छाडा चौपायाले सडक अस्तव्यस्त

छाडा चौपायाले सडक अस्तव्यस्त
काठमाडौंको सडकमा बसेका चौपाया । सडकमा जथाभावी चौपाया हिँड्दा वा बस्दा ट्राफिक अस्तव्यस्त हुने गरेको छ ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ७, २०७५

महोत्तरी । जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयवासी बताउँछन् । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ । 

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन् । दुई÷तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ । बर्दिवासमा त गत दसैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकै दिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो । 

दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो । सडक र बजार क्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाया व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडा अध्यक्ष अभिराम प्याकुरेल बताउनुहुन्छ । 

बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमितिं)ले मिलाउनुपर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन् । 

जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ । यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताउनुहुन्छ । 

अहिलेसम्म कानुनी कारवाही अघि बढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको स्थानीय कानुन व्यवसायी उद्धव क्षेत्रीले बताउनुभएको खबर राससमा छ ।