, बुद्धया = बुद्धिले, केवलैः = ममत्व बुद्धि शून्य, इन्द्रियैः = सम्पूर्ण इन्द्रियहरूद्वारा, अपि = पनि, कर्म = कर्म, कुर्वन्ति = गर्दछन् ।

भावार्थ – योगीगण आत्मशुद्धिका लागि फलाकांक्षा त्याग गरेर शरीर, मन, बुद्धि तथा केवल इन्द्रियहरूद्वारा नै कर्म गर्दछन् ।

विशिष्टार्थ – (योगीहरू कति प्रकारका क्रिया  गर्दछन् भन्ने कुरा यस श्लोकमा वताइएको छ) । वायु, पित्त, कफको क्रियाले शरीरका नाडीपथ सबै बन्द हुन्छन् । त्यस अवस्थामा त्यस पथमा प्राण चालन गरेर उठ्न सकिन्न, यो समस्त नै शारीरिक मल हो । शब्द, स्पर्श, रूप, रस प्रभृति विषय प्रति परम रमणीय बोध गरेर आसक्त भई वासनायुक्त हुनु चित्तको मल हो । चित्तको मल रहेसम्म आत्मामा निष्ठा रहदैन । अतः शरीर र चित्तको मल हटाउनु आवश्यक छ । यसको फलको नाम आत्मशुद्धि हो । यस आत्मशुद्धिका लागि योगीहरू गुरु उपदेश अनुसार नानाविध आसन मुद्रादि रूप शारीरिक क्रियाको अनुसरण गर्दछन् । प्राण क्रियाका साथ आत्ममन्त्र, इडा पिंगला बोधन मन्त्र, ग्रन्थिभेद मन्त्र प्रभृति विभिन्न प्रकारका जप तथा कीर्तनादि रूप मानसिक क्रियाको अनुष्ठान गर्दछन्, बुद्धिद्वारा सत् र असत्लाई निश्चय गरेर 'दृसिंन्निविष्टः' हुन्छन्, अनि अन्तरतम प्रदेशमा प्रवेश गरेर 'केवल इन्द्रिय' द्वारा तत् पद नाद,  विन्दु आदि  परमार्थ तत्वहरूको दर्शन, श्रवण, बोधन आदि क्रिया गर्दछन् ।  बहिर्विषय प्रति  निवृत्त ममत्व बुद्धि–शून्य अन्तर्मुखी इन्द्रिय नै  'केवल इन्द्रिय' हो । योगीहरू यी सबै जुन जुन क्रियाहरू गर्दछन् त्यसमा फल प्राप्तिको आशा राख्दैनन् केवल गुरु वाक्यको पालन गर्दछन् । संग वा आसक्ति रहनाले आत्म शुद्धि हुँदैन ।

    युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
    अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।। १२ ।।

क्रमश ः

याे पनि

योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

ज्ञान के हो ! याे प्राप्तिकाे स्थूल उपाय !!

सत्कर्म गर्नु पनि मुमुक्षुका लागि पाप !

संशयको त्याग गर ! त्याग गर्नु तिम्रो हातमा !!

इच्छा–आकांक्षा,  प्राकृतिक भावकाे त्याग र नित्य सन्यास